July 18, 2009

ठूला मान्छेको नातेदार

* जोतारे धाइबा
नस-नातो भन्ने कुरा बलियो जोर्नीतिरै जोल्टिएको राम्रो । तब पो समग्र कुरामा निरोग प्राप्‍त हुन्छ । यस्तै गूढ पक्ष हाम्रो सामाजिक सम्बन्धमा पनि रहेको छ । उस्तै परे 'सिन्की अचार मुलाको, नातागोता ठूलाको' भनेर एकोहोरिने बेला आइसकेको छ । गोरु बेचेको साइनोसमेत खनीखोस्री गरी भजाएर आफ्नो मझेरी सम्याउन नछोडिने आजको जमानामा कसैको नातेदार हुन पाउनुजस्तो अहोभाग्य अरु के होला ?

आफू कसैको नातेदार हुनु र त्यो पनि लरतरो पाराको, यो त पटक्कै सुहाउने कुरा होइन । सोझै भन्दा घाटाको कारोबार । नाता-सम्बन्धमै फलिफापको कारोबार भएन भने त जिन्दगीको हिसाबै गोलमाल हुन्छ । नातेदार हुनु त ठूला मान्छेको । रगतकै गाढा नातालाई पनि जोडबलले तानतुन गरी पत्तो लगाएको ठूला मान्छेसँगको नाताले कोसौँ पछाडि छाडिदिन्छ । जुग-जमाना कहाँ पुगिसक्यो, आसेपासे वल्लो र पल्लो घरको पिँढीतिरै 'ए काकी, ए बडाबा' भनेर सीमित हुँदै अलमलिने बेला अब छैन । जति सक्यो, ठूला मान्छेको नातेदार बन्ने अभियानमा जुट्नु छ । यसको लागि टोल र बस्तीको धुरी नाघेर ठूलै छलाङ मार्नु किन नपरोस् ! ठूलो जालमा ठूलै सिकार भन्ने त उखानै छ ।

ठूलो मान्छेको नातेदार भएपछि बारीमा फलेको मुला पनि चाँदीको ठेकीमा स्याउलाको बिर्को भएर देखा पर्छ । भोज र मोजको त छेलोखेलो वर्ष नै हुन्छ । चतुरता झिकेर यता-उता महामानवहरूसँग चोचोमोचो गाँस्न सकिएन भने चाहिँ हेलाहोचो सहेरै जुनी झिरिप्प हुन बेर लाग्दैन । 'बडा घरको बडै चाला' भन्ने देउसी गीतको भाका बाह्रै मास दैनिक जीवनयापनमा नभट्याए त केही पार चल्ने छाँट देखिन्न ।

जब भइन्छ ठूला मान्छेको नातागोता तब मिल्छ इज्जतको लोटा भन्ने भाव राष्‍ट्रिय स्तरमा सारै जनप्रिय मन्त्र हुनपुगेको छ । नहोस् पनि कसरी, ठूलाहरूको स्याहार र सङ्गतिबिना चुलाचौकाको दस लन्ठाले आहार नपाउने भएपछि निहुरमुन्टी न त बन्नैपर्‍यो । यसरी नस-नाता र निहुरमुन्टी न मा प्रगाढ परिवार आयोजनको कार्यव्यार रहेछ भन्ने प्रस्टै देखिन्छ । जति कोरी निहुरमुन्टी न को कुल्ली-डन्डा जोत्यो, उति मात्रामा बुरुबुरु नातागोताको उब्जाउ । फेरि अरूखाले खेतीमा बाली रोपेपछि अपेक्षा गरेअनुरूप प्रतिफल ननिस्किने खतरा रहन्छ, नातावादको खेतीमा भने पोल्टो भरिने पक्का ग्यारेन्टी हुन्छ । ती ठूला ख्वामित्‌ले 'तथास्तु' भने झैँ आशीर्वादको पोको थमाइहाल्छन् । ठूला मान्छेको नातेदार हुनुको यस्तो मज्जा अन्यत्र कहाँ पो पाइएला ?

कहाँ कुन पद खाली छ, त्यसमा जाने कि त्यो भन्दा अलि सानदार कुर्सीमा जाने, ठूला मान्छेको छत्रछायामा रहन थालेपछि छानीरोजी चिट्ठा मिल्छ । मामा ससूराकी बुहारी होस् कि मीत ज्वाइँको साक्खै सालो होस् केही फरक पर्दैन । जति घुमाउरो नाता भयो, उति नै घुम्ने मेचमा जम्ने भाग्यको दैलो खुल्छ । अब चाहिँ प्रगतिशील जोगी आए, नातागोताको टीके खेल नचल्ला भन्नुपर्दैन, कानै चिरेर तिनले पनि नातेदारको बत्तीसकुने यार्लिङ झुन्ड्याएर देखाइहाल्छन् । कविशिरोमणि लेखनाथजीले भने झैँ 'फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?' नातेदार भएपछि पूजा-आजाको प्रसाद खान नपाइने कहाँ छ र ?


16 Comments:

बिप्लब said...

जोतारे धाइबाको लेख सधै उत्रक्रिष्ट हुन्छ। यो पनि धमाका छ।
सारै मनबुझ्ने कुरा गर्नुभयो नातेदार भएपछि पूजा-आजाको प्रसाद खान नपाइने कहाँ छ र ? धेर थोर मात्रहो प्रसाद हरेकले भेट्छन।

खुल्लामन्च said...

नेपाल बिग्रिएको मुख्य कारण जनताको अपुताली खान जन्मेका नेताहरुले गर्ने "आफन्त भर्ती अभियान" हो । राम्रो प्रस्तुती, धाइबाजी । बधाई ।

एकलव्य ( Eklavya) said...

जोतारेजीको बडा घरको नातेदार हुने कुरा रूचिकर लाग्यो । तर पहिले नै कुनै ठूलाबडासंग नाता छैन भने त नया नाता गाँस्न कसरी सक्नु र? त्यस्तो स्थितिमा नाता गाँस्ने दुई विकल्प बाँकि हुन्छन् :

(१) ठूलाबडाकी श्रीमतिलाई तिहारमा टीका लाउने दिदी बनाउने ( जस्तो कि यदाकदा फेसन कै रूपमा मोलमालको यो तरिका फस्टाएको देखिन्छ । तर मलाई भने यसमा रूची छैन कारण के भने कतिपय यस्ता कृत्रिम बहिनी दाइका तिहारे सम्बन्धहरू पछि गएर त्यो सम्बन्धलाई लाजलाग्दो पार्ने गरी पोईला जान दुरूपयोग गरिएका छन् )

(२) नाता नै नभएको ठूलाबडासंग सम्बन्ध गाँस्ने अर्को तरिका हो यस्ता ठूलाबडाका छोरी वा बहिनीसंग प्रेम गर्दै बिहे गर्ने अनि ज्वाईँ सा,ब टप्केर घरमा जाइलाग्ने । यो दोस्रो तरिका अजमाउन पनि सानो खूबीले सम्भव हुन्न क्यारे ! यसो गर्दा उल्टो अहिलेको नेपालमा गुण्डा लगाएरै ठूलाबडाले 'अन्तर्ध्यान' बनाइदिने डर पनि उत्तिकै छ । तेस्रो विधि 'मीत लगाउने' र नातागोता बनाउने कुरा अब आधुनिक नेपालमा हराइसक्यो होला ।

लौ यी कारणले मलाई ठूलाबडासंगको सम्बन्ध 'आकाशको फल आँखा तरी मर' तर तपाईँले उडेर चन्द्रमा टिप्ने जमर्को गर्नुभा'रैछ , कुनै ठूलाबडासंग सम्बन्ध हात लागोस् शुभकामना !'

नेपालियन said...

नातागोताको महत्व सधै हुन्छ। तर बडाहरुको नाताको रेखा भने निकै फैलिएको हुन्छ। धाइबाजीले भने जस्तो मितीनी ज्वाइको साख्कै सालो मात्र अटाउदैनन् त्यो रेखाभित्र, छमेकिको ज्वाइको मावली पनि आफ्नै हुनपुग्छन।

जती बडाहरुको नाताभित्र घूस्न सकिन्छ उतीनै आफू बडो हुने त पक्का छ। अनि किन मान्छे सकी नसकी बडाहरुको छत्रछायांतिर नलागुन त?

एकलव्यजीले भने जस्तो भाइ र बहिनी बनाउने भने निकै मार्मिक लाग्यो है। एक बडा ब्यापारीका छोरा म बसेकै शहरमा बस्थे। उनीसंग नजिकहुन २-४ जनाले त तिहारमा टिकै लगाए। साखेल्यै हुने त कति हो कति। म त छक्क पर्थें, त्यसको बाउको नेपालमा ब्यापारीक फर्म होला अमेरीकामा के असर होला र? तर हुंदो रहेछ। नातामा दिदी,बहिनी बनाउने मात्र होइन अन्य पनि नजिक हुन "सियोस" लगाएर गोरु बेचे साइनो भन्दा पनि हल्का नातामा आफुलाइ गौरबशाली महशुस गर्थे। अन शक्तीमै रेहाकाहरुको पूजा आंजा कस्तो गर्दाहुन तिनीहरुले, हेर्न परेन। हेर्ने परेको भए लाजले आखा चिम्लनु या कान थुन्नु पर्थ्यो होला।

आफुमा बिश्वास नुहुने हरु यस्तै साइनोमा रुमलिने गर्छन र तितो तथ्य भन्ने कि के भन्ने यस्तै पानिमरुवाका ठुलाको बक्सिसमा दिन फिर्ने गर्छन ।

Dilip Acharya said...

धाइबाजीको लेखनी त आफैंमा उत्कृष्ट छँदैछ, त्यसपछि आएका टिप्पणीहरू अनी एकलव्यजीको 'विकलल्पहरु' र नेपालियनजीको वास्तविक जीवनको सेरोफेरो पनि सान्दर्भिक र रमाईलो लाग्यो ।

यो नातागोता विस्तार गर्ने कार्यमा भने आफू पनि एकलव्यजी जस्तै परेकोले आफ्नो दायरा पनि साँगुरो नै छ ।

"प्रगतिशील जोगी" को उपमा एकदम घत लाग्यो !

प्रबिण थापा said...

धाइबा जि लेख उत्कृठ लाग्यो, नाताबादको सन्जालाले नेपाल खोक्रो बनाइसकेको छ,यही नाताबादले यहाँका प्रगतिशिल युबा जनाशक्ती लाइ पाखा लगाएर केही न केही का व्यक्तिहरुलाइ राज्यको उच्च ओहदामा पुर्याएको छ। कुनै क्षेत्र नहोला यसको प्रभाबबाट अछुतो रहेको भनेपछि यसको तागत कति रहेछ?

यो ठुलाबडाको सन्जालमा आफुपनि किनारतिरै परिएछ, एकलब्य जि ले भने जस्तै जिवनलाइ नै अचानोको धारमा राखेर लौ म पनि यस्तो सम्बन्ध नबनाउ होला।

धाइबा जि भने अघि बढिसक्नु भए छ, शुभकामना मेरो पनि तर तपाइले भनेजस्तै भोलि चोसोमोसो गास्न नसकेर जिवन झिरिप्प चाहि नबनाउनि। हे हे हे !!!!!!

हावा The Wind said...

हैन हैन ध्हाइबा ब्रो, आइडिया त तपाईंलाई फुरेकै हो तर ताक्ने नै भये प्रगतिशिल तिरै ताकौ है चल्ती पनि छ यिन्को आजकाल.. कङ्रेस्स का छोरी त के नातिनी पनि बाँकी छैनन होस गर्नु है ब्रो फेरी ब्याज सहित् आउँलान नि

प्रबिण थापा said...

खुकुरिको धारमा हुनुपर्नेमा अचानो भएको म क्षमा माग्छु है।

नेपालियन said...

प्रबिण जी अचानो धारीलो भए त फेरी अचानो को चोट खुकुरीलाइ मात्र थाहा हुन्छ होला भन्ने उखानउ आउछ होला है। मैले साच्चै खुकुरीको धार मानमे बुझेको थिए तपाइको प्रतिक्रिया।

सायद यस्तै भएर गल्तीमा धेरै मिस्टेक हुने होला है?

प्रबिण थापा said...

त्यही त नेपोलिएन जि हतारमा लेख्यो लेख्दा लेख्दै कता चिप्लिएछ चिप्लिएछ, अहिले यसो दोर्हाएर पढेको त आँफैलाई हाँसो उठेर आयो भन्या ।

बिप्लब said...

लेख पनि उत्क्रिष्ठ, प्रतिक्रिया पनि उत्क्रिष्ठ। दौतरीको मन पर्ने कुरा नै यहि हो मलाइ।
म त पढ्ने मात्र परें,लेख्न आउदैन। लेख र प्रतिक्रिया भने चियाइ चियाइ हेर्छु।

luna said...

funny but -----
what a bitter truth ------
nice article :)
keep it up .

केदार श्रेष्ठ गगन said...

जोतारेको नाममा एउटा उत्कृश्ठ लेख थपिएछ। बधाई छ है धाइवा जी तपाईलाई। नेपालको हालको अवस्थाको चित्रण सार्है स्वादिलो लाग्यो ।

दिनेश राज said...

सकेसम्म मेरो फलाना ।नभए हाम्रो फलाना ।त्यो पनि नभए हाम्राको फलाना भन्ने चलन छ कतै न कतै त जोडिएला नि हो धाइबा जी हाम्राको पनि । लेख राम्रो छ ।

Basanta said...

उत्कृष्ट लेख! हाम्रो सामाजिक चरित्रको सटीक चिरफार!

Jotare Dhaiba said...

खितखित एकसेएक प्रतिक्रिया ।

खुल्ला मञ्च जीको "आफन्त भर्ती अभियान" प्रतिको औँल्याइँ नयाँ नेपालसम्मकै गोरेटो भइरहेछ, यसैले अपुताली खानेहरूसँग आपतकालीन साँठगाँठ गरेर मसिना हुस्सूहरूले पनि बक्खु कुम्ल्याइरहेछन् ।

एकलव्य जी र नेपालियन जीको थपथाप सुझाउ चित्तबुझ्दो मननीय छ है सबैको लागि । हो त, दिदी-बहिनीको नाताबाट संवेदनशीलता भजाएर अनि ठूलाबडाकी भान्जी, भतिजी र कोही नपाए साली र अझै मावली खालका चेलीबेटीसँग चोचोमोचो गाँसे शुभ लाभको खेती सुरु भइहाल्छ । छेक न छन्दको मान्छेलाई पनि ठूलै मान्छे भएको कारण उच्चतम आदरभाव प्रकट गर्ने त हाम्रो संस्कार नै हो क्यार !

दिलीप दाइ त्यो साँगुरो दायरा अब अलि फराकिलो बनाउनुपर्‍यो है !

समाजदेखि तानिएको कुरो देशसँग जोडिन्छ , प्रवीण जी, देशलाई 'निमनचुस' (तराईको गाउँतिर विशेष खालको चकलेट-मिठाईलाई भनिने शब्द)बनाउनेहरूले सुरुवाती मेलो यस्तै ठूलो मान्छेको छत्रछायामा गुजारेर पार गर्छन् । अनि त्यो उखानलाई सच्याउनुपर्ने त खासै जरूरी देखिँदैन है । अचानोको पनि अचेल त धार हुन्छ ।

'प्रगतिशील ठूलाहरू'को सङ्गति नै अबको एक मात्र म्यान्डेट बनाउनुपर्ला जसतो छ हावा जी, ठूला मान्छेको आशिष् मिल्ने भएपछि ब्याजको के फिक्रि, ब्याजको स्याज आए पनि तिनै ठूलाहरूको दान-दातव्यले भरणपोषण मिलिहाल्छ नि ! :)

विप्लव जी, दौँतरीलाई यहाँ जस्तो पाठक मात्रै को पनि खाँचो छ है, साथै रहिरहनुहोला दौँतरीसँग । यो साथ पक्कै स्मरणीय रहनेछ सधैँ ।

लुना जी, गगन जी र वसन्तज्यूलाई पनि धन्यवाद !

दिनेश जीको छोटो-चोटिलो कुरो सारै चित्तबुझ्दो छ । यही हाँगाबिँगा टेक्दै हिँडिए नै जीवनयापन गतिलो होला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !