May 4, 2009

अप्रिल फूलको यात्राले अप्रिलफूल नै बनायो (भाग २ )

(यो यात्राको पहिलो भाग यहाँ छ ।)

आचार्य प्रभा
एयरपोर्टबाट रातिको २ बजे निस्क्यौ । बाटोमा जाँदा जांदै फेरी ट्याक्सीको चक्का पंक्चर भयो, फेरी अर्को आपत आइलाग्यो । साँच्चै मेरो मनमा त्यही बेला देखी अँध्यारो छाउन थालिसकेकोथ्यो । बिपत्ती पनि एउटा मात्र भएको भए पो ?, रातिको २:३०बजे भिनाजुको अपार्टमेण्टमा पुग्यौँ । मलाई पटक्क निन्द्रा लागेन । कता कता मनमा शंका लागिरह्यो कि यो यात्रा मेरोलागी फापसिद्ध छैन भनेर, किन कि कहिले काँही त परको कुरा पनि मनले देख्छ भन्छन । भोली पल्ट गएर समान लियौं, जे होस् सहिसँग समान आइपुग्यो । अनी हामी अर्को दिन बागडुग्राको लागि प्लेनबाट प्रस्थान भयौ । दिदी आफ्नै गाडीलिएर हामीलाई रिसिव गर्न आउनु भएको रहेछ । हामी त्यस्पछी दमक तर्फ लाग्यौ ।

साँझको सात बजेतिर दमक पुग्यौ। धेरै समय पछी आफ्नो ठाउं पुग्दा अनौठो लागिरहेको थ्यो । त्यो रात राम्रैसँग निदाउन सकें । भोलिपल्ट बिहानै मर्निग वक गर्दै दमक घुमेकी त धेरै परिवर्तन पाएँ । तर अफ्सोच !, घरहरु मात्र ठुल्ठुला बनेका तर बाटोहरु भत्किएर चौपट । मान्छेको नचाहिदो भिँड । त्यसै नराम्रो पनि लाग्यो । बल्ल बल्ल घर पुगेकी आमालाई भेट्न भनेर पनि तर के गर्ने ?, बत्तिको अभावले सम साँझ नै ओछ्यान पस्नु पर्ने बाध्यता । गर्मी त्यस्तै अचाक्ली । कहाँ बसेर कुरा गर्ने मौका र ?, आमा(सासु ) पनि धेरै बुढी हुनु भएछ । जीवनका सारा उमेर नै मैले वहाँसँग बिताएकीले मलाई यत्तिका बर्ष सम्मको बिछोडमा वहाँको सम्झनाले धेरै सताएकोथ्यो । म वहाँलाई भेट्न पनि गएकी हुं, तर ...अफ्सोच राम्रो सँग मनको कुरा पनि साट्न पाइन मैले । वहाँ पनि मेरो उपस्थितिमा धेरै खुशी हुनु भएकोथ्यो । कही नगै यही बसहै भनी रहनु भएकोथ्यो । तर म दमकमा अलिकती ब्यस्त पनि भएँ, पुराना मेरा साहित्यिक भाईहरुसङको भेट्घाट । पत्रकारहरुको जमघट किनकी म धेरै समय पछी पुगेकिले सबैले नै मलाई भेट्ने अन्तर्वाता लिने जमर्को गरिरहेका थिए । बिराटनगरबाट टि.भी को एक्जना पत्रकार पनि मलाई भेट्न पुगे यसैले पनि म ब्यस्त भएँ । त्यसैले आमासङको बस्ने इक्षा चाँही मैले त्यो बेला पुरा गर्न सकिन ।

मैले सोचेकि थिए अझै २ -३ महिना छदैँछ, धोको पुगिन्जेल बसी हाल्छु नि आमा सँग भन्ने । तर दमक पुगेको ३ दिनमा नै तुरुन्त अमेरिका फर्की हाल्नु पर्ने खबर आयो । म त आत्तिए । न कसैलाई भेट्न नै पाउने भएँ, न आफ्नो उदेश्य नै पुरा हुने भयो । धेरै काम पनि गर्छु भनेर गएकी थिएँ । साहित्यिक, साङीतिक क्षेत्रको । सबै मेरो सपना अधुरो हुने भयो । अमेरिका फर्कनु नै पर्ने बाध्यता । सानो तिनो काम भएको भए पनि त होस् भन्नु । १५ तारिक भित्रमा पुगिसक्नु पर्ने । अब म मा के बित्यो होला ? जहिल्यै नेपाल बन्द । अब फेरी म कोल्कत्ता हुँदै नै फर्कनु पर्ने । म धेरै बिचलित भए । काठमाडौंमा दिदी हुनुहुन्छ वहाँ मेरो बाटो हेरेर बस्नु भएको छ । रोगी हुनुहुन्छ । २ महिना अघाडी नै हङकङ जाने मान्छे मलाई भेट्न भनेर बस्नु भएको छ । मैले फोन बाट म आउन नसक्ने भन्ने कुरा गर्दा धेरै रुनु भयो । चार बर्ष सम्म छोरीलाई नभेटेको बल्ल भेट्ने खुशीमा मक्ख थिएं त्यो पनि नहोला जस्तो भयो । अर्की दिदी दमक नजिक बस्नु हुन्छ वहाँलाई भेट्न जाने तयारीमा मात्र थिए वहाँको घरमा एउटा नराम्रो अप्रत्याशित घट्ना घट्न गएको खबर पाएं । अब त्यस्तो दुर्द्शामा कुन खुशी लिएर भेट्न जाने ?, एक जना दादा हुन्हुन्छ वहाँलाई भेट्न जाने पनि हिम्मत भएन किन कि भाउजु भर्खर मात्र बित्नु भएकोले त्यो शुन्य घरमा जान पनि मन लागेन । तापनि १ घण्टाको समय निकालेर गएँ । त्यो एक घण्टा भित्र दादाले भाउजुको कुरा गरेर नै बिताउनु भयो । मन नै खिन्न भयो । यसरी धेरै नीरसता बोक्दै मेरो यात्राको पल,पल काट्न वाध्य भए ।

काठमान्डौमा सबैलाई थाहा थियो म आउछु भनेर । सबैले बाटो हेरेकाथिए । सबैलाई फोन गरेर भनें, म आउन सक्दिन भनेर ।सबैले बिष्मात गरे किन कि संगीत क्षेत्र, साहित्यिक क्षेत्रका मान्छेहरु सँग मेरो धेरै समिपता थियो । धेरैले मलाई गुमाएको महशुश गरेकाछन र मैले पनि त्यस्तै महसुश गरेकी छु । ५ ,७ दिन दमकमा बसें तर त्यो बसाइ धेरै कष्ट प्रद भयो । न त बत्ती छ । न ईमेल नै चेक् गर्न पाइन्छ । न हत्पत फोन नै लाग्छ । आफ्नो भने त्यस्तो इमेर्जेन्सी छ । अब कोल्कत्ता सम्मको टिकेट गर्नु छ । कालेम्पोङमा फोन कन्ट्याक्ट गर्छु हत्पत लाग्दै लाग्दैन । कुदेर साईबर जान्छु हत्पत ईन्टरनेट खुलिदैन । २/३ घण्टा बसेर निस्कदा पसिनाले लुछुप्प भइन्छ । तर खास आफ्नो उदेश्य पूरा हुँदैन । अब यस्तो अवस्थामा म कत्ती आतिए ?, अमेरिकाको टिकेट कन्फर्म छ भन्ने खबर आयो तर प्रिन्ट आउट गर्ने अवसर नै पाउदिन ।यसरी म बेचैन भएर बस्न वाध्य भए । १४ तारिकमा सिलिगुरी आउनु भन्ने खबर आयो मैले काठमाडौं जान लाई एक दिनको भए पनि टिकेट गरेकिथिए, त्यो पनि मुश्किलले पाएको त्यो पनि क्यानसिल गराएं । काठमाडौं जाने मेरो उदेश्य धेरै भए पनि त्यो अपर्झट परेको अवस्थाले गर्दा मैले त्यो छोटो समयको लागि चाँही मैले मेरी दिदी र कर्नल आनन्द अधिकारी सँग अनी इमेज च्यानलको सुरज श्रेष्ठ अनी मेरो मित्र गोबिन्द उपाध्याय सँग केही समय भए पनि भेट्ने अभिलाषा बोकेर टिकेट गरेकी थिए, तर त्यो सपना पनि अधुरो भयो ।

सरी म धेरै निराशाहरुसँग सम्झौता गरिरहेकी थिए, १४ तारिक को दिन आयो म सिलिगुरिसम्म जानको लागि त्यार भएर बसेकी थिए । जानलाई के समान लिएर निस्कन लागेकी मात्र थिए झापा अनिश्चित्कालिन बन्द भन्ने खबर सुनें । म त यस्तो बिचलित भए कि सिलिगुरी सम्म जसरी पनि गएर त्यही बेलुकाको बस कोल्कत्ताको लागि चड्नु पर्ने अब यस्तो अव्स्थामा म मात्र नभएर जो कोही पनि आत्तिन्छन नि । म त किङ्कर्तब्य बिमूढ भए । अचानक मैले दमक को इन्स्पेकटर लाई सम्झिन पुगे जो मसँग आएको भोली पल्ट नै चिनाजानि भएकोथ्यो । वहाँले धेरै अघाडिदेखी मेरा रचनाहरु पढ्ने, गीतहरु सुन्ने गर्नु हुन्थ्यो रे । यसैले हामी बिच राम्रो सम्बन्ध भयो । मैले वहाँलाई सम्झिन बाध्य हुनु पर्‍यो । मैले वहाँलाई फोन गरेँ । वहाँले फोन पनि उठाउनु भयो । मैले आफ्नो समस्या भने वहाँले पनि मेरो मजबुरी बुझ्नु भयो र भन्नु भयो म नै पुर्‍याउन जाने थिए तर आज कुनै नेता आउने भएकोले स्कटिङ मा जानु पर्छ, तर तपाईं एक घण्टा भित्र तयार भएर बस्नु होस्, म कुनै अंबुलेन्स बन्दोबस्त गरेर एउटा पुलिस पनि खटाइ दिन्छु , बल्ल मेरो साहस् आयो अनी म घरबाट निस्केर कत्तिबेला एअंबुलेन्स आउछ भनेर कुर्न थाले, कसैसँग राम्रोसँग बिदा हुन पनि पाइन, यत्ती सम्म कि आमाको गोडा मात्र ढोगें तर जान्छु भन्ने हिम्मत गर्न सकिन ।

अचानक एअंबुलेन्स आयो पुलिस सहित्, तर मलाई देखेर एअंबुलेन्स को ड्राइभर त जान्न भन्न थाल्यो, अब भने म झन आत्तीएँ, अनी फेरी इन्स्पेकटर लाई फोन गरेँ बल्ल बल्ल वहाँले कुरा मिलाउनु भयो र म राम्रो सँग बिदावारि नभै आफन्तहरु बाट टाडिएँ । बाटाभरि नमीठा अनुभवहरु सङाल्दै म नमीठो यात्राको यात्रा बन्दै सिलिगुरी पुगें, फेरी भरै ८ बजे कोलकोताको लागि सफर गर्नु थ्यो । जे होस् दमक को इन्स्पेक्टरको गुण म जिन्दगी भर भुल्न सक्दिन । यसरी म अबिरल यात्रि बनेर लगभग उदेश्यहिन यात्रामा भौतारी रहेँ । यो यात्राले मलाई अझै मुटुमा पीडा दिएको भान भएकोछ । धेरै बर्ष पश्चात पोल्टाभरी खुशी लिएर आफ्नो ठाउं गएकी थिएँ, त र झनै बिझाउने घाउ बोकेर आएँ । अहिले म मानसिक या शारिरिक् थकान लिएर बसी रहेछु, अब कहिले खुशीको यात्रा गर्ने दिन आउँला भनेर । यो सपनाको देशमा हराउनु पर्ने बाध्यत छ । अब शायद त्यो दिन आउन र रमाइलो यात्रा गर्न अर्को जुनि नै लिन पर्ला कि ? यसरी मेरो अप्रिल फूलको यात्राले मलाई नै अप्रिल फूल बनायो । अस्तु



2 Comments:

Anonymous said...

lekh pani april fool nai rahechha.

anuj said...

प्रदेशीको समय उस्लाई मात्र थाहा हुन्छ जो आफ्नो देश टेक्न र प्रियजनहरुको हार्दिकता र समिपतामा
रमाउन हरदम बेचैन हुन्छ। यो लेख प्रदेशीहरुको आत्मकथा हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !