April 28, 2009

मेरो सामू आई नजर नझुकाउनू

-प्रकाश सापकोटा,
काभ्रे हालः दोहा
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि
पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार
दिउँ कि नदिउँ गरी-गरी नलुकाउनू अवदेखि
गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्ब
एकान्तमा मात्रै बह नफुकाउनू अबदेखि
आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर
झ्याप्पै आँटे कदमलाई नरुकाउनू अबदेखि
तिम्ले गर्दा मलाई पनि कस्तो-कस्तो हुन्छ अचेल
खुली आउनू कि त टाउकै नदुखाउनू अबदेखि
समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न
मौका आए हत्तपत्त नचुकाउनू अबदेखि
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !