July 18, 2008

रामराज्यको बधाई!!

“अब भने नेपालमा रामराज्य आउने भयो !”, एकजना साथिले फोन गरेर यो ठरकिलाई खबर गर्‍यो । २, ४ दिन यता काममा निक्कै व्यस्त थिएँ र नेपालको खबर पनि हेर्न, पढन केहि भ्याएको थिईन । मैले सोचें, सायद नेपालमा अब पेट्रोल पैसा तिरेपछि किन्न पाईने भएछ क्यार (गजब छ हाम्रो देश पनि पैसा तिनेर सामान किन्न पाए पनि त्यसलाई जनताले ठुलो सुबिधाको रुपमा लिनु पर्छ) ।

कम्प्युटर खोलेर यसो अनलाईन खबर हेर्न थाले:- बि बि सि को मुखपृष्ठ मै पेट्रोल अभाव चर्केपछि शिक्षा पनि प्रभावित भन्ने समाचार देखें पछि म जिल्लीएँ, अँह ! होईन रहेछ । १०० रुपैयाको पेट्रोल कालो बजारमा हाल १५० मा बिक्रि हुदैंछ रे भन्ने समाचार पनि पढेपछि मेरो अडकल गलत निक्ल्यो । अनि कसरि आउन लाग्यो त राम राज्य नेपालाँ ? म सोच्न थालें । शायद अब देखि वाई सि एल ले मान्छे नकुट्ने र पैसा नधुत्ने निर्णय गरेछन कि कसो ? । यस्तै हो भने त नेपालमा राम राज्य नआए पनि केहि शान्ति त अवश्‍यनै आँउछ … म हतार हतार नेपालको खवर छापिने अन्तर्जालाका अन्य पृष्ठ चाहर्न थालें ।

कान्तिपुरको अनलाईन संस्करणमा वाईसीएलद्वारा युवतीलाई कुटपिट, अनि अर्को पत्रिकामा ठेक्कापट्टामा भाग लिन आउनेलाई वाइसिएलले कुटे, जस्ता नेपालको कानून नलाग्ने वाई सि एलका नया नया बहादुरिपूर्ण कारनामा पढेपछि त्यो अडकल पनि मिलेन । “हैन अब कसरी आउने भो त देशाँ राम राज्य ?”। एक हप्ता व्यस्त हुँदा देशको काया पलट भएको पनि थाहा पाईएन हो ! म फेरि अन्य सम्भाबनाहरुको बारेमा घोत्लिन थालें । नेपालका दलहरु बिच एकता भएछ की क्या हो ? देशको समस्याको निराकरणको लागि सबैले पार्टिगत बिचार भन्दा माथि उठने निर्णय गरेछन होला! । आहा त्यसो भए त ज्यादै राम्रो हुने भो ! मेरो औलाहरु कम्प्युटर किबोर्डमा द्रुतगतिमा चल्न थाले र मेरो मोनिटरमा नया नाया पृष्टहरु खुल्न थाले।

तर यो के हो? हिमाल खबरमा एमाले अब माओवादीबिरुद्ध भन्ने समाचार छ भने कतै दलहरुबिच सहमतिको सम्भाबना अन्त भन्ने शिर्षक भंगेराको टाउको जत्रो अक्षरमा लेखीएका छन। समाचार पत्रमा सातदलीय सहकार्य भंग भएको खबर पहिलो हरफमा छ भने अन्त कतै दलहरुबिच चरम मतभेद भन्ने मुख्य समाचार बनेको छ ।

हैन कतै यि शब्दहरु पढन त गल्ती गरिंन मैले पून: नेपालको खबर गुगल सर्च गरेर हेरें तर रामराज्यको समाचार कते भेटीएन । त्यसै पनि देशमा गणतन्त्र र सार्बभौमता समेत केबल शब्द-जाल मात्रै रहेको अबस्था छ र नेपालीहरुको नीयति शाब्दिक गणतन्त्र, शाब्दिक स्वतन्त्रताशाब्दिक सार्बभौमिकतामा परिभाषित हुँदै गईरहेको छ । सोच्दा सोच्दै मेरो नजर यौटा पत्रिकाको अनलाईन संस्करणमा पुग्यो त्यहा नेपालमा राष्ट्रपतिको निर्बाचनको खबर छापीएको थियो । झट्ट भावि उमेदवारको नाम हेरें । रामराजा प्रसाद सिह रामपृत पाशवान र रामबरण यादव, अब भने मेरो ज्ञान खुल्यो ! हो त नी राष्ट्रपति भनेको देशको अविभावक वा संरक्षक हुन अब तिनजनामा जो राष्ट्रपति भएपनि देशमा त रामराज्य आउने भैहाल्यो नी!

वाइसिएलले मान्छे कुटे नि रामराज्य, विदेशिले देश लुटे नि रामराज्य! हत्या, हिंसा जे भए नि रामराज्य मधेश भन्दै तराई नै ‘गए’ नी रामराज्य !!

जे होस हामि केवल शब्दमा बाँच्छौ र केवल शब्दमै रमाउछौं । स्मरण रहोस केहि समय अघी “राष्ट्रपति “ भन्ने शब्दले पुरुषलाई मात्रै जनाउने भएकोले त्यो शब्द समेत परिवर्तन गर्न नेपालाँ आन्दोलन नै चलेको थियो नारिवादि बिदुषिहरुको । मतलब, हामि कहिल्यै शब्द भन्दा माथि उठन सकेनौं ।

देश कसले चलाईरहेको छ थाहा छैन तर हामिकहा शब्दको गणतन्त्र छ । घर बाहिर निक्लेको मान्छे कुन बेला फर्कन्छ वा फर्कन्न थाहा छैन तर गृह मन्त्रालयको बिज्ञप्तिमा शान्ति-स्थिति सुदृण भएको छ । एकातिर सामाजिक भेदभाव हटाउने नारा चल्दैछ भने त्यहिं आर्कोतर्फ जातिय राजनीतिमा नेताहरु मस्त छन । मैले त चार कक्षा पढ्दा बुझेको कुरा हो एकतामा बल हुन्छ भन्ने तर हामिकहाँ जत्ति बढी प्रान्तमा देश बाँडियो राष्ट्र उत्ती बलियो हुने गजबको ‘बाद’ बनेको छ । किनकि यथार्थमा जे भए पनि होस हामिलाई केवल शब्दको आड भए पुग्छ, शब्दको एकता, शब्दको बिकास, शब्दको उचाई र शब्दको नया नेपाल ।

जे होस बास्तबिकतामा जे भए पनि शब्दमा रमाउने हामिलाई यौटा नया खुशिको खबर यो पनि बनेको छ: राष्ट्रपतिको निर्बाचनमा चाहे जो सुकैले जितुन त्यहा रामकै विजय हुनेछ र राम नै नेपालका राष्ट्रपति हुनेछन् । त्यसैले अब बस १-२ दिन धैर्य गर्नुस नेपालमा अवश्य नै रामराज्य आउँदै छ । बधाई छ हामि सबैलाई !!!



2 Comments:

पीजी said...

ल मेरो पनि राम राज्यको शुभ आगमनमा बधाइ छ !
तपाइले भने जस्तो देश शब्दजालमा मख्ख छ, सपना र शब्दले देशका सारा प्राणीहरु रंगिएका छन् । भोलि शब्दको गणतन्त्र जस्तै शब्दका महल, शब्दका विकासहरुले देश झकिझकाउ भएर तपाई हामी मुग्लानेलाई “सपनामा” जिस्काउने छन् : “के दुख गर्छौ विदेशमा ! हेर हामी कहा जनबाद छ, रामराज्य छ, आउ!”

जे होस मारकाट, अविश्र्वास, छलकपट, गान्धीबाद, वाइ सि यल “टेजर” आदिले भरिपुर्ण रामराज्य आउने भयो ।

nepalean said...

हो साच्चै हो हाम्रोमा शाब्दिक गणतन्त्र, शाब्दिक स्वतन्त्रता र शाब्दिक सार्बभौमिकतामा मात्रै छ, ब्यबहारमा त त्यो कहिलै हुदैन र जनताले पनि त्यो कैले देख्दैनन, सुन्छन मात्र।
अब कागताली परेर राष्ट्रपतीको नाम पनि राम नै परेछ। अनि त के मिलीहाल्यो कुरो, ब्यबहारमा रावण राज्य कागजमा राम राज्य।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !