April 23, 2008

राजतन्त्रको अन्त्य कि कम्युनिष्ट अधिनायकवादको उदय ?

राजतन्त्रको अन्त्य कि कम्युनिष्ट अधिनायकवादको उदय ? - एकलव्य

नेपाली राजतन्त्रको दिन गन्ति तय गर्ने काम अन्तरिम संविधानले गरिसकेको भए पनि, संविधानसभाको सम्पन्न निर्वाचनले यसलाई निष्कर्षमा पुर्‍याउने निश्चित प्राय: छ । अब केवल पर्दा पछाडि र अगाडि गरिने केही नाटकहरूको औपचारिकतापछि यो रूपकको पटाक्षेप कसरी होला अहिलेलाई अनुमान मात्र गर्न सकिन्छ ।

उसो त पछिल्लो समयमा राजतन्त्रको अन्त्यलाई नै सबैभन्दा ठूलो माग बनाएर हिंसात्मक बनेका माओवादीहरूले केही वर्ष अघि सम्म राजतन्त्रलाई आफ्नो हिंसात्मक क्रान्तिको बाटोमा मुख्य बाधक ठानेका थिएनन् । जब कांग्रेस र एमाले जस्ता दलहरू अथवा यस्तै दलहरूको एकल वा बहुल सरकार नेपालमा कायम थियो, माओवादीहरूको उद्देश्य दलहरूको गाउँ शहरमा रहेको संगठन संरचनालाई जरैदेखि ध्वस्त तुल्याउँदै व्यक्ति हत्याको आतंक सिर्जना गरी ऋषिकेष शाह, किर्तिनिधि विष्ट र धिरेन्द्र शाह जस्ता दरबारिया सूत्राधारको मद्दतले दरबारियाहरू संग हिमचिम बढाउनुमा ऊ व्यस्त थियो । अकल्पनिय घटनाक्रमको सिलसिला नेपाली राजनितिपटमा चल्ने क्रम कै निरन्तरतास्वरूप जब राजा वीरेन्द्रको वंश बिनासको घटना दरबार भित्रै घट्यो , माओवादीले वीरेन्द्र परिवारका लागि प्रचूर राष्ट्रवादी रोदन रोयो अनि त्यतिबेला उसले आँफू गणतन्त्रवादी कम्युनिष्ट भएको एवं राजाका लागि यसरी अनावश्यक रोदन रुनै पर्ने खाँचो थिएन भन्ने कुरा सम्झिन उसले कुनै दरकार ठानेन । पछि ज्ञानेन्द्रले सत्या हत्याउँदाका शुरुवाती दिनमा पनि ऊ दलहरूको तेजोवध भएको यो परिस्थितिमा दरबारबाट दायित्व सम्हाल्न बोलाहट हुने प्रतिक्षामा निमग्न रह्यो । तर , माओवादी भित्र समेत फुट आएको अनि ऊ कमजोर बनिसकेको गलत आँकलन गरेको ज्ञानेन्द्रको सत्ताले पनि राजनैतिक महत्वाकांक्षाको मादकतामा अन्धो बनेर दलहरू र माओवादी सबैलाई एकैचोटी बढारेर कार्पेट मुनि अठ्याँउन चाह्यो । फलत: भारतको योजनामा दल र माओवादीको सहकार्य सम्भव भयो अनि यही हिंसा र शान्तिपूर्ण प्रतिरोधको फ्युजन स्वरूप जन्मिएको १९ दिने आन्दोलनले माओवादीलाई १४ वर्षे रक्तरंजित पाटोको राजनीतिबाट शान्तिपूर्ण सत्ता प्राप्तिको अवतरणमा पुर्‍यायो । बाबुराम भट्टराईको भाषामा वीरेन्द्रको वंश बिनाससंगै वैधता गुमाएको नेपाली राजतन्त्रका काकतलीमा वारिस बनेका राजा ज्ञानेन्द्रद्वारा हतार वा हतासमा भए गरेका काम नै नेपाली राजतन्त्रको असामयिक विसर्जनको कारक हुन भन्नुमा कुनै अत्युक्ति भने बाँकि छैन , गर्भमा यसका सह कारणहरूको ठुलै उपस्थिति रहे पनि ।

तर अतितदेखि अहिलेसम्मको माओवादी चाल,रणनीति, कुटिलता सबै उसका सफल प्रमाणित भएक छन् संविधानसभाको निर्वाचनमा मा ऊ सबैभन्दा ठूलो राजनैतिक दलका रूपमा उभिन सकेको सन्दर्भसंगै ।“ All is well that ends well” वा “ अन्त्य भला तो सब भला” भन्ने हिन्दी चरितार्थ बनेको छ माओवादी सफलता उसको आफ्नै आँकलनमा । सबैभन्दा ठूलो कुरा धेरैले अनुचित , खराब र हिंस्रक ठानेको भनिएको नेपाली इतिहासको सबैभन्दा आतंकमय हिंसात्मक त्रासदिका डेढ दशक लामो कालखण्ड र यसका लागि जिम्मेवार मानिएका माओवादीका कार्य कर्तूत दुवैलाई मुलुकको इतिहास मै पहिलो पटक सम्पन्न संविधानसभा निर्वाचनले वैधता दिएको हो कि भन्ने भान परेको छ अहिले। राजनीतिमा जनताको मत द्वारा सत्तामा पुग्ने मऔका पाएको वा राजनैतिक दृश्यपटका घागडान खेलाडीहरूलाई पञ्छाएर संविधानसभाका प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल सदस्य संख्याको ३६, ३७% सिटमा कब्जा जमाएर दोस्रो ठूलो दल भन्दा लगभग दोब्बर सदस्य संख्या हासिल गर्न सफल बहुल प्रतिस्पर्धाको काँचो र कान्छो खेलाडी ठानिएको माओवादीले एाकतिर सबैलाई विष्मित पारेको छ भने , उसको पछिल्लो सफलताबाट ऊ आँफैले आँफूलाई अति मूल्यांकन गर्ने र अर्को अतिवादको खतरा जन्मन सक्ने सम्भावना टड्कारो देकिएको छ ।

शान्ति सम्झौताको सफल सम्पादन गरी माओवादीहरूलाई फेरि हिंसात्मक द्वन्दको बाटोमा जानबाट रोक्न, विशेषत: सत्ता र र सम्झौता राजनितिका निकट अतितसम्मका सिनियर सह-खेलाडी कांग्रेस एवं एमालेले माओवादीका अतिवादी जोरजुलुम र वाइसिएल आतंकको प्रभाव मुनि नै जसरी भए पनि युगान्तकारी संविधानसभाको निर्वाचन सम्पन्न गराउनै पर्ने कर्तव्यवोध गरे अनि माओवादीहरूले यो स्थितिको भरपूर फाइदा उठाएर उनीहरूलाई नेस्तनाबूद पार्ने रणनीति लिएर काम गर्‍यो, त्यसमा कांग्रेस- एमाले आफ्नै कर्तव्य र दायित्वबोधले थिचिए अनि पराजित बने । उसो त कांग्रेस र एमाले बहुदलीय राजनीतिक यात्राका डेढ दशकले धेरै थोत्रिन पुगेका पनि हुन , काम, व्यवहार, विचार सबै तहमा अकर्मण्य, दिशाबिहीन र यथास्थितिवादी बनेर । यस कुरामा कांग्रेस बढी नै जिम्मेवार भए पनि ,ऐन मौकामा अस्थिर रहनु र बढ्दो कम्युनिष्ट उग्रवाद तर्फको आकर्षणलाई केवल खिसीट्युरी गरी प्रतिरोध गर्न खोज्ने एमाले राजनीतिक चाल वास्तवमा आत्म घातक बन्न पुगेको देखियो । तर पनि , अब सत्ता नेतृत्व गर्न तम्सिएको माओवादीले के गर्ला र कसरी आगामी दिनहरू चल्ने होलान् भन्ने व्यग्र अपेक्षा आजको जीवनका सर्वाधिक चर्चित मुद्दा बन्न पुगेको छ ।

संविधानसभाको निर्वाचनको सम्पूर्ण परिणाम समेत भरे-भोलि आइसक्दा , नेपाली राजनीति अत्यन्त तरंगित भैसकेको छ । माओवादी विजयको सिलसिला चलिरहँदा मुलुक भित्रबाट एकै दिनमा लगभग १३ अरब नेपाली रुपैयाँ भारत लगायत अन्य मुलुकमा पठाइएको खबरले अनि काठमाण्डु स्थित कुनै ब्यांकमा वासिएल कार्यकर्ता पसेर त्यहाँका म्यानेजरलाई ५० हजार भन्दा बढी रकम ब्यांकमा राख्ने खातावालहरूको नाम माग गरेका जस्ता घटनाले , नेपाली राजनीतिमा अचानक आएको कम्युनिष्ट चढावलसंगै कतै वोल्शेभिक क्रान्तिको सफलता हासिल गरिसकेको ठानिएको त है भन्नेतर्फ जनताको मन सशंकित पारेको छ । विशेषत: आजको पूँजिवादी विश्वमा उदार पूँजिवाद र खुला बजार अर्थनीतिको जुन महत्व छ भनेर भन्ने गरिन्छ , स्वाभावले कम्युनिष्टहरूको त्यहाँ र त्यस्तो पद्दतिप्रति निश्चित खालको विरोध गरिरहेकै हुने हुनाले र नेपाली माओवादीका क्रान्तिकालिन नीतिले गर्दा पनि उनीहरूप्रति व्यवसायी र सामान्य जनताको आशंका रहनु अचम्मको विषय पनि हैन । माओवादी नेतृत्वले क्रान्तिकालीन बिद्रोही नीति र रवैयाका आधारमा आगामी सत्ता राजनिति चल्ने छैन भनेर व्यवसायीहरूलाई आश्वस्त तुल्याउन खोजेपनि , अझै आशंका निमिट्यायन्न भने नभएको हुन सक्छ ।


अब राजतन्त्र अन्त्यको कुरा गर्न हुन्छ कि हुन्न भन्ने विवादको विषय रहेन । तर , बिद्रोहको प्रचण्ड, दम्भ, बल र जोरजुलुममा व्यारेकमा सेना र गाउँ शहरमा वासिएल मिलिसिया छ्याप्छ्याप्ति पारेर हासिल गरेको माओवादी निर्वाचन सफलताले पहिलो र ऐतिहासिक संविधानसभाको परिघटनालाई पटाक्षेप गरेको भएपनि आगामी नेपालको राजनीतिक परिदृश्यलाई भने सदाको लागि के हुने होला भन्ने शंकाको घेरामा ल्याएर थुनिदिएको छ । पहिलो पटक चुनाबी राजनीतिलाई सफल रूपमा हिंसाकै छायामा आफ्नो पोल्टामा लान सफल माओवादीले भोलिका दिनमा सत्तामा नै कायम रहेर मिलिसिया समेतको सहयोगमा निर्वाचनमा जाने नीति लिई नै रह्यो भने उसले सफलता पाइरहला र नेपाल कम्युनिष्ट अधिनायकवादको नियन्त्रण भित्र उत्तर कोरिया नभए पनि भियतनाम नै पो हुने हो कि भन्ने आशंका गर्ने ठाउँ भने प्रशस्त छन् ।

भ्रष्टाचारबिहीन, सम्पन्न, सुन्दर र शान्त नेपालको चाहना हामी सबै नेपालीले गरेको कुरा हो तर २१ औँ शताव्दिको मानवीय स्वतन्त्राको यो संसारमा बाँकि संसारको भाग्यलाई साक्षत्कार गरेका ,देखेका, पढेका वा भोगेका हामीहरू उदारवादी लोकतन्त्र र विश्वमान्य मानव अधिकारका सिद्दान्त र व्यवहारलाई सम्मान गरिने बहुलवादी प्रतिस्पर्धा सहितको समुन्नत नेपालका संप्रभू नागरिक भएर बाँच्न पाऔँला वा राजतन्त्रको सामन्तवादी जकडबाट मुक्त भएर कम्युनिष्ट अधिनायकवादको अर्को बलशाली पकड भित्र कब्जा हुन पुगौँला भन्ने असहज सोचहरूको मझधारमा धेरै नेपालीहरू जस्तै म पनि असरल्ल बनको छु !

कतै हाम्रो नियति हिन्दी उखान जस्तो “ आसमान से गिरा और खजूर पे अड्का” बन्न जाने पो हो कि ?


4 Comments:

Swiss Frank said...

Just a power transformation.
Like energy, the ripple just passed over the crest of king to crest of the maoist. It seems ripple gonna hit stone with big splash which may cover all aquatic plants and animals like congress and yemale. Splash may be destructive but believe me wont last. It will be like in USSR.

ठरकी दादा said...

मेरो मनको कुरा लेख्नु भएको छ। मलाई पनि लाग्दैछ हामी यौटा सामन्ति शासनबाट मुक्त भएर अर्को अधिनायकबादको भुमरिमा जेल्लीने क्रममा छौं ।

त्यसो त यौटा संबिधान सभाको चुनवि परिणामबाट आत्तीहाल्नु पर्ने स्थिति त छैन तर यो यौटा स्वभाबिक चीन्ता हो ।

nepalean said...

कम्युनिष्ट भनेको अधिनायकबाद नै हो। तर बहुदलिय पद्दतीबाट चुनिएका माओबादी अहिले बाचा गरे जस्तै बहुदिलिय ब्यबस्थामै रहेर अधिनायकबाद तिर नलम्किउन। तर तपाइले उठाउनु भएको कुरा सहि छ, यिनीहरुको चालामाला हेरेर कतै राजतन्त्रबाट प्रचण्डतन्त्र तिर लाग्ने त होइने ?

Panda said...

चारैतिर नैराश्यता र चरम अव्यवस्थाले गांजिसकेको मुलूकको व्यवस्थापन र पुनर्संरचनाको आशामा रहेका पुस्ताले नया नारा र राग बोकेको माओबादिलाइ कुनै बाद प्रतिको आशक्तिका कारण भन्दा पनि परिवर्तन र शान्तिको आशाले आफ्नो मत दिएको कुरामा शंका नहोला । तर आफूलाई १००% प्रजातन्त्रबादी भन्न रुचाउने पार्टीले त आफ्नो एक छत्र राज चलाउने तिकडममा अल्झेर मुलूकलाई यो दशामा पुर्याउने कारक मध्यमा आफुलाइ उभ्याउन पुग्यो भने सम्पूर्ण राज्य सत्ता कब्जा गरी आमूल परिवर्तन गर्न बन्दुक उठाएर हजारौ लडाकुहरु को बली चढाउने वा बिरोधी वा वर्ग शत्रुलाइ मुक्ति दिने (सफाया गर्ने) पार्टीले ३ वर्ष पछि वा ५ वर्ष पछि आफुले मुलुकको संविधान मात्र बनाएर „जनबादी“ सत्ताको सांचो पुजीबादी पार्टीलाइ सुम्पेलान भन्ने कुराको विश्वास गर्न सामान्य परिस्थितिमा सकिदैन ।

देशको नियति हिन्दी उखान जस्तो “ आसमान से गिरा और खजूर पे अड्का” बन्न जान्छ यसमा शंका छैन तर “खजुर माथि अड्केर “ भए पनि परिवर्तन को मीठो फल चाख्न पाइयो भने त राम्रै होला नत्र "गांधी आतंक" सहितको अधिनायकबाद लादिन लाग्यो भने चाही मुलूक पुन अर्को भूमरीमा फस्न सक्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !