March 27, 2008

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।

चुनाव संबिधान सभाको तर राजनैतीक पार्टीका कार्यकर्ताहरुको भिडन्त हेर्दा लाग्छ यो एउटा संसदीय चुनाव हो। पार्टीहरु आफ्नो बहुमत जुटाउन हरतरहले लागिरहेका छन। भाषाणमा आरोप-प्रत्यारोप त बुझिने कुरो हो तर कार्यकर्ताहरु मारामारीमा लागेका छन। कार्यकर्ता देखी उम्मेद्वार सम्मको ज्यान गुमेको छ। संबिधान सभा भनेको सरकार बनाउने सभा होइन र बहुमत ल्याउन यस्तो बिध्न उध्यम गर्नु पर्छ जस्तो लाग्दैन। बहुमत हुनेले संबिधान बनाउने भए सिधै संसदको चुनाव गरेको भए हुन्थ्यो वा अहिलेकै संसदले बनाएपनी हुन्थ्यो। संबिधान निर्माणको लागि यो चुनाव हुने भएकोले यसमा देशका प्रत्यक तप्का,बर्ग, जात-जाती, बिचार को प्रतिनिधित्व हुनु पर्ने हो र यसो हेर्दा लोकतान्त्रीक पक्षहरु एकजुट भएर जानु पर्ने हो। संबिधान सभाको चुनाव सकेसम्म गैर राजनऐतीक चरित्रको हुन पर्ने हो। पार्टीहरुले उम्मेद्वार उठाउदा समाजका बुद्धिजीवी, कानून ब्यबसायीहरु, शिक्षक, ब्यबसायीहरु, मानवाधिकारवादीहरु आदिलाई उठाउन पर्ने हो। तर तिनै पुराना बासी अनुहारलाई उठाइरहेका छन। यिनिहरुबाट नै हुने भए हिजो पनि यिनीहरुनै त थिए नि? किन देशले यो दुर्गाती ब्यहोर्न पर्‍यो?
संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्‍यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।


1 Comments:

Unknown said...

संबिधान सभाको चुनाव सकेसम्म गैर राजनैतीक चरित्रको हुन पर्ने मा मेरो पनि सहमति छ । तर तपाईले भन्नु भए जस्तो समाजका बुद्धिजीवी, कानून ब्यबसायीहरु, शिक्षक, ब्यबसायीहरु, मानवाधिकारवादीहरु लाई उठाएमा ति बुद्धिजीवीहरुले पक्कै पनि "बासी" अनुहारले भनेका मान्ने छैनन् । संबिधान सभाको चुनावमा पक्कै पनि संबिधान बनाउने हुत्ती भएकाहरु उठाईनु पर्ने थीयो तर के गर्ने ? "भाग" खोसीने भएले ति 'बासी' 'पुराना' अनुहारहरु आफै खडा भए।

मलाई लाग्छ कतिपय नेतालाई समेत यो चुनाब जिते 'मुन्तरी' हुने भ्रम छ भने कतिपय लाई अरुले संबिधान बनाए पछि आफु छिर्ने बाटो पनि थुनिदिन्छन की भन्ने भय, त्यसैले प्रतिस्पर्धिमा सडे गलेको बासि अनुहार देखिनु हाम्रो देशको लागि अनौठो भएन ।

"बहुमत हुनेले संबिधान बनाउने भए सिधै संसदको चुनाव गरेको भए हुन्थ्यो वा अहिलेकै संसदले बनाएपनी हुन्थ्यो। संबिधान निर्माणको लागि यो चुनाव हुने भएकोले यसमा देशका प्रत्यक तप्का,बर्ग, जात-जाती, बिचार को प्रतिनिधित्व हुनु पर्ने हो" भन्नेमा चाहि कसैको दुई मत नहोला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !