भ्रष्टाचार नियन्त्रण, विकृति नियन्त्रण र अर्थ संयन्त्र दर्हो र व्यवस्थित गर्न भर्खर शुरु गरिन लागेका केहि प्रयासहरु देख्दा विस्तारै केहि परिवर्तन होला कि त जस्तो लागेको थियो केहि दिन अगाडि सम्म ।
तर अहिले एउटा मात्र होइन तीन चार जना बरिष्ठ माओबादि मन्त्रीहरुले फलाकिराखेका छन बिदेशीले काम गर्न दिएनन रे । प्रधान मन्त्री आंफैले पनि मुखै फोरे “बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम गर्न दिएनन, अब कहिले सम्म हो त्यो काम गर्न नसके सरकार छाडेर संघर्ष गर्छौं ।“ अझ थपेका छन, सहयोगी दलहरु र आंफुले राम्रो काम गर्न खोजेका छन रे, त्यसको अर्थ सहयोगी दलहरुको कारण समस्या छैन भन्ने बुझिन्छ ।
डेढ लाखको पलंगलाइ राष्ट्र प्रमुखको हिसाबले उचित मानेर, वा कम्प्युटर अपरेटरको अमेरिका यात्रालाई सामान्य मानेर बस्दा पनि र प्रधानमन्त्रीको “शाही” कारगेडलाई सुरक्षाको हिसाबले ठिकै होला भनेर बस्दा पनि सुख नपाउने स्थिति आएछ । दुधे छापामारहरुले बेला बेलामा विध्वंश र उत्पात मच्चाउने अघोषित खुल्ला छुट पाउंदा पनि र “जंगल युनिभर्सिटी” बाट दीक्षीतहरुलाई सिंहदरवार पसाउंदा पनि शान्तिको सास फेर्न नपाउने स्थिति आउन लागेछ । हिजो सम्म आफ्नो नालायकीपनलाई राजतन्त्रको अवशेषको विशेषण दिएर उम्कने बानी परिसकेकाहरुलाई पुन आफ्नो नालायकिपनाको दोषारोपण गर्ने अर्को बहाना भेटिएछ , “विदेशी शक्ति” को !
सबैलाइ थाहा छ नेपाल एउटा मात्र देशको नभएर धेरै देशको क्रिडास्थल बनेको छ धेरै पहिले देखि । आंफुलाइ सक्षम मान्नेहरुले अव्यवस्थालाइ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने पनि बुझेको हुनु पर्छ वा बुझ्नु पर्छ । अरुले गरेको ठिक भएन भनेर बन्दुक बोकेर हिड्नेहरुले सर्व शक्ति आफ्नो हातमा आउंदा केहि गर्न नसक्ने भइयो अब हामी सत्ता छोडेर पुन संघर्ष गर्छौं भन्ने बिलौनालाइ के मान्ने ? संघर्ष के का लागि ? सत्ता कब्जाका लागि हैन? सत्ता पाइसके पछि फेरि सत्ता छोडेर संघर्ष गर्ने, कहिं भएको छ यस्तो “अनुपम” कार्य ? विकास गर्न पुल भत्काउन, टावर पड्काउन, दुर्गमका शिक्षकलाई रुखमा झुण्ड्याउन, चक्का जाम गर्न भन्दा गार्हो हुंदोरैछ भन्ने बुझेर मात्र हो या रगतको प्यास लागिसकेका कामरेडहरु रगत विना बांच्न नसक्ने भइसके ?
विदेशी चलखेलले काम गर्न दिएन रे । आफ्नै देश भित्र बसेको सरकारलाई बिदेशीले काम गर्न नदिदैमा चलाउनै नसक्ने कस्तो हुतिहारा रैछ सरकारको नेतृत्व, कि सरकार देश भित्र नभएर बाहिर छ ! अझ पुरानो मानसिकता र प्रणालीबाट चल्ने कर्मचारीतन्त्रले काम गर्न दिएन रे ! कस्तो वाहियात ! कस्तो “नया नेपाल” हो यो, जहां सरकारले कर्मचारितन्त्र हैन कर्मचारितन्त्रले सरकार चलाउंछ !
हजारौं कर्मठ र योग्य नागरिकहरु छन नेपालका, विदेशमा विदेशीका आधुनिक संयन्त्रहरुसंग भिजेका । स्थायित्वको ग्यारेन्टी हुन्छ भने विदेशमा सेकेन्ड क्लासको दर्जा त्यागेर आउन तयार छन । नेपाल भित्रै पनि छन नया जेनेरेशनका योग्य मान्छेहरु नया जोश र जागर बोकेका जिम्वेबारी सम्हाल्न सक्ने क्षमता भएका । किन गलत्याउन सक्दैनन सर्वे सर्वा भनाउंदा “नया नेपालको” भाषण गरेर नथाक्ने नेताहरुले जर्जर र असक्षम जिर्ण कर्मचारितन्त्र ?
एउटै उत्तर काफी छ “किनकि सरकारको नेतृत्व लिनेहरु वा सरकार नै खिया लागिसकेको जर्जर र असक्षम कर्मचारितन्त्र भन्दा असक्षम छ” ।