December 8, 2008

प्रचण्डले सिंहदरबार सम्हाल्न नसकेकै हो त?

राजतन्त्र मात्र नभएर नेपालमा शताब्दियौं देखि चलिआएको सामान्तीवादी प्रथालाई जरै देखि उखेलेर फाल्ने डिंग हांकेर जंगल पसेका महामहिम जनवादी नेताहरुले १५००० नेपालीको अवसानलाई महान क्रान्तिको लागि शहादात वा सफाया भन्ने शब्दावलीले सिंगार्दा पनि “नयां नेपाल” का सौदागरहरुसंग चुप लागेर जे भो भैगयो अब त केहि राम्रो होस भन्ने आशामा बसेका हामी मूकदर्शकहरुलाई सौदागरहरुले लोप्पा ख्वाउन शुरु गरेका छन ।

भ्रष्टाचार नियन्त्रण, विकृति नियन्त्रण र अर्थ संयन्त्र दर्हो र व्यवस्थित गर्न भर्खर शुरु गरिन लागेका केहि प्रयासहरु देख्दा विस्तारै केहि परिवर्तन होला कि त जस्तो लागेको थियो केहि दिन अगाडि सम्म ।

तर अहिले एउटा मात्र होइन तीन चार जना बरिष्ठ माओबादि मन्त्रीहरुले फलाकिराखेका छन बिदेशीले काम गर्न दिएनन रे । प्रधान मन्त्री आंफैले पनि मुखै फोरे “बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम गर्न दिएनन, अब कहिले सम्म हो त्यो काम गर्न नसके सरकार छाडेर संघर्ष गर्छौं ।“ अझ थपेका छन, सहयोगी दलहरु र आंफुले राम्रो काम गर्न खोजेका छन रे, त्यसको अर्थ सहयोगी दलहरुको कारण समस्या छैन भन्ने बुझिन्छ ।

डेढ लाखको पलंगलाइ राष्ट्र प्रमुखको हिसाबले उचित मानेर, वा कम्प्युटर अपरेटरको अमेरिका यात्रालाई सामान्य मानेर बस्दा पनि र प्रधानमन्त्रीको “शाही” कारगेडलाई सुरक्षाको हिसाबले ठिकै होला भनेर बस्दा पनि सुख नपाउने स्थिति आएछ । दुधे छापामारहरुले बेला बेलामा विध्वंश र उत्पात मच्चाउने अघोषित खुल्ला छुट पाउंदा पनि र “जंगल युनिभर्सिटी” बाट दीक्षीतहरुलाई सिंहदरवार पसाउंदा पनि शान्तिको सास फेर्न नपाउने स्थिति आउन लागेछ । हिजो सम्म आफ्नो नालायकीपनलाई राजतन्त्रको अवशेषको विशेषण दिएर उम्कने बानी परिसकेकाहरुलाई पुन आफ्नो नालायकिपनाको दोषारोपण गर्ने अर्को बहाना भेटिएछ , “विदेशी शक्ति” को !

सबैलाइ थाहा छ नेपाल एउटा मात्र देशको नभएर धेरै देशको क्रिडास्थल बनेको छ धेरै पहिले देखि । आंफुलाइ सक्षम मान्नेहरुले अव्यवस्थालाइ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने पनि बुझेको हुनु पर्छ वा बुझ्नु पर्छ । अरुले गरेको ठिक भएन भनेर बन्दुक बोकेर हिड्नेहरुले सर्व शक्ति आफ्नो हातमा आउंदा केहि गर्न नसक्ने भइयो अब हामी सत्ता छोडेर पुन संघर्ष गर्छौं भन्ने बिलौनालाइ के मान्ने ? संघर्ष के का लागि ? सत्ता कब्जाका लागि हैन? सत्ता पाइसके पछि फेरि सत्ता छोडेर संघर्ष गर्ने, कहिं भएको छ यस्तो “अनुपम” कार्य ? विकास गर्न पुल भत्काउन, टावर पड्काउन, दुर्गमका शिक्षकलाई रुखमा झुण्ड्याउन, चक्का जाम गर्न भन्दा गार्हो हुंदोरैछ भन्ने बुझेर मात्र हो या रगतको प्यास लागिसकेका कामरेडहरु रगत विना बांच्न नसक्ने भइसके ?

विदेशी चलखेलले काम गर्न दिएन रे । आफ्नै देश भित्र बसेको सरकारलाई बिदेशीले काम गर्न नदिदैमा चलाउनै नसक्ने कस्तो हुतिहारा रैछ सरकारको नेतृत्व, कि सरकार देश भित्र नभएर बाहिर छ ! अझ पुरानो मानसिकता र प्रणालीबाट चल्ने कर्मचारीतन्त्रले काम गर्न दिएन रे ! कस्तो वाहियात ! कस्तो “नया नेपाल” हो यो, जहां सरकारले कर्मचारितन्त्र हैन कर्मचारितन्त्रले सरकार चलाउंछ !

हजारौं कर्मठ र योग्य नागरिकहरु छन नेपालका, विदेशमा विदेशीका आधुनिक संयन्त्रहरुसंग भिजेका । स्थायित्वको ग्यारेन्टी हुन्छ भने विदेशमा सेकेन्ड क्लासको दर्जा त्यागेर आउन तयार छन । नेपाल भित्रै पनि छन नया जेनेरेशनका योग्य मान्छेहरु नया जोश र जागर बोकेका जिम्वेबारी सम्हाल्न सक्ने क्षमता भएका । किन गलत्याउन सक्दैनन सर्वे सर्वा भनाउंदा “नया नेपालको” भाषण गरेर नथाक्ने नेताहरुले जर्जर र असक्षम जिर्ण कर्मचारितन्त्र ?

एउटै उत्तर काफी छ “किनकि सरकारको नेतृत्व लिनेहरु वा सरकार नै खिया लागिसकेको जर्जर र असक्षम कर्मचारितन्त्र भन्दा असक्षम छ” ।


6 Comments:

brilliantman71 said...

नेपालमा एउटा कुरा रोक्न पर्ने देखिन्छ त्यो के भने बहालवाला मन्त्री-प्रधानमन्त्रीहरु महत्वबिहिन् कार्यक्रमहरुमा गएर चाहिदो नचाहिदो भाषण गर्ने। कार्यक्रम आयोजकहरुले पनि मन्त्रीलाई नै प्रमुख अतिथि बनाएर बोलाउनु पर्ने। मन्त्रालयमा फाइलहरु निर्णय नभएर थुप्रिरहेका हुन्छन् तर मन्त्रीहरुलाई त्यो अध्ययन गर्ने फूर्सद् हुदैन बरु स्कूलको अभिभावक् दिवस, कुनै एउटा गैरसरकारी संस्थाको कार्यक्रम् उद्घाटन जस्ता कार्यक्रमहरु अनि शिशी धमलाको अड्डामा गएर भाषण ठोक्न फूर्सद् हुन्छ। काम नगरी भाषण मात्रै गर्दै हिंडेपछि बोल्ने कुराको अभाव त भैहाल्यो अनि बोलीदियो बिदेशीले काम गर्न दिएन। एउटा जिम्मेवार तहको मान्छेले काम् गर्न नसकेपछि गर्ने भनेको राजीनामा हो।

मन्त्रीहरु र प्रमले समेत औचित्यहिन कार्यक्रमहरुमा जाने, भाषण गर्दै हिंड्ने बन्द गर्न पर्छ। सरकारको धारणा, कुराहरु भन्न परे प्रेस् वक्तब्य दिने चलन् छ। मन्त्री प्रधानमन्त्रीले बोलेको कुराको एउटा महत्व होस् र त्यसले राष्ट्रिय सरोकारको बिषय राखोस् तर यहा यिनीहरुको बोली यति सस्तो हुन्छ कि जनतालाई सुन्दा सुन्दा पट्ट्यार लागिसक्यो।

ठरकी दादा said...

लामो गन्थन नगरी ठ्याक्कै भन्ने हो भने; "हो"।

Luna said...

" भेउ पाउन गार्हो भो "
--------------
सम्हाल्न सकेनन कि
सम्हाल्न दिएनन !
भेउ पाउन गार्हो भो
जेलिएका राजनीति ढुङ्गा भन्दा सार्हो भो ।
~~
छ यालिस साल यता कती सरकार आए
कुन चाहिले कती लामो समय पाए !
हेर्दा हेर्दाइ सबै नेता पिपल पाते भए
आफू आँफैमा खिचातानी जनतालाई डुबाए !
~~
'ढुङगाको भर माटोलाई माटोको भर ढुङ्गालाई '
भुलेर यो सत्यलाई
राजनीति गर्छन् मुलुक खोक्राइ
जनता डुब्दै छन शिर झोक्राइ ।
~~~~
'घिउ के मा पोखियो ? दालैमा ! '
भन्न् कहिले पाइने हो !
भएको दाल पनि
छिमेकिसँग सोधेर खाइने भो ---
~~~~
'रङ्ग न भङ्ग भरिभङ्ग'
भएर पो यस्तो भो कि !
कि ' थोत्रो घर मा मुसाको र जाइ !'
भएर पो हो कि !--
~~~~
'अगाडी खोला पछाडि भ डखाल '
नेताजी बुनिरहन्छन राजनीति 'जाल'
यस्तै छल बढ्दै गए
झन झन देश हुने छ बेहाल !
~~~~
पार्टी हरुले सोच्नु पर्‍यो !
' तलाई खाने बाघ ले मलाई खान्छ '
खुच्चिम खा! भनिरहे
सबै भ डखालोमा जान्छ --
~~~~~

मदन बराल said...

बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम गर्न दिएनन, यस्तो मनगणत्ने पाराले कती दिन जनताको आखामा छारो हाल्ने? आफु गर्ने केही होइन दोष जती सधै अरुको थाप्लोमा। सायद कमरेड प्रचण्ड सुइजलेण्डबाट जरजरलेण्डमा अबतरण गरेजस्तो छ।
लुना जीको कबिता पनि निकै गतप्रदो लाग्यो। सबै कुरा कबितामा ओगट्नभएको छ।

Panda said...

ब्रिलियन्टम्यानजीले भने जस्तै "नया नेपालका" "मन्त्रीहरु र प्रमले समेत औचित्यहिन कार्यक्रमहरुमा जाने, भाषण गर्दै हिंड्ने बन्द गर्न पर्छ"। नत्र अनावश्यक ठाउंहरुमा पनि अतिथि बनेर हिड्नु परेपछि केहि त बोल्नै पर्ने हुन्छ, अनि ताली पाउने आशामा चर्का कुरा बोल्नु पर्ने हुन्छ जुन पदीय शोभा भन्दा बाहिर जान सक्छ ।

अनि लुना जीले कविता मार्फत व्यक्त गर्नु भएको कुरा पनि जायज होला तर के देशलाई एउटा रुप वा गति दिन्छु भनेर राम्रो काम गर्न लाई राजा, सेना, गिरिजा वा के पि ओलि संग डराउनु पर्छ र? लाखौं नेपालीहरुले साथ दिए भने २-४ जना संग डराउनु पर्ला र? अहिलेको सरकार भनेको ४६ साल पछिको शक्तिशाली सरकार मध्येमा पर्छ, चाहे शक्तिको रुपमा होस वा मानसिक रुपमा, वा कर्मचारि तन्त्र देखि व्यापारी सम्ममा एउटा "त्रास" वा "सन्देश" दिनमा ।

विदेशीसंग डराउनेले सरकार नचलाए हुन्छ बरु ग्यानेन्द्रलाई नै छोडिदिए हुन्छ । नत्र नेपाल मात्रै होइन "विदेशीले" विश्र्वमा कहि पनि राम्रोसंग देश चल्न दिदैन । विदेशीले गर्न दिन्थ्यो भने वा हस्तक्षेप वा षडयन्त्र गर्थेन भने मुम्बइमा बम पड्किने थिएन, रुवाण्डा रुवाण्डा जस्तो हुने थिएन, इराक इराक जस्तो हुने थिएन, तेलमा धनी नाइजेरिया नाइजेरिया जस्तो हुने थिएन, प्यालेष्टाइन, इजरायल, लेवनानले दुख पाउने थिएनन ।

त्यसैले नेतृत्वमा एउटा व्यवस्थापकीय क्षमता हुनै पर्छ जो गिरीजाले फु गर्दा, बुशले कड्के नजरले हेर्दा वा मन मोहन सिंहले खोक्दा सत्ताच्युत हुन नपरोस !

Luna said...

पाण्डा जि ! तपाईंको कुरामा दम छ ।
धन्यवाद मदन जि कबिताको भाबार्थ बुझिदिनु भएकोमा ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !