October 29, 2008

नया नेपाल: जता बामदेव, उतै स्वाहा:

माओवादी छापामारहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न भनी धेरै माथापच्ची गरेपछि हिजो मात्र क्याबिनेटले एउटा विशेष समिति बनायो । तर , यसको गठनले समायोजनलाई समाधान तिर लाने कुरा भन्दा , कसरी माओवादीको अनुकूलताका लागि समिति बनाउने भन्ने कुरालाई बढी महत्व दिएको देखिन्छ । यसका कारणहरू निम्न छन्:

(१) कांग्रेस, एमालेको झलनाथ-बामदेव बाहेकको हिजो सम्मको संस्थापन पक्ष र अधिकांश अन्य दलहरूको मत थियो , समायोजन समितिको नेतृत्व माओवादीलाई दिइनु हुन्न । तर माओवादीले यो कुरालई माने झेँ गरी अरूलाई थाङ्नामा सुताउने चलाखी देखायो । माओवादीले नेतृत्व एमालेलाई दिए झैँ गरी , एमालेबाट सरकारका गृहमन्त्री रहेका बामदेवलाई यसको संयोजक तोकेर आफ्नै पक्षमा भरोसा लाग्दा खेलाडीको चयन गरेको छ । यसो गर्दा माओवादी नेतृत्वले एमालेका झलनाथ र बामदेव सम्मलाई विश्वासमा लिएको देखिन्छ भने यो कुराको बारेमा अन्यहरू नदारद नै रेहको पाइन्छ । यो कुराको छनक एमाले नेता के पी ओलीले आँफ्नो पार्टीलाई विशेष समिति मान्य नभएको बताएर सार्वजनिक पनि गरिसकेका छन् । वास्तवमा बामदेव गौतम स्वयं अत्यन्त ढुलमुले र अवसरवादी खालका छन् ।

कुनै समय संसदवादीहरूलाई बोकाको टाउको राखेर कुकुरको मासु बेच्नेहरू भन्ने बामदेव संसदवादी र सामन्तवादीहरूलाई एउटै खाल्डोमा पुर्नु पर्ने क्रान्तिकारी कुरा गर्थे भने अर्को पटक माओवादीलाई निमिट्यान्न पार्न सेनालई पूर्ण अधिकार दिँदै आतंककारी बिरोधी कडा कानूनको अपरिहार्यता देख्थे । आक्रोस र झोँक चलेका बेला पार्टी नै फुटालेर हिँड्ने नेता बामदेवले जब एमाले फुटालेर माले बनाए अनि केही समय पछि फेरि एमालेमा फर्के त्यतिबेला सम्म अधिकांस उनका अनुयायी माओवादीमा बिलीन भैसकेका थिए । जब, संविधानसभाको चुनावको चर्चा उत्कर्षमा थियो , बामदेवको माओवादीमा प्रवेश हुने हल्ला पनि उच्च थियो । तर उनी माओवादीमा पसेनन् बरू माओवादीकी एउटी सामान्य महिला प्रतिस्पर्धीसंग नराम्रो रूपमा पराजित हुन पुगे । तर यो पराजयले उनलाई त्यो कुरा दियो , जुन उनले जितेका भए पनि प्राप्त गर्न सक्दैनथे । उनी मन्त्रीमण्डलमा प्रधानमन्त्री पछिका दोस्रो नेता बन्न पुगे । उनी कति प्रभावशाली छन् भने स्वयं माओवादी नेता प्रम प्रचण्ड समेत मुलुकका विषयमा बाबुराममा भन्दा बामदेवमा भर पर्ने गरेका छन् रे ! अघिल्लो अंकको नेपाल साप्ताहिकले लेखेको छ प्रचण्डका भित्रियाको रूपमा बामदेवले नै मुलुक चलाउने काम गरिरहेका छन् भन्ने कुरा लेखिदिएको छ । यता बामदेव भने , एमालेमा आफ्नो स्थिति कमजोड रहेको बुझेका कारण पनि तलबितल परेमा माओवादीमा जम्प लगाउन तम्तयार नै छन् , यस्तोमा सेना समायोजनको नेतृत्व गरेर प्रचण्डलाई गुन लगाउन सकेमा बामदेवको स्थिति माओवादीमा पनि दह्रो हुनेछ भन्ने कुरामा द्विविधा पनि रहेन ।

(२) गठित विशेष समितिमा माओवादीका दुईजना मन्त्री हुनेछन् अनि स्वभाव, व्यवहार र सदासयताले माओवादीको पक्षमा देखिने गरेका बामदेव यसको संयोजक छन् । बाँकि २ वटा कोटा क्रमश: फोरम र कांग्रेसका लागि छुट्याइएको छ । अब यस्तो समितिमा बहुमत वा सर्वसम्मत कुन खालको निर्णयले काम गर्ने होला प्रष्ट भैसकेको छैन । यदी सर्वसम्मतिको खोजी हुने हो भने त, ढिलो भए पनि निचोड केही अर्थमा राम्रो हुन सक्ला यदि त्यसो भएन र बहुमतीय शैलिमा अघि बढ्यो भने त , जता बामदेव उतै स्वाहा: हुने परिबन्द पक्का छ । जसले जे भनोस् , यही समिति कायम रहने हो भने सेना समायोजनको कुंजी बामदेवको हातमा परेको भने साँचो हो ।

(३) अब बाँकि हेर्न लायक कुरा एउटै छ , यति बिघ्न प्रभावशाली बन्न पुग्नु भएका बामदेव गौतमले कस्तो जिम्मेवारी निभाउनु होला ! माओवादी नेतृत्वको सरकार गठन भएपछि , केवल बामदेव चर्चामा हुनुहुन्छ । किनभने वहाँले नाङ्गा नाच देखाउने नाइटबारहरूलाई कोदाली प्रहार गर्दिनुभो अनि फुटपाथे पसलवालाहरूलाई पनि सामन्तवादीले झैँ उठिवास गराइदिनुभो । बामदेवमा साक्षात कामदेवमा जस्तो आभा छ र वहाँले तिर छोड्दा हिजो पनि मान्छे हायल कायल भएकै हुन् । हिजो सरकार गिराउने प्रपञ्च गर्नेहरूलाई सुरा सुन्दरीमा मोहनी लगाउने कुरादेखि बैंककको यौन पर्यटनको स्वाद चखाउने सयर गराउँदै वशिभुत पार्ने खेलो होस् वा स्थानीय निर्वाचनमा सारा बिरोधीको पत्तासाफ गर्ने स्ट्राटेजी अवलम्बनमा होस् बामदेव अब्बल हुनूहुन्छ । वहाँको नाम प्रकाश टिवडेवाल र प्रतितपत्र घोटालाका कर्ताधर्तासंग मिल्न पुग्छ भने भ्रष्टाचारी नम्बर एकको खिताबमा पनि दर्ज हुन पुग्छ ( प्रदिप नेपालजीले टुँडिखेलमा सार्वजनिक गर्नभएको सूचिबाट साभार )। वहाँको नाम राजाको प्रियपात्र बनेको कुरादेखि माओवादीको भित्रीया बनेकोसम्म कुरामा जोडिएर उच्चरित हुन आइपुग्छ । वहाँ अकर्मण्य सरकारका एक मात्र कर्मशिल उप प्रधानमन्त्री त हुँदै हो , अब वहाँ सेना समायोजन विशेष समितिको संयोजक बनेर माओवादी छापामार र माओवादीको खाँतिरदारी गर्ने बामपन्थीदेव बन्नु हुने हो कि , यो कुरामा सन्तुलनको भूमिका निभाएर समायोजनको पेचिलो विषयलाई निष्कर्षमा लैजाने नेपालदेव बन्नु हुने हो हेरौँ । हेरौँ, दुईटा लाडाकु माओवादी मन्त्रीहरू र दुईटा गैरमाओवादी सदस्यको बीचमा बामदेवको भूमिका कसरी जम्ने हो । जे होस् अहिलेलाई जता जता बामदेव उतै उतै स्वाहा: हुने छाँट भने पक्कै देखियो ।



October 28, 2008

नया नेपाल भनेको के हो त ?

बिजय श्रेष्ठ धादिङ्ग, हाल ईराक

साथ र सार्थक भन्ने शब्द पनि अचम्मको हुने रहेछ । हुनत यो सन्सारमा संसारिक प्रणी भएर जन्म लिए पछि एक र अनेकताले जेलिएको हुन्छ । त्यो अनेकताले नै यो संसारमा बिभाजनको सिमा स्थम्बको रेखाङकनको चित्र कोर्न सुरु गरेको हुन्छ । त्यसकै माध्यमले नै आफनो र अर्का भन्ने कुराको आफनत्व माया जाल बुन्ने एउटा सान्सारिक माया जालको बिजारोपण गर्दछ ।

मानिसको मनलाई फराकिलो पार्दै लैजाने तत्व हो त्यो माया जाल । त्यो जालमा कुदिएका र भरिएका अंकुसे ति गांठाहरु । जसरी ती गाठाको सहायताले गर्दा आफनो संसारमा रमाईरहेका ति माछाहरु पासोमा पर्छन त्यसरि नै आफनत्वको जालमा बाँधिएकाहरु आफना कै पछि लागेर भाग वण्डा लगाउने तर्फ अग्रसरता देखाउछन् । अनि त्यति बेला देखि सुरु हुन थाल्छ तेरो र मेरो ।

अनि ति अगि हामी समान हौ हामीमा को सानो को ठुलो हो भन्ने अहमता छैनौ भन्ने सबै अडानहरुले गन्तव्य विहिन र अर्थहिनताको गोरेटोलाई अंगाल्दछ र त्यति बेला सबैको मनमा उतार चडाबको हुरि बतासले ठुलो मोड लिन पुग्छ र सारा तपो मनहरुमा बैमनष्यताको हुरीबतास चल्न थाल्छ त्यहा असोचनिय चट्याङ पर्दछ ।

त्यो चट्याङ नै बन्न जान्छ साउनको भेल त्यसले निरन्तरता लिन थाल्दछ र आफनो स्बार्थ पुर्तिको लागीमा आफुलाई बलिदान समेत दिन चुक्दैन । त्यो अद्भुत स्वार्थ नै हाम्रो समाजको भयानक शत्रुबादको जड हो ।

यो विकाशोन्मुख शताब्दिमा आएर भए गरेका आफ्ना रिती रिवाज परम्परालाई चटक्क भुल्ने भन्दा पनि त्यसलाई अझ परिमार्जित र बिना उतार चडाब तरिकाले अप्नाउने परिपाटिलाई अंगाल्न सक्ने रिति रिवाजको सृजना गराउन पाए नयाँ कुराको आभास हुने थियो जस्तो लाग्दछ । आफुसगँ भएको कुरालाई परिमार्जित गरेर नयाँ ढंगसँग नयाँ तरिकाबाट उपभोग गर्नुलाईको नयाँ सृजना भन्ने गरिन्छ । जसरी बिकाशोन्मुख देशहरुले आफुसँग भएका वस्तुहरुलाई नयाँ सजावट नयाँ प्रबृतिबाट उपभोग गरेर अहिले विश्वमा सर्व शक्तिमान बन्न पुगेका छन् । त्यसलाई पो नयाँ र नौलो भनेर परिभाषित गरिन्छ ।

आफनो खुबि तागत र आय श्रोतलाई मध्य नजरमा राखेर कसैले कसैलाई कुनै तवरबाट शंकट नपार्ने गरि गरेको सिप सजावटलाई पो नयाँ सोच नयाँ बिचारको थालनी भनेर भनिन्छ । नयाँ बनाउने भनेर आफुसँग भएको सारा वस्तुलाई चटक्क भुलेर सारा कुरालाई परिमाजित गर्न पनि आफुसगँ प्रसस्त पुंजि हुनु पर्‍यो ।  बिना पुंजिको नयाँ सृजना हामीले सपनामा पनि कल्पना गर्न सक्दैनौ र गर्ने बानि पनि राम्रो जस्तो लाग्दैन ।

जबसम्म मानिसमा आफनो बिचारमा परिर्बतन आउदैन तब सम्म कसैले पनि केहि पनि गर्न सक्दैन । सत्ता परिबर्तन हुन्छ शासक परिवर्तन हुन्छ र वक्तित्वकला परिवर्तन हुन्छ । जबसम्म आर्थिक क्रान्तिमा परिवर्तन आउदैन त्यति बेलासम्म जो कसैले पनि नसोच्नु परिवर्तन भन्ने शब्द । त्यसैले हामीले परिवर्तन चाहने हो भने खहरे भेल भएर होईन समुन्द्रको चालमा चल्न सिक्नु पर्छ । त्यसैले परिवर्तन र नयाँ भन्ने शब्द बोल्नुमा जति सजिलो छ गराउनलाई आकाश पातालको फरक छ ।

हाम्रा देश बहाक सत्तासिन बाबु साहेबहरुले भन्दै आउनु भएका छन् नयाँ नेपाल, नयाँ मान्छे सबै कुरा नयाँ हुनु पर्छ रे तर कसरी हुने त्यहि हलो त्यहि कोदालो त्यहि उकाली ओराली त्यहि झुपडी त्यही भोटो दौरा र बिट फाटेको ढाका टोपी; खै कहाँ आयो त परिवर्तन ।

परिवर्तन त आयो नेपालमा किन भएन त तेहि नून १० रुपयाँ किलॊमा पाउथ्यो भने अहिले १५ रुपयाँ भयो । मट्टीतेल ३० मा लिटरको पाउथ्यो भने अहिले ५५ भयो । ४ जनाको परिवारलाई मासिक ५ हजारले खर्च पुग्थ्यो भने अहिले ८ हजारले पनि नपुग्ने भयो । अनि भएन त नयाँ नेपाल । जनताले खोजेको नयाँ र नौलो परिवर्तन यहि होईन त । गरिब निमुखा जनताको लागी भएको नयाँ नेपालको नयाँ परिवर्तन यहि हो । अब नयाँ भन्ने शब्द कस्तो हुन्छ त । उतार चडाबको चपेटालाई नयाँ भन्ने हो भने गरिब निमुखा नेपाली जनताले कहिले सुखको सास लिने त यो प्रश्नको जवाफ जनताले बुझने गरि दिन परयो ति हाम्रा देश बहाक हस्तीहरुले । के परिवर्तन भनेको हुने खानेलाई मात्र हो । गरिब जनताले बाच्न पाउने अधिकार छैन । त्यसैले आर्थिक क्रान्तिको परिवर्तन भयो भने मात्र यो गरिब जनताको मुहारमा परिवर्तनको सुरुवात हुने छ । त्यसैले हाम्रा ती नेताहरुले सर्वप्रथम आर्थिक क्रान्तिको ढोकालाई ढक ढक्याउन पुग्यो भने मात्रै नयाँ नेपालको कल्पना हामीले गने सक्छौ ।

समाप्त
( बिजय जि को ब्लगमा केही दिन समस्या देखिएकोले यो पोष्ट दौंतरीमा राखिएको छ। आशा छ वाहाले अरु लेखहरु लेख्दै जानुहुने छ। – दौंतरी)



न्हू दँया भिन्तुना!!

शत्रु, पत्रु कसैको पनि हार नहोस्,
जताततै जितै जितको तिहार होस्,

धेरै बर्ष भयो खडेरिले खित्का हांसेको,
मनको बागमा बाह्रमासे बहार आओस,

अबिरल अश्रुधराले कोशी अन्तै बग्यो,
बिन्ती छ दैब फेरी अर्को दैबी प्रहार नहोस्।

यही छ भावना यही छ कामना,
नेपालीजनमा न्हू दँया भिन्तुना।

October 27, 2008

तिहार आयो

नेपालीहरुको अर्को महान चाड तिहार सुरु भाईसक्यो। तिहारको शुभ-कामना आदान प्रदान अनी देउसी भैलोका धुनहरु बजिरहेका छन जताततै। अब केही दिन सम्म देउसी र भैलो खेल्नेको घुइचो पनि देख्न पाईन्छ। कसैलाई रमाइलो लाग्ला तर कसैलाई झर्को पनि लाग्ला। झर्को यसमानेमा की देउसी भैलो को नाममा पैसा जुटाउन राजनैतिक पार्टी तिनका भात्री संगठन देखी लिएर बिभिन्न क्लबहरुको राम्रो समय हो यो। हुनत पुरै नेपाल भरी एकै किसिमले मनाइदैन यो चाड। खास गरी हिन्दुहरुले मनाउँछन्। म हुर्केको ठाउ थारुहरुको ठाउ हो। उनिहरुले मनाउदैनन्। हाम्रो तिर तिहार भन्ने चलन छ। कसैले दीपावली भन्छन भने कसैले दीवाली। मलाई पनि तिहार भन्दा नै आफ्नो पर्ब जस्तो लाग्छ।

खास गरी दिदिबहिनी र दाइभाई बिचको सुमधुर सम्बन्ध राख्ने अनी भेट-घाट गर्ने माध्यम हो यो चाड। दिदी बहिनीले एककिसिमले पूजा गर्छन् दाई भाईलाई। तोरिको तेल लगाइदिने, सप्तरङी टिका लगाइदिने निधारमा अनी मखमली फुलको माला मलाई बिशेष लाग्छ। अनी स्वभाबिक रुपमा बिभिन्न किसिमका रोटी हरु जस्तै सेल, अनरसा, फिनी, सिन्कामरी (ठाउ अनुसार नाम फरक हुन सक्छ)। हाम्रो घरमा फुपु आउनु हुन्छ तिहारमा। अनी उहाले बनाएको परीकारहरुको त के बयान गराइ भयो र। खास गरी खसीको मासुको कवाब। वा मुखै रसाउने टाईप गर्दा पनि। भाई टिका भन्दा अघि काग पूजा बाट सुरु हुन्छ तिहार। टपरीमा भात राखेर बाहिर लागि राख्दिने अनी कागहरु आएर खान्छन। अनी कुकुर तिहार। हाम्रो घरमा कुकुर त छैन। तर पनि छिमेकी को कुकुर वा गल्लीको कुनै कुकुरालाई भएपनी माला लगाईदियो अनी खान दियो। यसो गर्न मेरी बहिनीलाई साह्रै मन पर्छ। अनी हामीले त घरमा भएको बिरालोलाई पनि टिका, माला लगाइदिन्थीम। गाई तिहारमा गाई पूजा गर्ने हो नि। खासमा हामीले भैशी, पाडा पाडी लाई तेल लगैदिने, रङ लगाइदिने अनी माला लगाइदिने गरिन्थ्यो। हाम्रो घरमा गाई थिएन। एक किसिमले जुन जनावरले हामीलाई सहयोग गर्छ त्यसैलाई हामीले पनि महत्व दिनु पर्छ भन्ने मान्यता होला भनेर अर्थ्याउन सकिन्छ।

तिहारको महत्वपूर्ण अर्को पाटो भनेको देउसी भैलो हो। यो पनि ठाउँ अनुसार फरक फरक भएको अनुभव छ मेरो। मध्यपश्चिम तिर केटाहरुले भैलो खेल्छन र केटीहरुले देउसी खेल्छन। उता पूर्व तिर र काठमाडौं तिर ठीक उल्टो। केटाहरुले देउसी खेल्छन अनी केटीहरुले भैलो खेल्छन। माओबादी युद्ध सुरुहुन भन्दा पहिले एक किसिमको रौनक हुन्थ्यो भैलो (केटाहरुले खेल्ने)को। तिहार बाट सुरु भएको भैलो पछि मङ्सीर पुस तिर गाउ तिर पूजा लाउदा पनि भैलो बोलाउने चलन थियो। मादले, मारुने, पुर्सुङेहरुको बेग्लाई ड्रेस हुने। दिउस् भन्दा राति खेलिएको भैलो राम्रो लाग्थ्यो। मध्यरातमा सुतिरहेका हामी मादलाको आवाजले बिउजीन्थिम। बाटोमा हिद्दा बज्ने मादल् र बसुरिको ताल र भाईलो खेल्दा बज्ने ताल बेग्ला बेग्लै। मादलाको ताल सुनेर थाहा हुन्थ्यो कि भैलो टोली बाटोमा आँउदै छ कि खेल्न सुरुगरिसक्यो। मलाई भैलोमा बज्ने तालहरुको बारेमा ज्ञान थिएन त्यति बेला। पछि त त्यस्ता धुनहरु सुन्न पाइएन। गाउ-गाउका आ-आफ्नै भैलो समुह हुन्थे अनि बेला मौकामा तिनको बिचमा प्रतिस्पर्धा हुन्थ्यो। जस्ले राम्रो भैलो प्रस्तुत गर्थ्यो उस्ले धेरै पैसा पाउथ्यो। भैलो र देउसीमा गाउने गीतहरु धार्मिक किम्बदन्ती, भगवान सम्बन्धी हुन्थे। जसले मेरो खासै ध्यान तान्थेनन्। मैले मतलब पनि गर्थिन। खासमा मन पर्ने भनेको धुन र ताल नै हो। पछी केहि समुहले गीत परिमार्जन गरेर सम-सामयिक बनाएका थिय। त्यसले धेरै मान्छेको ध्यान तान्थ्यो। खास गरि युवा पुस्ताको। माओबादी युध्ध चर्किदै जादा यस्ता भैलोहरु लोप हुदै गए। र नया पुस्ताले क्यासेटमा हिन्दी गीत घन्काउदै डिस्को डान्स गरेर भैलो खेल्न सुरु गरे। अबको नया नेपालमा गाउने गीत परिमार्जन गरि-आफ्नो दुख:सुखका गाउने तर पुरानै लय र तालमा। यस्तो गर्न पाएदेखी संस्कृति पनि जोगिन्थ्यो र मनोरन्जनको माध्यम पनि हुन्थ्यो। मेरो मस्तिश्कमा यौटा योजना थियो र अहिले पनि छ। नया पुस्तालाई पुरानो भैलोको तालीम दिएर प्रत्यक तीहारमा भैलो प्रदशन गर्ने। होइन भने नया पुस्ताले यो बिर्सिने छन।

सबैलाई तिहारको सुभकामना।


बेल्जियममा लक्ष्मी जयन्ती

पुरुशोत्तम सुबेदी
गत २६ अक्टोवर आईतवार को दिन बेल्जियम को लुभेन सहरमा महा कवी लक्ष्मी प्रशाद देवकोटाको सयौं जन्म जयन्ती भब्यताका साथ संपन्न भएको छ । प्रबासमा रहेर पनि आफ्नो साहित्य र भाषा को अतुलनिय संरक्षण गर्न कटीबद्ध बेल्जियमका श्रष्टाहरु एक जुट भई नेपाली साहित्य भासा र यसको महत्व लाई बुझेर अग्रसरता देखायको यो पहिलो चोटि भने होइन । बेल्जियम मा गत एक बर्ष भित्र भानु जयन्ती लगायत अन्य थुप्रै साहित्यिक कार्यक्रमहरु संपन्न भईसकेका छन।

समयले क्रमस मानिसलाई बितृष्णा बाट छुटायर एउटा भावनाको सक्तीमा सुत्रवत गराउछ भन्ने उदाहरण अब बेल्जियम मात्र होइन बिस्वका सबै ठाउमा खोलियका अन्तराष्ट्रिय साहित्य समाजले लियको अभिरुची पनि हो । साहित्यको महत्व स्वदेसमा बस्नेलाई भन्दा बिदेसमा बस्नेलाई बढी हुन्छ भन्ने कुरा कसैको पनि दुई मत नहोला ।यसै अभिरुचीका साथ बेल्जियम मा बस्ने नेपालीहरुले महा कवी लक्ष्मीप्रशाद देवकोटाको जन्म जयन्ती को अवसर पारेर आफ्ना कविता कथा निवन्ध लेख रचना आदी साहित्य शिर्जना लाई समारोहमा पढेर मनको भावना लाई ब्यक्त गरे । त्यसै त तिहारको बेला नेपालीहरुको चाड पर्व नै हो । त्यस माथि पनि साहित्यका पारखी हरुलाई महाकवी लक्ष्मी प्रशाद देवकोटा को जन्म जयन्तीले सुनमा सुगन्ध नै थपिदियको थियो । कृष्ण बजगाइ को प्रमुख आतिथ्यमा सुरु गरियको उक्त्त कार्यक्रम बेल्जियम अन्तराष्ट्रिय साहित्य समाज च्याप्टरको आयोजनामा गरिएको हो ।


यसै समारोहमा यन आर यन बेल्जियम का नवनिर्वाचित अध्यक्ष पि जि सेर्पा ज्यु ले बिदेसमा बसेर पनि नेपाल को झैं यस्ता साहित्यिक कार्यक्रम मनाउन पाउनु ज्यादै खुशीको कुरा हो भन्दै आगामी दिनमा यन आर यन बेल्जियम ले नेपाल को गरिवी लाई निर्मुल पार्न अन्त राष्ट्रिय साहित्य समाज संग मिलेर अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । साथै उहाले नेपाल को असान्ती भनेको त्यहाको गरिवी नै भएको ठोकुवा गर्नु भयो ।


दिनको ३ बजेदेखी सुरु गरियको उक्त कार्यक्रम मा बेल्जियम मा रहेका साहित्यिक श्रष्टाहरु -यामु निरौला -पुरुशोत्तम सुबेदी -पुष्प राज शर्मा अधिकारि-बोधराज पौडेल-दीपक ज्योति पौडेल-परमानन्द सापकोटा-किस्ण बजगाइ-दीपेन्द्र के सि-सुश्री क्रिसा शर्मा-मिन गुरुङ-रमेस कंडेल-कुम शाही-बिमल गिरी- पूर्ण बहादुर अर्याल लगायत उध्घोसिका बिनिता रिमाल ले आफ्ना साहित्य सृजना बाचन् गरेका थिए । यसै अवसरमा यामु निरौला द्वारा लिखित देउसी गीतमा सबैले देउसिरेको स्वर दियर तिहार को रौनक भैलो कार्यक्रम जस्तै भयको थियो ।


त्यस्तै बाल श्रष्टउ निस्चल गिरी र कृतिस बजगाइ ले आ -आफ्ना गीत कविता बाचन् गरी समारोह लाई थप बल पुर्याएका थिए ।
त्यस्तै नेपाल बाट श्रीसिशा राइले पठाउनु भयको कविता प्रकाश कार्की ले बाचन् गरी दिनु भएको थियो भने कृष्ण प्रसाइको कविता शरद छेत्रीले -त्यस्तै जापान बाट प्राप्त प्रकाश पौडेल (माइला)को हाइकु राजु रोक्काले -अमेरिका बाट प्राप्त राकेस कार्किको गजल हरी सापकोटाले -कतार बाट प्राप्त स्वयंबर सिह को गीत गंगाराम शर्मा ले- नेदरल्यान्ड बाट प्राप्त सुर्य गिरिको गजल संजय के सि ले -बेल्जियम बाट पठाइयको कविता यामु निरौला जि ले -जी वि सेर्पा को कविता शरद छेत्री ले र लीलाधर पन्तले पठायको कविता रविन श्रेस्ठ ले बाचन् गर्नु भयको थियो ।

स्मरण रहोस बेल्जियम मा रहेर साहित्य प्रती अभिरुची का साथ भाषा साहित्य लाई सयोग पुर्याउने श्रास्ठा लाई अ ने सा स बेल्जियम ले हरेक बर्ष २०० युरो पुरस्कार दिने घोषणा गरेको छ र यस बर्षको उक्त पुरस्कार युवा कवी दीपक ज्योति पौडेल लाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको नगद धन रासी हिमालय रेस्टोरेन्ट का प्रबन्धक श्री पुष्पराज शर्मा अधिकारि ज्युले प्रदान गर्नु भएको छ ।


अन्तमा कार्यक्रम का संयोजक रमेश कंडेल ज्यु ले धन्यवाद ज्ञापन तथा स्वागत मन्तब्य ब्यक्त गर्नु भयो भने समारोह समापन को अन्त्य कृष्ण बजगाइ ज्यु ले गर्नु भयको थियो । उक्त कार्यक्रम को सौजन्न्य मीस्ठान्न बाट मनोज काफ्ले बाट भयो भने नगद सहयोग राजन बस्नेत बाट भएको थियो ।




लालचको पिरामिड

आचार्य प्रभा
लालचको पिरामिड अग्लिदै
गैरहेछ शायद ,
कही अभिमानको,कही कुर्सिको
कही सत्ताको ,
त्यसैले होला अचेल
मान्छे ,मान्छेबिच नै
अंानवताको होड्बाजी चली रहेछ
अहंकार र अभिमानको पहाड अग्लाई
अरुलाई उछिन्ने क्रममा
मान्छे हावाको बेग झै दौडिरहेछ
त्यसैले त मान्छे ,
आफ्नो सत्त्यताको आँखा चिम्लेर
नेत्रहिन झै अभिनय गरिरहेछ
केवल प्राप्तिको दाउमा
आफुलाई बन्धकी राख्न सम्म अघी सरिरहेछ
मात्र---स्वरूप मानवको भिरेर
अंानविय ब्यवहाँरमा आफुलाई धकेल्दै
मान्छे हुनुको अहंकारमा
फोस्रो सपना देखिरहेछ
''मान्छे''''मानवको''उपनामबाट
आफुलाई बहिस्कृत गरिरहेछ /

(अमेरिका )