June 15, 2009

हामी

- एकलव्य
रूखा पहाड, सतह र चट्टानहरू
हाम्रो भूगोल भएर होला,
चरित्रमा हाम्रो पीडा खोपिएको छ ,
जीवन र व्यवहारमा हाम्रो
आक्रोस र अभिप्सा रोपिएको छ ,
अरूकै आङमा जुम्रा खोज्न आतुर
हामी , भैँसी बोकेर शरीरमा
निरन्तर जंघार तर्न खोज्दैछौँ,
जंघारहरू हाम्रो जडताको दयामा
साँगूरो बन्दैनन् , विनम्र बन्दैनन्
सर्वग्रासी जंघारको भोकले हरदम
हाम्रो अस्तित्व निर्लिप्त पारेको छ
गन्तव्यलाई अझै पर सारेको छ ।
अधैर्य मनहरू सदियौँ यसै पाकेका छन्
उमंग र उत्साहहरू शुष्क थाकेका छन्।
यहाँ, रिसले आँफैलाई खाने गरेको छ
पदचाप मुनि पहिरो जाने गरेको छ ।।
जलाउँदै सभ्यताका आवरणहरू
टायर, रेलिङ र सडकसंग
फतवा र स्वघोषणाका जडसत्यहरू
घृणा र मृत्युदण्डको नीव खोप्न, हामी
निरन्तर एक बहानाको खोजीमा छौँ
विनिर्माण र विध्वंसको रोजीमा छौँ ।
त्यसैले, गास , वास र कपासका आसमा
हिंसा , आवेग र आक्रोसको त्रासमा
अन्तहीन क्रान्ति र युद्दका श्रृंखलाहरू
हाम्रो अनन्तको परिचय बनेका छन् ।

म , मेरो र मेरो विचारको दलिल बोकेर
आक्रोस, घृणा र निषेधका सूत्रहरू घोकेर
राजनीति, वाद र पात्रहरूको मेरोपन बनाउँदै
म निरन्तर ‘म’ औ ‘ऊ’ का धून बजाउँदै
युद्द र क्रान्तिका रोमाञ्च रचिरहन्छु ।
वर्जित छन् मेरो अभ्यन्तरमा
असहमत ‘ऊ’ हरू
गर्वित छन् केवल सहमत ‘म’हरू
मेरो मनोवादमा म यही लेखिरहन्छु।

आफ्नै उन्मादको , यो इकारसको उडान
मातृवात्सल्यमा खाइँदो एउटा माकुरा
आफ्नै प्रकाशको उज्यालोमा खिइँदो मैन सदृस
आफ्नै भारको अभिशाप, दुरूह त्यो पहाड
बोकेर माथिंगलमा , हामी बाउन्ने बनेका छौँ
आफ्नो अकर्मण्यताको, दोष अरुमा खोज्दै
हामी निरिह, मद्दिम बलिरहेका छौँ
आफ्नै रापको तापमा क्रमश: जलिरहेका छौँ ।


1 Comments:

बिप्लब said...

रूखा पहाड, सतह र चट्टानहरू कै देश हो हाम्रो
सहि भन्नभयो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !