September 8, 2009

ओरालो लागेको मृग अर्थात् नेपाल

मुलुकभित्र 'क्रान्ति, आन्दोलन, लोकतन्त्र, दिगो शान्ति, जनवाद, चमत्कार, नागरिक सर्वोच्चता’ जस्ता असंख्य शव्दहरूमा राजनीतिक बहस भैरहँदा, वर्ल्ड इकोनोमिक फोरम भन्ने संस्थाले हिजो जारी गरेको अन्तर्राष्ट्रिय आर्थिक विकास र प्रतिस्पर्धात्मक विकास स्तरको सूचीमा नेपाल १३३ देशमध्ये १२५ औँ स्थानमा गोलचक्कर खाँदै गरेको समाचार आएको छ ।
सत्य के हो भने , हामीले जति ठूला कुरा गरेर चिच्चाउँदै कोहोलो हाले पनि, हामी एशियाकै सबैभन्दा हरितन्नम पछौटे मुलुक रहेको तथ्यांकहरूले हल्ला गर्दै बताइरहेका छन् । हाम्रा साथमा वा हाम्रा पछाडि अब केवल केही अफ्रिकी मुलुकहरू - बुरूण्डी र क्रमशः घट्दोक्रममा जिम्बाबे, चाड, माली, मोजाम्बिक, बुर्किनाफासो, र मौरिटानिया जस्ता प्राकृतिक कोपभाजनका शिकार बनेका सब‍-सहारा क्षेत्रका मध्य अफ्रिकी देशहरू मात्र बाँकि रहेका छन् । यो सर्वेक्षणले प्रष्टाएको सत्य के हो भने, हामीले जति महान राजनीतिक चेतना र उपलव्धिका कुरा गरे पनि, हाम्रो भाग्य र हैसियतलाई बिगार्ने कामबाहेक अहिलेसम्म कामलाग्दो केही गरिरहेका रहेनछौँ । अहिलेसम्मका हाम्रा राजनीतिक, आर्थिक र सामाजिक विकासका उपलव्धिहरूको सारांश यही रहेछ कि हामी मानविय विकासको सूचकांकमा एशियाको सबैभन्दा कमजोर वा तल्लो मुलुक रहेछौँ । भन्न र स्विकार्न गाह्रो लाग्ने यो तीतो सत्य ओठ चेप्राएर निल्नु नै हाम्रो नियति हो भन्नुमा अन्यथा रहेन ।

पूरा रिपोर्ट पढ्न यो लिंकमा जानुहोला: http://www.weforum.org/pdf/GCR09/GCR20092010fullreport.pdf


नेपालको इतिहासमा सदैव देखिएको सत्य कुरा के हो भने, हामी राजनीतिको पछाडि सधै दगुरिरह्यौँ । राजनीतिको भीड बनाएर सदैव जिन्दावाद मूर्दावादका लयमा हिंसा, आतंक, भ्रष्टाचारको इन्धनले सडक तताइरहँदा, टायर बालिरहँदा र अरूकै थाप्लोमा आरोप थोपरिरहँदा हामी आफ्नै कर्तव्यबाट सँधै टाढिइरह्यौँ । कर्तव्य, प्रवृत्ति र पद्धतिलाई सुधार्न व्यक्तिले पनि गर्नु पर्ने वा गर्न सक्ने शुरूवातलाई बिर्सेर , आफैलाई राजनीतिक चेतनाको महानायक ठान्ने भ्रममा हामीले संसार कता जाँदैछ र हामी कता रुमल्लिएका छौँ भन्ने कुरालाई कहिल्यै हेक्का राख्नु पर्ने रूपमा सोच्नै सकेनौँ ।

देशमा महँगी, लूट, फरेब, कालाबजारी, हत्या, आतंक र हिंसाको राज चलेको छ । सर्वसाधारण नागरिक नेपाल भित्रै शरणार्थी बन्नुपरेको जगजाहेर हुँदा, कुनै राजनीतिक दल वा शक्तिको माग र बिरोध कार्यको मुद्दा नागरिकको बाँच्न पाउने अधिकार र जीउन चाहिने आधारभूत आवश्यकताका कुराहरू को उपलव्धता हुन सकेको छैन । सबैलाई सत्ता चाहिएको छ, सत्तामा पुग्दा आफ्नाहरूलाई मिल्ने मुलुकको अवसर र ढुकुटीको रजाइँ मात्र राजनीतिक सफलताको उद्देश्य हुने गरेको छ ।

अझै पनि, हाम्रो दशा र दिशा प्रष्टिएको छैन । हाम्रो लक्ष्य, गन्तव्य र मुलुकले लिन पर्ने बाटोका बारेमा कुनै राजनीतिक शक्तिहरूबीचमा मिल्नसक्ने आधारहरू देखापरेका छैनन् । यस्तोमा दलका समर्थक, जातीय समूह र क्षेत्रवादको आगो भर्खरै झोसेर मुलुक सल्काइएको छ र यसको दूरगामी प्रभाव भोलिका दिनमा कुन रूपमा हामीले अपनाउनपर्ने होला केवल अनुमान गर्न सकिन्छ । मध्य अफ्रिकाका मुलुकहरू कलह, हिंसा, भोक, अनिकाल, र खडेरीका पीडाबाट माथि उठ्न उपायको छटपटीमा छन् र युरोप र अमेरिकाको सहयोगी ध्यान पनि अब अफ्रिकालाई माथि उठाउन एकोहोरिएको छ, बिगत केही वर्षयता । तर हाम्रो मुलक नेपाल भने, आर्थिक विकासको चमत्कारिक दौडमा विश्वलाई नै अचम्म पार्दै अगाडि बढिरहेका दुई छिमेकीहरूको बीचमा बसेर पनि, ओरालोतिरको सजिलो दौडको बाटो झर्दै गरेको देखिन्छ ! कहिले होला यो दिशातर्फको यात्रा छोडेर हामी उँभो लाग्ने ?


21 Comments:

पीजी said...

अब काम खोज्न पहिलेका बुढा पाका जस्तै भुटानतिर जाने दिन आउनेछ । मेशिनले जस्तो काम गर्ने र देश छाडेर भाग्न कन्टेनरमा बसेर महिनौसम्मको यात्रामा जान होस या डंगा चढेर महासागर तर्न आंट गर्न सक्ने बंग्लादेशीहरु पनि हामी भन्दा माथि छन भने हाम्रो वर्तमान मात्र हैन त्यो रिपोर्टले भविष्य पनि देखाउंदैछ ।

नेपाल कहिले बन्छ ?
उत्तर: धेरै वर्ष बन्दैन ।

नेपाल कसले बिगारेको छ?
उत्तर: नेपाली आंफैले ।

Luna said...

शून्य समय जि !
नेपाल नेपाली अर्थात नेपाली जनताले बिगार्नु भएको होइन कत्ती पनि , नेपाल नेपालि नेता गिरिजा - माधव कुमार जस्ता शूदहरुका ढेडुहरुले बिगार्नु भएको हो ।
नेपाली जनता त तपाईं हामी नै हो । तपाईं हामीले हाम्रो कर्तब्य आ- आफ्नो ठाउँ बाट निभाइरहेका छौ । हाम्रा नेताहरुले आफ्नो कर्तब्य इमान्दारिपूर्बक निभाउनु भएको भए आज मुलुक यसरी उधो गतिमा झर्ने थिएन । दोस देश हाक्ने नेताहरुलाई नै जान्छ ।
प्रचन्ड - बाबुराम हरुले जनताको लागि मुलुक र जनताको लागि राम्रो गर्न खोज्दा खोज्दै पनि शूद हरुको ईशारामा यि ढेडु हरु ले कामै गर्न दिएनन !
यि ईतिहास मा फ लामे अछ्यर मा लेखिने हरु -------

पुष्प said...

नेपाल ओरालो लागेर के भो र ! नेपालीहरू (केही) उकालो लागेकै छन् । देशको चिन्ता कसलाई छ ? सबैलाई आफ्नोमात्र चिन्ता छ । विगतको निरंकुश सत्ताधारी र प्रजातन्त्रका नाउँमा नेपाल खाने सत्ताधारीहरूबाट आज नेपाल ओरालो लागेको तथ्य हामी नेपालीलाई भन्दा अरुलाई के थाहा ? त्यो विवरण बनाउने खैरेहरूको जमातलाई त झन् के थाहा हाम्रो देशका बारेमा । आमनेपालीहरूलाई मात्र हाम्रो देशको मर्म थाहा ।

गरीब देशका धनी जनता भनेर त्यसै भनेका हैनन् । ओरालो वा उकालो लाग्यो भनेर दु:खमनाउ वा हर्षित हुनुभन्दा किन यसो भयो र कसरी यसको समाधान होला भनेर त्यतापट्टि लाग्नु उचित हुन्छ ।


जे होस्, हाम्रो 'देश'को यो कागजी भयावह स्थितिको वास्तविकतालाई नकार्न मिल्दैन । क्रान्ति, आन्दोलन, लोकतन्त्र, दिगो शान्ति, जनवाद, चमत्कार, नागरिक सर्वोच्चता आदिको विकल्प पनि त छैन । नेपाल नेपालीले मात्र बिगारेकोभन्दा पनि नेपालीको खोल ओढेका बुख्याँचाहरूले हुन् ।

नेपालियन said...

निकै गतिलो कुरा उठानुभयो एकलब्यजी। देश कुनै नया बाद ल्याएर बन्दैन। खेतमा पानी लगाउन डिलमा बसेर भाषण गरेर हुदैन, कुपु उचालेर कुलो खन्नुपर्छ। तर यांहा त सबैले गफै गरेर देश स्वर्ग बन्छ भन्ने भान छ।
अझ देशलाइ छिन्न भिन्न पारे झन देश बन्छ भनेर नया संबिधान ल्याइदैछ।

आमाको दुध चुसेर भएन बाउको घुंडो? यस्तै पाराले हाम्रो देश नं १ बन्नेछ तर उल्टोबाट। यो दिन धेरै कुर्नुपर्दैन। देश हाक्नेले के के ल्याउछन योजना हामी त्यसै अनुसार चल्ने हो नत्र के नै गर्न सकिन्छ र? धेरै भए यही दौंतरीमा दुखेसो पोख्ने हो।

Basanta said...

सामयिक र चित्तबुझ्दो लेख! नेपाल गलत राजनीतिले बिग्रेको हो, सबैले राजनीति गरेर बिग्रिएको हो र राजनीतिज्ञहरुले भ्रम र शब्दजालको खेतीमात्रै गर्नाले बिग्रेको हो। राजनीति सबै थोक होईन त्यो सत्य हो तर राजनीतिमा महारोग लाग्यो भने हरेक क्षेत्र त्यसको रागले सजिलै कुहिन्छ।

Samyak said...

नेपाल गिरिजा, माधव, नेपाल र सूदहरूले मात्र बिगारेको हैन । तिनका साथसाथै 'लुना' ब्राण्डका अतिवादी चम्चाहरूले पनि हो र प्रचन्ड र बाबुराम नामका आदमखोरहरूले पनि हो । सँधै अतिवाद र हिंसाको राग अलापेर जनतालाई रगतको आहालमा डुबाउँदै, देशलाई बिध्वंसको बाटोमा लडाएर आँफू सपरिवार मोजमा रमाउने प्रचण्ड र सत्तामा बसेर आफ्नाहरूको शासन चलाउन मात्र जान्ने गिरिजा, माधव नेपाल, प्रचण्ड र हिसिलाहरूले हो देश बिगारेको ।

प्रचण्ड , बाबुराम र हिसिला ब्राण्डका आतंकी छटटुहरूको शासनकाल पनि थोरै भए पनि देखिए कै हो !? के थियो त्यहाँ , पार्टीको अर्गनाइज्ड क्राइम र भ्रष्टाचार बाहेक ? के छ माओवादीको पार्टी र शासनमा व्यवहार र विचारमा देखिने त्यस्तो फरक ?

माओवादीले त झन अरू बन्दा अघि बढेर देश लुटेका छन् । हिजो लडाईँ लड्दा ब्याँक लुटे , जनता लुटे राज्य कोष लुटे , जनताको घर र जग्गा बलजफति कब्जा गरे हनि आफ्नाहरूलाई त्यहाँ बस्न लगाएर मोज गरे । सानालाई लडाए , मर्न र मार्न लगाए अनि आँफू भोलिका लागि जोगिए । यिनले भ्रष्टाचारीबाट चन्दा लिए र भ्रष्टाचारलाई संरक्षण दिए । सरकारमा रहँदा, क्यासिनो , अस्पताल, सरकारी अड्डा , घर घडेरी कब्जा र कारोबार सबै आफ्नो जिम्मामा लिएर ब्रम्हलूटलाई संस्थागत गरे । प्रचण्डले सात पुस्ताका आफन्तलाई मनत्रीका सुविधा खुवायो , हिसिलाले सारा नातागोता र आफन्तलाई खुवाई, शालिकराम जमरकट्टेलले नपढेकी गवाँर स्वास्नीलाई क्यासिनोको अधिकृत बनाएर खुवायो । माओवादीले देशभरिका सरकारी, अर्ध सरकारी गैर सरकारी कामहरूको ठेक्का पट्टा र हप्ता असूलीको गुण्डे जिम्मा लिएकै छ । प्रचन्डका सपरिवार १५००० जनताको रगतको व्याज असुल्न संसार भ्रमणमा हिँडेकै छ । आँफू भाले हुन पाए ट्रकका ट्रक हतियार ल्याएर सत्ता कब्जा गरिन्छ भनेर प्रचन्डले भनेको सबैले सुनिएकै हो । अरू पार्टीका खुट्टा भाँचेर मान्छे मारेर भए नि चुनाब जितिन्छ भनेर प्रचण्डेको भिडियोले बकेको सुनेकै हो । माओवादीले कुन चमत्कार कृत्य गर्न र देखाउन बाँकि थियो ? नेपाललाई सुडान र रुवाण्डा बनाउन यिनको योगदान सबैभन्दा ठूलो थिएन र ? यिनले गर्दा नै देश अहिलेको हिंसा र अराजकताको अवस्थामा पुगेको हैन र ? त्यसैले माधव, गिरिजा र ज्ञानेन्द्रको योगदान भन्दा केयौँ गूना बढी योगदान त प्रचण्डका जमातहरूको योगदान छ देशलाई अफ्रिका बनाउन ।

अब माओवादीको कर्तुतमा के त्यस्तो कुरा बाँकि थियो जुन हामीले देख्न पाएनौँ वाइसियाल लुनाजी ? कति भ्याएको हो सबै ब्लगमा पुगेर माओवादी हत्याराहरूको भजनकीर्तन गर्न !

पुष्प said...

सम्यकजी, कारण र कारकलाई छुट्याउने चेष्टा गर्नुस् ।

Samyak said...

पुष्पजी,

कार्य, कारण र कारक छुट्याउन गाह्रो छ । एउटा पेशेवर अपराधीको घिन लाग्दो अपराध कृत्यको पृष्ठभूमि हेर्यो भने त्यहाँ पनि उसको अपराधको कारण बेजोड हुनसक्छ । पीडित वाल्यकाल, अभाव, अशिक्षा आदि , जस्तो कि धेरैजसो सामान्य नेपालीको हुने गर्छ । प्रतेक गलत गर्नेले कुनै कारकलाई दोष दिएर आँफूलाई निर्दोष साबित गर्न खोज्नु अपराधीहरूको विश्वमान्य प्रवृत्ति हो । कारकलाई दोष दिनेहरू सबै भगूवा र बाटोमा हगूवा हुन्, अपराधी हुन । अपराधीले संसार बदल्ने आँट र चरित्र दुवै बोकेको हुन्न । जोसंग संसारलाई बदल्ने व्यवहार र त्यस्तो चरित्र छ , ऊ आफ्ना व्यवहारले बाँकिहरूबाट अलग देखिन्छ । अरूलाई नै दोष दिँदै अरूले गर्दा केही भएन कारख नै दोषी थियो भन्ने हरूबाट कहिल्यै काहीँ काम भएको छैन । जहाँसम्म माओवादलाई पुजेर चमत्कार हासिल गर्ने ..... समर्थकहरूको कुरा छ , त्यो सबै पार्टीका भाटहरूको भाषा हो । त्यस्ता भाटहरूको काम एउटाको फेरो समातेर अरूको उछित्तो काड्नु हो । माओवाद भनेको लाठो र हतियार बोकेर बिपरित विचारमाथि जाइलाग्ने आतंकी व्यवहार मात्र हो, अपराधको ठेकेदारी गर्ने राजनीतिक संरचना हो , अपराध हत्या र उछ्सृङ्खलतालाई बजारमा पुर्याउने थोक बिक्रेता हो , हप्ता असूली , चन्दा र हतियारधारी जमातको सरगना हो । उसको सामर्थ्य भनेकै हतियार र हिंसा हो , अनि यसलाई हतियार र हिंसाबाट अलग्याइदिऊँ त यिनलाई कुखुराले पनि लखेटी लखेटी हिलोमा पछारेर गोगो साबुनले धुने बनाउँछ !

त्यसैले माओवादीको हतियारबाट र हिंसात्मक जमातबाट यिनलाई अलग्याएर हेर्नूस यिनको शरीर सुके लुतोले खाएको जस्तो खइरे हुनेछ । बन्दूक बोकेर रवाफ देखाउँदैमा जनताको मत देखिन्न , गुण्डासंग गाउव थर्कमान भए पनि उसलाई मान्छेको विश्वास हुन्न । लौआउनुहोस् , खोजौँ कार्य , कारण र कारक ।

पीजी said...

लुनाजी यहा धेरै कुराहरु भइसकेछ , तर मैले तपाइलाई नेपाल बिगार्नेहरुको विषयमा छोटो जवाफ दिन्छु ।

नेपाल नेपालीहरुले नै बिगारेको हो ।
नेपाली जनता तपाई हामी हौं र हामीले आफ्नो कर्तव्य निभाइरहेका छौं भन्नु भयो , कुन कर्तव्य निभाइरहेका छौं हामीले ?

तपाई युरोपमा हुनुहुन्छ, यहां हुदा हामी मासिक कमाइको ४०% कर र १५ % स्वास्थ्य विमा तिर्न हिच्किचाउंदैनौ (हुन त धेरै आप्रवासी विदेशीहरु मूलधारमा नआउंदासम्म यस्ता कुराहरु थाहा पाउंदैनन) तर नेपालमा अहिलेसम्म मासिक घरभाडा लगाउंदा होस वा पेसा कुम्ल्याउंदा होस कहिल्यै कर तिर्छौं ?

१९९४ सम्म पनि नेपालीहरु बिना भिसा बेलायत बाहेकका युरोपियन मुलुकहरुमा घुम्न पाउंथे । जापान, जर्मनी, फ्रान्स जस्ता देशहरु पनि नेपालीका लागि खुल्ला थिए तर नेपालीहरुको लर्को भित्र पस्दै लुक्दै गर्ने लागे पछि अहिले फ्रान्स जर्मनीले त कुरै छाडौं हङकंङले समेत प्रवेश बन्देज लगाइदियो । यसमा कसको दोष , सरकारको कि "शुद"को कि नेपालीहरुको ?

ट्याक्सी चलाउने देखि बस चलाउने गुरुजीहरु जांड धोकेर गाडि चलाउंछन, बिच बाटोमा रोक्छन अनि पुलिसले कारवाही गरे भोलि "नेपाल बन्द" अनि सरकार परिवर्तन हुन्छ । यसमा कसको दोष ?

कहिले कांग्रेसको पछाडि त कहिले एमालेको पछाडि त कहिले माओबादीको पछाडि त कहिले त्यो भन्दा चर्का नारा लगाउनेको पछाडि कुद्ने प्रवृति जब सम्म हट्दैन तबसम्म देश बन्दैन । यो प्रवृतिका हिमायति को? हामी नेपाली ।

दुई दिन देश शान्त हुंदा हामीलाई निद्रा लाग्दैन मानौ देश नै गतिहीन भएर अड्केछ जस्तो लाग्छ । शान्तीलाई "गतिहीनता"को रुपमा बुझ्ने को ? हामी नेपाली ।

त्यति मात्रै हो र तपाइ बसेको देशमा नै हेर्नुस नेपालीहरुको "धन्दा" के छ , संगठन बनाउने र नेता बन्ने ! नेपाली र विकसित देशका मान्छेमा त्यहि पनि फरक पाउनुहुन्छ ।

अनि नेताहरु जनताहरुबाटै निस्कन्छन । जनताहरुले पत्याएर नै नेता बनिन्छ नत्र तपाई हामी पनि नेता बन्थ्यौं ।

हामी अरुलाई दोष दिएर आंफु उम्किन खोज्छौं, आंफुले नगरेर अर्काले गरेन भन्छौं, एउटा माइक भेटे काम गर्न छोडेर बजारमा आन्दोलन गर्न थाल्छौं, के त्यस्तो देख्नुभएको छ कुनै युरोपियन युनियनमा ? जुन दिन जनता सचेत हुन्छन त्यहि दिन देखि नेता पनि असल जन्मिन्छ ।

नेपाल मात्रै हैन अन्य गरीब देशकाहरुको पनि ताल त्यहि हो, भातमा बिकेर र बन्दुकसंग तर्सेर होस वा ठालु जमिन्दारले भनेको भरमा भोट हालेर प्रजातन्त्रको "सदुपयोग" हुदैन । यसका लागि भोट भनेको के हो, के का लागि र कसलाई हाल्ने भन्ने थाहा नभइकन भोट हाल्ने जनताले देश बनाउने हैन बिगार्ने खाडल पनि खन्छन ।

अनि अर्को कुरा म "शुद"हरुसंग डराउदिन बरु म बन्दुक बोक्ने र भीडको शासन गर्ने जो कोहि संग डराउंछु । शुद जस्ता मान्छेहरुसंग अहिलेको जमानामा हामी जहां पनि भेटिरहेका हुन्छौं ।

शुद कोहि पनि हैनन, बरु उनले पान खाएको देखि थुकेकोसम्मका कुराहरु समेत उचालेर हामीले नै उनलाई हिरो बनाइरहेका छौं, पुष्पजीले भने जस्तो "कन्सिपिरेसी थ्योरी" हामी आंफैले नजानिदो पाराले ग्रहण गर्छौं । शुदहरुको पनि आफ्नो जागिर हुन्छ स्वार्थ हुन्छ । निश्चय नै उनको काम भनेको नेपालमा बसेर भारतको हीत अनुसार काम गर्ने हो । उनको स्वार्थ छुट्याउन सक्नु र हाम्रो भलाई अनुसार काम गर्न सक्नु नै पुरुषार्थ हो उनलाई गाली गर्नु पुरुषार्थ होइन ।

नेपाल शान्त, भयमुक्त र जनता सभ्य भए भने हेर्नु होला नेपाल १० वर्षमै कांचुली फेर्छ नत्र कुनै पनि पथ, वाद वा दान ले माखो मार्ने वाला छैन ।

Luna said...

सम्यक जि ! तपाईं पनि अरु ब्लग मा पुग्नु हुदो रहेछ नि त म जस्ताइ :)
नत्र मलाई कसरी देख्नु भो ? :) हे!हे!
म फेरी पनि त्यही कुरा दोहोर्याउछु नेपाल गिरिजा - माधव मार्काका राजनीतिज्ञहरुले गर्दा नै उधो लागेको हो । सरकार भनेको देशको शक्ती हो देश हाक्ने , देश लाई बिकास को गतिमा डोर्याउने । को छन त हाम्रा सरकार मा अहिले सम्म ढलिमली गरिरहने ? गिरिजा - माधव मार्का कै राजनीतिज्ञ हरु होइनन र ??

प्रबिण थापा said...

सम्यक जि,
राजनीतिक आस्थामा भिन्नता छ, तपाईंको आँखामा प्रचन्ड, बाबुराम र हिसिला यामिहरु नराम्रा मान्छे हुनसक्छन तर माओवाद भनेको लाठो र हतियार बोकेर बिपरित विचारमाथि जाइलाग्ने आतंकी व्यवहार मात्र हो, अपराधको ठेकेदारी गर्ने राजनीतिक संरचना हो , अपराध हत्या र उछ्सृङ्खलतालाई बजारमा पुर्याउने थोक बिक्रेता हो , हप्ता असूली , चन्दा र हतियारधारी जमातको सरगना होभन्ने सोचाइ भने मलाइ दरिद्र लाग्यो। पुर्वाग्रहि नभै हेर्नु हुन्छ भने १५००० व्यक्ति हत्याको कुरा छ ति नेपाल आमाका सपुतहरुको हत्याको जिम्मा प्रचन्ड मात्र होइन त्यो भन्दा बढि गिरिजा, शेर बहदुर र माकुने लिनु पर्छ।

नेपाल र नेपालिलाइ यो हालतमा ल्याइ पुर्याउने गिरिजा ब्रान्ड, माकुने ब्रान्ड हो भने अनुकुल स्थिति सिर्जना गरि सब बाताबरण मिलाइदिने प्रचन्ड ब्रान्ड पनि हो।

म जेरो होउर् जि सग पुर्ण रुपमा सहमत छु, देश नेपालि नै बिगारेका हुन, हाम्रो आफ्नो कमजोरिले गर्दा नै बिग्रेको हो, हाम्रो कमजोरिको फाइदा सिमित टाउके नेताहरुले व्यक्तिगत, पार्टिगत स्वार्थमा भरपुर उपयोग गरे, बिदेश परास्त राजनितिको बाताबरण बनाए देशलाइ आज ठुलो खाडलको डिलमा पुर्याए,अझै हामि चुपचाप बसे त्यो दिन टाढ छैन खाडल भित्र धकेलिने।

पुष्प said...

सम्यकजी,
एउटा कालो कोटधारीले आफ्नो (कु)तर्क प्रस्तुत गरेर अपराधीलाई निद्रोष र निर्दोषलाई अपराधी बनाएजस्तो कुरा गर्नुभो । यस्ता लम्बेतान भाषण गर्न गिरीजा, ओलीहरू पनि सक्षम छन् । तर उनीहरू को हुन् भन्ने कुरा समयले देखाइसकेको छ ।

शुन्य समयजी,
नेता भनेका जनताको अभिभावक हुन् । खराब संगतमा छोराछोरी बिग्रयो भनेर अभिभावकहरू उम्कन मिल्दैन । आफ्ना सन्तानलाई सहीमार्गमा डोर्याउन अभिभावक स्वयम् नै उदाहरण बन्न सक्नुपर्छ । जसो-जसो बाहुन, त्यसो-त्यसो स्वाहा गरेजस्तै त हो नि ।

नेपालियन said...

समग्रमा सबै कमेन्ट पढ्दा देश नेताहरुले भरमजदुर प्रयोग गरे। आफू मोज मस्ती गरे। देश जहिं को तहिं।
प्रचण्डहरु पनि त पूल भत्कउने,पावर हावस पडकाउने,हेल्थ पोस्ट जलाउने गरेका हुन क्यार? हेर्दा चोखो कोही देखिन।
तर प्राया ले भने जनतालाइ चोखो देखे। जांचमा चिट चोर्ने,बिहारबाट सर्टीफिकेट किन्ने,घुस खुवाउने,पुलीसको आज्ञा नमान्ने,जांहा मन लाग्यो त्यही फोहोर गर्ने, बल र पैसा पेलेर जे सकिन्छ त्यो गर्ने,बाटो मिचेर घर बनाउने त्यो त नेताले सिकाएको होइन नी? जनता पानि माथीको ओभानो भन्न त मिल्दैन नि? अनि लास्टामा तिनै चोर नेताको झोला बोकेर हिड्ने तिनै जनता त हुन, कसो?

Jotare Dhaiba said...

देश बनाउन राजनीति गर्ने हो, तर राजनीतिमाथि नै राजनीति गर्नेहरूले नीतिहरूमध्ये राजा मानिएको राजनीतिलाई कहीँको छाडेनन् ।
यसैको आगोमा देश जल्यो, र यही सिट्ठा भइसकेको देश पनि जातियता, क्षेत्रीयताको नाममा भाग लगाउने तर्खर हुँदैछ । नेताहरूको विकल्पहीनताले देशको छाती कुँढिएको छ ।
यसै होला भन्ने किटानी गर्न असफल हुँदैछन् अनुमानहरू । शायद यस्तै भासमा पुरिएका छन् राजनीतिको शीर्ष भूमिकामा रङमगिनेहरू समेत ।

Anonymous said...

अत्याधुनिक सुविधासम्पन्न सरकारी गाडीको निजी प्रयोग मात्रै होइन मर्मत सम्भारको खर्चसमेत सरकारी कोषवाट लिएर 'सर्बहारा' नेता पुष्पकमल दाहालले जनताको सम्पत्तीमा 'जनवादी क्रान्ति गरेको खवर सुन्दा कसैलाई पत्यार नलाग्ला।
तर, सर्बहाराका लागि कार्यकर्ताका हातमा हतियार दिएर नागरिक सर्बाेच्चता लागु गर्ने उद्घोष गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक करोड रुपैया पर्ने बा ६ च १०२९ नम्बरको गाडीको नम्बर प्लेटको रंग पनि गैरकानुनी रुपमा फेरेर प्रयोग गरेका छन्।
प्रधानमन्त्री हुँदा सर्बहारा नेताले करोडको गाडी चढेको समाचार आएपछि त्यो गाडी गिरिजाप्रसादले झिकाएको र त्यस्तो महंगो गाडी नचढ्ने प्रतिक्रिया दिंदै आएका क्रान्तिकारी नेता प्रचण्डले कठपुतली भनिएको सरकारको प्रधानमन्त्री कार्यालयवाटै गाडी मर्मत सम्भारको लागि समेत रकम लिंदै आएका छन्। महेन्द्रनगरमा प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा गए सर्बसाधारणलाई जनकार्वाही गर्ने चेतावनी दिने प्रचण्ड भने आफैं मन्त्री परिषद्को कार्यालयवाट गाडी मर्मत खर्चसमेत झिकेर चलाउने गरेकोप्रति अरु 'सर्बहारा' मुर्मुरिन पुगेका छन्।
चमेलिया जलविद्युत आयोजनाले जापानवाट झिकाएको सो गाडीमा रहेको निलो रातो रंगलाई बदलेर क्रान्तिकरी नेताले रातो बनाएका छन्। गत वर्ष प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री कार्यालयवाट झिकाएका तीनवटा महंगा गाडीमध्ये एउटा राष्ट्रपतिलाई दिइएको, अर्काे एक उपराष्ट्रपति कार्यालयका लागि पठाइएको र बाँकी भएको एक कालो गाडी सर्बहारा नेताले कब्जा गरेपछि प्रधानमन्त्री माधवकुमार नेपाल चमेलियावाटै अर्काे गाडी झिकाएर चढ्न बाध्य भएका छन्। तल तल जनता भेट्टायो कि वर्तमान सरकार कठपुतली भएकाले मान्यता नदिने र त्यसलाई मान्यता दिने जनतालाई पनि जनकार्वाही गर्ने भाषण जुल्फी हल्लाई हल्लाई गर्ने प्रचण्डले त्यही प्रधानमन्त्रीको कार्यालयवाट गरिव जनताले बुझाएको राजस्व मारेर गाडीको मर्मत खर्चसमेत लिने र सरकारी सम्पत्ति कब्जा गर्ने काम गरेपछि दिन भरी काम गरेर बेलुकी एक छाक खान नपाउने 'बुर्जुवा यथास्थितिवादी'हरू प्नि छक्क परेका छन्।
माओवादी पार्टीले हालै सम्पन्न गरेको केन्द्रीय कमिटी बैठकले नेताहरूको सर्बहारा जीवनका लागि १५ बुँदे आचारसंहिता पारित गरी प्रेस मार्फत सार्वजनिक गरिसकेको छ।

-- Sambodhan weekly

पुष्प said...

Who saves his country violates no law.

Anonymous said...

शेरबहादुर केसी, बुटवल, भदौ २४- विवादित घर घडेरी र जग्गामा माओवादी नेताले चलखेल गरेर पार्टीका शेरबहादुर केसी, बुटवल, भदौ २४- विवादित घर घडेरी र जग्गामा माओवादी नेताले चलखेल गरेर पार्टीका लागि भन्दै मोटो रकम लिने गरेको रहस्य खुलेको छ। वितेको एक वर्षमा बुटवलका आधा दर्जन विवादित तर मूल्यवान घर घडेरीमा केही नेताले हात हालेर पार्टीलाई बदनाम गराएको भन्दै केही दिनअघि भएको अवध राज्य समितिको बैठकमा संलग्न नेताको चर्को आलोचना भएको छ।
माओवादी केन्द्रीय सदस्य रामप्रसाद बाजाडे बामदेव क्षेत्री जिल्ला सचिव यज्ञ पोखरेल माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीकी पत्नी एवं अवध राज्यसमिति सदस्य सीमा रायमाझी जिल्ला सदस्य रेशम ढकाल लगायतले विवादित जग्गामा पार्टी निर्णय भन्दै विवादित करोडौं मूल्यका घर घडेरीमा हात हालेको पाइएको छ। उनीहरुले हात हालेका जग्गा सासु बुहारीको अंश विवाददेखि जग्गाको वास्तविक हकभोग गर्ने व्यक्तिको विषयमा वर्षौ देखि चलिरहेको विवादससम्मका छन्। उनीहरुले विवादित पक्षलाई मिलाइदिएर निश्चित रकम दिने र आफू अनुकुलको व्यक्तिलाई अघि सारेर आफूले तोकेको मूल्यमा जग्गा किन्ने र दोश्रो व्यक्तिलाई महंगो मूल्यमा बेच्ने गरेको पाइएको एक राज्यसमिति सदस्यले नागरिकलाई बताए।

बुटवलको मुटु सिद्धार्थरोडको १० धुर जग्गा र दुईतले घरको खरिद बिक्रीबारेको विवाद नमिलेपछि गत साउन १ गते माओवादी रुपन्देहीका सचिव यज्ञ पोखरेल र वाइसिएल रुपन्देहीका अध्यक्ष गंगा कार्की 'पूजा'को नेतृत्वमा पार्टीको झन्डा गाडिएपछि माओवादीभित्रको जग्गासम्बन्धी विवाद सतहमा आएको हो। माओवादी जिल्ला नेतृत्वले झण्डा गाडेको घरका भाडावाल माओवादी सभासद् विनोद पहाडीलाई समेत सोधखोज नगरी झण्डा गाडेपछि उनी आक्रोशित छन्।

'वर्षौदेखि मैले भाडामा लिएको घरको ढोका तोडफोड गरेर साथीहरुले झण्डा गाड्नु लज्जास्पद कुरा हो'- सभासद् पहाडीले भने। पहाडीले वर्षौदेखि घर भाडामा लिएर न्यू ज्वालामुखी छापाखाना र नेपाली माच मासिकको कार्यालय राखेका थिए। अनुमति विना छापाखाना र पत्रिकाको कार्यालय तोडफोड गरेर १ लाख ५० हजार रुपैंयाको आफ्नो सम्पत्ति नष्ट गरिदिएको आरोप सभासद् पहाडीको छ

Anonymous said...

यो घर घडेरी हरि प्रधानले पाचँ वर्ष अघि ५२ लाख रुपैंयामा खरिद गरेका थिए। २० लाख रुपैंया बैना समेत भइसकेको घरमा वर्षौदेखि बस्दै आएका भाडावालले घर खाली नगरेपछि किन्ने बेच्ने पक्षले रजिष्टेशन पास पनि गरेको थिएन। जग्गा खदिरकर्ताको पहलमा माओवादी जिल्ला नेतृत्वले हात हालेको माओावादी श्रोतको भनाई छ।

श्रोतका अनुसार घरमा बस्ने शान्ति रानालाई १४ लाख विनोद पहाडीलाई १० लाख रुपैंया दिएर खदिरकर्तालाई सजिलो पारिदिने र पार्टीको लागि भन्दै केही रकम खरिदकर्ताबाट लिने योजना पार्टी जिल्ला नेतृत्वको थियो। तर पहाडीले १० रुपैंया बुझ्न मानेनन्। त्यसपछि जिल्ला नेतृत्व पहाडीसगँ आक्रोशित हुदै झण्डा गाड्ने तहसम्म पुगेको हो । ँवास्तविक हकदारको बारेमा विवाद आएकोले सर्वदलीय सहमतिमा जग्गा सार्वजनिक गर्नुपर्छ भन्ने मेरो माग हो-सभासद् पहाडीले नागरिकलाई भने। पहाडीको यो धारणा पछि माओवादी जिल्ला नेतृत्वले तोडफोड गरेर कार्यालय राख्ने भन्दै झण्डा गाडेको थियो।

प्रहरी तालिमकेन्द्र नजिकैको दुई कठ्ठा सासु बुहारी र बर्षौदेखि जग्गामा बस्दै आएका व्यक्तिबीचको विवादमा हात हालेर माओवादी नेता बामदेव क्षेत्री र रामप्रसाद बाजाडे विवादमा मुछिएका छन्। माओवादी निकटका व्यवसायी धनराज कोईरीले सवा करोडको हाराहारीमा खरिद गरॆको ६ महिना नपुग्दै अहिले सवा चार करोडमा बिक्री भएको छ। 'पार्टीको नाउमा कमरेडहरुले कम्तिमा ५० लाख कुम्लाएका छन्'-अवध राज्यसमितिका एक सदस्यले भने।

बुटवलको व्यापारिक केन्द्र अमरपथमा तीनवर्ष पहिलॆ ७० लाख रुपैंयामा खरिद गरेको घरजग्गा व्यवसायी भीम विकले अहिलेसम्म उपभोग गर्न पाएका छैनन्। वर्षादैखि भाडामा बस्दै आएका रेशम ढकालले घरखाली गरिदिएका छैनन्। रेशमलाई घर खाली गरिदिएबापत १४ लाख रुपैंया दिने सहमति भएपनि खाली नगरेर समस्या खडा गरिदिएको विकले नागरिकलाई बताए । 'पार्टीले भने खाली गरिदिन्छु भनेकाले माओवार्दीको अवध कार्यालयमा निवेदन हालेको छ'- उनले भने। वर्षौदेखि विवादमा रहेको यो जग्गा केशव बज्राचार्य हकदार कायम भएपनि विकले किनेका थिए।

यस्तै खालको कालिकानगरको जग्गामा हात हालेर अवध राज्य समिति सदस्य सीमाले पाचँ लाख रुपैंया लिएको तर कमिटी तहमा कुनै जानकारी नदिएपछि अहिले चर्को आलोचना भएको छ । यो घटनासगैं अन्य कतिपय काममा सीमाको भूमिका विवादास्पद रहेको पाइएपछि केही दिन अघिको अवध राज्यसमितिको बैठकले भूमिका विहिन बनाएर अवध कार्यालयमा थन्काउने निर्णय गरेको श्रोतको भनाई छ। 'अवध राज्यसमितिबाट जिल्ला समितिमा घटुवा गर्ने सम्मको कुरा उठेपनि समुहगत पक्षधरताको कारण कारबाही गरेको भ्रम छरिने भएकोले तत्कालका लागि सामान्य कारवाही गरिएको हो'- बैठकमा सहभागी ती सदस्यले नागरिकलाई भने। विवादमा मुछिएका वामदेव रामप्रसाद र सीमा बाबुराम पक्षीय र अवधको नेतृत्वमा रहेका इञ्चार्ज देवेन्द्र पौडेल र सचिव निर्मलकुमार लगायतको टीम बैद्य पक्षधर भएकोले पक्षधरताको आधारमा कारवाही अघि बढेको भ्रम छरिने कुराप्रति सचेत रहदै कारवाही अघि बढाउन अवध नेतृत्वले प्रयत्न गरिरहेको श्रोतको भनाई छ

Anonymous said...

शान्तिप्रक्रिया लगत्तै माओवादीले कब्जा गरेको राष्ट्रिय बाणिज्य बैंकको सिद्धार्थरोडको रातो घर पनि माओवादीले अझै खाली गरेको छैन्। तीनवर्ष पहिले कर्मचारी साचयकोषलाई राष्टिय बाणिज्य बैंकले १ करोड ५० लाख रुपैंयामा बिक्री गर्ने निर्णय भइसकेको छ तर माओवादीले घर खाली नगरेकोले हस्तान्तरण हुन नसकेको रावाबैंकका एक अधिकारीले बताए। ११ कठ्ठा जग्गा र दुई तले घर समेतको सो जग्गाको हाल मूल्य कम्तिमा सात करोड पर्ने भएकोले माओवादी सरकारमा रहेको बेला साचयकोषले खरिद गर्ने मूल्यमा माओवादी पार्टीका लागि खरिद गर्न पहल हुदाँहुदै सरकार ढलेकोले सफल हुन सकेन। श्रोतका अनुसार रावाबैंकका वरिष्ठ अधिकारीले साचयकोषलाई दिने भनेर गरेको निर्णय उल्टाएर अर्को निर्णय गर्दा अनियमितताको आरोप लाग्ने र विवादमा तानिने भन्दै इन्कार गरेकाले पनि माओवादी पार्टीले नै लिने पहल सार्थक हुन नसकेको हो।
http://nagariknews.com/politics/party-politics/4871-2009-09-09-03-39-33.html

Anonymous said...

अजित तिवारी, विराटनगर भदौं २१- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिकको हातमा बन्दुक हुनु नै नागरिक सर्वोच्चता भएको बताएका छन्। माओवादीले उठाउँदै आएका नागरिक सर्वोच्चताको विषयमा सबैले आ-आफ्नै खाले तर्क र विश्लेषण गरिरहेको बेला दाहालले माओवादीले चाहेको नागरिक सर्वोच्चता बारे प्रष्ट पारेका हुन्।

'नागरिकको हातमा बन्दुक हुनुपर्छ, यो बन्दुकको कुन्दाभित्र नागरिक कुहिनु नपरोस त्यही हो नागरिक सर्वोच्चता'-आइतबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अधयक्ष दाहालले भने । नागरिक सर्वोच्चताको मर्म नै बन्दूक जनताको नियन्त्रणमा हुनु रहेको उनले तर्क गरे।

Anonymous said...

किरण पुन, काठमाडौं, भदौ १९- एकीकृत माओवादीका अनियमितता छानबिन गर्न गठित उच्चस्तरीय आयोगमा सबैभन्दा बढी नेताहरूले घरघडेरी किनेका उजुरी परेका छन्। युद्धकालमा पार्टी नेतृत्वको सम्पत्ति 'पार्टीकरण गरी सर्वहाराकरण हुने' घोषणाविपरीत उनीहरुले घरघडेरी किनेको आरोप छ।


'घर बनाएको, गाडी किनेको, ठेकेदारबाट पैसा लिएको, बैंकमा सेयर किनेकोलगायतका विषयमा उजुरी परेको छ,' आयोगका एक सदस्यले नागरिकसित भने, 'छानबिन बिहीबार सुरु हुन्छ।' अपेक्षाअनुसार उजुरी नपरेको उनले बताए। उनले भने, 'एक सयको हाराहारीमा आएको होला।' आयोगले तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ। आयोगलाई सघाउन प्राविधिक समिति समेत बन्ने भएको छ।

पार्टी स्थायी समिति सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यविरुद्ध पनि उजुरी परेको स्रोतले जनाएको छ। स्रोतका अनुसार बढी जसो सहरमा घर बनाएका, घरघडेरी जोडेका, ठेक्कापट्टा गरेका विषयमा छन्।

पार्टीले सभासद्, पार्टी केन्द्रीय सदस्यदेखि माथि, जनवर्गीय संगठनका कोषाध्यक्षसम्म र जनमुक्ति सेनाका ब्रिगेड कमान्डरसम्मको सम्पत्ति छानबिन गर्ने भएको छ।

उजुरी पठाउने कतिपयले नाम लेखेको र कतिपयले उल्लेख नगरेको आयोगका एक सदस्यले बताए। उनका अनुसार आयोगमा पार्टी बाहिरकाले पनि उजुरी पठाएका र कतिपय त हल्का खाले पनि आएको बताए। 'कपालमा जेल लगाएको जस्ता विषयमा पनि उजुरी परेका छन्,' एक सदस्यले भने।

कार्यकर्ताले नेताका नभई तिनका नजिकका नातागोताको सम्पत्ति छानबिन गर्न माग गरिरहेका छन्। उनीहरुले आफ्ना नजिकका नातेदारका नाउँमा सहरमा घरघडेरी, सेयर, बैंक ब्यालेन्स र गरगहना राखेको आरोप लगाउँदै आएका छन्।

गाउँमा सम्पत्तिको नाउँमा एक टुक्रा जमिन पनि नभएका नेताका नातेदार सहरमा महलका मालिक बनेका उनीहरुको दाबी छ। आफ्ना पायक पर्ने मुख्य सहर महेन्द्रनगर, धनगढी, टीकापुर, घोराही, तुलसीपुर, बुटवल, पोखरा, काठमाडौं, विराटनगरजस्ता सहरमा तिनका आफन्तले महल ठड्याएको कार्यकर्ताको आरोप छ। यसैगरी नेताका नातेदारका नाउँमा घर-घडेरी किनिएका छन्।

'नेता भ्रष्टाचारी भएको' भन्दै कार्यकर्ताले चर्को आलोचना गरेपछि गत महिना सम्पन्न केन्द्रीय समितिले वरिष्ठ उपाध्यक्ष मोहन बैद्यको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले भदौ १५ गतेसम्म नेताका अनियमितताबारे उजुरी पठाउन आग्रह गरेको थियो।

जिल्ला जिल्लामा रिपोर्ट पठाउन सर्कुलर गर्नुका साथै नेताहरुले काठमाडौं, पोखरा, धरान, वीरगन्ज, नेपालगन्ज र रुपन्देहीका राज्य समितिस्तरीय प्रशिक्षणमा कार्यकर्तालाई उजुरी गर्न हौस्याएका थिए।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !