September 9, 2009

काठमाडौँ कथा

जोतारे धाइबा

बटुल्छ थोते मुस्कान,
कुनाको बस्तीमा ट्वार्र-ट्वार्र हुक्का तान्ने
मानौँ ऊ त्यो ज्यापूबा हो-
उही मुस्कानको विरही रङमा
चाउरी छल्काउँदै गालाकिनारसम्म
उस्तै उदास होली खेलिरहन्छ

ठमेलको साँगुरो साँझ
फराकिलो हल्ला
बत्तीहरूको अटूट रिमझिम
र बुढ्यौलीको सीमामा
रोग ओढेर असिनपसिन बूढीमाउ सम्झिँदै
मनीब्यागको खाडल पुर्न तल्लीन
कुनै नगरबधूको जून अस्ताएको मुहार
केही मिल्दैन,
एकरत्ती केही ।

घण्टाघरसामु
घडी बाँध्नुको अर्थ के हुन्छ ?
धरहराबाट
फाल हाल्नुको बौद्धिकता के हुन्छ ?
काठमाडौँ-
चक्रपथको उही घुम्ती लम्बाइमा
रिँगटा पालेर हराइरहेछ,
मान्छेहरूको यान्त्रिक दिमागमा
कोठा-सडक-कार्यालयकक्षको
ख्याट्ख्याट् क्यालकुलेटरभरि
जिन्दगीको हिसाबमिलानमा मस्त उँघ्छ,
भोकाएर फुटपाथमा
सानदार मोटरका हेडलाइटले
तिरमिर आँखाभरि विरक्त अघाउनु छ
चर्चित चोकको जेब्राक्रसिङमा
आधा जिन्दगी समाउँदै
बेस्सरी श्वास फ्याँक्नु छ,

काठमाडौँ साहेब !
लाख पाइलाहरुले माडिएको
यो खाडलमा
कथाहरू मात्र छन् कि
व्यथाका बूढा ल्याम्पपोस्टहरू पनि पिलपिलाउँछन् ?


6 Comments:

खुल्लामन्च said...

Great Article, Dhaibag. Great Kathmanu, Mero Kathmandu ?

नेपालियन said...

फोहरबिच चोखो हाम्र राजधानीको राम्रो बयान गर्नुभएको छ धाइबा जी।
तर पनि मान्छे यही खिन्नछन हैन त?

प्रबिण थापा said...

साच्चै सुन्दर शब्दहरुको संयोजनमा फोहोर र बिकृत बन्दै गैरहेको काठमान्डौ अनि त्यही काठमाडौसगै चोसोमोसो मिलाउदै लिप्त बनेका हाम्रा अभ्यस्त कदमहरुको सही चित्रण छ धाइबा जि कबितामा ।

एकलव्य ( Eklavya) said...

उत्कृष्ट छ कविता !

Shiva Prakash said...

काठमाण्डैां अहिले धेरै कुराको राजधानी भएको छ ।
nepalimanharu.com

सुरेश खनाल 'बिर्खे माईला' said...

आधुनिक, स्वतन्त्र र तितो बाध्यात्मक अभिव्यक्ती! राम्रो लाग्यो!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !