September 8, 2009

उत्तमताको परिचय खोज्दै अन्जली तिमल्सिना


दौँतरीमा नयाँ-पुराना ब्लगरलाई उपस्थित गराउँदै आएका छौँ । ब्लगर भेलाको समयमा भने यो क्रम छुटेको थियो। ब्लगभित्र ब्लगको उद्देश्य नै ब्लगरहरुलाई थप परिचित गराउनु हो। ब्लगर भेलाले त्यो कार्य पूरा गरेकोले अब यसलाई क्रम छुटेको नभन्दा कसो होला ? यस पटक विगत तीन वर्षदेखि prelude to perfection ब्लग लेखिरहनुभएकी ब्लगर अन्जली तिमल्सिनालाई ब्लगभित्र ब्लगमा निम्त्याएको छु। अब लागौं अन्जलीजीको ब्लग-गफतिर।

१) ब्लग दुनियाँमा कसरी आउनुभयो ?
=> ब्लग दुनियाँमा आउनुअघि ब्लग के हो भन्ने कुरा थाहा थिएन । मलाई त ब्लग भन्ने यस्तो अनलाइन मिडिया छ भन्ने पनि थाहा थिएन । जब मैले पत्रिकामा छापिएका ब्लगसम्बन्धी लेख पढेँ, तुरुन्तै ब्लगमा हाम्फालेँ ।
बेलाबखतमा लेख्ने बानी भएकोले, ब्लगलाई नै उपयुक्त माध्यमको रुपमा रोजेँ, अनि ब्लगमा लेख्न थालेँ । समाजमा घटेका घटना, परिघटना अनि आफ्नो दृष्टिकोण आदि कुराहरु लेख्नको लागि ब्लग नै उपयुक्त माध्यम लाग्यो ।

२) उत्तमताको परिचय(prelude to perfection) दिन कति हदसम्म सफल हुनुभयो ?
‍=> पर्फेक्सन भन्ने कुरा या भनौँ १०० प्रतिशत नै भन्ने कुरा त यो संसारमा केही नै छैन । “A prelude to Perfection” पर्फेक्ट भन्न नभई, पर्फेक्सन या भनौँ उत्तमतातिर बढेको पाइला मात्र हो । कति सफल भन्दा पनि कति आफू अगाडि बढ्न सकियो भन्ने कुरा नै मुख्य कुरा हो । समग्रमा भन्दा, पर्फेक्सनतिर चालिएको पाइला नै ‘A prelude to Perfection’ हो ।

३) तपाईँको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?
‍=> यो सम्पूर्णरुपमा आफ्ना विचारहरुले भरिएको छ । घटना, परिघटना, सामाजिक व्यवस्था का बारेमा आफ्नो विचारहरु पोख्ने थलो को रुपमा ब्लग अगाडि बढेको छ । मलाई लाग्छ, म हजारौँ सर्वसाधारण को बोली बोलिरहेको छु । मेरो ब्लगमा पोलिटिक्स का कुरा लेख्दिनँ भन्ने कुनै निर्णय त गरेको छैन, तर पनि बेलाबखत समसामयिक राजनीतिको बारेमा पनि लेख्ने गरेकी छु ।
खासमा ब्लग सुरु गर्दा त म असमानता अनि अव्यवस्थाका विरुद्ध आफ्ना भावनाहरु, निराशाहरु, लेख्ने गर्थेँ । तर अहिले यसो नै लेख्छु भन्ने छैन । ब्लगसँगै धेरै कुरा जान्दै बुझिँदै आइयो, अत: हिजोआज जे लेख्न विचार आउँछु त्यही नै लेख्छु । ब्लगमा कथा, कवितादेखि आफ्ना विचारहरु, राजनीति र समाजका अव्यस्थाका बारेमा टीका-टिप्पणीहरु सबै कुरा समेटिएका छन् जस्तो लाग्छ ।

४) ब्लगको पाठक अन्तरक्रियासँग कत्तिको सामीप्यता राख्नुहुन्छ ?
‍=> अन्तरक्रियाबिना ब्लग अलि खल्लो नै हुन्छ । पाठकबाट आउने प्रतिक्रियाले मलाई लेख्न नै हौस्याउँछ, अनि आफूले लेख्दा सुधार गर्नुपर्ने कुराहरु पनि थाहा हुने गरेको छ । हुन त, केही विषयमा म एकपक्षीय पनि हुनसक्छु, तर त्यस्तोमा आउने फरक धारणाले मलाई धेरै कुराहरु बुझ्न मद्दत गर्ने गरेको छ । ‘ब्लग’ पाठक प्रतिक्रियाबिना चल्न गाह्रो नै छ ।

५) ब्लग ३ वर्षअघिदेखि सुरु गर्नुभएको रहेछ तर ब्लग सामग्री त वर्षैपिच्छे घट्दै छन् नि ?
=> पेसाले विद्यार्थी परेँ, अत: लेख्नको लागि पनि समय निकाल्नुपर्छ । त्यसैले सामग्री कम लागेको हुनसक्छ । तर म नियमितजसो नै लेख्नेगर्छु, कहिले ढिलो कहिले चाँडो त भइहाल्छ ।

६) सभ्यताको परिचय के होला ?
‍=> सभ्यताको परिचय केही शब्दमा भन्न सकिने कुरा होइन । हामीले जसलाई सभ्य भन्छौँ, ऊ सभ्य नहुन सक्छ । सभ्यता भन्ने कुरा हाम्रो रहनसहन र रीतिथितिसँग जोडिएको कुरा हो, यो कुरा स्थानविशेष र जातिविशेषअनुरुप फरक-फरक हुनसक्छ । साँच्चै भन्दा, सबै कुरा छोडेर, ‘मानवता’ नै सभ्यताको परिचय हो ।

७) सफलताको परिचय नि ? सफलता र असफलताको वक्ररेखा कसरी निर्धारण गर्ने ?
=> सफलता र असफलता भन्ने कुरा जीवनका दुई पाटा हुन् । सफलताले अझै अगाडि बढ्न हौसला दिन्छ भने असफलताले अगाडि बढ्न अझै मिहिनेत गर्न हौस्याउँछ । खासमा, असफलता नै सफलताको सिँढी हो । सफल भइनँ भनेर चिन्ता गर्नु र निराश हुनुभन्दा, त्यस असफलतालाई शिक्षाको रुपमा लिएर अघि बढ्दा, सफलता पाउन सकिन्छ जस्तो लाग्छ । समग्रमा भन्दा, सफलता र असफलता दुवैलाई आत्मसात् गर्दै हामी अगाडि बढ्न जरुरी छ ।

८) नारी र पुरुषबीच के भिन्नता होला ? सीमित महिला ब्लगरबीच आफूलाई पाउँदा कस्तो महसुस हुन्छ ?
=> नारी र पुरुष दुवै संसारका सुन्दर श्रृजनाहरु हुन् । संसार चलाउनका लागि नारी र पुरुषमा मानवजातिलाई वर्गीकरण गरिएको छ । नारी-पुरुष दुवै एक-अर्काका पूरक हुन् ।
सबैको आफ्नै काम, कर्तव्य र अधिकार छन्, अनि दुवैको आफ्नै महत्व छ । यो ठूलो र त्यो सानोभन्दा पनि नारी र पुरुष एक-अर्काका पूरक हुन् भन्ने कुरा बुझ्न जरुरी छ । तर पनि नारीहरु केही हदसम्म अवसरबाट बन्चित छन् अनि पुरुषको दाँजोमा महिलालाई हेप्ने नै गरिएको छ । महिलाले पनि गर्न सक्छन् र उनीहरुमा पनि केही गर्न सक्ने खुबी छ भनेर मान्न नसकिएसम्म र अवसरबाट बन्चित गरिएसम्म, यो असमानता कायम नै रहनेछ ।
ब्लगिङको जमातमा केही सीमित महिला ब्लगरहरुबीच उभिन पाउँदा खुसी नै लागेको छ तर पनि आशा छ यो जमात छिट्टै ठूलो हुनेछ ।

९) योगालाई कसरी हेर्नुहुन्छ ?
=> यो आधुनिक र औषधिमय बनेको जमानामा योगा एउटा अचुक उपाय हो स्वस्थ रहनका लागि । हिजो आज प्राय: सबैको बिहानी नित्यकर्म योगा नै बन्दै गएकोले पनि योगा के हो भन्ने कुरा त सबैलाई प्रस्ट हुँदै आएको छ, हैन र ?

१०) निद्रामा घुरेको भिडियो राख्नुभएको रहेछ; निद्रामा घुर्ने समस्यासँग कत्तिको परिचित हुनुहुन्छ, केही रमाइला-नरमाइला घटना छन् कि ?
=> त्यो भिडियो साँच्चै रमाइलो थियो । घुर्ने समस्यासँग म त्यति परिचित छैन, अनि अहिलेसम्म त्यस्तो घटनाहरु सामना गर्नुपरेको पनि छैन ।

११) ब्रेन ड्रेनले नेपाललाई कत्तिको पिरोलेको छ जस्तो लाग्छ ?
=> ब्रेन ड्रेनले साँच्चै पिरोलेको हामीलाई । धेरैजसो युवाहरु विदेशिनुको कारण पनि यही नै हो । देशको अवस्था, अस्थिर राजनीति अनि भ्रष्ट नेतृत्वको कारण युवाहरुमा निराशा बढ्दै गएर, ब्रेन ड्रेन को समस्याले नेपाललाई गाँजेको छ ।

१२) अन्य ब्लग कत्तिको सयर गर्नुहुन्छ ? राम्रा-नराम्रा पक्ष केलाइदिनुहुन्छ कि ?

‍=> प्राय: फुर्सदमा म ब्लगहरु पढ्ने गर्छु । यही नै पढ्छु र यसकै ब्लग पढ्छु भन्ने त छैन, तर पनि फुर्सदमा विभिन्न व्यक्तिहरुको ब्लग पढिरहेको हुन्छु, केही नयाँ कुरा थाहा पाइरहेको हुन्छु ।
अनि ब्लगमा कमेन्ट गर्नका लागि मात्र कमेन्ट गर्ने प्रथा चाहिँ मलाई मन पर्दैन । प्रतिक्रिया दिँदा, लेखिएको कुरालाई एकपटक आफ्नो आँखाले विश्लेशण गर्न सबैलाई आग्रह गर्छु । यहाँ त प्राय: ब्लगरले जे लेख्यो, त्यसमै हो मा हो मिलाएर एक लाइनको सस्तो प्रतिक्रिया दिने गर्छन् । यो कुरा चाहिँ मलाई ब्लगमा कहिलेकाहीँ बिझ्ने नराम्रा पक्षहरु हुन् ।

१३) फुर्सदमा के गर्नुहुन्छ, व्यस्ततामा के गर्नुहुन्छ ?
=> भनिहालेँ नि, फुर्सदमा ब्लग पढ्ने गर्छु । वेबसाइट सर्फ गर्‍यो, ब्लग पढ्यो । तर धेरैजसो समय चाहिँ क्लासको एसाइन्मेन्ट गर्दैमा बित्छ ।

१४) तपाइले दौँतरीलाई के सुझाव दिनुहुन्छ ?
=> दौँतरीको काम प्रशंसनीय छ । विभिन्न व्यक्ति अनि उनीहरुका पृथक् धारणाहरु एकै ठाउँमा समावेश गरिएकोले पनि, एउटै विषयमा धेरै कोणबाट गरिएका विश्लेषणहरु पढ्न पाइन्छ, त्यसैले पनि मौका मिल्दा दौँतरी पढ्ने गर्छु ।

१५) तपाईंलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?
=> सबै कुरा नै भनिसकेकी छु जस्तो लाग्छ । त्यही पनि अन्तिममा भन्छु, दौँतरीले सबै नेपाली ब्लगरहरुलाई समेट्न चालेको कदम प्रशंसनीय छ । दौँतरीलाई बधाई एवम् शुभकामना !


17 Comments:

Aakar said...

नेपालियन जी, अन्जली लाई अन्जना भन्दिनु त भएन नि है !
अनि ब्लगिङ को ३ वर्षे यात्रा पढ्न पाउँदा खुशी लाग्यो, बधाइ एवम् शुभकामना !
:)

नेपालियन said...

आकारजीले पनि कती छिटो भेट्टाउनु भएको? यसो मिलाउंदा मिलाउंदै एक ठाउंमा चिप्लिएछ।
सच्चाएं है अनि नाम गलत हुन गएकोमा क्षमा प्रार्थी छु।

Basanta said...

अञ्जलीजीको विचार पढ्न पाऊँदा साह्रै खुशी लाग्यो। अञ्जलीजी र दौंतरीलाई हार्दिक धन्यबाद!

Jotare Dhaiba said...

अन्जली जीको ब्लगिङ यात्राको तीन वर्षे पेटारो र उहाँका विचारहरू जान्ने अवसर पाइयो, नेपालीयन जी र ब्लगर अन्जली दुवैलाई हार्दिक आभार !

Anonymous said...

Thanks to Dautari for presenting Anjali ji with her perspectives on various issues. I wish that she will continue her journey towards perfection.

HAWA said...

साच्चै भन्ने हो भने अन्जली जी को ब्लग दुई पल्ट बाहेक मैले हेरेको छैन.. शायद एउटा कथा मा मैले पनि कमेन्ट गरेको थिए तेती हो.. अङ्रेजी मा लेख्नु हुन्छ भन्ने चाँही था छ.. पत्रीका पुस्तक र ब्लग को बाढिमा सबै तिर हेर्न भ्याउन गाह्रो पनि छ

महिला ब्लगर हरुले ब्यक्तिगत समस्या बारे राम्रो आवाज उठाएका छन.. ब्यक्ती लाई पीडा हुनु स्वभाविक हो... सामाजिक बिषयहरु र तिनको समाधान तर्फ छलफल गरेर शायद ब्यक्तिगत पीडा लाई समाज परिवर्तन को उर्जा मा बदल्न सकिन्थ्यो होला

Basant Giri said...

अन्जली जीको ब्लगिङ यात्राको बारेमा पढ्न पाईयो। खुशी लाग्यो। अझ perfection को नजिक पुग्नुस सुभ्-कामना। अन्जलीले भने जस्तै प्रतिक्रियाको प्रतिक्रिया लेख्ने चलन ब्यापक छ। क्रिटिकल प्रतिक्रिया कमै आउने गरेको मेरो पनि अनुभव छ।

Eternal said...

Malai dherai khusi lagyo...Anjali ko Interview padna pauda....Dherai kura haru taha bhayo...

I didn't knew that Its been three years that youhave been blogging you are senior to me...then...

I am so happy for you and your blog both...

Congratulations and Wish you a great Blogging Career ahead !!

And to Dautari..this must be a great effort to bring bloggers in one platform...I appreciate this a lot...

Cheers !!

लेकाली said...

लौ अन्जली जी दौतरीमा सहभागी भै आफ्नो बिचार नेपालीमा राख्नु भएकोमा धन्यबाद। आफू त त्यो काकाजीको भाषा नबुझ्ने परियो त्यसैले तपाईंको ब्लग हेर्नु भन्दा पहिले नै अङ्रेजी बाट नेपालीमा उल्था गर्ने चीज खोज्नु पर्ने हुन्छ। धरोधर्म हत्ते हुने रहेछ त्यो फिरङ्गीको भाषा बुझ्न अनी कसरी तपाईंको ब्लग हेर्नु? नेपालीमा लेखेको ब्लग खोजी खोजी पढिन्छ। फुर्सद हुनु पर्छ ब्लग पढ्नु जस्तो मजा अरु के मा हुदो हो भन्छु म त अनी जानीनजानी कमेन्ट गर्न पायो भने झन के के नै जिते जस्तो पो हुन्छ हो।

पीजी said...

बल्ल दोस्रो पटक पुगेछु तपाइको ब्लगमा, उर्सत मिलाएर हेर्नेछु।

अनि यो पटक बिना सुचना अकस्मात टासिदिनुभएछ हाम्रा दौंतरीका गुरुजीले, सरप्राइज जस्तो छ नि !

Luna said...

' मानबता ' नै सभ्यताको परिचय हो - अन्जली ।
मन छोयो तपाईंको गहन अभिब्यक्तिले अन्जली जि ।
wish you all the best from heart .

Unknown said...

अञ्जलीजीको विचार पढ्न पाऊँदा साह्रै खुशी लाग्यो। अञ्जलीजी र दौंतरीलाई हार्दिक धन्यबाद!

JAY said...

I have been surfing through this blog for more than a year.This blog is really nice and the materials presented are simple and everyone would find it easy to read and understand.Social elements, nature and psychology should be the matter of interest in the up coming editions.I am really pleased and want to thank anjali for this blog. And hope we can get more and more materials in up coming days. I want to wish all the best from my heart.

sagarmathadarpan said...

अन्जली जीको तीन वर्षे ब्लगिङ यात्राको बारेमा र उहाँका विचारहरू जान्ने अवसर पाइयो, नेपालीयन जी र ब्लगर अन्जली दुवैलाई हार्दिक आभार !

Anonymous said...

wow ! Anjali here. I go to her blog regularly... if it was not hard to understand .. i would name it perfect.. i hope she is doing something on it.

nice picture too. thanks

prelude said...

Thankyou everyone for motivating me. I thank Nepalean ji and Dautari and everyone from the bottom of my heart for providing this graceful opportunity to me...I would certainly hope for your support in future too!

Anonymous said...

malaii pani sarai khusi lagyou

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !