January 3, 2009

सडक सुनसान् छ ।

पोस्तक श्रेष्ठ
मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका छानाहरुलाई, रुखहरुलाई। सडक पनि सुनसान् छ-उनको जीन्दगी जस्तै। पर पर सम्म कोही देखिदैन। हिंउ अविरल् परिरहन्छ। उनी अतितको गर्भमा बिलिन हुदै जान्छिन्। हराउंदै जान्छिन्।उसले उनीलाई स्कूलदेखि नै मनपराएको रहेछ। कलेज पुगे पछि भने औपचारीक प्रस्ताव आयो। तर त्यो प्रेम प्रस्तावलाई उनले त्यति गम्भिररुपमा लिईनन्। उनी आफैंलाई थाहा छैन, उनी कुन पदार्थले बनेकी थिईन् तर उनीलाई यो प्रेम भन्ने चिज बिल्कुलै महसुस् भैरहेको थिएन। प्रेममा केही दर्द हुन्छ, भावुकता हुन्छ, केही तडप, केही रोमान्च हुन्छ। उनलाई यो सब केही पनि त भैराखेको थिएन ।मानौं उनमा कुनै संवेदना नै थिएन। उनको ध्यान कहि कतै थियो त पढाइमा, व्यक्तिगत बिकासमा। तर उसंग घुमफिर्, भेटघाट, पार्टी भने मज्जैसंग हुन्थ्यो। धुलिखेल्, नगरकोट, थानकोट, गोदावरी, ककनी कुनै घुम्ने ठाउँ बाकिराखेनन् । उसले बेला बेलामा मौका छोपेर प्रेम प्रसंग ल्याउथ्यो। "ठिकै छ नि, म यहिं छदै छु नि, अहिले नै बिहे गर्ने हो र" उनले टारिदिन्थिन्। उ त्यसपछि चुप लाग्थ्यो।

आईएस्सी पछि उ पढ्न भारत गयो केही बर्षको लागि । तर उसले हरेक महिना जस्तो पत्र लेखिरहन्थ्यो। इन्टर्नेट, इमेल् आइसकेको थिएन। उसको दुई-तीन पत्र पछि उनी एउटा पत्र लेख्थिन्। उसको पत्रमा मायाको कुरा हुन्थ्यो, हरेक सुख-दु:ख् बांड्ने कुरा हुन्थ्यो। जीवन भरको साथको कुरा हुन्थ्यो। तर उनी पढाइको कुरा लेख्थिन्, भविष्य निर्माणको कुरा लेख्थिन् । उसले सिविल इन्जिनीयरिंगको डिग्री लिएर नेपाल फर्कियो र एउटा जलबिद्युत परियोजनामा काम पनि गर्न थाल्यो। यता उनीले पनि स्नातक सकिन् र एउटा गैर सरकारी संस्थामा जागीर खान थालिन्। अब उसले बिहेको लागि जोड गर्न लागेको थियो। तर उनी अझै बिहेको लागि तयार थिइनन्। उनको लक्ष अझ पर पर सर्दै थियो। अब उनी जीम्याट परीक्षाको तयारी गर्न लागिरहेकी थिइन। उनी एम् बि ए पढ्न अमेरीका जान चाहन्थिन्। उनी डीभी फर्म पनि भरिरहन्थिन् र उसलाई पनि डीभी फर्म भर्न उक्साइरहन्थिन्। तर उ विदेश जान त्यति लालायित देखिन्थेन। उ त्यति धेरै महत्वाकांक्षी थिएन। उसको पारिवारीक आर्थिक स्थिति ठिकै थियो। उसले हासिल गरेको शिक्षा र उसको नोकरीमा उ संतुष्ट देखिन्थ्यो। उसले उनलाई संझाउने हर कोशीस् गर्‍यो।

हेर- हामीले एक् तहको शिक्षा हासिल गरिसक्यौं। हामी दुबैको जागीर र आम्दानी पनि राम्रो छ। नेपालमा हाम्रो जीवन आरामदायी नै हुनेछ। हामीलाई किन विदेश जान पर्‍यो र। आफ्नै देशमा बसौं। उमेर ढल्किन लागेका बाबु-आमालाई छोडेर जानु राम्रो होइन। उनको जवाफ हुन्थ्यो -हेर, तिमी जे सुकै भन, म कुवाको भ्यागुता बन्न चाहन्न। मेरो गन्तब्य अझै टाढा छ। मेरो लक्ष अझै प्राप्त भैसकेको छैन। म औसत नेपाली भन्दा माथि पुग्न चाहन्छु। तिमी पनि जी आर इ तयारी गर। हामी दुबैजना संगै अमेरीका जानु पर्छ।

अन्तत: उ अमेरीका जान राजी भएको थियो। उसलाई मन त थिएन, तर उनको चाहनाको अगाडी उसले आत्मसमर्पण गरेको थियो । त्यसपछि उसले पनि जी आर ई को तयारी गर्न थालेको थियो। दुबैले अमेरीकाका विश्वविध्यालयहरुमा पत्राचार पनि थालेका थिए। दुबै जना खुशी नै थिए। सबै कुरा सहजरुपमा अघि बढिरहेको थियो। अकस्मात, एउटा अनपेक्षित कुरा भयो। । उनलाई एउटा नातेदार मार्फत् अमेरीका बाट बिहेको प्रस्ताव आयो। युवक अमेरीकी पासपोर्टवाला रहेछ। त्यसपछि उनी अब उ बाट तर्केर हिंड्न थालेकि थिईन्। अमेरीकी राहदानीवाला संग बिहे गरेर जान पाउनु भन्दा अरु सजिलो उपाय अरु के हुन सक्छ र। उनले प्रस्ताव सहर्ष स्वीकार गरिन्। युवकको बारेमा धेरै सोधिखोजी गर्न जरुरी पनि ठानिनन्।

यता उसलाई भनिन्, माफ गर, घर परिवारले मेरो बिहे अन्तै छिनिदिएछन्। तिम्रो मेरो साथ यहाँसम्म मात्र हुने भयो। तिमीसंग बिताएका क्षणहरु मेरो लागि सम्झना रहने भयो। यो सुनेर उ स्तब्ध भएको थियो।

उनको अमेरिकी राहदानीवाला युवकसंग टिकाटाला भयो। त्यसपछि फियान्से भिजामा अमेरीका प्रस्थान् अनि अमेरीकामा बिवाह। तर उनीलाई यी सबै बिकासक्रम् एउटा यान्त्रिक घटना लागिरहेको थियो। पति साधारण युवक् थिए। अमेरीकी पासपोर्ट बाहेक आहा भन्नु पर्ने खास केहि थिएन। शिक्षा अन्डर् ग्र्याड मात्र। सेप्टेम्बर ११, २००१ पछिको आर्थिक मन्दीमा परेर जागीरबाट बर्खास्तगीमा परेपछि एउटा भारतीयको रेस्तुरेन्टमा कार्यरत। उनका संगतहरु पनि आम मानिसहरुसंग। जो संग पनि बोल्ने, हल्का-फुल्का कुरा गर्ने। यथार्थ कल्पना भन्दा नितान्त फरक। उनी खिस्रिक्क परिन्। तर यी सबै कुराबाट ध्यान् हटाएर पढाइ जारी राख्ने निधो गर्छिन्। श्रीमानबाट कुनै आपत्ती हुंदैन।

उनी पुर्णकालिन बिध्यार्थी भएको कारण श्रीमानले दुई-दुई ठाउंमा काम गर्न थाल्छन्। कोठाको भाडा, रासन पानी, स्वास्थ्य बीमा, कारको इन्स्टल्मेन्ट, फोनको बील, बत्तीको बील र उनको कलेजको शुल्क समेतको भार सबै श्रीमानको थाप्लोमा पर्छ। उनको एम बी ए सकिन्छ। एउटा राम्रो कम्पनीमा जागीर पनि मिल्छ। छिट्टै ब्यबस्थापकीय तहमा पदोन्नती पनि हुन्छ। तर श्रीमानसंग खटपट पनि बढ्दै जान्छ। शिक्षा कम् भएको, तल्लो स्तरको जागीर र संगत पनि तल्लो स्तरकै मानिसहरु । भित्र भित्र दबिएका यी बिषयहरु सतहमा निस्कन्छन्। उनको संगत भने उच्च तहमा, धेरै पढेका, राम्रो जागीर भएका, एलिट वर्गमा हुन्छ। भिन्नता बढ्दै जान्छ। दूरी बढ्दै जान्छ र अन्तत: पार पाचुके हुन्छ। आफुले डीग्री हासिल गरुन्जेल् श्रीमानले भोग्न परेको दुंखको यहाँ सम्झना हुँदैन।

त्यसपछि, उनको हिमचिम एउटा गोरा सहकर्मीसंग हुन्छ। लन्च डेट, डिनर् डेट हुदै सम्बन्ध बेडरूम सम्मै पुग्छ। उनीहरु अब एउटै अपार्ट्मेन्टमा बस्छन्। पश्चिमा संस्क्रिती-ब्वाइ फ्रेन्ड-गर्लफ्रेन्ड । बेला बेलामा उनी बिवाहाको कुरा ल्याउछिन्। हनी, बिवाह पछि त प्रेमको अन्त्य भैहाल्छ नि। हाम्रो प्रेमको अन्त्य होस भन्ने म चाहन्न। गोरेले कुरा टारीदिन्छ। समय बित्दै जान्छ। उनका आँखा वरीपरि अब उमेरका रेखाहरु देखा पर्न थालेका छन्। हाँस्दा गालामा चाउरी पनि पर्न थालेछ। फुलेका एक्-दुई केश राशी पनि देखिन्छन्। गोरे केटा साथी पनि अब पहिले जस्तो रमाईलो छैन। घर पनि ढिलो आउने, केही भन्दा झनक्क रिसाउने, कहिले आउदै नआउने गर्न थाल्छ। उसको इमान्दारीतामा शंका लाग्छ। केही दिनको चियो- चर्चा पछि गरे पछि पत्ता लाग्छ-उ अर्कै तरुनीसंग लहसीसकेछ। उनी अकासबाट खसेजस्तो हुन्छिन्। पत्ताल् धसिए जस्तो हुन्छिन्। तर उनी के गर्न सक्थिन् र? अब गोरे साथी संग बसिरहनुको कुनै अर्थ छैन। उनी अब एक्लै बस्छिन्। उनी नितान्त एक्लै हुन्छिन्। साथ छ त उनको एकाँकीपन। साथ छ त उनको अतित । महत्वाकांक्षाको उडान अब सकिएको छ। उनी अब अवतरण भैसकेकीछन्, यथार्थको धरातलमा।


पर चर्चमा घन्टा बज्छ। उनी अतितको घुम्टोबाट बाहिर निस्किन्छिन्। यतिबेलासम्म हिँउ थामिईसकेको हुन्छ। सडक अझै सुनसान छ-उनको जीन्दगीजस्तै।



6 Comments:

ठरकी दादा said...

साधारण नेपाली मानसिकताको गतिलो चिरफार। जिन्दगीसंग धेरै नजीक छ तपाईको कथा। एकै सासमा पढि सक्काएँ । उत्कृष्ट !!

Pravin Thapa said...

तपाईंको यो कथामा नेपाली जीवनको यथार्थ चरित्र चित्रण छ साथै कथा सुन्दर पनि छ। आशा छ फेरी फेरी तपाईंका सिर्जनाहरु पढ्न पाइने छ।

Luna said...

यस्तो बिधी त हुँदैन होला ! पढे लेखेका हरु यती बिघ्न स्बार्थी हुन्छ्न र भन्या ?
मलाई त यो पटक्कै यथार्त लागेन तर लेख्न शैली भने मन पर्‍यो ।

BasantG said...

very nice

Postak_Shrestha said...

लुनाजी, मान्छेको चरित्रको कुरा हो। एउटा महत्वाकांक्षाको पराकाष्ठ के हुन सक्छ भन्ने एउटा कल्पना हो। कुनै यथार्थ चाँही होइन। कसैको नीजी जीवनलाई यहाँ छताछुल्ल पार्न पनि भएन नि। चलनचल्तीको disclaimer पनि भनी हालूँ है। कथं कदाचित कसैको जीवनसंग मेल खान गएमा एउटा संयोग मात्र हुनेछ।

Panda said...

पोस्तकजी तपाइले डिस्क्लेमरको कुरा गरिसके पछि यो काल्पनिक होला भनेर त मान्नै पर्यो । नत्र त प्रत्येक प्याराग्राफले अलग अलग सत्यता बोकेको छ । मेरै आंखाले देखेका, कानले सुनेका धेरै छन । उड्न पाउने आशामा पास्पोर्टको मात्र रंग छुट्टयाउन सक्ने र अन्य सबै कुरा विर्सनेले जब छालाको, सर्टिफिकेटको, लुगाको वा अझ जागिरको पनि रंग छुट्याउन सक्ने भए पछि त त्यो पुरानो पासपोर्टको मात्र रंग फिका लाग्नु स्वभाविकै हो नि!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !