January 3, 2009

एक छिन हासौंन - ११

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
अँ त, मैले मेरो अन्तिम अनुभूतिमा यही शिर्षकमा लेख या अनुभव लेख्नुपर्दा भोगिएका भोगाइहरु बाँड्छु भनेर अघिल्लो अंकमा भनिसकेकिछु त्यसैले मैले बाचा त पूरा गर्नै पर्छ। पाठकबृन्द, साहित्य मेरो निजी जीवनको रहर र उदेश्य भएको हुनाले यस्लाई मैले जत्ती अमूल्य ठान्छु अरुको निम्ती त्यती अमुल्य नहुन पनि सक्छ। एक त बिदेशको बसाइ, यहाको सधैं हत्तारको काम, समयको महँगी त्यस्तै छ आफ्नो मनको कुरा आफ्नो श्रीमान, श्रीमतिलाई पोख्न पनि साइत जुराउनु पर्छ। रात, बिहान, साँझ योटै मानेर काम गर्नु पर्छ। आफ्नो ब्यवसायको होस् या अर्काको काम होस्, ठीक समय र पलामा चल्नु पर्छ। आफ्नो भनेर धर छैन।

यस्तै मेरो पनि स्थिती छ। यौटा सानो रेस्टुराँ छ। बिहानदेखी गोरु जोत्तिए झै जोत्तिनु पर्छ। आफ्नो भनेर धर छैन, ''डिउटी इज डिउटी'' किन कि यो अमेरिका हो, यहाँ सबै समान छन। ''काम गर खाउ'' को सिद्दान्त लागु हुन्छ यहाँ। म आफ्नो देशमा हुँदाको सम्झना गर्छु कहिलेकही। म काठमान्डुबाट झापा र झापाबाट काठमाडौं यात्रा गर्दा बाटामा पर्ने मुङ्लिनको होटेल रेस्टुराँहरुमा खाना खान पसेको सम्झिन्छु। होटेलका साहु, साहुनीहरु गल्ला नछाडी गमक्क परेर खाली पैसा लिन र दिन मात्र बस्छन। होटेलमा आएका ग्राहकहरुले जे जस्तो खाउन, तर पैसा मात्र समाउन पाए पुग्यो। ती सिङाने, मैलो, धैलो केटाहरुले ग्राहकहरुलाई जस्तोसुकै सेवा गरुन साहु,साहुनिलाई मतलब छैन। अनी हाम्रो देशको मान्यता भनौ वा सोच, मालीक-मालिकनी भए पछी जुठो थाल उठाउनै नहुने। उनिहरुले सेवा गर्नै नहुने खालका मनस्थिती छ । तर यहाँ त्यस्को ठीक उल्टो छ। को मालिक, को म्यानेजर, को वेटर?, बस ग्राहकको सेवामा सबै लाग्नु पर्छ। काम को बाँड,फाँड छैन। म मालिक्नी हुँ भनेर धर छैन। हो यस्तै परिस्थितीको दासी हुँदै म आफ्नो कलमलाई साथ मागी रहेकी छु।

घरमा ''ल्याप टप'' छ, समय छैन। रातको करिब १०/११ बजे घर पूग्छौ, त्यही पनि दिनभरिको थकाईले हैरान भएर। घर पुग्ना साथ फेरी एक्छिन कम्प्युटर अन गर्छु। श्रीमान रन्किनु हुन्छ ''न त रेस्टुराँमा आराम गर्छौ न त घरमा, यो तरिकाले जिउलाई कसरी आराम हुन्छ?” । हुन पनि हो, म सधैं हत्तारमा नै हुन्छु। रेस्टुराँ नजिक लाइब्रेरी छ एक्छिन मौका मिल्यो कि त भागेर लाइब्रेरी पुगिहाल्छु। मेरो ध्यान समय चोर्ने देखी अरुकेहीमा छैन। एक घण्टाको ब्रेक हुन्छ सब आराम गर्छन म भने लाइब्रेरितिर नै कुलेलम ठोक्छु। अब त अत्ती भएर मेरा म्यानेजरले समेत तपाईं आराम गर्नु होस् किन यस्तो दौड्धूप गर्नु हुन्छ भनेर गाली गर्न थालिसके। अब त उसैलाई पनि छल्न थालेकिछु मैले। हो, मैले अघिल्लो अंकमा भनेकिथिए मान्छेले नचाहेर पनि ढांट्नु-छल्नु पर्दोरहेछ भनेर। यो मेरो बाध्यता हो। किन कि लेखन क्षेत्रको दुईदशक बित्न लागेछ। म कसरी आफ्नो कलमलाई चिर निन्द्रामा सुताउन सक्छु र ? जत्ती समय बित्दै जान्छन। झन लेखकिय भावनाले सताएको महसुश हुन्छ। भावनारूपी सन्तानहरु जन्मन उद्वेलित हुन्छन। यसैले पनि साहित्यरूपी सन्तान जन्माउने पीडाले म छट्पटिन्छु अनी कसरी त्यो पीडा शान्त हुन्छ र? । यसरी म वाध्य बन्छु आफ्ना भावनाहरु ओकल्न। समय मेरो लागी धेरै अमुल्य छ, तर पनि म यस्लाई आफ्नो कैदमा राखेर यात्रा गरी रहेकिछु। मेरो थकाई, गलाई, ब्यस्तपनलाई भुलिरहेकिछु। धेरै लामो यात्रा भएकोले म कसैको पनि गाली, उपहास, निरुत्साह गर्नेखालका कुराहरुबाट पछी भागदिन। मेरो जीवनको लक्ष बस ''कलम'' हो। यसैले मलाई इज्जत, सम्मान र आज यहाँसम्म ल्याइपुर्‍याएको  छ। अहो ---ब्रेकको समय सकिन लागेछ!। ''भरै फेरी एकान्तमा रुनु त छदैछ '' भने झै काम गर्नु त छदैछ। धन्यवाद दौतरी, तिमी मेरो भावना बिसाउने फाटिलो आगनको छात्ति भैदियौ। जहाँ मैले पारीलो घामको किरण चोरेर तिम्रो छात्तिमा बिस्कुन सुकाउने अवसर पाए। मेरा भावनाहरु अरु कसैलाई सन्तुष्टी दिन भनेर पोखिएको हैन, म आँफैलाई सान्त्वना दिन मात्र दौतरिसँग सुटुक्क केही समय र स्थान मागे। म अनुग्रहित छु दौतरी तिमीसँग। तिमी सधैं सबैसँग मन मिल्ने दौतरी बन्नु। अल्पायुमा नै हरेस नखानु। तिम्रो फराकिलो छात्तिमा सबैले मनका तरङहरु पोख्न पाउन। यहि मेरो मेरो कामना। शुभ दिन।



2 Comments:

Luna said...

Keep it up .

anuj said...

देश अनुसारको भेष नै हो कि मेडम कामको दर्जा गन्ने ?नेपालमा बाहिरी पहिरन बद्लिएको छ तर भित्री सभ्यता उस्तै छ। यो लेखले आफ्नो
अनुभव पाठक समक्ष राखेर केही मनाविय श्रमको सम्मान गर्न सिक्ने कुरालाई पनि कतै दर्शायको पाएँ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !