December 27, 2008

बिजुलीको बिरोध

- नेपालियन

कुरा लागु गरे पनि समर्थन र बिरोध नगरे नेपाल राष्ट्र नै रहदैन। यताबाट सुइय सिठ्ठी मारे, उता बाट गुर्र ढुंगा आउनु नै पर्दछ। अनि मात्र फनफनी घुम्ने घट्ट जस्तै नेपाल र नेपालीको नियती सुनिश्चित हुन्छ । यो नौलो कुरा होइन तपाइ हामीले देख्दा र सुन्दा आंखा र कान थाकीसके। अहिले पनि डिजेलबाट बिजुली निकाल्ने कुरोमा यस्तै घट्ट जस्तो कुरो घुम्दैछ।

पुलचोक पढ्दा नेपालमा हाइड्रो पावरको खुबै स्कोप छ जस्तो लाग्द्थ्यो। अनि ऐच्छिक बिषय पनि Fluid Machine लिएको थिए। पढ्दा ताका जता पानी बगे पनि कति बिजुली आउंछ दिमाग घुमाइ हाल्थें। जब पढाइ सकियो नेपालमा मध्य मर्स्याङ्दी भर्खर भित्रीयो। जागिर पाइएला भनेर खुब ट्राइ मारियो, यस्को अफिस त गुमनाम जस्तै नया बानेश्बरमा रहेछ। मन्त्री र आफन्तकाले युरोमा तलब खान शुरु गरिसकेका रहेछन। सानो तिनो लिंक त भेट्टाएको थिए तर चाकडीको "च" पनि रिझाउन नसक्ने म अनि लमुजुंगको कुनामा जानु पर्ने, बिजुली घरमा काम गर्ने जोस त्यसै मरेर गयो। पछि पढ्ने धुनमा अमेरिका आइयो।

नेपालमा काम गर्दा एक पटक बिराटनगरको डिजेल पाबर प्लान्टमा पुगेको थिएं। थर्मल पावर प्लान्टको बारेमा पढे पनि नेपालमा जता पनि खोलै खोला, खासै चासो राखिएन। तर बिराटनगरको डिजेल पावर प्लान्ट देखेर छक्क नै परेको थिए। छक्क झन परें जब अमेरिकामा आउदा एउटा थर्मल पावर प्लान्ट मेरो पढ्ने बिध्धालय निजिकै थियो। अनि लाग्यो ‘ए डिजेल पावर प्लान्ट नराम्रो रहेनछ !’। अमेरिकामा यस्ता पावर प्लान्ट थुप्रै छन। तर यस्को खासै चासो भएन। तर जब माओबादी सरकार डिजेल पाबर प्लान्टको वकालत गरे र एमाले त्यसको बिरोधमा उत्रियो अनि हाम्रा जे मा पनि बिद्वान पत्रकार महोदय त्यसको मु्लयाकंनमा उत्रिए । यो शनिबार डिजेल पावर प्लान्टको अध्यन गरुं जस्तो लाग्यो। जहिले पनि प्राबाधिक बिषयमा पत्रकार अन्टसन्ट बोल्न थाल्छन मलाइ सोध खोजमा धकेल्छ। यस्तोबेला लाग्छ गएर पत्रकार ब्लगमा उत्रिनु सार्थक छ। आखिर प्रबाधिक क्षेत्रमा पत्रकारले पेट दुख्ने गरी समाचार लेखेको कुनै नौलो कुरा होइन।

कुरा सिधा रुपमा भन्दा नेपालको बिजुली उत्पादन तथा खपतको हिसाब निकै गोलमाल छ। प्राय एउटा देशमा १०० किलोवाट बिजुलि खपत भए उत्पादन १२५ किलोबाट हुनुपर्दछ। तर नेपालमा १०० किलोवाट बिजुलि खपत भए ७५ किलोवाट पनि उत्पादन हुदैन। अनि लोड सेडिगं नभएर हुन्छ त? यो देशको योजना हाक्ने हाकीमको अन्धोपन नै यही हो। अझ उत्पादन भएको बिजुलीमा चोरी तथा प्रयोग गरेको बिजुलीको रकम नतिर्नुले बिद्युत प्रधिकरण लंगडो नै भएको छ। ल भन्नुहोस त अन्धो र लंगडो भएको ले कती थेग्न सक्छ? । यो तथ्य कसै सामु लुकेको छैन। यो क्षेत्रमा पनि अन्य क्षेत्र जस्तै कानुनको उपहास भएको छ।

लोडसेडिगं हटाउन के गर्ने त?, कुरो रह्यो बिजुली भारतबाट ल्याउने की डिजेल पाबर प्लान्ट बनाएर जनतालाइ तुरुन्तै राहात दिने। भारतबाट बिजुलि निर्यात गर्नु राम्रै कुरा हो। तर भारतले बिजुली कहिले सम्म कती दरमा देला? यो बिजुली कति भरपर्दो होला ? भारत बिश्बकै अर्थतन्त्रमा अगाडी बढ्ने दोस्रो ठुलो मुलुक हो। त्यसैले बिजुलीको लागि भारतमै भर पर्नु त्यती जायज रहदैन। फेरी डिजेल पावर प्लान्ट बनाउन मध्यमर्सांग्दी जस्तो १० बर्ष लाग्दैन। यो १ बर्षमा पनि तयार पार्न सकिन्छ। यसको लागानी खर्च हाइड्रो पाबर प्लान्ट भन्दा १० गुना या अझै कम हुन्छ। फेरी डिजेल प्लान्ट लोड हुंदा चलाउने र अरु बेला बन्द गर्न पनि सकिन्छ तथा यसै समयमा समान्तर रुपमा हाइड्रो पाबर हाउस बनाउन पनि सकिन्छ । यसले नेपालीलाइ रोजगार पनि दिन्छ र भविष्यमा लोडसेडींग भए अरुको भरपर्नु पर्दैन। तर डिजेल पावर हाउस संचालनमा हाइड्रो भन्दा थोरै रकम बढि लाग्रने रहेछ। १० रु मा तयार हुने बिजुली १७ रुपया लाग्ने रहेछ । तर लोडसेडिंगको संकट मोचन गर्ने यो उत्तम उपाए भएन र?

अब केही पावर हाउस थप्नु पर्ने अबस्था छ तर यो कुरा जरुरी छ कि हाइड्रो पावर हाउस बनाउँदा डलरमा काम गर्ने सिस्टम बन्द गर्नुपर्दछ। अनाबश्यक खर्च कम गरे एउटा मध्य मर्स्याङ्दी बन्ने पैसाले दुइबटा मध्य मर्स्याङ्दी बनाउन सकिन्छ। अझ नेपाली सिप लागु गरे एउटा मध्य मर्स्याङ्दी बन्नेले ४ वटा मध्य मर्स्याङ्दी बनाउन सकिन्छ। हाम्रो बिजुली उत्पादन गर्ने संयन्त्र बिदेशीमोहको चुंगुलमा फसेको छ। यस्लाइ हटाउन जरूरी छ। नेपालका हरेक खहरेबाट आफ्नै सिप लगाएर बिजूली निकाले भिबष्यमा न त लोडसेडिंगको चिन्ता हुन्छ न त डिजेल आयत गरेर बिजुली उत्पादन गर्नै बहस बन्दछ। भारतमा बिजूलि निर्यात गरेर कमाउने ठाउ त अझ बांकी नै छ। यि त सबै योजना भए तर यो सुन्दर योजनालाइ सफलता पुर्बक समापन गर्नु उत्तीनै कठिन कार्य हो।


9 Comments:

आकार said...

कुरा त एकदम सही गर्नु'भो !
तर यी कुराहरु सुन्नेले नसुनिदिए पछि के नै गर्न सकिन्छ र !

Dilip Acharya said...

आकार जी ले भने जस्तै सुन्नेले नसुनिदिनु भन्दा पनि "नबुझ्ने" भएकोले नेपालले यो रोग बोक्नुपरेको हो जस्तो लाग्छ मलाई ।

फेरी मुख्य कुरा त यो पनि राजनीति गर्ने यौटा गजबको भाँडो भा'को छ। आफू बिपक्षमा हुँदा लोडसेडीङ भयो भने बिरोध गर्ने र सात कक्षामा पढेको "नेपाल जल सम्पदामा धनि देश हो" भन्ने वाक्य धरातलिए जानकारी बिना दोहर्‍याउने र यहि बहानामा सत्ता हत्याउने घटिया सोचले पनि यस्तो भएको हो ।

अल्पकालीन समस्या समाधान गर्न थर्मलप्लाण्ट उपयुक्त छ भने राजनैतीक अभीष्ट पुरा गर्न मात्रै त्यसको बिरोध गर्न छाडनु पर्छ । यहाँ त समस्या समाधान गरेर सत्ता पक्षले त्यसको 'जश' लेला भन्नेमा मात्रै प्रतिपक्ष र अन्य दलको चीन्ता हुन्छ। के गर्ने?

यो पोष्ट र जानकारीको लागी नेपालीयन जी र दौंतरीलाई पनि धन्यबाद् ।

दीपक जडित said...

झापाको उत्तरी भेगतिर मेचिपारीबाट हात्ति आएर खुब सताउने गर्छ । त्यस ठाउँमा म एकताका पाहुना लागेको थिएँ । साँझ म पाहुना भएको घरमा खाना खाँदै थियौं हामी , बाहिर केटाकेटीहरुको हात्ति आयो हात्ति आयो भन्ने हल्ला सुनियो । त्यो घरका लाठेहरु सबै दिउँसै ठिक पारेको भाला , लामो लामो घोचो जस्तो लठ्ठी र पुल्ठो बोकेर भात छोडेर निस्किए । रमिता न हो म पनि जुठै हात निस्किएँ बाहिर । बिचमा कच्चि बाटो र दुबैतिर बाक्लै घर भएको त्यो गाउँमा अरु घरमा मान्छेहरु पनि त्यसरी नै निस्किएका थिए , हल्ला र खल्ला भयो खै कता हो हात्ती भनेर म पनि हात्ति हेर्न जुठै हात तम्सेर बाटोमै पुगेको थिएँ तर त्याँहा त ढाडमाथी हौदा भएको काँधमा माउते भएको सजाईएको हात्ति पो बेहुला बेहुली लिएर लमक् लमक् आउँदैथियो । तपाईंको यो पोष्टमा पनि उल्लेख भएको यो आपत् कालिन बिजुलीको विरोध र धेरै विरोधहरु चैं त्यही हात्तिकै हौवा जस्तै हुने गरेको छ हाम्रो देशमा । गरेरमलाई चैं यसबारेमा पनि यौटा कथा दच्काईदिउँ झैं लाग्दैछ यहि हात्तिको कहानी जोडजाड गरेर ।

तपाईंको यो अध्ययन उपयोगि छ कुरा यत्ति मात्रै रह्यो कि तपाईंले सुझाउनु भएझैं काम कार्वाही अघि बढाउलान् त ?

उजेली said...

bujheka manche le yesari bhaneko po padhna maja aaucha !! nepal ka journalist j payo tyai lekhera baschan !!

brilliantman71 said...

अहिलेको तात्तातो बिषय प्रस्तुत गर्नु भएकोमा धन्यबाद्। राम्रो बिषयको जस अर्काले लगिहाल्ला कि भनेर खुट्टा तान्ने प्रब्रिती त छदैछ। तर हाम्रा नेताहरुले कुनै पनि कुरा जनता समक्ष प्रभावकारी रुपमा लैजान नसक्नाले पनि पनि जुनसुकै कुरापनि बिवादास्पद बन्न पुग्छ। यो डिजेल् प्लान्टको कुरा पनि बिशेषज्ञहरुद्वारा पर्याप्त अध्ययन् अनुसन्धान् गराएर त्यसपछिको निचोड बाहिर ल्याए पो जनताले पनि बिश्वास् गर्छन्। प्रधानमन्त्री, मन्त्रीहरु यस्ता प्राविधिक कुराहरु आफै बिशेषज्ञ बनेर राजनैतिक् कार्यक्रम्, उद्घाटन्, बिमोचन् जस्ता कार्यक्रमहरुमा फलाक्दै हिंड्छन् ।आलाकांचा पत्रकारहरुले के बुझ्छन् र के राम्रो रिपोर्टिङ् गरुन्?
मेलम्चीको पानीले बीरगन्ज, पर्साको सडक् धुने कुरा गर्ने क्रिष्ण प्रसाद भट्टराई, महाकाली सन्धी ताका महाकालीको बिजुली, भू-उपग्रहबाट (Satelite)बाट चीन् निर्यात गर्न खोज्ने माधव कुमार नेपाल्, सोही महाकालीको बिजुली बेचेर करोडौं, अरबौं पैसा कमाउन सकिने कुरा गर्ने के पी ओली जस्ताका कुराहरु सुनिएकै हो।
यसो सर्सर्ती हेर्दा बुझ्दा यो डिजेल प्लान्ट एउटा अस्थायी समाधान हो, दिर्घकालीन होइन। जलबिध्यूत भन्दा ७०% बढी महंगो , डिजेलको आपूर्तीको लागि भारतमै भर पर्नुपर्ने र त्यै पनि हाम्रा मधेशी दाजुभाइहरुले तराईको बाटो छोडिदिएमा मात्र त्यो तेल भित्रिन सक्ने अवस्थामा यो डिजेलप्लान्ट कत्तिको सफल् होला, शंका गर्ने ठाउँछ। तर राजनैतीक पार्टीहरुको सरोकार यी ब्यबहारीक्-प्राविधीक, कुरामा भन्दा कमीशनको राशीसंग हुन्छ। डिजेल् प्लान्टका ब्यापारीले नोटले भरिएको ब्रीफकेश प्रत्येक् पार्टीका टाउके नेताहरुको घर घरमा नपुगुन्जेल् यो बिवाद टुंगिदैन।

Luna said...

नेपालीयन जि लाई धन्यवाद समय सान्दर्भिक मुलुक को समस्या मा बहस गर्ने मौका दिनु भएको मा ।
(१)डिजेल बातावरण को घोर दुश्मन हो --बातावरण को घोर दुश्मन मानब समाज को घोर दुस्मन हो --
(२)यो बिश्ब बजारकै निम्ती महँगो छ । झन नेपाल को लागि त यस्को प्रयोग ले नेपाली जनता लाई " कुन ता कि बुहारी भात्मास खाएकी " साबित गरिदिने छ ।
डिजेल बाट बत्ती बाल्नु परे पछी , स-साना उधोग धन्दा चलाऊनु परे पछी जनताले भ ट्मास खान्छ --
(३) यसै त शुद हरुको खटनपटन स हनु प रि राख्या छ अब झन डिजेल को भार थपी दिनु पर्दा उु लङौटी उचालेर बस्छ --हामीले हेर्दाइ 'जय!' गर्नु पर्ने भो !!!!!!!!!
(४) जब यि सब सम्पूर्ण कुराले महँगो साबित भएको डिजेल प्लान 'दिर्घ कालिन योजना 'होइन भन्ने थाहा हुँदा हुँदै फेरी किन ' आमाको दूध चुसेर पुगेन बा को घुडा चुस ' गर्ने !
अहिले सुन्न मा आए अनुसार -
(१)-काठ्मान्दौ को फोहोर बाट पनि थोरै मात्रामा किन नहोस् बिजुली उत्पदन गर्न सकिन्छ
(२)-सौर्य उर्जा बाट
(३)-हाबा बाट
(४)- बिभिन्न बुट्यान बाट
(५) उज्यालो मात्रै बाट पनि ( यस्को लागि सुर्य को ताप नै चाहिन्छ भन्ने छैन मा त्र दिन को उज्यालो मार्फत - यस्को प्रयोग केही युरोपियन देश मा भाईसकेको सुन्न मा आएको छ - जस्तो कि बेल्जियम मा )
(६)-हाइड्रो पाबर ।
हाम्रो देश का धनी हरु त्यो छ नि के के ग्रुप चौधरी यस्तै यस्तै अनी थुप्रै कम्पनी हरु - माडेहरु --जो सँग प्रसस्त लगानी गर्ने छेमता छ बहा हरुलाई सरकार ले यि यस्ता बैकल्पिक उर्जामा लगानी गरी बिद्युत निर्माण गर्न प्रोत्साहन गर्नु पर्छ ।
तर के कारण ले यस्तो भाईराख्या छ कि हाम्रो सरकार डिजेल प्लान मा अल्मलिराख्या छ --!!!!!!!!!!!!!
यथार्त विवरण जनता को सामु ल्याइ दिने गहन जिम्मा नेपाल आमा का सन्तान देश भक्त्त पत्रकार राज्य को दोस्रै अङ्ग अर्थात दोस्रो राज्य जनता का बिस्बासिलो आँखा - मन हाम्रा पत्रकार बर्ग को काध मा आएको छ ।

Anonymous said...

Should we use a better term than "Load Shedding" I believe the term was introduce to cut off the power supply only at peak time.

Now does that tell we have Peak time for 16 hours a day ?
In my view this is not a load shedding but inablity to supply demanded which points towards lack of infrastructure.

ठरकी दादा said...

मलाई लाग्छ यहासम्म आईपुग्दा, अझै पनि हाईड्रो पावरको भन्दा डिजेलको Running Cost ज्यादा छ भनेर त्यसैलाई "ईश्यु" बनाएर बहस गरीरहनु कुनै जरुरत छैन ।

हो, सतहि हिसाबबाट हेर्दा हाईड्रो पावर भन्दा डिजेलबाट निक्लेने बिद्युत धेरै महंगो हुन्छ । तर, जहाँ देश पुरै अन्धकारमय भैसक्यो र यही बिजुलीकै कारणले कार्यालयहरु समेत हप्तामा दुईदिन बन्द गरींदैछ, त्यहा हामिले त्यो 'बन्द' ले ल्याउने घाटा, र यहि बिजुलीको अभावले निम्त्याईएका असंख्य समस्या, झमेला र असहज दैनिक जनजिबनका पाटाहरुलाई पनि यौटै तराजुमा राखेर हेर्नु पर्छ ।

माथी ब्रीलिएण्टम्यान जी ले भन्नु भएजस्तै विना जानकारी र विना अध्ययन बर्बराउदैं Satelite बाट बिद्युत निकासी गर्ने बुद्धिका नेताहरुबाट यो लेखा जोखा खै कसरी सम्भव होला?।

हामी पानिमा डुब्न लागिसकेका छौं, यस्तो अबस्थामा अब ट्युब समाएर उत्रने वा डुङ्गा कुर्ने भन्ने बिबादमा अल्मल्लीनु ठिक हैन। तात्कालीन समस्यालाई अल्पकालिन नै भएपनि निकाश दिएर दिर्घकालीन समाधानको उपाएलाई युद्धस्तरमा अबलम्बन गर्नुबाहेक अरु उपाए देख्दिन म त ।

Panda said...

अहिलेको अवस्थामा जसरी हुन्छ उर्जाको उपलब्धता नै मुख्य कुरा भयो। हिजो जसरी "शान्ति" भन्ने कुरा मुख्य एजेण्डा थियो अहिले उर्जा त्यहि स्थितिमा पुगिसकेको छ । समयमा पावर सप्लाइ नियमित गर्न नसकेमा आज भन्दा ५ वर्ष पछि खोल्ने मनस्थिति बनाएका उद्यमीहरु पनि पलायन हुन्छन वा अन्य क्षेत्र तिर लाग्छन । भारतका महाराष्ट्र, उत्तरांचल, राजस्थान, आन्ध्र प्रदेश जस्ता ठाउहरुमा उद्योग खोल्न बाटो, बिजुली, पानीको सुविधा मात्र हैन लगानि र जमिन सहयोग समेत राज्य स्तरबाट प्राप्त हुन्छ ।

यस्तो परिस्थितिमा नेपाल अंध्यारो हुनु भनेको नेपालीहरुको भविष्य अर्को २० वर्षको लागि अंध्यारो हुनु हो ।

१७ रु मा डिजेल बाट बिजुली निस्कन्छ भने पनि अहिलेको परिस्थितिमा नाइ भन्नु पर्ने अवस्था छैन । मुख्य एजेण्डा हो बिजुलि, र तिर्ने अभिभारा हो उपभोक्ताको । मुल्य बढी भए पछि घरेलु चुहावट पनि कम हुन्छ ।

तर बिजुली उत्पादन गर्दा डिजेलको मात्र हिसाब गरेर पुगेन, मेशिन खरिद, इन्सटलेशन, भवन, कनेक्शन आदि कुराहरुको पनि ख्याल गर्नु पर्यो । त्यसैले केहि महिना पहिले भारतले प्रस्ताव गरेको ७ रुपिया युनिटमा देउ भनेर फेरि माग्ने वा डिजेल प्लान्ट बनाउने । तत्कालका लागि यी दुइ वाहेक अरु उपाय छैन ।

अन्य वैकल्पिक उपाय भनेका विस्तारै अपनाउंदै जानु पर्छ जुन मुख्य हैनन सहयोगि स्रोतहरु हुन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !