October 15, 2008

दशै, हामी र प्रचण्ड

-शेखर ढुङ्गेल
सधैंझै दशैंको व्याख्या महत्वका बारेमा सैयौं लेख कविता कथा-व्यथाको पुनरावृत्ति गर्दै समस्त नेपालीहरुको महानपर्व बडा दशैं भर्खरै बित्यो । सधैं झै दुःखसुख साटासाट गर्दै रिस-रागमाथि विजय प्राप्त गर्ने उन्नति-प्रगति मनोकामना पूरा होस् भन्ने शुभेच्छासहित विदा भयो दशैं सधैझैं । हुनेले गच्छेअनुसार नहुनेले पनि ऋण काडेर नै खर्च गरी खुशी मनाए । कतिपय कलमहरुले यो पर्वलाई फजुल र खर्चिलो भनी टिप्पणी गरे पनि इशाईहरुको कि्रसमसभन्दा यो पर्व धरै गुणा सस्तो छ ।

बहुदलीय व्यवस्थाको प्रादुर्भावपश्चात् एक जाति विशेषले यो पर्व हाम्रो होइन खस जातिले मात्र चलाएका हुन् भन्ने प्रचार गरी बहिस्कारको अभियानसमेत चलाएका थिए । दशैं पर्वको प्रमाणित ऐतिहासिक दस्तावेजको अध्ययन-अनुसन्धानपश्चात् निष्कर्ष निस्कियो कि यो कुनै जाति विशेषले चलाएको पर्व होइन । विश्वका तीन प्रमुख धार्मिक सम्प्रदाय इशाईले कि्रसमस मुसलमानले इद र हिन्दूहरुले दशैं नवरात्री आ-आफ्नै प्रकारले राष्ट्रिय चाड मनाउँदै आएका छन् । नेपालमा भने हिन्दू र बौद्ध धर्मावलम्मीको विशेष प्रकारको मिश्रणयुक्त समाज छ तर शास्त्रअनुसार ॐकारलाई आफ्नो ईश्वर मान्ने सबै समुदाय हिन्दू भएकाले नेपालमा पूर्वका यलम्बर हुन् वा काठमाडौं उपत्यकाका मल्लराजा सबैले यो पर्व मनाउँदै निरन्तरता दिंदै आएका हुन् । अर्थात् यो पर्व एकजाति विशेषको मात्र नभै नेपाल राष्ट्रका सम्पूर्ण नेपालीहरुको संस्कृतिकै रुपमा स्थापित भैसकेको छ ।

स्वदेशको मात्र के कुरा विश्वका कुना-कुनामा पुगेका नेपालीहरु एक-अर्काको जात नसोधी दशैंजस्ता पर्वमा एकाकार हुन्छन् । दशैंलाई हाम्रो पर्वु भन्छन् । यहाँ कुनै तेरो र मेरो चल्दैन । विदेशमा सुख-सम्पन्न जीवन बाँचिरहेका भनेर सोचिएका वास्तविकता अर्कै हुनसक्दछ नेपालीको अनुहार खुसीले फकि्रन्छ । अमेरिका युरोपमा मात्र होइन खाडी मुलुकदेखि इराकसम्म रोजगारीको लागि भौतारिएका सम्पूर्ण नेपालीले एक-आपसमा अपनत्व देखाउँदै अंकमाल गरी यो पर्व मनाएको खबर सुन्न पाउँदा प्रत्येक नेपाली आनन्दित र हर्षित हुनु स्वाभाविक हो ।

नेपालजस्तो सानो राष्ट्रको अस्तित्व उसको मौलिक पहिचानको संरक्षणबाट मात्र जोगाउन सकिन्छ । पर्व चाड जात्रा सस्कृतिले एक-अर्कालाई सामीप्य लेराउने भाइचारा र सद्भाव बढाउने अवसर पनि प्रदान गर्दछ । सँस्कृति भेषभुषा भाषा पर्वको अवमूल्यनले हाम्रो राष्ट्रियतामा आँच आउन सक्दछ हामी विखण्डित हुन पुग्दछौं ।

यसै सन्दर्भमा नयाँ नेपालको नाममा माओवादीको सरकारका सदस्यहरुले देखाएको बिडम्बनायुक्त रबैया हेर्दा दुख लाग्छ । देश विकास गर्न यस्ता पर्व चाड सँस्कृतिले बाधा पुर् याउँदैनन् भन्ने तथ्य नबुझेको देख्दा अचम्म लाग्छ । आजको अति विकसित देश जापानको प्रसङ्ग कोट्याउनु उचित होला । राजनीतिक दलको सम्पन्नताको आर्थिक कोष हिसाबले जापान कम्युनिष्ट पार्टी अरुभन्दा अगाडि छ । त्यहाँका मजदुर बलिया छन् । मालिकको त्यतिकै इज्जत गर्दछन् । त्यहाँ राजसंस्थाविरुद्ध कुनै कार्यक्रम गरॆका छैनन् । विश्वको एक पुरानो सँस्कृतिको संरक्षक बनाएर जापानीजहरुले सम्राटको निरन्तरता दिइराखेका र जापानको मौलिक भेष अनेकौं पर्व-जात्राको निरन्तरतामा कमी आएको छैन । नेपालको जस्तै रथ तान्ने कैयौं जात्रा भब्यताका साथ परम्परागत लुगा लगाई मनाइन्छन् । सैनिक एवं परराष्ट्र नीतिमा एक हिसाबले अमेरिकाको छायाँ देखिए तापनि सार्बजनिक स्कुल कलेजमा अंग्रेजी भाषा पढाउने-नपढाउने विवाद हुँदा जनमतसंग्रह गर्नुपर् यो । निर्णय नराख्ने भन्ने आयो । त्यहाँका युवा आफ्नो भाषाप्रति गर्व गर्दछन् र भन्दछन्- हाम्रो भाषा अरुले सिकुन् हामी किन सिक्ने स्मरण रहोस् जापानमा अंग्रेजी सिक्न छुट्टै भाषा-स्कुल जानु पर्दछ । सार्वजनिक स्कुल-कलेजमा पढाइ हुँदैन । यसको अर्थ के भने देश विकास गर्न धर्म सँस्कृति पर्व बहिस्कार वा नष्ट गर्नुपर्दैन । बरु संरक्षण गरेर राष्ट्रलाई सम्पन्न गराउन सकिन्छ भन्ने जापान एउटा उदाहरण हो । सँस्कृतिविरोधी हाम्रा क्रान्तिकारी नेताहरुले यो तथ्य बुभुन सकेका छैनन् ।

धर्मको नाममा हुने जात भातजस्ता विभेदको अन्त जरुरी छ तर स्थापित राष्ट्रिय सँस्कृति पर्व चाड-जात्रालाई विस्थापन वा बहिस्कार गर्नु यो दशैंको प्रसङ्गमा नेपालका प्रधानमन्त्री अन्य माओवादी मन्त्रीगणका रबैयाले माओवादीकै लागि प्रत्युत्पादक हुने स्पष्ट छ ।

विश्वका कुना-काप्चारमा पुगेका सम्पूर्ण नेपालीले गर्वसाथ यो पर्व मनाइरहेको पहिले-पहिलेभन्दा यस पटक सबै देशमा रहेका राजदूतावासहरुले समेत यो पर्वलाई विशेष महत्व दिई मनाइ राखेको समाचार आइरहँदा माओवादीको यस्तो रबैयाले नेपालीहरु खिन्न भएका छन् । त्यसमा पनि प्रचण्डको निरन्तररुपमा धर्म-सँस्कृति भेष-भाषा प्रतिको नकारात्मक ब्यवहारले जनताको संवेदनशील आस्थामा चोट पुर् याउँदै लगेको छ ।

प्रधानमन्त्री प्रचण्डसित जनताले तर्कसंगत जबाफ माग्न थालेका छन्- किन हाम्रा विशिष्ठ सँस्कृतिको द्योतक चाडपर्वलाई ध्वस्त पार्न खोजिदैछ एउटा सामन्तको भन्दा बढी सुविधा-सम्पन्नतायुक्त विलासी विदेशी भ्रमण नरोकिने पक्षपात भेदभाव नरोकिने जर्बजस्ति लुटपाट चन्दा कब्जा नरोकिने तर दशैं रोकिने जनतासित भोट माग्न जाँदा र स्वागत पाउँदा टीका-माला निषेध नहुने तर जनताको प्राणभन्दा प्यारो भाषा भेष पर्व चाड-जात्रा जस्ले हामी नेपालीको एकतालाई बचाई राख्छ यसको सम्मान र संरक्षण गर्नुको साटो निषेध गर्ने किन द्वन्द्व कालमा गाई काटेर हिन्दूधर्मविरुद्ध जेहाद छोडिसकेका माओवादी अध्यक्ष प्रचण्डले मौका र हात बलियो बनाउन पाएभने पशुपति र स्वयंम्भुमा फलामे काँडे तार लगाई छेक्ने कुरामा शंका छैन तालिवानको झैं । त्यसैले होला गणतन्त्र आइसकेपछि पनि स्वस्फुर्त रुपमा हजारौं जनता पूर्वराजाको ढोकामा पुगेका । यसले देखाउँछ कि धर्म सँस्कृति भेषभुषा पर्व जात्राका संरक्षकलाई जनताले सम्मान गर्दा रहेछन् । माओवादीहरुको यस्तो हरकतले राष्ट्र बलियो बन्ने देशले प्रगति गर्ने देखिन्न बरु थप नयाँ द्वन्द्वको शुरुआत हुनेछ र माओवादी पार्टी जनताबाट अलग्गिने छ ।



1 Comments:

ठरकी दादा said...

संस्कृति नासेर आफू बलियो भईन्छ भन्ने सोच्नु घर बालेर खरानी बेच्ने व्यापार भन्दा केहि फरक छैन ।

तर माओवादी नेतृत्व भोली सम्मको लागी सोचेर भन्दा पनि 'देखा जाएगा' को सिद्धान्त लिएर बढेको देखिन्छ ।

राम राम... ( भिर बाट खस्न लागेकोलाई देखेपछि सायद यसै भन्नु पर्छ क्यार!)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !