March 10, 2008

मनोन्यास - जलेको ह्रदयमा फुलेको प्रेम

जलेको ह्रदयमा फुलेको प्रेम - १
- हस्त गौतम मृदुल

कठोर निष्ठुरी कालो रातमा दियोको उज्यालो रोशनी प्रकास खुले झै प्रिय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। बसन्त बृक्षमा झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा मुले झै प्रिरय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु।

तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौन्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ। त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।

आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ। यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पुर्वबाट नै उदाउछ त्यसैले तिमी त्यही पुर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ…।

त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उत्स्रग चेतना बाढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले सर्वच्चशिखर चुमेदेखी शुरु हुन्छ।

स्वायम्भुतर्फ सेता परेवाको लावालस्कर उडेदेखी शुन्छ। मठमन्दिरमा शंखध्वानी घण्टा र भजन किर्तन गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु बिना पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।

देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन बर्दान दिने स्थानहरु…।

तस्रथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।

यहाका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय जस्ले रुख ढाल्छ त्यहा फुलहरु कसरी फुलिरहन सक्छन र यहा हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु काटीएका छन। आशाका विउहरु सुकेका छन। अंशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ। भेटियो भने त्यो पनि बेच्न सक्छन तस्रथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो पि्रय पाइला पाइला फुक्दै आउ यो धरामा धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।

जतिखेर पनि श्र्रापले ऐरीका काडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानुभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ। महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।
क्रमश:


2 Comments:

दाहाल said...

तपाइको मनोन्यास सारै घतपुर्वक पढे। यो वाक्यले सारै भबुक बनायो। फेरी पनि यस्तै पढ्न दिने मौका दिनुहोला।
"जतिखेर पनि श्र्रापले ऐरीका काडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन।"

Anonymous said...

निकै साहित्यिक लाग्यो :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !