December 28, 2007

अब देशले एउटा गति लिन्छ कि।

सहमतीका खातैखात लागे पनि फेरी अर्को एउटा सहमती भएको छ।हुन त यो पछील्लो सहमतीले कुनै गतिलो उपलब्धी हासिल गरेको त देखिदैन तर आ-आफ्नै अडानहरु, मुद्धाहरुमा अड्किरहेका दलहरु सबै एक् पाइला पछि हटेर मिल्न आउनुलाई नै उपलब्धि मान्न पर्ला। बिभिन्न बहानामा अवरुद्ध भैरहेको शान्ती प्रक्रिया अब अघि बढ्ने आशा गरौं र देशले एउटा गति लियोस्।कागजीरुपमा नै भएपनि देशमा गणतंत्र आएको छ र ब्यबहारमा आउन अवश्य समय लाग्ने छ। तातै खाउं जल्दै मरौं गर्न पनि भएन।त्यसकारण यसलाई त्यति खिसिट्यूरी नगरौं।बितेका जनयुद्धका १२-१३ बर्षहरुमा सबै पार्टीहरुले एउटा लामो यात्रा पार गरेका छन् र प्रशस्त अनुभव बटुलेका छन्। नेपाली कांग्रेसजस्तो यथास्थितीबादी पार्टी गणतंत्रको मुद्धामा सहमत भएको छ र माओबादी जस्तो अतिबादीहरु लोकतांत्रिक अभ्यासमा आएका छन्। यो अवश्य पनि ठूलो उपलब्धी हो। समयको बिभिन्न कालखण्डमा सबै कहिं न कहिं चुकेका छन र त्यसैलाई आलोचनाको पहाड नबनाई प्रत्येकले सकारात्मक सोच् राखौं।
हामी आफ्नो बिचारमा जति पनि क्रान्तिकारी र जति पनि इमान्दार हुन सक्छौं र जसको बिरोध जति मज्जाले गरे पनि हुन्छ, किनकि हामीले कुनै जनतालाई जवाफ दिन छैन वा कुनै उत्तरदायीत्व बहन् गर्न पर्दैन र सहमतीका म्याराथन वार्तामा हामीलाई बस्नु परेको छैन। बस्न परेको भए अवश्य महसुस् हुन्थ्यो होला। हुन सक्छ-हामी कुनै मौका नपाएर मात्र इमान्दार बन्नु परेको हो ( साथी चनाले भने जस्तै) । ढूकुटीको सांचो आफ्नो हातमा परे पछि मात्र इमान्दारीताको परख् होला।चाहेर-नचाहेर, जानेर-नजानेर पार्टीहरुबाट गल्तीहरु भैरहे। अव आशा गरौं त्यसो नहोला।
एक् अर्काप्रति अविश्वासको भावना नरहोस्। पार्टीहरुले सत्तामोहमा एक् अर्काप्रति घात प्रतिघात नगरून्। सबै मिलेर देशको अक्षूणतालाई कायम राखून्।
नया बर्ष २००८ को शुभकामना।


1 Comments:

आशिष देबकोटा said...

गाती त लेला साथी तर प्रगती होइन दुर्गती चै पक्काल लिन्छ। धेर थोर दुर्गती त देखियो अब के के हुने हो?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !