June 25, 2009

मायामा के मिसायौ

मायामा के मिसायौ तिम्ले,आर्कै गन्ध आको हो कि
आफ्नो भाखा बिर्सी फेरी तिम्ले अर्कै गीत गाको हो कि

न अटाउन सक्छु न हटाउन सक्छु कस्तो माया
यस्तो लाग्छ पूर्व जन्मको तिम्रो ऋण खाको हो कि

अनिर्णयको बन्धी भएकोछु,नजिक छेयौ कि टाढा
लोलोपोतो यता मिलाई अन्तै माया लाको हो कि

फुल भनि चुमे काँडा बनी बिझ्यौ भोगाइको कुरा
छल्की खस्छ आसु तिमीबाट उपहार पाको हो कि

सिउदै थिए म जिन्दगी उधार्दै रैछ्यौ तिमी चाँही
शिल्प पुगेन या भनु फेशन पुरानो भाको हो कि

King of Pop Michael Jackson Died at age of 50


Update: LA times has confirmed that Michael Jackson is dead.

Unconfirmed news has claimed King of Pop Michael Jackson Died of cardiac arrest at the age of 50.

Michael Jackson was rushed to the UCLA Medical Center this afternoon after suffering cardiac arrest, according to multiple reports. The fire department said that it responded "to a medical call at 100 block of Carrolwood," where Jackson lives, and that they took one person to the UCLA Medical Center



June 24, 2009

मर्निङ वाक

'बढी भयो', सभासदज्यू कमिजतिर औँला खेलाउँदै आफैँसँग फतफताउनुभयो । यो कमिज उहाँ आफैँले पहिरिनुभएको कमिज थियो । उहाँ मर्निङ वाकमा दौडिरहनुभएको थियो, तर दौडिन सकिरहनुभएको थिएन ।

'बाफ रे, साँच्चै हद बढी भयो', सभासदज्यूले ख्याप्प कमिजको बटनले खाएको गर्धन झुकाउँदै दोहोर्‍याउनुभयो । वरिपरि चोकमा दर्जनौँ गोडाहरूको प्रातःकालीन खलबली मर्निङ वाकको चालमा गुञ्जिरहेथ्यो । धोक्रे हाफ प्यान्ट फटाउने काँटको फिला थर्काउँदै रतनशेखर सेठ पनि सभासदज्यूकै बगलमा दौडिन आइपुगे ।

'हुजुर, के बढी भयो ?,' सेठले कुरा उठान गर्दै व्यापारिक लबजमा सुझाए-'बढी भयो त बढिया नै भयो नि हैन र हुजुर !' संसारका समस्त ठूला मान्छे 'मर्निङ वाक'मा एकजुट होऔँ भन्ने लयमा सेठले चश्माभित्रका आँखा फनक्क घुमाए ।

'अरे के बताऊँ रतनबाबू, सम्हाल्नै नसक्ने बढी भयो, के गरूँ-के गरूँ ?' कमिजको बटनतिर अलमलिएका औँला हावामा दरफराउँदै सभासदज्यूले कुरो घुमाउनुभयो । कुरा घुमाउने उहाँको प्रिय सोख हो । उमेरमा सभासद्‌ज्यूले के-के घुमाउनुभएथ्यो, तिनै अभ्यासले पाकेर आज ठूलै हूललाई ठूलै कुरामा घुमाउने दायित्वमा स्थापित हुनुहुन्छ । सभासदज्यूको पिरोलो देखेर झोक्रिनुसाटो उल्टो सेठजीका आँखा हर्षले धपक्क बले । सेठजीले चमत्कारिक उपाय कतै फेला पारेझैँ टपक्क टिपेर सुझाए-'तो कुछ फिकर नकर्नुस् हुजुर, कौन कुरा बढी भयो ओ सब हामीलाई दिइदिनुस् तो टेन्सनै साफ !'

सेठका कुराले सभासदज्यूको मुहारको ध्वाँसो पग्लिएन । उहाँले कमिजमाथि फेरि हत्केला मुसार्नुभयो । सेठजी भने सभासदज्यूसँग बढी भएको चिजबिज पाउने आशले दौडिँदादौडिँदैको चाल रोकेर धोक्रे हाफ प्यान्टमाथि लत्रिएको कुर्ता सम्हाल्दै सामुन्नेमा उभिए ।

'उहू सेठ, के ठट्टा गरेको ?' सभासदज्यूले रुन्चे अनुहारको एउटा फक्लेटामा तत्काल छाएको व्यङ्ग्यको तरङ्ग पोख्दै बल्ल रहस्य खोल्नुभयो-'मेरो पेटको बोसो पो बढी भयो भनेको त !' जिस्क्याउनुभयो-'सेठको त पहिल्यैदेखि कुर्ताभरि निसासिएर बसेको बडेमानको भकारी छँदैछ, उल्टै मेरो बढेको पेट दिऊ ?' यति भनेर उहाँले आफ्नो कमिजको फेर उचालेर सेठतिर देखाउनुभयो । पर्वमा बज्न ठीक्क दमाहा प्रकट भयो ।

'अरे हुजुर, क्या बात कर्नुहुन्छ', बढी चिजबिज पाउने उत्साहले तन्किएका सेठका आँखा माछाविहीन जाल जस्तै सामसुम्म निचोरिए । 'हामीले त सोच्यो- संविधानसभाको चक्करमा छिरेर डेली तलबपानी और वो सुझावउझाव कलेक्सनले कुछ ज्यादा नै मालमत्ता जम्मा भइगएछ, बढी भयो भनेर कस्तरी लालच जगाउनुभयो हे हे हे …', घाँटीका लुँदा हल्लाउँदै सेठजी मुस्कुराए । सोधे-'हुजुर, मेचमा आरामसे पिठिउँ अडेसा लाकर बैठिराख्नुभोहोला, तब थोडी अडेसा लाएकोतरफ पेट जाओस् ? अडेसामा ठोक्किएर धकेलिएपछि पेट त आगे नै आइहाल्छ नि !'

'तब त हेर्नु न, एक वर्षभो संविधानसभामा चुनिएपछि बढेको पेट घटाउन कुद्‌याकुद्‌यै छु र पनि फिटिक्कै घट्या छैन ।' सभासदज्यूले खिन्न हुँदै दुःखद उदरकथा कहनुभयो । सोझासीधा जनता भने मर्निङ वाक नगर्दा पनि हावा खुस्किएको बेलुन जस्तै पेट सुकाएर बसिरहेछन्, देशका नेता र सभासदलाई भने यो के-के चर्तिकला गर्नु परिरहेको, सेठको ठूलो टाउकोले केही सोच्न सकेन । सभासदज्यूले शङ्का जनाउनुभयो-'कतै यो दिनदिनै भत्तारसद र महिनैपिच्छेको तलब त नपचेको होइन सेठ ?' उहाँलाई हामी ठूलाहरूले मात्र किन मर्निङ वाकमा पेट घटाउन सास्ती खेप्नुपरेको भन्नेमा झोंक चल्यो ।

'ओ हुजुर, कसके काम कर्नुस् , पेट पुरानै लाइनपर आइहाल्छ, यो मर्निङ वाकको बदला काममै कुदाकुद कर्नुस्', कारखानामा थेत्तर कामदारलाई अह्राएजस्तै सेठजीले साउतीको स्वरमा भने । सभासदज्यूको चिन्तित आवाज सुनियो-'अरू केही होइन, यो अपचको समस्या हो, त्यसैको प्रमाणचिन्ह हो मेरो घनघोर पेट । यसलाई घटाउन मैले अरू मर्निङ वाकमा जोडले कुद्‌नैपर्छ ।' भन्नासाथै सभासद्‌ज्यू तुरून्तै वेग मारेर अघिल्तिर हुइँकिनुभयो ।

पछिल्तिर एकलासमा सेठ सभासदज्यू गएतिर कराउँदै थिए-'अरे हुजुर, वो तो ठीक छ, तर के हुन्छ हामी जनताको पेट, यो देशको हालत के हुन्छ ? हुजुर संविधानको के हुन्छ..... के हुन्छ ?'

*तस्बिर: आर्यसिटी.कम



June 23, 2009

बिछोडको पिडा

तिमी सँग बिताएका, ति दिनहरु याद आयो।
परेलिमा लुकाउन खोजे आसुको छाल आयो ।।

तिमी जादा, मेरो बस्ती, निर्जन एउटा ठाउँ जस्तो ।
तिमीलाई पछ्याउदै, तिमी तिरै जाउ जस्तो ।।

तिमीलाई भयो कस्तो मलाई आसुँ थाम्न गार्हो ।
नभेटेको भए हुन्थ्यो, छुट्टीन लाई कती सार्हो।।

शायद जिन्दगी यस्तै होला दुई दिने घाम छाया
छाती दु:ख्छ सम्झी सम्झी शायद यही हो माया

इन्दिरा घिमिरे
अमेरिका

मनको दासी मान्छे

आचार्य प्रभा
(अमेरिका )

तिमी मलाई महसुश गर्छौ भने
सर्वगुण सम्पन्नताको अपेक्षा नगर ........,
किन कि..... म पनि मान्छे हुँ ,
मान्छेभित्रको मन म सँग पनि छ ,
त्यो मन कहिले घमण्डले
अग्लिन सक्छ ,
अनी... कहिले
बहकिन सक्छ ,
त र...... त्यही मनलाई
हर मान्छेले छात्तिमा
लुकाएर राखेको हुन्छ ,
जसरी मैले पनि राखेकी छु ,
त र... भन्छौ भने
कस्लाई पो त्यो मनको
दासी हुन मन लाग्छ र ?
त र अफसोच !
मनले मान्छेलाई दासी बनाएको हुन्छ ,
कहिले यो आत्तिन्छ ,
अनी... मान्छेलाई तर्साइदिन्छ,
कहिले यो मात्तिन्छ ,
अनी... मान्छेलाई बहकाइ दिन्छ
कहिले यो लाचार बन्छ ,
अनी... मान्छेलाई निरस बनाइदिन्छ,
यही मनको अभिनयमा
मान्छे रुमाललिएको हुन्छ ,
ल... तिमी पनि निर्णय ग र
के तिमी पनि यस्बाट अछुत छौ त ?
त्यसैले.... मेरो सामिप्यताको अर्थमा
तिमी, मेरो मात्र गुणको
साझेदारी बन्ने कोसिश नगर ।
म पनि मान्छे हुँ
मान्छे भित्रको अवगुण म भित्र पनि छ
त्यसैले.... मलाई महसुश गर्छौ भने
यी सारा तीता सत्यहरुलाई
हाँसेर स्वीकार ग र
अनी मलाई महसुश गर्ने कोसिश ग र ।


खडेरी लागेको मन र असार

- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग - ४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।

प्रिय सखा डल्ली,
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई ।
संपर्क बिनाका थुप्रै वसन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन,  न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे, सँगै तिम्रो पनि अस्पष्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउँछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।

प्रिय डल्ली, छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ?
पानी पर्‍यो सालघारी करायो
वर्खा लाग्यो भेटघाटै हरायो ।
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।

मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?

मेरी प्रिय सखा, हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।

खोला पारी म मायाँ लाउँदिन
वर्खा लाग्यो आइरहन पाउँदिन ।
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल
मिठै मा खाउँला राम्रै मा लाउँला हजुरको जीउ छउन्जेल ।

कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा क्रीषी प्रधान देशको लागि कती जर्जर होल कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।

प्रिय डल्ली, असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।

प्रिय बालसखा , प्रक्रीतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो ग्रीहस्ती, चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटक हरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् ।
तिम्रो बाल सखा
जीवन संघर्षको मैदानबाट ।

रिमिमाझिमी पानी है पर्‍यो असारे मासैमा
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू ।