June 19, 2009

गाउँखाने कथा - २० (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा २० को उत्तर मिलाउने र मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद। यस पटकको सहि उत्तर हो दांत।
गाउ भने सबै भन्दा पहिला उत्तर मिलाउने लुना जी ले पाउनुभयो। अब गाउ माग्ने पालो बसन्तजी को।
------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
यही मेरो ढिकी यही मेरो कोल,
यही मेरो जांतो सिपीको खोल
, के हो?


विषाक्त वर्तमान

रापिलो रबरको दुर्गन्धमा
सडकभरि क्रान्ति पोखिएको छ
घरेलु हतियार बोकेका आखेटहरूको हातमा
झिरले 'चमत्कार' जो खोपिएको छ,
आजकल , संयम अपनाउने कुरै नगर्नू सखे
देशवासीको माथिंगलभरि आक्रोश रोपिएको छ।

द्वन्द हाम्रो परिचय भयो, हिंसा त साधन बनेको छ
पहिले ठोक्नुस् अनि खोज्नुस, नीतिले यही भनेको छ
वैमनस्यको सूद खोज्ने यो कस्तो मौसम आएको छ?
ताण्डव औ विभत्सताको मादकता जो छाएको छ।


इतिहासका प्रवाहहरू , अन्तै मोड्ने प्रयास हुन थालेको छ
जात, भात , नाक र नक्सामा देशको लिलामी हालेको छ
घृणा , जुगुप्सा र अविस्वासको दावानल सर्वत्र बालेको छ
सभ्यताको यो युगमा ,यही बिषाक्त वर्तमानले अँगालेको छ।


June 18, 2009

म आईमाई मान्छे

आचार्य प्रभा

हो... म ''आईमाई'' हुँ
तिमीले जे भन्यौ ठिकै भन्यौ
म, निरीह छु ,
निस्सार छु ,
निर्बल छु ,
निसहाय !छु
केवल... प्रसंशा र दयाको भोको छु
त्यसैले तिमीले सजिलै भन्यौ
तिमी ''आईमाई'' भनेर।
हो... म आईमाई हुनुले पीडित छु ,
चाहना र माया को भोको छु
कसैको थोरै विश्वाशमा लिप्त छु
अनी... कसैको विश्वाशघातको शिकार पनि छु ।
तिमी ठान्छौ ,
''आईमाई''थोरै प्रसंशामा रमाउछे
तिमी मान्छौ ,
''आईमाई ''कम्ती विश्वाशमा हराउछे,
हो... यो सत्य हो .....
''आईमाई ''नारी हुनुमा मक्ख पर्छे
फेरी.... आफ्नै कमजोरिसँग छ्क्क पर्छे ,
कहिले आफुलाई धर्तिसँग दाँज्छे ,
कहिले फूलको कोमलतामा आफुलाई
अनुवाद गर्छे ,
यसैले... उस्को चिनारी ''आईमाई '' ठान्छे ।
''आईमाई '' आमा हुनुमा गर्वित हुन्छे
पत्नी हुनुमा अभिमान गर्छे ,
दासी हुनुमा कर्तब्य ठान्छे
किन कि.... ऊ आखिर
''आईमाई ''हुनुमा नै सर्वस्व ठान्छे
त्यसैले... म तिम्रो आव्हान स्वीकार्छु
हुँ म पनि तिमीले सोचे जस्तै
''आईमाई ''मान्छे ।
म भित्र पनि अरुको जस्तै
कोमलताको खानि छ ,
आँखाभरी अबिरल बग्ने अश्रु धाराको पानी छ
कहिले कोमल बनेर आसुँको सागरमा
निथ्रुक्क भिज्छु म ,
कहिले झुठो प्रसंशामा फुल्छु म
हो... यही निरीहता छ म भित्र पनि
अनी.... यही कमजोरी छ
मेरो नारित्वमा पनि ,
त्यसैले... सजिलै भन्यौ
तिमी ''आईमाई ''मान्छे
तिमीले जानेरै भन्यौ त्यो
उपनाम को मान्छे ,
म ''सीता ''बनेर आगोमा जल्न पनि सक्छु
म ''पासँङ ''बनेर हिउँमा पुरिन सक्छु
अनी.... ''पारीजात ''बनेर रातमा फुल्न सक्छु
त र.... आखिर म ''आईमाई '' थोरै कसैको
फकाइमा बहकिन पनि सक्छु
''आईमाई ''हुनुको अभिशप्त पीडामा
म पलायन हुन सक्छु ,
तिमी जे भन म तिम्रो आरोप प्रत्यारोपलाई
हाँसी हाँसी सहन सक्छु ,
तिम्रो अर्थमा लोग्ने मान्छेको
पौरषताको दासी हुन सक्छु ,
आखिर म ''आईमाई''मान्छे
झुठो प्रसंशाको भोकले बर्बाद हुन सक्छु
यसैले म ''आईमाई''मान्छे
क्षणभरको खेलौना बन्न सक्छु
अनी कसैको झुठो आश्वासनको
खेती बन्न सक्छु ,
म ''आईमाई''मान्छे
सजिल्यै पग्लिन सक्छु ।

(अमेरिका )
(समर्पण उसैलाइ जस्ले तिमी ''आईमाई मान्छे'' भनेर ब्यङ्यात्मक कमेन्ट मलाई दिनु भएको थियो )


June 17, 2009

हाम्रो माया

अबिरल अधिकारी ''प्रेरणा ''

तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु ।
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल ।
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी ।
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु ।


मोबाइल फोन अब चार्जनै गर्नुनपर्ने


तपाइको फोनम छीटै ब्याट्री चार्ज सकिन्छ? अथवा चाहिने बेलामा फोनमा एक थोपा पनि चार्ज हुदैन? नेपालमा त बिजुली आएको ४ घण्टा घरमा नभए तपाइको फोन हप्तौं बेकाम हुनसक्छ।

अब भने त्यस्तो झमेलामा फस्नुपर्ने छैन। हाम्रो वरीपरी बिभिन्न किरण र उर्जा छरिएर बसेको त तपाइलै सुन्नुभएकै होला। अब भने नोकिया कम्पनीले हाम्रै वरीपरी घुमीरहने रेडियो वेव बाट फोन चार्ज गर्न मिल्ने प्रबिधीको बिकास गर्दैछ। भएको फोन चार्जर फालेर यो फोनतिर दौडिने स्थीती त आइसकेको छैन तर फोनलाइ चाहीने केही पावर भने हावाबाटै चार्ज गर्ने मिल्ने फोन तयार पारेको छ।यस्तो हाइफाइ प्रबीधी पत्ता लगाउने नोकीया भने पहिलो होइन। यस्तो प्रबिधीको खोज आज भन्दा १०० बर्ष अघी बैज्ञानीक टेस्लाले शुरू गरेका थिए । यसलाइ केही हदसम्म नोकियाले सफल बनाएको छ।

नेपालमा केही महिना पहिला पिपलको पातबाट नोकिया फोन चार्ज गर्न मिल्ने हल्ला पत्रपत्रीकामा आएको थियो। यस्तो हल्ला भारतका केही ठाउंमा पनि सुनिएको थियो। त्यो कती आधिकारीक थियो त्यो त चार्ज गर्ने या समाचार खोज्नेलाइ थाहा होला। बिना बिजुली लगातार प्रयोग गर्ने सक्ने फोन नोकियाले ३ देखी ५ बर्षमा बजारमा ल्याउने भएको छ। त्यतीन्जेल लोडसेडिगं मै रमाऔं।


June 16, 2009

सैनिक तालिम होइन जिम्मेवार नागरिक बनाउने शिक्षा

शेखर ढुङेल
०६-१५-२००९
नेपालमा हाल एउटा अर्को बहस सुरु भएको छ, १८ बर्ष् पुगेका सम्पूर्ण नागरिकले अनिबार्य सैनिक तालिमा लिनु पर्ने । सिद्दान्त त यो निती खराब होइन त्यस्तो तालिमले शहनसिलता , अनुशासन , आदर र सामुहिक भावना ( team sprit ) परिमार्जन गर्दछ । कोरिया , ईरान , इराक , इज्रायल लगायत केही मुलुक मा त्यस्तो निती लागु भएको छ । त्यो भन्दा पनि स्तरिय शिक्षा जापानमा दीइन्छ, जापानले लागु गरेको सिविक सेन्स एक्टले शैनिक तालिम नदिए पनि एक तालिम प्राप्त जवान झै जापानिजहरुमा अनुशासन , सामुहिक भावनाको बिकास भएको छ । सैनिक तालिमको उदेष्य लाई प्राप्त गर्न कम्तिमा ६ महिना ब्यारेक सिस्टममा रहनु अनिबार्य हुन्छ । आजको जमाना मा युबा पिढी लाई उनीहरुको इच्छा बीपरित जबर्जस्ती गर्न उचित हुँदैन । आम नागरिक लाई सभ्य , अनुशासित , जिम्मेवारी र दायित्व , एक अर्काको सम्मान , राष्ट्रियता प्रती सजग र शसक्त गराउनको लागि निम्न बुदा लाई समेट्ने गरि ''नागरिक आचरण कानुन '' बनाइ प्राथमिक स्कुलको पाठ्य पुस्तकमा समाबेश गराइ प्रशिक्षित गराउनु भने अनिबार्य भई सकेको छ ।

क - जिम्मेवारि - एक जिम्मेवार नागरिकको कर्मले नै घर , समाज र देश लाई प्रगती पथमा डोर्‍याउन सक्तछ । प्रत्यक नागरिकमा घर , समाज र देश प्रती उस्को जिम्मेवारि बोध हुनु पर्दछ । ब्यक्ती , परिवार समाज र देशको लागि प्रत्यक को कर्तब्य लाई महसुस गर्न सक्ने शिक्षा दिन सक्यौं भने आउदो पीढीले एक उन्नत समाज र राष्ट्र बनाउन सक्तछ । आज देशमा जती पनि बन्द , हडताल् , तोडफोड , हिसा , कानुन हात मा लिने काम भएका छन त्यो सबै जिम्मेवारि मानसिकता को अभाब मा भएका हुन।

ख - असल नागरिक - कुनै पनि देश को प्रगती को आधार प्रत्यक गौरबशाली नागरिक नै हुन । नागरिक हुनुको अर्थ आफ्नो देश प्रती प्रत्यकले उत्तरदायित्व बहन गर्नु पनि हो देशले के दियो भनी सोच्ने भन्दा मैले के दिन सक्तछु ? भनी सोचाइ राख्ने नागरिकको उत्पादन राष्ट्रले गर्न सक्नु पर्दछ । बिकासित मुलुकहरुमा नागरिक लाई इश्वरको नाममा '' देश जनता र कानुनको पूर्ण पालना गर्दै राष्ट्र हित बिपरित कुनै पनि काम गर्ने छैन भनी शपथ दिलाइन्छ । ताकी नागरिक हुनुको अर्थ राज्य सीत अधिकार माग्ने मात्र होइन राज्य प्रती उस्को उत्तरदायित्व पनि छ । प्रत्यक नागरिकले ब्यक्ती समाज र देश हित बिरुद्ध काम नगरे देश बिकसित हुन समय लाग्दैन । त्यसैले प्रत्यक लाई असल नागरिक बन्न प्रोत्साहित हुने शिक्षा दिनु पर्दछ ।

ग - निस्पक्षता - नागरिक मा हुनु पर्ने गुण मध्य निस्पक्षी भावना अनिबार्य हुन्छ । जुन सुकै क्षेत्रमा पनि पद , जात भात , वा प्रभाब को आधार मा बिभेद नगर्ने मानसिकता को बिकास गर्नु जरुरी छ । ब्यक्ती को योग्यता , र क्षमता ले प्राथमिकता पाउनु पर्दछ र पाएको छ भन्ने विश्वाश नागरिक हुनु पर्दछ । यस्ले समाज को बिबाद र द्वन्द लाई समाप्त गर्न सहयोग पुग्दछ । निस्पक्ष व्यबहार ले योग्य नागरिक अबसर र हक बाट बन्चित हुने छैन र उस्ले पनि त्यस्तै व्यबहार दिने छ र नागरिक को राज्य प्रती विश्वाश र भरोषा बढ्न जान्छ । निस्पक्ष भावना को बिकास हुने उच्च शिक्षा को जरुरी हुन्छ ।

घ - आदर सम्मान - मानब मानब बिचमा कुनै पनि कारणको बिभेद हुनु हुन्न र सबले सबलाई आदर र सम्मान गर्नु पर्दछ भन्ने भावना बिकसित हुने शिक्षा को जरुरी छ । यो प्रसँगमा फेरी जापान को उधाहरण; कुनै कम्पनी वा बिभागको प्रमुख होस कि निम्न स्तरको कर्मचारी दुबैमा एकले अर्का लाई भेट्दा प्रतिस्पर्धा जस्तो हुन्छ, कि कस्ले पहिले नमस्कार गर्ने , त्यती मात्र होइन त्यहा कुक्कुर , बिराला र पहाड (फुजी ) लाई समेत आदर पूर्वक जि ( शान ) जोडेर सम्बोधन गर्दछन । बाबु आमाले सन्तान लाई गर्ने आदरबाट सुरु हुने यो किस्सा समाज र राष्ट्र को गहना बनेर रहेको हुन्छ । एकले अर्का लाई गर्ने सम्मानले नै एक अर्कामा बिस्वास र सामिप्य बढ्दछ । प्रत्यकले प्रत्यकको अस्तित्व स्विकार्नु नै सम्मान र आदर गर्नु हो यस्ले प्रेम भाब बढ्दछ , र समाज का साना तिना समस्या बिबाद स्वत: हट्न जाने मात्र होइन ठुला समस्याको निकास पनि सजिलै निस्कन्छ । अरु लाई आदर सम्मान गर्ने मानसिकता ले समाज र देश लाई नै सुखी बनाउन सक्तछ । हाम्रो देशमा खड्किएको अर्को समस्या यो पनि हो कि हामी अरुको सम्मान र आदर गर्न कन्जुस्याइ गर्दछौ ।

५ - सकारात्मक सोच - सभ्य ब्यक्ती र देशको लागि प्रत्यकमा सकारात्मक सोच हुनु जरुरी छ । सकारात्मक सोचले ब्यक्तीमा भएको आशंका , अबिश्वास , हतोत्साहिपन , र आडम्बर लाई निस्तेज गरि भरोसा , बिस्वास , प्रोत्साहन र नम्रता लाई बढवा दिन्छ अनी आशंका र अविविश्वासमा चालिने कदम बाट हुने दु:खद परिणाम् बाट जोगाइ समयित र सन्तुलित व्यबहार गर्न उत्पेरित गर्दछ । समाजको प्रत्यक ब्यक्तीमा अरुको लागि राम्रो गरि दिने र खराब गर्न टाढै बस्ने सोच भएमा अरुले अनाहकमा दु:ख पाउने छैनन । दुस्ट्याइ र छल कपट्याइलाई हटाउन बच्चा लाई सुरु देखी नै समाज सेवा , मानविय सेवा र सहयोगका बारेमा शिक्षा दिनु पर्दछ । ''मेरो कारणले अरु लाई अनाहकमा दु:ख नहोस ''भन्ने भावना को बिकास गर्ने शिक्षा जरुरी छ ।

६ - सहयोगि - समाज र देशको लागि प्रत्यक नागरिकले अर्कामा सहयोगात्मक भावना र व्यबहार देखाउने प्रबृतिको बिकास हुनु पर्दछ । सहयोगले सबै अनुग्रहित हुन्छन एक अर्कामा मैत्री भाब बढ्दछ सहयोगको बदला सहयोग पाइ सबै को भलो हुन्छ, एक अर्कामा द्वेष भाब रहन्दैन । सहयोगि भावना बिकास गर्न पनि बच्चै देखी घर , शिक्षक , नातागोता , साथी बिच दैनिक कार्यमा मौका पाउने बितिक्कै सहयोगको लागि अगाडि बढने भावना मनमा बिकास गर्न तदनुरुपको शिक्षा पाठ्य पुस्तकमा राख्नु पर्दछ ।

बिगत केही समय देखी नेपाली समाजमा उदन्ड , आमानविय र मानब सभ्यता माथि नै धब्बा लाग्ने गरि हींसक व्यबहार बढ्दै गएको छ । मानिस लाई मलमुत्र खुवाउनु , कुटेर , जलाएर मार्नु , घर र बस्ती बाट निकाला गर्नु , घटनाको अनुसन्धान मा पुग्नु भन्दा पहिले नै भिडले न्याय खोज्नु , निर्दोषले सास्ती पाउनु दैनिकी भै सकेको छ । यो प्रबृति बाट मुक्त हुन नागरिक समाज , राजनैतिक दल , पत्रकार , शिक्षक र ब्यक्ती ले आ आफ्नो जिम्मेवारीलाई महशुस गरी यस्तो प्रबिर्ती बन्द गर्ने प्रती बद्धता नगर्ने हो भने हामी नेपालीले बिश्व सामु लज्जित हुनु पर्ने छ ।