June 19, 2009

विषाक्त वर्तमान

रापिलो रबरको दुर्गन्धमा
सडकभरि क्रान्ति पोखिएको छ
घरेलु हतियार बोकेका आखेटहरूको हातमा
झिरले 'चमत्कार' जो खोपिएको छ,
आजकल , संयम अपनाउने कुरै नगर्नू सखे
देशवासीको माथिंगलभरि आक्रोश रोपिएको छ।

द्वन्द हाम्रो परिचय भयो, हिंसा त साधन बनेको छ
पहिले ठोक्नुस् अनि खोज्नुस, नीतिले यही भनेको छ
वैमनस्यको सूद खोज्ने यो कस्तो मौसम आएको छ?
ताण्डव औ विभत्सताको मादकता जो छाएको छ।


इतिहासका प्रवाहहरू , अन्तै मोड्ने प्रयास हुन थालेको छ
जात, भात , नाक र नक्सामा देशको लिलामी हालेको छ
घृणा , जुगुप्सा र अविस्वासको दावानल सर्वत्र बालेको छ
सभ्यताको यो युगमा ,यही बिषाक्त वर्तमानले अँगालेको छ।


4 Comments:

एकलव्य ( Eklavya) said...

क्षमा चाहन्छु, मैले अक्सर लेखहरू सिधै दौँतरी भित्र पसेर त्यहीँ टाइप गरी पोष्ट गर्ने हुँदा कहिले काहीँ चित्त नबुझेर पोष्ट नगरी छाडिएका पनि हुन्थे । त्यही क्रममा छोडिएका दुई 'कविता' नामका ख्रेसाहरू यहाँ पोष्ट भएछन् । यो पोष्ट गराइका लागि म धन्य त छँदैछु साथै यी कविता बन्न नसकेका काँचा प्रयासहरूको रुपमै लिइदिनु हुन अनुरोध छ। दौँतरीको वर्तमानसम्मको यात्रामा नेपालीयनजी र ठरकीदादाको अतुलनीय योगदानलाई धेरै धेरै प्रणाम ! आशा छ केही समयमा नै दौँतरीले त्यो उचाइ बनाउन समर्थ हुनेछ जुन यसको हिजो र आजले लक्ष्य गरिसकेको छ । बरू प्राविधिक ज्ञान र सिपका धनी साथीहरूले छुट्टाछुट्टै विधाका लागि छुट्टाछुट्टै प्रवेश गर्न मिल्ने खालको कुनै आयाम दिने प्रयत्न गर्ने हो कि ! कि यस्तै ठीकै छ ? जे होस् हामी हाम्रो राम्रो प्रयासमा धेरै अघि बढिसकेका छौँ, खाँचो छ भने केवल यसको गुणात्मक निरन्तरताको मात्र ।

सबै योगदानी योगदाताहरूमा सहस्र धन्यवाद अनि अनि हामी सहस्र ( एक हजार) पोष्टको उपलव्धि साँधमा पुग्न खोज्दाको रोमाञ्चपूर्ण बधाइ सबै साथीहरूलाई !!!

ठरकि दादा said...

बर्तमान यथार्थको सटिक चित्रण। सोचेर ल्याउँदा स्थिति कहाली लाग्दो छ। अझ डर लागेको के भने यो बिषाक्त बर्तमान 'बर्तमान'मै टुङ्गे हुन्थ्यो । कमसेकम भविष्य बिषाक्त नहोओस ।

प्रबिण थापा said...

nice poem

Luna said...

मुलुकको बर्तमान पिडालाई शब्द मार्फत मार्मिक रुपले प्रस्तुत गर्नु भो एक्लब्य जि । मुटु छोयो हरफ हरफ ले ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !