May 18, 2009

राष्ट्रियताको पुरानो अचार, निर्वाचित जन-लठैत र अनन्त शासनको सूत्र ।

Captionजब-जब देशको स्वार्थ भन्दा दलको लक्ष, र दलको सिद्धान्त भन्दा नेताको हठ हावि हुन्छन, तब तब राष्ट्रले अधोगतीको बाटो पहिल्याएको ठोकुवा गर्दा र देश असफलता तर्फ लम्केको उल्टो गिन्ती गर्दा फरक पर्दैन ।

राष्ट्र, जनता वा राष्ट्रिय स्वार्थ भन्दा, व्यक्तिगत रिस ईवी, कुण्ठा र नितान्त व्यक्तिगत आवेग हावी भएर संबिधान बनाउने एकमात्र जनादेश पाएर गठित एउटा मर्यादित संस्था, मूल कार्यलाइ नै थाँती राखेर, देशको सरकार बनाउने र गिराउने अत्यन्त कलुषित कार्यमा लिन भएको यो भन्दा घृणित नमूना विश्वकै ईतिहासमा कहिल्यै नभएको यो अबस्थामा, कसैले आशाका केहि किरण देखेन भने त्यो अनौठो होईन पनि ।

पृष्ठभूमिमा धेरै कुरा भए पनि कटवालको निश्कासन पछि चुलीएको लथालिंग स्थिति र आफु पनि नछाडने र अर्कोलाई पनि नदिने बाँदरबादका कारण अस्तव्यस्त भएको देशको समस्याको मुख्य जिम्मेबारी भने हालको कामरेड सरकारले नै लिनु पर्छ ।

गजब छ हाम्रो देश, देशका सबै नेता र दल संबिधानप्रती प्रतिबद्द अनी संबिधानको संरक्षणमा दत्तचित्त, अनी सबैभन्दा बढी संबैधानिक खिचलो पनि हामिकहा नै । कटवालको निश्कासन-थमौती र माओबादीको बहिर्गमन पश्चात देशको राजनैतिक रंगमञ्चमा देखिएको गाईजात्रे प्रहसनका सबैभन्दा हाँस उठ्ने सम्बाद भनेको यहि ‘सबै गुट र दल अहिले संबैधानिक शासनकोलागी लड्नु’ नै हो !

कटवाललाई हटाउन खोज्नु संबैधानिक, कटवाल नहट्नु पनि संबैधानिक, मन्त्री परिषदको बैठक बोलाएर एक दलीय हठ लाद्नु संबैधानिक, राष्ट्रपतिलाई वाईपास गर्नु संबैधानिक अनि राष्ट्रपतिले पनि आफैं कटवाललाई थमौती गर्नु पनि संबैधानिक । मलाई लाग्दैछ आजकल सायद नेपालमा मान्छे पिच्छेको भिन्दा भीन्दै संबिधान छ । हैन भने दुई विपरित कार्य कसरी दुबै संबिधान सम्मत हुन सक्छन ? ।

मलाई लाग्छ यि सबै प्रकरणमा माओवादीको सत्ता वहिर्गमन मात्रै बास्तबमा संबैधानिक छ। कस्सो, ‘मन नपरेको राष्ट्रपतिलाई किन राजीनामा दिने, हामी जनतालाई नै राजिनामा दिन्छौं भने र खुलामञ्चमा गएनछन हाम्रा जनकामरेड !’ ।

जे होस माओबादी अल्पमतमा परिसकेको थियो र सरकार नछाडे ‘निकालीने’ स्पष्ट थीयो। त्यहि बेलामा कामरेडले फेरी सरकारमा छिर्ने बेलामा पोको पारेर भँडारमा मिल्काईसकेका ‘राष्ट्रवाद’ को पुरानो अचार निकाले: “हामी हस्तक्षेप सहन सक्दैनौ” । बिचरा कामरेड!, उनको यो भनाई दुई दिन पनि ‘हिट’ हुन पाएन । ठाडो हस्तक्षेपको लागि गरीएको उनको अनुनय बिनय तिरस्कृत भएपछि पो उनलाई यो पुरानो अचार याद आएको रहेछ भनेर पत्र पत्रीकामा यत्र तत्र छापीए ।

पुरानो अचार दुई दिन पनि नटिके पछि कामरेडहरुले नयाँ जुक्ती निकाले “हामी संसद नै सुचारु हुन दिंदैनौं, त कसरी बन्छ सरकार ?” अनी फेरी शुरु भयो मर्यादित संसदमा पुगेका सभासदलाई लठैत बनाउने खेल ।

एउटा कुरा भने मान्नै पर्छ, हाम्रा निर्वाचीत लठैतहरु संबिधान लेख्‍न जानुन, नजानुन, संसद अबरुद्ध गर्न माहिर छन ।

बिचमा, जननिर्बाचित लठैतहरुले संसद अबरुद्ध गरी रहँदा फेरी कामरडकै दलका एकजनाले बोल्न मौका पाएको बेलामा के बोल्नु पर्छ भन्ने हेक्का नराखेर हो वा ‘जे बोल्छौं त्यो कहिल्यै गर्दैनौं’ भन्ने प्रमाणीत गर्न हो, भिडको माझमा महानवाणी गरिदिए : माओवादीले संसद अवरोध नगर्ने । मैले सोचें दूर्घटनावस हो या के हो, यो बुद्दी त छिरेछ, बिरोध गर्ने धेरै बाटो छ, संसद नै अबरुद्ध गर्नु पर्ने के जरुरत छ र? । कमसेकम अब संसद चल्ने भयो, तर आज बिहानको खबरले एकचोटी फेरी कामरेडहरुको बोलीको ठेगान हुन्न भन्ने प्रमाणीत गरेको छ । आजको नागरिकको अनलाईन संस्करणमा प्रचण्ड कामरेडको आज पनि संसद अवरुद्ध पार्ने वारेको वक्तव्यको पूर्ण पाठ नै छ ।

ल कामरेड, देश जतासुकै पुगोस, आफ्नो दृण निश्चयलाई नछाड्नुस, जनलठैतहरु परिचालित गर्नुस , अझ अरु पुरान अचारहरु झिक्नुहोस र राजीनामा दिए पनि संसद चल्नै नदीएर नयाँ सरकार गठनलाई बैधानिकता नदीई यही 'संबैधानिक प्रक्रिया' बाट अनन्त समयसम्म आफ्नै सरकार चलाउनुहोस । दुई ठाँउबाट हारेको मान्छे प्रधानमन्त्री हुन मिल्ने देशमा, सत्ता छाडेको सरकारले पनि अनन्तकालसम्म सरकार चलाउँदा केहि फरक पर्दैन ।



May 17, 2009

म छुच्चो

शेखर ढुङेल
०५-१५-२००९
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्याहो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
सुन्दर सैलिमा नेता का
प्रससा र भजन लेख्नु को साटो
पाइलै पिच्छे तिन्का गल्ती को
उछ्छीत्तो गरी लेख्ने भो
मेरो कलम को थुतुन
ज्यादै चोथाले भो
महानता को लेपन् पोती
स्तुती को दोसल्ला ओढाउनु को साटो
कटाक्ष अलोचना अनी
कमजोरी को चर्चा मात्र लेख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
फुल को सुगन्ध र
रङ को बर्णन को साटो
पेचिला काडा अनी
अस्थिर पत्ता को
तथ्य मात्र देख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
माथि माथि पुग्न आफ्नै
भबिस्य सोच्नु को साटो
समाज का अभाब , बिक्रिती को
भडास ओकल्ने मात्र भो
खोइ किन किन
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
अफनै सुख र संसार मा
नरमाइ देश र समाज को
लागि हित चिताउछु
भन्दा भन्दै
तित्रा को मुख जस्तै रे
सबै को बैरी र छुच्चो पो भो


हीजो राती त नीन्द्रा परेन

देवी राम् लामीछाने
Denmark

हीजो राती त नीन्द्रा परेन
चाहेको थीएँ हात चलेन
बिबस भएँ अनी लादीएँ तर नीन्द्रा परेन
के हो यो पागलपन् त होइन ?

याद् तीम्रो अती भो
यहा त मेरो दुर्गती भो
फर्कीन्छु प्रीय भोली नै आई बस् कुरेर देउरालीमा
सपना त मेरो ठुलो नै हो
चाहाना तीम्रो पुरा गरन सकीँन
खोइ प्रीय म त बीदेशमा बस्नै सकीँन
काममा होस या कोठामा, तन-मन छ तीम्रो पासमा
तीमीले आखाँमा आँशू बहाएको
अनी फोनमा रुदै कराएको
म त अब सुन्न सक्दीन् तीमी बीना बस्न सक्दिन ।



May 16, 2009

तिम्रो मीठो सम्झनाले

आचार्य प्रभा
(अमेरिका )

तिम्रो मीठो सम्झनाले कयौँ पटक झस्किए म
त्यही नमीठो पीडाले घाऊ बनी चस्किए म ।

पल, पल आउँछ याद ,बाडुलिको हिक्का बनी
तिम्रो तस्बिर अङालेर केही समय मस्किए म ।

कल्पनामा आउछौ तिमी आँखाभरी मात बोकी
तिमीलाई दंग्याएर कहिले कही ठस्किए म ।

जब बोल्छौ भावनामा तिमीभित्र हराइदिन्छु
यथार्थमा नपाउदा निरश बनी खस्किए म ।



भारतीय निर्वाचन परिणाम र नेपाली राजनीतिमा यसको असर

एक महिना भन्दा बढी समय लागेर सम्पन्न भएको संसारमै सबैभन्दा ठूलो संसदीय निर्वाचनको मत -गणना एकै दिनमा लगभग सकिएको छ । सम्पन्न निर्वाचन परिणामले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई सन २००४ मा उसले हासिल गरेको १४५ सिटको तुलनामा ६० भन्दा बढी सिटको बढौति दिएको छ भने कांग्रेसले नेतृत्व गरेको युनाइटेड प्रोग्रेसिभ एलायन्सलाई संसदमा पूर्ण बहुमतको सरकार बनाउन चाहिने २७२ स्थानको नजिक पुर्‍याईदिएको छ। अहिले नै कांग्रेस गठबन्धनमा रहेका पार्टीहरूले २६१ स्थान जितेका छन् ।

चुनाबी सर्वेक्षणहरूले कांग्रेस र भारतीय जनता पार्टीका अलग अलग गठबन्धनका बीचमा कडा प्रतिस्पर्धा हुने र अबको संसद झनै अस्थायी प्रकारको हुनेछ भन्ने दावा गरे पनि निर्वाचन परिणाम त्यो भन्दा अलग देखिएको यो सन्दर्भमा , निर्वाचनले कांग्रेस पार्टीको पुनरुत्थान मात्र गराएको छ । दक्षिणपन्थी मानिने हिन्दूवादी भारतीय जनता पार्टीले सन् २००४मा आँफूले प्राप्त गरेको १३८ स्थानहरू घटाएर ११६ मा झरेको छ भने उसको सरकार गठन गर्ने बहुमतमा पुग्ने उद्देस्यले नराम्रो धक्का खाएको छ किनभने उसको एलायन्सका साथिहरू समेत बिजेपीले १५७ सिट मात्र जित्न सकेको छ ।

वास्तवमा अहिलेको निर्वाचनले मध्यमार्गमा रहेर कांग्रेसको सरकारमा जोडघटाउ र भागबण्डाको खेलमा लागिरहने लालु यादव, राम विलास पासवान जस्ता राजनैतिक खेलाडीहरूलाई आफ्नो हैसियत अती कमजोड रहेको देखाइदिएको छ भने भारतीय बामपन्थी पार्टीहरूले नराम्रो धक्का खाएका छन् । सन् २००४ को निर्वाचनमा ५७ स्थान पाएको बामपन्थीहरूको सिपिआइ ( एम) र सिपिआइ पार्टीहरू नराम्ररी पछारिएर २४ सिटको तालिकामा झरेका छन् । बामपन्थी पार्टीहरूको वर्चस्व रहेको पश्चिम बंगालमा समेत कम्युनिष्टरूले ३२ वर्षपछि बहुमत लोकसभा स्थानहरू गुमाएर पछारिएका छन् भने दक्षिणको केरलामा पनि बामपन्थी पार्टीले पराजयको धक्का खान पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसलाई निर्वाचनको अन्तिम समयमा धोका दिने गठबन्धनका दलहरू समेत यो निर्वाचन परिणामले बढारिन पुगेका छन् भने कांग्रेसले जो र जुन दलसंग गठबन्धन गरेको थियो ती सबै फलदायी भएर प्रकट भएका छन् ।

पछिल्लो निर्वाचन परिणामको सफलताको श्रेय अहिले राजीव गान्धिका पुत्र युवा नेता राहुल गान्धी , राजीवकी विधवा सोनिया गान्धी र सफा, विद्वत र इमान्दार छवी बोकेका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको छ भने , मनमोहन सिंह जवाहरलाल नेहरु पछि लगातार निर्वाचित बन्ने दोस्रो प्रधानमन्त्री बन्न पुगेका छन् । जहाँसम्म सरकारको नेतृत्वको प्रश्न छ , भारतीय कांग्रेस भित्रका परम्परावादी नेहरू-गान्धी परिवारका विश्वासपात्रहरू भने अहिले नै राहुल गान्धीलाई यो सफलताको एकल श्रेय दिँदै उनैलाई प्रधानमन्त्री बनाउनु पर्ने आवाज पनि उठाउँदै छन् । यस्तोमा मनमोहन सिंहको नया कार्यकालको ५ वर्ष पूरा नहुँदै बीचमा राहुल गान्धीलाई प्रधानमन्त्री बनाइयो भने पनि आश्चर्य मान्नु नपर्ने हुन सक्छ ।अहिले नै राहुल गान्धी क्याबिनेट मन्त्रीको रूपमा आउने कुरा लगभग निश्चित भैसकेको छ । यसरी दक्षिण एशियाको राजनीतिमा परिवारवादको प्रभावको वरिष्ठता फेरि प्रमाणित भएको छ । किन भारतीय जनताहरू , नेहरू-गान्धी परिवार भन्दा पर पुगेर लोकतन्त्रको भविष्य देख्न चाहन्नन् भन्ने प्रश्न फेरि उजागर बनेको छ ।

जहाँसम्म भारतीय नया राजनैतिक तस्वीरले नेपालमा कति प्रभाव पार्ला भन्ने प्रश्न छ त्यो खासै परिवर्तन हुने देखिन्न । प्रणव मुखर्जीको बिदेश मन्त्रीको बिभाग अब अहिलेका वाणिज्य मन्त्री कमलनाथले लिने चर्चा चले पनि, कांग्रेसको बिदेश नीति सम्बन्धी कुरामा धेरै परिवर्तन आउने स्थिति छैन । क्षयीकरणको मारमा मर्माहत बामपन्थीहरूको प्रभाव कमजोड बनेको हुँदा , उनीहरूले केही अघिसम्म कायम राखेको प्रभाव भने कमजोड बन्ने देखिन्छ । तर पनि, अहिलेकै सरकारको निरन्तरता भएको हुनाले र तुलनात्मक रूपमा ५ वर्षे कार्यकालको स्थायी सरकारको स्थिति बनेको हुँदा, भारतीय कांग्रेस पार्टीको बिदेश नीति नै नेपाल मामिलामा पनि प्रभावी रहने निश्चित छ । यो नै सन् १९४७ देखि बीचका केही वर्ष छाडेर भारतीय बिदेश नीति रहिआएको छ । तसर्थ, भारतको नेपालप्रति को नीति र प्रभावमा केवल निरन्तरता मात्र देख्न पाइने अनुमान गर्न सकिन्छ ।



May 15, 2009

पार्टीमाथि प्रतिवन्ध लगाउने नया लोकतन्त्र र नया संविधानको गर्भपतन

एकीकृत नेकपा माओवादीले नयाँ बन्ने संविधानमा राजनैतिक दल खोल्न बन्देज लगाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ। मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मौलिक अधिकार उपसमितिले तयार पारेको अवधारणापत्रको मस्यौदामा माओवादी सभासद् हेमराज भण्डारीले राजनीतिक दल खोल्ने स्वतन्त्रतामाथि बन्देज लगाउने प्रावधान राख्नैपर्ने अडान लिएपछि यो प्रावधान राखिएको हो। माओवादीले गरेको प्रस्तावमा ‘दलाल, नोकरशाही, पूँजीवादी र सामन्त वर्गको पक्षपोषण गरी प्रतिगमनको सेवा गर्ने र अग्रगमनलाई अवरुद्ध गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउन कानून बनाउन पाउने’ उल्लेख छ।

माओवादीले साम्राज्यवाद विस्तारवादको पक्षपोषण गरी राष्ट्रिय हितविपरीत काम गर्ने र नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुर्‍याउने दललाई पनि प्रतिबन्ध लगाउनु मौलिक हक विपरीत नहुने उल्लेख छ।

माओवादीको प्रस्तावको प्रतिरोध गर्दै नेपाली कांग्रेसले पनि ‘एकदलीय अधिनायकवाद सर्वसत्तावादको पक्षपोषण गर्ने वा त्यस्तो व्यवस्था स्थापनाको प्रयत्न गर्ने राजनीतिक दल वा मातहतमा सैन्य वा अर्ध सैन्य संरचना खडा गर्ने वा सैन्यवादी क्रियाकलाप संचालन गर्ने’ राजनीतिक दललाई प्रतिबन्ध लगाउनु मौलिक हक विपरीत नहुने प्रावधान राख्न प्रस्ताव गरिएको छ।

कांग्रेसको प्रस्ताव छ ‘राज्यविरुद्ध राजनैतिक विद्रोहको तयारी वा प्रयत्न वा घोषणा गर्ने कार्य राजनीतिक दल वा मातहतका निकायमार्फत् राज्यका संविधान वा कानूनद्वारा गठित संरचनाको समानान्तर हुने गरी कुनै संरचना वा संगठत खडा गर्ने राजनीतिक दललाई बन्देज गर्न सकिने प्रावधान राख्न प्रस्ताव गरेको छ।

साभार: १६ मे को नागरिकन्यूज डट कम

कथित रूपमा चमत्कारिक गतिले समाधानतर्फ बढेको भनिएको नेपाली राजनीति र शान्ति प्रकृया पुन: धरापमा परेको महशूस हुँदैछ । हतियारवद्द छापामार दस्ता शिविरमा राखेर चुनाव लडेको र ठूलो दल बनेको माओवादीको सरकार अल्पमतमा परी नैतिकताको चेपुवामा राजीनामा गरेर तर्किएको त छ तर राजनीनामा दिएपछि पनि राजनैतिक नियुक्ति र अरबौँ रूपैँया अन्धाधुन्द खर्च गर्ने निर्णय गराउँदै पार्टीका समर्थकहरूलाई लुटाउने बेतोड अभियानमा जुटेर नैतिकताका नया उदाहरण र परिभाषाहरू सिर्जना गर्दैछ । क्रान्तिकारी तरिकाले देश लुट्दा आलोचना पनि मन्द सुनिएका छन् ।

सरकारमा रहेर बिद्रोहको हिंसात्मक हर्कतबाट पटक्कै पछाडि हट्न नखोज्ने बरू अरू राजनैतिक दल र समूहलाई पिटेर, कुटेर, लघारेर वा खेदेरै आफ्नो दलको परिभाषा अनुसारको लोकतन्त्र कायम गर्ने चाहना राख्ने माओवादी दल आफ्नै घमण्ड र मैमत्याइँले अरूको नजरमा गिरेको छ । तर, ऊ स्वयं यो स्वीकार गर्न तयार छैन । ऊ सम्झौता गर्दै, तिनै सम्झौतालाई धोबीको मुङ्ग्रोले चुटेर धज्जी उडाउन लागिपरेको छ । अव्यवस्था, अस्थिरता र अराजकताबाट आफ्नो अभीष्ट अनुसारको राजनैतिक दिशातर्फ बढ्न सकिन्छ भन्ने उद्देश्यले चलेको माओवादी, कांग्रेस र एमाले पूर्णत: नेस्तनाबूद हुनुमा आफ्नो जनगणतान्त्रिक यात्राको सफलता देख्छ । त्यसैले ऊ पेल्न चाहन्छ र यो पेलाइको तरिका मात्र उसको नजरमा सही सूत्र हो । उसले गठबन्धनको राजनीतिको मर्मलाई ख्याल नगरी प्रधानसेनापति प्रकरणमा निर्णय गर्न चाह्यो र यसो गर्दा सरकार ढले ढलोस् , केही समय पछि फेरि फिर्ता भैहालिन्छ भनेर मुठभेडको राजनीतिलाई अंगिकार गर्न मन परायो । उसको नजर र विचारमा आफ्नो दललाई ठूलो पार्ने र अरूलाई सानो बनाउने योजनामा यही तरिका जायज छ ।

उता सबैभन्दा ठूलो दललाई परै राखेर भए पनि सरकार गठन गर्ने जोड घटाउमा कांग्रेसी र एमालेहरू झिंगाका प्वाँखमा दलिएको नौनी कोतर्दै छन् । कथंकदाचित भैहालेमा, यसरी जुटेको बहुमतले सिर्जना गर्ने सरकारको दिशा र दशा के हुने होला अहिले नै सहज अनुमान गर्न सकिन्छ । यही मेसोमा फोरम नामको दलले खेलेको च्याँखे खेल लाजमर्दो रूपमा नांगिएको छ। एउटा पक्ष कांग्रेस-एमाले गठबन्धन पट्टि र अर्को धड माओवादीतिर फर्केर फोरमले आँफैलाई फोरिरहेको यो माहौलामा स्थायी सरकारको कल्पना केवल सोमशर्माको सातुको कथा नै बन्ने निश्चित छ ।

माथिको उद्दरणको समाचारलाई सत्य ठान्दा बुझ्नु पर्छ -माओवादी निषेधको राजनीति चाहन्छ । उसको प्रतिवादमा कांग्रेसले पनि निषेधको दफा संविधानमा राख्न उद्यत देखिएको छ। नेपाली राजनीतिको सेरोफेरो यही एक-अर्कालाई निषेध गरी आफ्नो दलको कद बढाउने चाहनाबाट निर्दिष्ट छ भने नेपाली लोकतन्त्रका दिनहरू आशालाग्दा अवश्य छैनन् । कमसेकम कांग्रेसको नया संविधानको प्रारूप दस्तावेजमा दलमाथिको प्रतिबन्धको परिकल्पना गरिइको छैन र उसले सिधै यस्तो व्यवस्था भएको संविधान चाहेको छ भन्ने आधार देखिन्न । एमालेले पनि यस खालको राजनीतिको वकालत गरेको कतै पाएको छैन । तर माओवादी
जनगणतन्त्रवादी हरूले अरू दलहरूलाई साम्राज्यवादी आदि भएको आरोपमा प्रतिबन्ध लगाउने गरी एकदलीय लोकतन्त्रको आकांक्षा नै राखेर संविधान बनाउने नियत राखेका छन् भने उनीहरू अझै पनि चीन, नर्थ कोरिया र क्यूबाली मोडेलको राजनीतिप्रति आशक्ति राख्छन् । यो मोडेलले बहुलवादी राजनीतिको विश्वमान्यतालाई सिधै नकार्ने गर्छ ।

हुनत गठबन्धनको सरकार चलाउँदा पनि मेलमिलाप र उत्तरदायित्वको राजनीतिलाई दुत्कारेर आफ्नो आग्रहमा पेलेर अघि बढ्ने नीति लिनेहरूले आँफूले नपाए अरूलाई पनि सुखले खान दिन्न भन्ने सोच्नु नेपाली राजनीतिमा त्यति अनुचित नठानिएला । फोरमका उपेन्द्र यादवका काँधमा बन्दूक राखेर काङ्माले ( काङ एमाले) को शिकार गर्न खोज्नु पनि अनौठो भएन । यस्तोमा "संविधान बने हामीले चाहे जस्तो बन्छ, हैन भने बन्दै बन्दैन, बन्नै दिइन्न" भन्ने कामरेड बाबुराम भट्टराईका दावाहरू दिनप्रतिदिन सत्यताका निकट हुँदै छन् । कसैका शब्दमा ६०१ जनाको जातिय विश्वविद्यालय रूपी संविधानसभाले संविधान जन्माउन गर्भाधारण गरेको एक वर्ष बितिसक्दा, यसले कि त बिनासको मुशल जन्माउने छ अथवा नया संविधानको गर्भपतन भैसक्यो, यो जन्मने कुनै लक्षण नै छैन भन्नै पर्ने हुन्छ । निषेधको राजनीतिले निर्देशित राजनिति बोकेका पाखण्डीहरूले रटेको जनताको जनगणतन्त्र वा लोकतन्त्रको हश्र के हुने हो बुझिनसक्नु छँदैछ । जनताको संविधान बनाउने नाममा यो भन्दा भद्दा मजाक के हुन सक्ला र ?