May 13, 2009

शब्द हरु अलग

शेखर ढुङेल
०५-१०-२००९
शब्द हरु अलग अलग
भाबना मन को एउटै हो
जस्ले छोडि हिंडेपनी
बिछोड आखिर बिछोड नै हो
छाती मा मुटु बेग्ला बेग्लै
धडकन् सबको उस्तै हो
तिमी लाई दुखोस कि मलाई
पिडा भोग्ने उस्तै हो
घाऊ होलान साना ठुला
बग्ने रगत त रातै हो
अचानो बनेर हेर एक दिन
चोट सब लाई एउटै हो
शब्द हरु अलग अलग


May 12, 2009

मिसहरु के भन्छन?

भन्दा मिस नेपाल, मिस अमेरीका भनिन्छ, मानौं उ नै त्यो देशको नं १ बुद्दी भएकी सुन्दरी हो। त्यस्ता प्रतियोगितमा जाने सुन्दर त हुन्छन नै तर बुद्दी अथवा ज्ञान नं १ ...., अली हजम भएन है। सधै उनिहरुको ज्ञान भने ५ कक्षामा पढ्नेहरुसंग दाँज्न पनि लाजै मर्दो हुन्छ। केही पहिले मिस साउथ क्यरकोलाइनाले त्यस्तै तमासा गरेकी थिइन। आज भने मिस प्यानामा Miss Giouse Cozzarelli ले चिनका कन्फयुस अर्थ कन्फ्युजनको जन्मादाता भनेर ब्याख्या गरेकी छन तथा जापान र चिनलाइ पनि एउटै देश भन्न खोजेकी छन। खासमा कन्फयुसको अर्थ हो "सोच बिनाको ज्ञान बेकार हो"। साथै केही पहिल मिस सुन्दरीको बारेमा लेखेको कबिता याद आयो।

"दुइ र दुइ जोड्दा औंलाले गन्छे
कांहा पढाउँछे कुन्नी मिसनेपाल भन्छे"

ल यो युटुब क्लीप हेरेर तपाइ आफै उनीको सुन्दरता र बुद्दीमताको ब्याख्या गर्नुहोस।




भन्छीन आज

प्रबिण थापा

भन्छिन आज माया गर्न जानिन रे मैले
उनी माथि कर्के नजर हानिन रे मैले

लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा
मेरो समिप आउ भनी तानिन रे मैले

जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी
प्रिती गास्ने नौलो चलन धानिन रे मैले

भुलेर उनको मुस्कानमा स्पर्श बिनानै
कुनै क्षण अगालोमा बानिन रे मैले

जल्दो बल्दो जवानी,त्रिष्णा मनको मेटाउन
जाबो एक रात सगै काट्न मानिन रे मैले

नोट:वास्तवमा मैले नारी हिर्दय माथि अन्याय गर्ने मनसायले यि हरफहरु कोरेको होइन। माया त आखिर माया नै हो चाहे पुरुष चाहे नारी सबैका भाबनाहरुमा समानता पाईन्छ होइन र ? मात्र यो एउटा सिर्जना सम्झनु हुनेछ भन्ने आशा राखेको छु र यदी कसैको चित्त दुखाएछ भने माफी पाउ है।


कहिले आउलाँ त्यो दिन

अनुप गुरुगं
हाम्रो भविष्य सुन्दर बनाउनको लागि हाम्रो पुर्खाले पनि धेरै रगत बगाएका छन् । कहिले २००७ सालमा राणा शासन अन्त्यकाको लागि त कहिले २०४६ सालको जनआन्दोलन र जनआन्दोलन भाग २ को लागि रगत बगाएका छन् आपुनो देशको लागि र हामीले पनि कहिले सम्म रगत बगाउनु पर्ने थाहा छैन । हामीहरु आन्दोलन गर्ने बेला सबै मिल्छौ । अनि हामी देश बनाउनको लागि चाहि किन मिल्दैनौ । के सबै आन्दोलन खाली कुर्सीको लागि मात्र हो र के प्रधानमन्त्रि बन्नको लागि मात्र आन्दोलन गर्ने अनि कुर्सीमा पुगे पछि केही नगर्ने ।

सबै सहमतिमा आएर सहमति गरेर देशको लागि केही गरौ न भन्ने भावाना पनि अलिकति मनमा राखौ न । अनि देश बनाउन तिर लागौ न । अहिले देशमा कतै शान्ति छैन । न कसैले देशको कानुन नै मान्छन् । आजकल त जे गरे पनि बन्द गर्नै बाहैक अरु कुनै बिकल्प नै रोज्दैनन् । बाटोमा केही भयो भने अनि घरमा एक जनालाई केही भयो भने पनि उनीहरु बन्द गर्न अनि तोडफोड गर्न उत्रीन्छन् । उनीहरुले सोच्दैन कि अरुलाई पनि त्यसबाट असर पर्छ भन्ने खाली आपुनो माग पुर्याउनको लागि अरुको अधिकार हनन् मात्र गछैन् । हो आपुनो हकको लागि आवाज उठाउन पर्छ तर त्यो समस्याको समधान सबै बन्दमा नै छ त्यसको केही विकल्प छैन कि हामीले त्यसको लागि केही विकल्प खोज्ने प्रयास नै गरेको छैनौ बन्दले गर्दा हाम्रो देशका अर्थतन्त्र पनि आरालो लागेको छ कति उधोगधन्दा बन्द र धरायसी भएका छन् र कतिको रोजगारी गुमेको छ भने कतिले ज्यान नै गुमाएका छन् । यसरी हेर्दा खेरी आपुनो हितको लागि कतिलाई दुःख दिएका छौ त्यो पक्कै पनि हामी आफैले सोच्न पर्ने बिषय हो । हुन पनि बन्द नगरी सरकारले हाम्रो केही माग नै सुन्दैनन् र आजकल एउटा सानो कुराको पनि माग हामी प्रधानमन्त्री सँग गर्दछौ किनकी जि वि स हरुले केही गर्न नै सक्दैन कि उनीहरुलाई केही अधिकार नै छैन त । उनीहरुलाई पनि अधिकार दिए कसो होला सानो तिनो माग पुराउनको लागि । अब बन्दले मात्र केही हुने वाला छैन । नेपालमा अब बन्द महिनामा १२ दिन बन्द भएन भने पनि अनौठो मान्नु पर्ने अवस्था छ । यो सब हामीले गर्दा भएको हो ।

अब हामीहरु बन्द हडताल छोडेर नयाँ नेपाल बनाउनतिर लाग्ने हा कि देशमा भएको प्राकृतिक सोत्रहरुको सदुपयोग गरेर व्यक्ति धनी हुनु भन्दा देशलाई धनी बनाउने हो कि हाम्रो देशमा के को कमी छ र देशको भएको जलसोत्रलाई राम्रो सँग सदुपयोग गर्यो भने पनि देश धनी बन्छ । अनि देशमा पर्यटकहरुको गन्तव्य स्थान पनि बनाउन सकिन्छ । पर्यटक क्षेत्रबाट पनि हामीले धेरै गर्न सक्छौ । हाम्रो नेपाल सरकारले खाली कर काहाबाट उठाउने भनेर बिदेशीहरुको नक्कल गर्छन् बरु त्यसको सट्टा हामीले विदेशीहरुले कसरी उनीहरुको देशको विकास गरेको छ र कसरी जनताहरुलाई सेवा दिदाँ राम्रो हुन्छ त्यस्तो राम्रो विकासको नक्कल गर्दा कसो होला । अनि देशमा भएको जनशक्तिलाई पनि यो ठुलो ठुलो आयोजनामा मौका दिनु पर्छ । हामीहरु नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्नि सक्षम छन जुन काम गर्न विदेशी कम्पनीले गर्छ ।
अब हामी सम्पुर्ण नेपालीहरु मिली नयाँ नेपाल बनाउनलाई एक अर्काको खट्टा नतानी साथ दिनु पर्छ होला । हाम्रो यो खुट्टा तान्ने बानीलाई हटाउनु पर्छ र अब नयाँ नेपाल बनाउन सबै सँग हातेमालो गरी सम्पुर्ण नेपाली एक भई देशको विकास गर्नु पर्छ ।
(अनुपजी को छूट्टै ब्लग पनि छ)



म दीपेन्द्र वीर बिक्रम शाह

मृदुल
अचानक आज राती मेरा राजकुमार आए
आफुलाइ लागेको सवै कुरा मलाइ बताए
भन्छन मैले नै मेरो परिवार मारें रे
भन्छन आफै मेरा हजुर बुवा मरे रे
त्यो कदापी होइन हुदै होइन
यो त मति भ्रष्ट आफन्तकै खेल हो
त्यस्मा छिमेकीको स्वार्थको मेल हो
मेरा हजुर बुबा महेन्द्र सच्चा देश भक्त थिए।
मित्र राष्ट चीनको अत्यन्त मित्र बन्दै गए।
त्यो मित्रतालाइ देखी नसहने अर्को मित्रले
एकाएक मेरो देशमा नंग्रा गाडन थाल्यो।
राजसंस्थाको बिरुद्धमा नेता भाड्न थाल्यो।
एक बिरो पानमा बिक्री हुने नेताहरु
एकाएक प्रजातन्त्रबादी र गणतन्त्रबादी भए
देशको अमुल्य सम्पदा सुम्पिदै गए।
गान्धीका अबशेषहरुले घ्रृणीत खेल खेले
नेपालीले असैहय दुख दर्द मात्र भुले
मेरा हुजर बुबालाइ सिकार खेल्ने भने
सुनौलीबाट हत्याराहरु चितावनमा हुले।
काठमान्डौमा अशम्भव देखेर तराइमा झारे
त्यही गोली हानी जंगल भित्र महेन्द्रलाइ मारे।
घरकै दुष्टलाइ आफनो बहसमा पारे
मुटुको ब्याथाले मरेको भनेर प्रचार प्रशार गरे
त्यो होइन र का एजेन्टले मारेका थिए।
नेपालको अस्तित्व संकटमा पारेका थिए।
किनकी आफनो माटोमा आंच आउन दिएनन्
सर्वभौकिताको रक्षा गर्ने स्वार्थमा बिकेनन्
अनी मेरा बाबाले पनि त्यही स्वाभीमान अंगाले
कालापानी र सूस्ताको बिरुद्धमा बोले।
त्यही भएर मेरी आमालाइ पम्फा देवी बनाए
हुने नहुने लान्छना लगाएर भ्रम सृजना गरे।
एक कौडीका नेतलाइ प्रशिक्षण दिए
रामराजा प्रशादलाइ बम बोकाएर आक्रमण गरे
त्यति बेला देखी मेरा बाबालाइ मार्न खोजे
किन कि बाबाले पनि चीनसंग समधुर सम्बन्ध बढाए।
त्यही कारण आपसमा नेता लडाए ।
मलाइ थाहा छ हामीलाइ कस्ले मारेका
त्यो बेलाको प्रधानमन्त्रिको अनुमति लिएर
दरबारमा राती प्रवेश गरेका थिए।
देशमा कालो माकुरको जालो बुने
मेरा आफन्त भनाउदाले साथ दिए
हत्याराहरु राती हेलिकप्टरमा आए
मेरो मुहारसंग मिल्ने मुकुन्डो लगाए
अनी पहिले मलाइ मेरो कोठामा मारे।
अनी भटाभट मेरै परिवारलाइ मात्र छानी छानी मारे।
कस्तो अचम्म म मरे पछि पनि मेरो परिवार मार्न सक्छु
सव सरासर सनियोजित षडेन्त्र हो।
हामी त सिद्धियौ हाम्रो राजसंस्था पनि सिद्धयो
तर मलाइ पिर छ कतै देश पनि सिद्धिन्छ की भनेर
किन की नेताहरु दरबार जानु भन्दा त
आजकाल लैनचौर जान बढी रुचाउछन।
स्वयत्त राज्यको माग गर्दै कुरिल्न्छन इसारामा
दिमाग र मन पनि उतैबाट भरेर सदन पुग्छन।
देशमा अस्थिरता भए पछि सिमा च्यापिदै आएकोछ।
पुर्वको टिस्टा देखी पस्चिम किल्ला काकडा
क्वाप्प खाएको स्याद अझै बाकी छ उस्मा
नेताहरु दिल्ली ढौडनु त्यसैको पुर्व अभ्यास हो।
सिक्किमीकरणको यो आन्तरिक सूरुयात हो।
पिसाव फेर्दा पनि उसैलाइ सोध्न जान्छन
राष्टियता त के होर जनता क ेहुन र
यि चोर नेता भन्दा त मरिचमान देश भक्त हुन।
छिमेकीले नुन तेल नदिदा पनी हार खाएनन।
तर उसैको साहारामा पन्चायत पनी ढाले।
खै त सुनौलो प्रजातन्त्र देशमा आएको
शत्ताको खिचातानी र जनताको बिजोग हो
मात्र जनयुद्ध आयो हतियार पठायो
तर उसैका लठैतहरु जनयुद्ध लडेर हजारौ मारे
देशमा शान्तीको लिलामी गरे।
समभावनाका ढोकाहरु बन्द गरे।
अनी हिमाल देखी नदी नाला
लुम्बिनीका इतिहासिक इटाहरु चडाए
बुद्धका अमुल्य सम्मपदा पनि चोर्न दिए
तर दोस राजसंस्थालाइ लगाए
किनकी बुद्धलाइ बिक्री गरे नेताले
सम्मपदा बन्दगीमा राखे नेताले
नेता र बेश्यको भर हुन्न भन्थे
तर बेश्य भन्दा नेता मुन गद्धार भए
हेर जनताहरु बिगतलाइ केलाउ
भाइ भाइमा काटमार गराउने को हो
निस्वार्थमा स्वार्थ मिलाउने पापी को हो
चिन चाहे गान्धीका अनुयायी हुन।
चाहे लेलिनका अनुयायी हन।
चाहे माओका अनुयाही हुन
यी सव देशको सर्वभौक्तिको
बिला लागाउनेहरु मात्र हुन।
अन्तमा जनतालाइ गुमराहमा पारी
शहिद बनाउनेहरु हुन।
अहिले देशले भोगेको संकट हुदा
हेर त कस्को चलखेल बढेको छ।
को उस्को भत्ता भएर को कुर्लेको छ।
जाती जातीमा लडाउनेहरु
पार्टी पार्टीमा फुटाउनेहरु
यी कुतत्वले देश खाइ सके
अरुले सवै सार पाइ सके
ए जनता हो म मरे पनि हामी मरिए पनि
र एतिहासिक राजसंस्था ओझेल परे पिन
म अझै तिम्रै दिलको सिहांसनमा छु।
तिमीले हामीलाइ माया गर या नगर
तर यि दही चिउरेनेतालाइ चिन।
सुन्दर भबिस्यको भागबन्डा लगाउनेलाइ चिन
गुरु दक्षिणामा देश भेटि चढाएर
दिल्लीलाइ काठमान्डौ सम्म झिकाउने छन।
त्यतिखेर तिम्रो अस्तित्व थाहा हुन्छ।
किन छिमेकीहरुलाइ कम्जोर बनाउदैछ।
श्रीलंक्का युद्धको आगोमा जलेका छ।
भुटान अपहरणमा परिसकेको छ।
सिक्किम आफैमा गाभी सकेको छ।
त्यही भएर नेताहरु को भर नपर
आफनो देशको रक्षा आफैले गर
यि गनतन्त्रबादीहरु पनि उसैको मानो खाएका छन
यि प्रजातन्त्रबादीहरु पनि उसैको इसारामा नाच्छन।
देश दशगजामा मिचिदै जंगे पिलरहरु हराउदाको
पिंजडामा आर्तनाद गरि रहेको छ।
देश बचाउ सान्ती स्थापना गर
दक्षिणी सिमानामा आफै जंगे पिलर बन
आफैले आफनो थैली बन्द गर
आज कयौ देशबासी विस्तापित भए
तर दक्षिणबाट आएर उनै स्थापित भए
हामीले हाम्रो देश बचाउनु पर्छ
हामीले हाम्रो अस्तित्व बचाउनु पर्छ
नेताहरुलाइ खुलामन्चमा मुन्डयाउ
म दीपेन्द्र वीर बिक्रम शाह
फेरी आउने छ तिम्रो राजा हुन।
कसैको दास हुनु भन्दा रैती हुनू जाती
किनकी रैती हुदा देश पनी संगै हुन्छ।
तर दास हुदा देशको इतिहास मात्र रहन्छ।


May 11, 2009

ब्लग गफ गाफ ब्लगर दिलिप आचार्य संग


ब्लगर दिलिप आचार्य आफ्नो ब्लगलाइ साझा चौतारी मान्नुहुन्छ। उहां करिब २ बर्षबाट ब्लगिगं गर्दै आउनु भएको छ। प्रस्तुत गर्दैछु उहां संगको ब्लग गफ गाफ यस पटकको ब्लग भित्र ब्लगको स्तम्भमा।

१) http://dacharya.blogspot.com कसरी साझा चौतारी बनाउदै हुनुहुन्छ?

ब्लग लेख्‍न थालेको करिव २ बर्ष हुन लाग्यो र यो मेरो बिचार र अभिव्यक्ति बिसाउने चौतारी हो। कुनै पनि बिचारमा राखेपछि त्यसमा समहमती वा असहमती त भै हाल्छन । त्यसपछि सो बिचारमा अरु सहयात्री ब्लगर र पाठक साथिहरु संग मिलेर विचार आदान-प्रदान गरीन्छ । बिचार आदान-प्रदान भए पछि मेरो ब्लग व्यक्तिगत बिचार संप्रेषण गर्ने थलो मात्रै रहंदैन र साझा चौतारी बन्छ ।

२) तपाइको ब्लग बास्तुको साधनमा के के मिल्यो बताइदिनुहुन्छ?

हुन त, फाट्ट फुट्ट लेख्‍ने बानी पहिलै देखि नै थियो तर ब्लग संचालन पश्‍चात बिचार मंथन गर्ने र आफ्नो बिचार प्रति आएका नकारातम्क धारणलाई पनि ‘सकारात्मक’ अर्थमा लिन सकिने सोचको बिकास भएको छ । कुनै पनि घटना वा स्थितिलाई एक-दुई कोणबाट मात्रै नहेरी लंगुर-बुर्जाको गोट्टी जस्तै, छ नै वटा कोण वा सतहबाट हेर्न ब्लग भन्दा अर्को उत्तम माध्यम नै छैन जस्तो लाग्छ मलाई ।

३) तपाइको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?

कुनै एक बिषयलाई मात्रै केन्द्रीत गरेर लेख्दा, लेख्‍न पनि सजिलो हुँदैन र पढ्नेलाई पनि एक तमासको लाग्न सक्छ । यस अर्थमा मेरो ब्लगलाई सकेसम्म विविधता दिने कोशिष गर्छु म । संख्याकै हिसाबले हेर्दा सायद लघुकथा बढी होलान तर कम्प्युटर र ब्लगिङ टिप्स देखी आफूले जानेको अन्य कुरा सेयर गर्ने र देशको समसामयीक घटनाका बारेमा पनि लेख्‍ने गर्छु । त्यसैले ब्लगको सब टाईटल वा Description मा मैले ‘Anything..., Everything...’ पनि लेखेको छु ।

४) ब्लगमा काम गर्दा जिबनमा के फरक भेट्टाउनु भयो ?

नढाँटीकन र ईमान्दार भएर भन्नु पर्दा ब्लगीङ शुरु गरेपछि धेरै कुराहरु सिक्ने र जान्ने मौका पाएको छु । आफ्नो बिचारमा विमति आएपछि त्यसलाई स्विकार्ने र मुख्‍य कुरा भनेको अरुको बिचारको सम्मान गर्ने सोचको बिकास भएको छ। कोहि पनि मानिस आफैंमा पूर्ण हुँदैन तर हरेक मानिसमा आ‍-आफ्नै बिशेषता हुन्छन । यस हिसाबमा धेरै सहयात्री साथीहरुबाट विविध क्षेत्रसंग सम्बन्धित निकै कुरा सिक्न पाएको छु ।

५) तपाइका छिमेकी ब्लगका रमाइला नरमाइला कुरा के के छन ?

मैले माथि भने जस्तै मेरो छिमेकी ब्लगमा सबैको आ-आफ्नै सोच, बिचार र आफ्नोपन छन। सबैमा मेरो सहमती नहुन सक्छ तर मेरो बिचारसंग सहमत नहुँदैमा त्यसलाई नरामाईलो रुपमा म लिन्न। समष्टीमा सबै नै रमाईला छन (नरमाईला केहि छैनन्) ।

६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

यो कुरामा मैले पनि कहिल्यै ध्यान दिएको थीईन, तपाईको प्रश्‍न आएपछि एकचोटी Google Analytics हेरें । कमेण्ट बढि आएको हिसाबमा हेर्दा त अरुनै पोष्ट आउँछन तर बढि ‘क्लिक’ गरीएको तीनवटा पोष्ट चाहिँ केहि उटपट्याङ मुक्तकहरु, ब्लगोमेनीया-कारण, लक्षण र निदानHarmless Hacks. रहेछन ।

७) तपाइको ब्लगमा लघुकथा निकै रहेछन, एउटा २ मिनेटको लघुकथा सुनाउनुहोस न त हामीलाइ?

लघुकथा मलाई मनपर्ने बिधा हो, सायद अरु भन्दा संख्यात्मक हिसाबले लघुकथा नै बढि होलान मेरो ब्लगमा। यहाँ कथा राख्दा कुराकानी लामो हुन्छ, त्यसैले आधा मिनेटको लघुकथा चाहि यो राखौं है त:

“यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।”

८) ब्लग लेखन र प्रतिक्रिया लेखनमा कत्तिको सहमती असमती ब्यहोर्नु गर्नुभएको छ?

सहमती र असहमती त आउँछन नै, तर सायद एकदमै बिबादित बिषयमा त्यत्ती धेरै नलेखेकोले होला खासै ‘कडा’ असहमतीहरु भने धेरै आउँदैनन् भन्दा पनि हुन्छ ।

९) तपाइको ब्लगमा अरुको ब्लगमा भन्दा नितान्त फरक पाइने कुरा के होला ?

खासै त्यस्तो अहम भिन्नता त छैन होला, तर सकेसम्म विविधता दिने प्रयास भने जारी छ। (तपाहरुले केहि देख्‍नु भएको छ की :))

१०) 浅谈汉语里的梵语词语 पढ्न त यस्तो गार्हो लेख्न कती गार्हो भयो? बुझ्न त झनै गार्हो भयो कसो गर्ने होला?

हा हा हा, म चिनियाँ भाषा-संस्कृतिको बिद्यार्थी रहेको र एउटा सानो अध्ययनको क्रममा संसारको सबैभन्दा गाह्रो भनेर मानीएको भाषाभित्र पनि धेरैको संख्यामा संस्कृत शब्द भेटेपछि कसैको आग्रहमा मैले त्यो लेख तयार गरेको थीएँ । पछि त्यसको नेपालीकरण पनि मेरै ब्लगमा चिनियाँ भाषा भित्रका संस्कृत शव्द को नाममा राखेको छु । के गर्ने आजकल त जनवादी शिक्षाको नारा छ, र बुझ्दै नबुझी संस्कृत भाषालाई मृत भाषा भन्छन् ।

११) ब्लगिगं ट्याम्पेलेटमा निकै दक्षता हासिल गर्नुभएछ दौतरीको झ्याल ढोकाको लिपपोतमा के गर्दा राम्रो होला?

यो क्षेत्रमा म पनि सिक्ने क्रममा नै छु । हुन त, सबैको आ-आफ्नै पहिचान हुन्छ तैपनि म भने उपलब्ध स्रोत, साधनको (समस्या उत्पन्न नहुने हदसम्ममा) अधिकतम उपयोग लिने कुरामा विश्‍वास गर्छु । दौंतरीको कुरा गर्दा, पेज खोल्ने बित्तिक्कै अधिकतम जानकारी मिल्ने हिसाबले जान ३ कोलममा जाँदा यसका ‘कम्पाउण्डमा रहेका खाली जग्गा’ त्यत्तीकै खेर जाँदैनन् जस्तो लाग्छ । साथै पाठकहरुसंगको अन्तरक्रिया अझ सशक्त गर्न सिधा संबादका केहि अनुप्रयोगहरु पनि राख्दा राम्रै होला ।

१२) अहिलेको नेपाल भोलि कता पुग्ला?

सोधि हाल्नु भयो, मनकै कुरा गर्ने हो भने, अहिलेको नेपाल भोली कता पुग्ला भन्दा पनि यीनै नेताहरुको नेतृत्व र यहि भाँडभैलोको स्थिति रह्‍यो भने भोली नेपाल पनि हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्न थालेको छ ।

१३) अहिलेका प्रचण्ड तपाइका कुन कथाका पात्रसंग मिल्दा जुल्दा छन?

व्यक्तिलाई बिषय बनाएर लेख्दीन, तर प्रचण्ड मात्रै हैन नेपालका हुत्तिहारा, भातमारा र नालयक नेताहरुको झलक मेरो धेरै कथामा भेटिन सक्छन।

१४) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?

दौंतरी धेरै अघि देखी पछ्‍याउँदै आएको छु । सायद नेपाली भाषामा यसरी धेरैजना मिलेर लेखीने ‘टिम ब्लग’मा यो नै एउटा गतीलो र स्वतन्त्र ब्लगको रुपमा उदियमान र उदाहरण भएको जस्तो लाग्छ । सुझाव भन्दा पनि निरन्तरता र उत्तरोत्तर प्रगतीकोलागी शुभकामना दिन चाहन्छु।

१५) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

नेपाली ब्लगहरु अझै पनि स्वतन्त्रताको उपभोग मात्रै गर्ने तर जिम्मेबारी चाहि नलिने हिसाबमा चलेका देखीन्छन् । यसलाई बाहिरबाट आएर कसैले सुधार्ने हैन, त्यसैले यसलाई हामीले नै व्यबस्थित गर्नुपर्छ। यस मानेमा दौंतरीका लेखहरु सन्तुलीत लाग्छन आशा गरौं सबैले यसको अनुशरण गर्नेछन ।

ब्लगहरु सशक्त भएमा यसले मूलधारका पत्र-पत्रिकालाई पनि प्रतिस्पर्धि र जिम्मेबार बनाउन मद्दत गर्छ, त्यसैले बढि भन्दा बढि ब्लगहरु सञ्चालनमा आउनु पर्छ र ब्लगरहरु बिच पनि बैचारीक आदान-प्रदान र भिन्न मतका बीचमा पनि सामुहिक एकता हुनु पर्छ जस्तो लाग्छ। मलाई आफ्नो कुरा राख्‍ने र मौका दिनु भएकोमा धन्यवाद्।