November 27, 2008

नखोज्नु मलाई

बिजय कुमार श्रेष्ठ, मानकाजी तामांग
(हाल ईराक)

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा हराई सकेछु ।

नसम्झिनु है मलाई कुनै खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ॥

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु ।

नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ॥ ॥

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु ।

नखोज्नु है मलाई वरपिपलको छहारीमा,
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ॥ ॥ ॥

नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा,
म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनि सकेछु ।

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा,
म त अब परदेशि पो भैसकेछु परदेशि पो भैसकेछु ॥ ॥ ॥ ॥



November 26, 2008

गजल - कती रछन यहाँ

कती रछन यहाँ छानोमा आगो फुक्नेहरु
माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

घरको बाघ बन्को स्याल हुइया कि गर्जन
शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान
सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे
अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

सापटिमा हल्लिएका हुल्का हुल टाउका
वीर भएछन कसरी? थाङनामा लुक्नेहरु


November 25, 2008

ब्लग भित्र ब्लग


नेपाली ब्लग जगत बिस्तारै फराकीलो हुंदै गएको छ। कुनै बेला औलामा गन्न मिल्ने ब्लग अहिले १५० को हाराहरीमा छन। राजनीती देखी स्वास्थ सम्म,ब्यापार देखी यात्रा सम्बन्धी ब्लग रहेछन। प्राय ब्लगरहरु आफ्नो मनको भावना पोख्ने तथा मनका कुरा लेखाइमा प्रस्तुत गर्न ब्लग लेख्ने रहेछन। केही भने समाचार नै ब्लगको मुख्य आकर्षण बनाउने रहेछन। ब्लगको संख्या धेरै भए जस्तै सामाग्री पनि फरक फरक छन।
दौंतरी कै कुरा गर्दा साझामा गफकै भरमा १० मिनेटमा नाम जुराएर खोलीएको थियो। केही साथीहरु सक्रिय लेखनमा नभएता पनि नया पुराना दौतरीहरु अझै मिठो तथा उत्क्रिष्ठ लेख पस्किराख्नु भएको छ। तुरुन्तै पेन्ट ब्रसले दौतरीको लोगो बनाएर सामुहीक ब्लगको रुपमा प्रतक्ष प्रस्तुत भएको थियो। अहिले जस्तो होला भनेर सोचेको पनि थिइन। साथीहरु धेरै सल्लाह दिनु हुन्थ्यो यता उता गरेर,अरु दौतरीको सहयोगले अहिलेको स्थीती सम्म आइपुग्यौं। हुन त अगाडी बढ्न धेरै बाकी छ तर पनि १ बर्षको बिगत हेर्दा ठुलो फड्को मारिएछ। आशा छ पुराना साथीहरु पनि सक्रिय भएर दौतरीलाइ अझै मजबुत पार्नुहुनेछ।


दौंतरीको एकै उदेश्य हो, स्पष्ट बिचार बिना छेक थुन प्रस्तुत गर्नु। यसैलाइ मध्यनजर राख्दै दौतरीलाइ अगाडी बढाउने छौं।


तपाइ हरु छक्क पर्नु भयो होला,ब्लग भित्र ब्लग भनेको त दौतरी भित्र दौतरी रहेछ भनेर। त्यो भने पक्कै होइन। मैले पहिला फाट्ट फुट्ट लेखे पनि पक्का ब्लगर भएर लेखेको दौंतरीमै हो। तर पनि अन्य नेपाली ब्लगरसंग साक्षतकार अहिले सम्म भएको छैन। सधै अरुको खबर ब्लगमा उतार्ने ब्लगहरुको आफ्नो खबर ब्लगमा उतार्दा कस्तो हुन्छ भनेर हेर्ने प्रयास गरेको छु। ब्लगमा नया पन थप्न मात्र नभएर नेपाली ब्लग जगतको धरातल केलाउने प्रायस पनि यस्ले गर्नेछ।


हप्ता मा १ पटक हुने गरेर ब्लग भित्र ब्लग स्तम्भमा कुनै एउटा ब्लगरको कुराकानी समेट्ने प्रयास गर्ने छु।



कबिता- डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन ''

आचार्य प्रभा

भ्रममा नपरौ कोही
ठुलो देशमा गएर
सानो देशलाई मानसपटलबाट
निकाल्छु भनी
त्यसो ---होइन ,
भौगोलिक स्वरूप सानो भएर के भो ?
आखिर ---'हीरा'सानो भएपनी
प्रज्वलित हुन्छ ,
आफ्नी आमा ''डल्ली '',''पुड्की ''
भएपनी जन्म दिने आमा नै हुन्छिन
आकार भनेको त स्वरूप हो ,
आफ्नोपन र सर्वगुण होइन /
विश्वस्त नहौ कहिल्यै पनि
द्रब्यको मुल्य उचा छ भनी
ठुलो देशमा दु:खले
सानो मन लिएर जब हामी
'डलर','पाउन्ड ',जे नै कमाउछौ
तर ---हामी भित्रको
स्वाभिमान,माया ,स्नेह,सारा
हामीले गुमाइरहेका हुन्छौ /
हो ---हामी रमाउन सक्छौ
अग्ला ,अग्ला गगनचुम्बी महलहरुका
उचाइ देखेर
तर ---हामीले बिर्सिसकेकाहुन्छौ
सगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु /
हामी गम्किन सक्छौ महलभित्रको
बिलाशितापूर्ण जीवन भोगाइदेखी
तर ---हामी बिस्थापित बन्छौ
आफ्नी आमाको सानो काखको
न्यानोपनको आभासदेखी /
हुन सक्छ ---कहिलेकही
आफ्नो आंगन पनि बिरानो हुन्छ
आफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिन
तर --- आफ्नो आँगनलाई पैतालाको
भार मात्र बोकायौ भने /
अनी ---आमाको छातीलाई परेड खेल्ने
मैदान मात्र ठान्यौ भने,
त्यस्तै ---आफ्नी आमालाई सन्तान जन्माउने
मेसिन सरह मात्र सोच्यौ भने ,
सानो काखलाई न्यानोपन दिने
केवल ---स्वार्थी भावना मात्र राख्यौ भने /
त्यसैले ---समग्रमा भन्नु पर्छ ,
आकार,उचाइ ,मुल्य ,आफ्नोपन
जे भने पनि
हाम्रो ''भित्रीमन'' नै स्वाभिमानी हुनु पर्छ
आफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांस
फूलाऊनु पर्दछ ,
आफ्नी आमालाई नै ''हीरा''मा अनुवाद
गर्न सक्नु पर्दछ /
हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैन
एौटै सन्तानको ''प्रतिक'' बनेर
आमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछ
अनि मात्र सानो देश पनि प्रज्वलित
''हीरा ''बन्न सक्दछ /
आफ्नी आमाको स्वरूप जे जस्तो भए पनि
निसकलंक, निर्मल साईनो बन्न सक्दछ ,
अन्तमा ---देश ,आमा नै हामी सबैको
आफ्नोपन र स्वाभिमान
बन्न सक्दछ /



परदेशबाट पि्रयसीसँग बिछोडको तरङ्ग

विष्णु रेग्मी काठमाडौ वार्ड नं ९
वत्तिसपुतली गौशाला काठमार्डा नेपाल
हाल जोईन्ट वेस बलाद ईराक

मेरी हृदयकी ढुकढुकी!,

अविरल मायाका वर्षाहरु तिमिलाई सम्झना अनि आशीर्वाद प्यारा नानीहरु साथै तिमीलाई पनि । आफन्त तथा मान्यजनहरुमा दर्जानुसारको दण्डवत् प्रणाम उहि प्रवासिको तर्फबाट । सर्वप्रथम तिमीहरुबाट क्षमा चाहन्छु किनकी मैले आफनो गन्तव्य पुरा गर्न सकिन बाबा वा श्रीमानको अनुभुति दिन सकिन सदाँ सर्वदा गरिवीको मार र आर्थीक कठिनाईले गर्दा बाध्य भएर तिमीहरुबाट टाढा हुन परेकोमा मलाई ज्यादै चिन्ता लागी रहेको छ ।सक्छौ भने दया राखि एक चोटिलाई माफ गरि देउ है ल ।

जीवन भनेको यस्तै रहेछ अनेकौ आरोह अवरोहहरु आई पर्ने रहेछ । अनेकौ उकाली ओरालीहरुसँग सामना गर्न पर्ने रहेछ । अतितका ति दिनहरुको रमाईला क्षण कति रमाईला थिए । आज अचानक नदिका दुई किनार सरि तिमीबाट धेरै टाढा वादल पारि भिड भएर पनि एकान्त जस्तो लाग्न निर्लज्ज शहरको गर्व भित्र बम बारुद र हावासँग निस्सासिएर तिमीहरुको आधात माया अनि मिठो सम्झनाको कल्पनामा डुवेर हर दिन र रातहरु व्यतित गरि रहेको छु । बिछोड हुदाँको पिडा कतिसम्म घातक हुन्छ आफन्तहरुको यादले कतिसम्म सताउदो रहेछ । अनि जीवनमा कल्पना गरेका मिठा मिठा सपनाहरु चैत्रको हुरी बतासले उडाएर कहाँ पुर्‍याई दिन्छ कस्लाई के थाहा बितेका अतितहरु कहिले पनि फर्केर आउन सक्दैन भन्ने कुरा । त्यसैले यो छिया- छिया भएको पापी हृदयलाई मरि सकेको मन अनि जिर्ण र सिथिल शरिर भित्रको कमलो अन्तस्करणमा तिमीहरुको माया ममता अनि सम्झनामा भविश्यले साथदिएमा एक दिन मिलन हुने आशा र उमंगमा बाची रहेको प्रवासिको तर्फबाट तिमीहरुको सुस्वास्थ्यको दिर्गायु एवं सफलताको शुभकामना प्रकट गर्दै श्री पशुपतिनाथसँग प्राथना यो गर्दछु कि सारा दुख र कष्टहरु पिर व्येथा र बेदनाहरु सबै मेरै भागमा पारिदिनु किन कि म मेरो पत्नी तथा बच्चाहरुको लागी जस्तो सुकै पिडा सहन पनि बाध्य हुने छु ।

प्यारि पत्नी मलाई माफ गरि देउँ जुन ईच्छा र चाहनाहरु लिएर बिदेसिनु बाध्य भएको थिए ति आशा र भरोसाहरु दिएको थिए त्यसको बिपरित दिसादिन र अर्थहिन श्रम तथा सिपहरु बेचि रहेको छु । केवल मिठो सपनाको लागी सारा दिन व्युझिएर ६० डिग्रीको तापमा खटि रहेको छु पसिना र आसुको कुनै पर्वाह नगरि आफुलाई बेचिरहेको छु । म जस्ता हजारौ नेपाली यूवा शक्तिहरुले यस्तो पिडा सहन नपरोस् आफनो श्रम र सिपलाई जन्म भुमिमा सदुपयोग गर्न पाउने अवसर प्राप्त होस् भन्ने आशा र भरोसाका साथ सम्पुर्ण परिवार गाउँ तथा नेपाली दाजुभाई दिदी बहिनीहरुमा यो पत्र मार्फत सन्देश दिन चाहन्छु । कुनै व्यक्ति वा एजेन्टहरुका मिठा मिठा आँस्वासन र प्रलोभनमा फसेर बिदेशीनु कुचेष्टा नगर्नु होला सकभर आफनै मातृभुमिमा आधा पेट खाएर भएपनी मेहनत र परिश्रम गर्नु होला । स परिवारको माया र ममतालाई बन्दकीमा नपार्नु होला ।

प्यारी मायालु पत्र लेख्न त धेरै मन लागेको थियो तर तिमीलाई चोट पुग्ने वा पिर पर्ने खालका शब्दहरु यसमा समाबेस गर्न चाहिन किन की एउटा अवला नारि आफनो सिउँदोको सिन्दुरमा कत्ति गौरवान्तित बन्छे र कति भाग्यमानी ठान्छे आफुलाई त्यसैे मायाँको सम्झनै सम्झनाका रात अनि दिनहरु महिना र वर्षहरु जुग जुगसम्म आशाको दियो बालेर बस्दै समय र परिस्थीतिले हाम्रो भेट हुन लेखेको रहेछ भने हजारौ अन्धकारहरुलाईचिर्दै तिमीले बालेको दिपमा तेल थप्न आई पुग्ने छु । अनर्थ पापी दैवले हाम्रो मायामा विश्वासघात र ममतामा अुखा लगाएको रहेनछ भने यस जुनिको हाम्रो सँगमलाई हाम्रो माया अनि ममतालाई सँयोग मात्र ठानिदेउँ हुदैन । त्यसैले माया नानीहरुको अनि आफनो ज्यानको राम्रो ख्याल गर्नु बढि चिन्तामा डुबेर प्रबाशीको यादमा आफनो जीवनलाई निरास नबनाउनु तिमी जननी हौ विश्व ब्रह्रमाण्ड सारा तिमीमा नै अडेको छ । तिमीले कसैको दुख र पिडामाआत्तिनु हुन्न । तिमीले आफनो नानीहरुको उज्वल भविष्यको बारेमा सोचिदिनु पर्छ । तिमीले हरेक कदम पाईला चाल्नु पर्छ । तिमीले तिमी जस्ता ति निमुखा आमाहरुलाई साहासि र उजागरको पाईलामा उभिन सिकाउनु पर्छ । तिम्रा पति जस्तै बिदेशिएका हजारौ यूवाहरुलाई रोक्नु पर्छ । तिमीले पनि देशमा रक्तपात गरेर ठुलो बलिदान गरि पाउन सफल जनताको हक अधिकारको बारेमा आवाज उठान देशमा चेतनाको बिगुल फुकेर अधिकारको सुरक्षाको भागिदार बन्नु पर्छ । अनि मात्र विदेशिएका हजारौ नेपाली यूवाहरुको आत्माले शान्ति पाउने छ । तिमीलाई वषौ वर्षसम्म अथाह मायाँ दिने हरपल सम्झनाहरुमा तट्पिएर बाँची रहने उहि प्रवाशी पति ॥ ॥ ॥

(पत्र लेखन सहयोगी बिजय कुमार श्रेष्ठ, हाल इराक)



November 24, 2008

माओवादी उपयोगिताबाद र कांग्रेसको दौडाह

शेखर ढुङ्गेल

उपयोगिता अनि भड्काउ रणनीति अपनाई आफु इतर उभिएका सम्पूर्ण राजनैतिक धारलाई फकाउँदै, उचाल्दै र पछार्दै सत्ता प्राप्त गर्न सफल भएको माओवादीलाई थाहा छ सरकार चलाउनु र आफ्नो बर्चस्व कायम राख्नु फलामको चिउरा चपाउनु भन्दा गाह्रो छ । त्यसो भनेर माओवादी नेतृत्व अव आफ्नो जनयुध्दताकाका प्रतिबध्दता जनसेना एबं कार्यकर्तालाई छोडेर एमालेको बाटोमा अवतरण गर्ने घातक काम गर्न पनि सक्दैन । त्यसैले सत्ताको नेतृत्व गरेको माओवादीले फुटाउ र राज गरु भन्ने पुरानै सिध्दान्तको उपयोगबाट अगाडि बढ्ने संकेत गर्दैछ ।

माओवादीले एमालेबाट आफु पक्षीय इतरलाई अनि हिजोसम्म कट्टर दुश्मन मानेको राजावादी पक्षधर हस्तीहरुलाई हरियो घाँस देखाउँदैछ । माओवादीले यसो गर्नुको पछाडि उनीहरुको अनुभव उपयोग गर्ने भन्दा पनि कांग्रेस-एमाले वा कांग्रेस र अन्य संसदवादी दलहरुलाई सामिप्य हुन नदिनु हो । माओवादीभित्र अविश्वास भ्रम अनि विवादको अझै डर भनेको कतै कांग्रेस-तीनैथरि राजाबादी दलहरु र स-साना दललाई एकत्रित गरी शक्तिशाली नबनोस् । त्यसो भएमा माओवादीले आजसम्म प्रयोग गरेको रणनीति असफल बन्नेछ । अन्तर्राष्ट्रिय जगतले समेत प्रजातान्त्रिक मोर्चाको साथ दिनेछ ।

माओवादीले सरकारको नेतृत्व सम्हालेपछि बिभिन्न गोप्य एवं सार्वजनिक कृयाकलापले भारत र अमेरिका झस्किसकेका छन् । माओवादीले दर्जनौं शान्ति सम्झौतामा गरेका प्रतिबध्दता पुरा गरेको छैन । माओवादीले जबर्जस्ती कब्जा गरेका सम्पत्तिको बदला सरकारले क्षतिपूर्ति दिने भनेर उल्टो देश लुट्ने उद्घोष गर्दैछ । चीनसित माओवादीको बढ्दो सामिप्य, पासाङ्लाई प्रधानसेनापति बनाउने र चीनमा उसलाई बिशेष तालिमको चर्चा, मन्त्रीहरुको गोप्य चीन भ्रमण र भेटघाटले भारत अमेरिका झस्केका हुन्- कतै चीनले बर्मालाई बाजले छोपेझैं छोपेर अमेरिका र भारतको छायाँसमेत पर्न नदिए झैं नेपाललाई चीनले त्यस्तै बनाउने त होइन भन्ने चिन्ता अमेरिकालाई बढेको देखिन्छ ।

यस्तो अवस्थामा माओवादीको लागि कांग्रेस इतरका स-साना दललगायत पूर्व दरबारिया र शैनिक अनि कर्मचारीको सहयोग प्राप्त गर्नु आवश्यक छ । जोसित कांग्रेसले ऐतिहासिक भूल गरी दुश्मनी बढाएको छ । पूर्व राजावादीहरु राजसंस्था खत्तम हुनुमा माओवादीभन्दा पूर्व प्रधानमन्त्री कोइराला नै बढी दोषी देख्दछन् । बयोबृध्द नेता कोइरालाले राष्ट्रपति बन्ने लालचमा अन्तमा पूर्व राजा ज्ञानेन्द्रलाई धोका दिएको भन्ने एबं विश्वास गर्नेको संख्या ठूलै छ । अर्का बृध्द नेता श्रीभद्र शर्मा भन्नुहुन्छः प्रजातन्त्र र राष्ट्रियताका लागि वीपीले राजासित सम्झौता गर्नु उचित देख्दथे भने गिरिजाले माओवादीसित सम्बन्ध बढाएको परिणाम देखिएको छ ।

त्यसै माओवादीले १० वर्षे ४० वर्षे योजना अघि सारेका छैनन् । त्यसभित्र ठूलै ग्य्राण्ड डिजाइनको अनुमान गरिएको छ । माओवादीले परम्परागत संसदवादी व्यवस्था वा माओको कम्युनिष्ट व्यवस्था दुबै असान्दर्भिक बताउनुको बीचको व्यवस्था कतै बर्माको स्वरुप त होइन जेहोस् माओवादी तत्कालै र सजिलै अव सत्ताबाट अवतरण गर्नेवाला छैन । चीनमार्फत अमेरिका र भारतको विरुध्द ढालको तर्जुमा गरिसकेको हो भने अधिनायकवादी शासनको गन्ध आएको मान्नुपर्छ । बचन प्रतिबध्दता दिने तर कार्यान्वयन नगर्ने माओवादी रणनीतिको अगाडि रुकावट बन्न कोही सकेका छैनन् । माओवादी आफु सृदृढ हुन अन्य दलका सदस्यलाई फकाउने अभ्यास गर्दैछ । कारवाहीको त्रासदीबाट बच्न राजावादी पूर्व प्रशासक माओवादीप्रति नजिक हुन लालायित देखिन्छन् । ‘मरता क्या नही करता’ भन्ने हिन्दी कथनजस्तै एकातिर उनीहरु माओवादीप्रति आकर्षित हुनु अर्कोतिर कांग्रेस वा अन्य दलसित राजावादी पूर्व प्रशासकहरु नजिक नहोउन् र आफ्नो हात बलियो पार्ने माओवादीको उपयोगिताबाद नीति स्पष्ट देखिन्छ ।

बदलिएको परिस्थितिमा नेपालको एकमात्र पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस भने अस्तित्व बचाई राख्ने जोखिमपूर्ण पीडा बोकेर छटपटाइरहेको छ । यो दल असफल हुनुमा नेतृत्वको तानाशाही प्रवृत्ति नै एकमात्र कारण देखिन्छ । तानाशाही नेतृत्वकै कारण पुरानो कर्मठ त्यागी विव्दान कैयौं नेता-कार्यकर्ता पाखा लगाइए स्वयं पाखा लागे वा निस्कृय भएर बसेका छन् । कोही फुटेर कोही छुट्टिएर गए पनि यो ऐतिहासिक दललाई फरक नपर्ने भनी अति अहम्कारी बक्तव्य समेत नेतृत्व बर्गबाट आयो । कत्ति फरक पर्‍यो  कि परेन त संविधानसभा निर्वाचनको परिणामले देखाइदियो । तमलोपा फोरममा गएका कांग्रेस सदस्य र तिनको संख्या जोड्दा कांग्रेस आज पनि अग्रपंक्तिमा छ । ती नेता कार्यकर्तालाई समेट्नुको साटो घचेट्ने अदूरदर्शी कांग्रेस नेतृत्वको कारण यो दलको यस्तो दर्दशा भएको छ । स्वदेशमा मात्र नभै विदेशमा पनि कांग्रेस समर्थकहरु शर्मनाक बिबादमा अल्झिएर एकले अर्कालाई नङ्ग्याउँदैछन् । केन्द्र मूकदर्शक बनी तमासा हेरिराखेको छ । या त एकत्रित गर्न सक्नुपर्छ या बिघटन गरी अर्को समिति बनाउनु पर्छ त्यो गर्न कांग्रेसको नेतृत्व पक्ष असफल देखिन्छ ।

अरु त अरु संविधानअनुसार संसदीय दलको नेता आजसम्म चयन गर्न सकेको छैन । बिना औपचारिक प्रकृया र निर्णय नै गिरिजाबाबु स्वयं संसदीय दलको नेता मै हुँ भन्दैछन् । कार्यकर्ताको लागि यो जस्तो लज्जास्पद तानाशाही प्रवृत्ति के होला यस्तो अहम् र तानाशाही कांग्रेसको नेतृत्वले देशको लागि आवश्यक प्रजातान्त्रिक मोर्चा बनाउने पहल एवं नेतृत्व गर्ने मनोबल कसरी प्राप्त गर्नसक्छ कसरी विश्वासमा लिन सक्छ आफु इतरका राजनैतिक दलहरुको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले माओवादीसित बाह्र बुँदे सम्झँैता हुनुभन्दा अगाडिदेखिनै प्रजातान्त्रिक मोर्चाको आवश्यकता बताउँदै आएका थिए । तर कांग्रेसको अहमताले कार्यान्वयन हुन पाएन र आज देश बामपन्थीकरणको घेरामा फस्नपुग्यो ।

गिरिजाबाबुलाई प्रजातन्त्र मासिन लागेकोमा चिन्ता त छ कसरी जोगाउने जवाफ वहाँसित छैन । वहाँकै हातबाट कांग्रेसको नेतृत्वमा बनाइएको संविधानको अवशान भयो । कांग्रेससितै सम्झौता गर्दै प्रजातान्त्रिक पध्दति अगाडि बढाउन सहयोग गरेको राजसंस्थालाई बिस्थापित गराउनु भयो । परम्परागत रुपमा कांग्रेसको ढाल बनी सहयोग गरेका शक्तिहरुलाई लत्याउनु भयो । अझै पनि कांग्रेसको नेतृत्वमा चेत खुलेको छ भने प्रजातान्त्रिक संविधान बनाउन एक सशक्त शक्ति निर्माण गर्नुपर्छ र माओवादी इतरका सम्पूर्णशक्तिलाई एकत्रित गरी अगाडी बढ्नुको बिकल्प छैन । नेतृत्व जोसुकैको होस् सबै संसदवादी दल एवं शक्ति एक भई यो संवेदनशील अवस्थामा देशलाई पार लगाउने व्दन्व्द र त्रासमुक्त देश र समाज निर्माण गर्नु आवश्यक छ । सत्ताबिमुख हुनुपर्दाको तीतो फ्याँक्नमात्र क्रान्ति होइन क्रान्तिको उद्देश्य लक्ष्य र गन्तव्य समेतको स्पष्ट सिमाङ्कन पनि जनतामा राख्नुपर्छ । माओवादीलाई सत्ताबाट झार्नमात्र क्रान्ति गर्ने हो भने त्यो स्वयम् कांग्रेस र देशको लागि झनै प्रत्युत्पादक बन्नेछ ।.