November 24, 2008

माओवादी उपयोगिताबाद र कांग्रेसको दौडाह

शेखर ढुङ्गेल

उपयोगिता अनि भड्काउ रणनीति अपनाई आफु इतर उभिएका सम्पूर्ण राजनैतिक धारलाई फकाउँदै, उचाल्दै र पछार्दै सत्ता प्राप्त गर्न सफल भएको माओवादीलाई थाहा छ सरकार चलाउनु र आफ्नो बर्चस्व कायम राख्नु फलामको चिउरा चपाउनु भन्दा गाह्रो छ । त्यसो भनेर माओवादी नेतृत्व अव आफ्नो जनयुध्दताकाका प्रतिबध्दता जनसेना एबं कार्यकर्तालाई छोडेर एमालेको बाटोमा अवतरण गर्ने घातक काम गर्न पनि सक्दैन । त्यसैले सत्ताको नेतृत्व गरेको माओवादीले फुटाउ र राज गरु भन्ने पुरानै सिध्दान्तको उपयोगबाट अगाडि बढ्ने संकेत गर्दैछ ।

माओवादीले एमालेबाट आफु पक्षीय इतरलाई अनि हिजोसम्म कट्टर दुश्मन मानेको राजावादी पक्षधर हस्तीहरुलाई हरियो घाँस देखाउँदैछ । माओवादीले यसो गर्नुको पछाडि उनीहरुको अनुभव उपयोग गर्ने भन्दा पनि कांग्रेस-एमाले वा कांग्रेस र अन्य संसदवादी दलहरुलाई सामिप्य हुन नदिनु हो । माओवादीभित्र अविश्वास भ्रम अनि विवादको अझै डर भनेको कतै कांग्रेस-तीनैथरि राजाबादी दलहरु र स-साना दललाई एकत्रित गरी शक्तिशाली नबनोस् । त्यसो भएमा माओवादीले आजसम्म प्रयोग गरेको रणनीति असफल बन्नेछ । अन्तर्राष्ट्रिय जगतले समेत प्रजातान्त्रिक मोर्चाको साथ दिनेछ ।

माओवादीले सरकारको नेतृत्व सम्हालेपछि बिभिन्न गोप्य एवं सार्वजनिक कृयाकलापले भारत र अमेरिका झस्किसकेका छन् । माओवादीले दर्जनौं शान्ति सम्झौतामा गरेका प्रतिबध्दता पुरा गरेको छैन । माओवादीले जबर्जस्ती कब्जा गरेका सम्पत्तिको बदला सरकारले क्षतिपूर्ति दिने भनेर उल्टो देश लुट्ने उद्घोष गर्दैछ । चीनसित माओवादीको बढ्दो सामिप्य, पासाङ्लाई प्रधानसेनापति बनाउने र चीनमा उसलाई बिशेष तालिमको चर्चा, मन्त्रीहरुको गोप्य चीन भ्रमण र भेटघाटले भारत अमेरिका झस्केका हुन्- कतै चीनले बर्मालाई बाजले छोपेझैं छोपेर अमेरिका र भारतको छायाँसमेत पर्न नदिए झैं नेपाललाई चीनले त्यस्तै बनाउने त होइन भन्ने चिन्ता अमेरिकालाई बढेको देखिन्छ ।

यस्तो अवस्थामा माओवादीको लागि कांग्रेस इतरका स-साना दललगायत पूर्व दरबारिया र शैनिक अनि कर्मचारीको सहयोग प्राप्त गर्नु आवश्यक छ । जोसित कांग्रेसले ऐतिहासिक भूल गरी दुश्मनी बढाएको छ । पूर्व राजावादीहरु राजसंस्था खत्तम हुनुमा माओवादीभन्दा पूर्व प्रधानमन्त्री कोइराला नै बढी दोषी देख्दछन् । बयोबृध्द नेता कोइरालाले राष्ट्रपति बन्ने लालचमा अन्तमा पूर्व राजा ज्ञानेन्द्रलाई धोका दिएको भन्ने एबं विश्वास गर्नेको संख्या ठूलै छ । अर्का बृध्द नेता श्रीभद्र शर्मा भन्नुहुन्छः प्रजातन्त्र र राष्ट्रियताका लागि वीपीले राजासित सम्झौता गर्नु उचित देख्दथे भने गिरिजाले माओवादीसित सम्बन्ध बढाएको परिणाम देखिएको छ ।

त्यसै माओवादीले १० वर्षे ४० वर्षे योजना अघि सारेका छैनन् । त्यसभित्र ठूलै ग्य्राण्ड डिजाइनको अनुमान गरिएको छ । माओवादीले परम्परागत संसदवादी व्यवस्था वा माओको कम्युनिष्ट व्यवस्था दुबै असान्दर्भिक बताउनुको बीचको व्यवस्था कतै बर्माको स्वरुप त होइन जेहोस् माओवादी तत्कालै र सजिलै अव सत्ताबाट अवतरण गर्नेवाला छैन । चीनमार्फत अमेरिका र भारतको विरुध्द ढालको तर्जुमा गरिसकेको हो भने अधिनायकवादी शासनको गन्ध आएको मान्नुपर्छ । बचन प्रतिबध्दता दिने तर कार्यान्वयन नगर्ने माओवादी रणनीतिको अगाडि रुकावट बन्न कोही सकेका छैनन् । माओवादी आफु सृदृढ हुन अन्य दलका सदस्यलाई फकाउने अभ्यास गर्दैछ । कारवाहीको त्रासदीबाट बच्न राजावादी पूर्व प्रशासक माओवादीप्रति नजिक हुन लालायित देखिन्छन् । ‘मरता क्या नही करता’ भन्ने हिन्दी कथनजस्तै एकातिर उनीहरु माओवादीप्रति आकर्षित हुनु अर्कोतिर कांग्रेस वा अन्य दलसित राजावादी पूर्व प्रशासकहरु नजिक नहोउन् र आफ्नो हात बलियो पार्ने माओवादीको उपयोगिताबाद नीति स्पष्ट देखिन्छ ।

बदलिएको परिस्थितिमा नेपालको एकमात्र पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस भने अस्तित्व बचाई राख्ने जोखिमपूर्ण पीडा बोकेर छटपटाइरहेको छ । यो दल असफल हुनुमा नेतृत्वको तानाशाही प्रवृत्ति नै एकमात्र कारण देखिन्छ । तानाशाही नेतृत्वकै कारण पुरानो कर्मठ त्यागी विव्दान कैयौं नेता-कार्यकर्ता पाखा लगाइए स्वयं पाखा लागे वा निस्कृय भएर बसेका छन् । कोही फुटेर कोही छुट्टिएर गए पनि यो ऐतिहासिक दललाई फरक नपर्ने भनी अति अहम्कारी बक्तव्य समेत नेतृत्व बर्गबाट आयो । कत्ति फरक पर्‍यो  कि परेन त संविधानसभा निर्वाचनको परिणामले देखाइदियो । तमलोपा फोरममा गएका कांग्रेस सदस्य र तिनको संख्या जोड्दा कांग्रेस आज पनि अग्रपंक्तिमा छ । ती नेता कार्यकर्तालाई समेट्नुको साटो घचेट्ने अदूरदर्शी कांग्रेस नेतृत्वको कारण यो दलको यस्तो दर्दशा भएको छ । स्वदेशमा मात्र नभै विदेशमा पनि कांग्रेस समर्थकहरु शर्मनाक बिबादमा अल्झिएर एकले अर्कालाई नङ्ग्याउँदैछन् । केन्द्र मूकदर्शक बनी तमासा हेरिराखेको छ । या त एकत्रित गर्न सक्नुपर्छ या बिघटन गरी अर्को समिति बनाउनु पर्छ त्यो गर्न कांग्रेसको नेतृत्व पक्ष असफल देखिन्छ ।

अरु त अरु संविधानअनुसार संसदीय दलको नेता आजसम्म चयन गर्न सकेको छैन । बिना औपचारिक प्रकृया र निर्णय नै गिरिजाबाबु स्वयं संसदीय दलको नेता मै हुँ भन्दैछन् । कार्यकर्ताको लागि यो जस्तो लज्जास्पद तानाशाही प्रवृत्ति के होला यस्तो अहम् र तानाशाही कांग्रेसको नेतृत्वले देशको लागि आवश्यक प्रजातान्त्रिक मोर्चा बनाउने पहल एवं नेतृत्व गर्ने मनोबल कसरी प्राप्त गर्नसक्छ कसरी विश्वासमा लिन सक्छ आफु इतरका राजनैतिक दलहरुको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले माओवादीसित बाह्र बुँदे सम्झँैता हुनुभन्दा अगाडिदेखिनै प्रजातान्त्रिक मोर्चाको आवश्यकता बताउँदै आएका थिए । तर कांग्रेसको अहमताले कार्यान्वयन हुन पाएन र आज देश बामपन्थीकरणको घेरामा फस्नपुग्यो ।

गिरिजाबाबुलाई प्रजातन्त्र मासिन लागेकोमा चिन्ता त छ कसरी जोगाउने जवाफ वहाँसित छैन । वहाँकै हातबाट कांग्रेसको नेतृत्वमा बनाइएको संविधानको अवशान भयो । कांग्रेससितै सम्झौता गर्दै प्रजातान्त्रिक पध्दति अगाडि बढाउन सहयोग गरेको राजसंस्थालाई बिस्थापित गराउनु भयो । परम्परागत रुपमा कांग्रेसको ढाल बनी सहयोग गरेका शक्तिहरुलाई लत्याउनु भयो । अझै पनि कांग्रेसको नेतृत्वमा चेत खुलेको छ भने प्रजातान्त्रिक संविधान बनाउन एक सशक्त शक्ति निर्माण गर्नुपर्छ र माओवादी इतरका सम्पूर्णशक्तिलाई एकत्रित गरी अगाडी बढ्नुको बिकल्प छैन । नेतृत्व जोसुकैको होस् सबै संसदवादी दल एवं शक्ति एक भई यो संवेदनशील अवस्थामा देशलाई पार लगाउने व्दन्व्द र त्रासमुक्त देश र समाज निर्माण गर्नु आवश्यक छ । सत्ताबिमुख हुनुपर्दाको तीतो फ्याँक्नमात्र क्रान्ति होइन क्रान्तिको उद्देश्य लक्ष्य र गन्तव्य समेतको स्पष्ट सिमाङ्कन पनि जनतामा राख्नुपर्छ । माओवादीलाई सत्ताबाट झार्नमात्र क्रान्ति गर्ने हो भने त्यो स्वयम् कांग्रेस र देशको लागि झनै प्रत्युत्पादक बन्नेछ ।.



1 Comments:

Panda said...

प्रजातन्त्र भन्दा टोलै पिच्छे राज्य र घरै पिच्छे देश बनाउने सपना देखेका नया नेपाल का जनताले गिरिजाको प्रजातन्त्र वा सत्तातन्त्रको आन्दोलनलाई अब साथ देलान र!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !