September 17, 2017

राइनास नगरपालिका, लम्जुङको नगर परिकल्पना कार्यशाला, २०७४-५-२४

(Workshop on Municipal Visioning of Rainas Municipality, Lamjung, Nepal, 2017-09-09 )

      २०७४-५-२४ (September 09, 2017) शनिवार राइनास नगरपालिकासंगको समन्यव र सर्वोदय सेवा आश्रम तथा भि.एस.ओ. नेपालको संयोजनमा नगरपालिकाको केन्द्र तिनपिप्लेमा नगर परिकल्पना (Municipal Visioning) सम्बन्धि एक कार्यशाला गोष्ठी सम्पन्न भयो | विशेष पहिचान सहित राइनास नगरपालिकाको परिकल्पना (Vision) तयार गर्ने र त्यसै अनुरुप रणनैतिक, आवधिक तथा संरचनागत योजनाहरुलाई  योजनाबद्ध रुपमा अगाडी बढाउदै राइनास नगरपालिकाको दिगो विकास गर्ने अभियानका साथ विगत देखि गरिएका प्रयासहरूको निरन्तरता स्वरूप यो कार्यक्रम गरिएको थियो |   

यस गोष्ठीको उदेश्य, योजनावद्ध विकासक्रमको पहिलो चरण अन्तर्गत नगरपालिकाको निर्वाचित प्रतिनिधिहरु तथा स्थानीय सरोकारवाला व्यक्तिहरुलाई भेला गराई विषय विज्ञहरुको प्रत्यक्ष मार्गदर्शनमा नगरपालिका परिकल्पना अभ्यास (Municipal Visioning Excercise) गराउने थियो |  त्यसै अनुरुप विषय बिज्ञ डा. संजय उप्रेती (उप प्राध्यापक, पुल्चोक क्याम्पस) ले मुख्य कार्यपत्र तथा प्रेम दवाडी, दिनेश चन्द्र पन्थी र बद्रि भट्टले सहयोगी कार्यपत्र प्रस्तुत गरिसकेपछी उपस्थित व्यक्तिहरुलाई पाँच (५) वटा समुहमा विभाजन गरि नगर परिकल्पना अभ्यास गरिएको थियो | कार्यक्रमको सहजीकरण स्थानीय अगुवा समाजसेवी कृष्ण ओलियाले गर्नु भएको थियो भने कार्यक्रमलाई संचार माध्यमसंग जोड्ने काम बिक्रम न्यौपानेले गर्नुभएको थियो |   

 
हरेक समुहको काम सामूहिक छलफल पश्चात नगरपालिकाको अग्रणी क्षेत्रहरु (Lead Sectors) पहिचान गर्ने, पहिचान गरिएको क्षेत्रहरुको आधारमा एक परिकल्पना नारा (Vision Statement) बनाउने र उक्त नारालाई वास्तविकतामा उतार्न सक्ने आधारहरु प्रस्तुत गर्नुपर्ने थियो | अभ्यासको लागि सबै समुहलाई एक देखि डेड घण्टाको समय दिईएको थियो भने दस मिनेटको प्रस्तुति गर्ने समय छुट्याइएको थियो | पाँचवटा समुहले परिकल्पना गरेका नाराहरु निम्न अनुसार थिए :

समुह १ :
“राइनास नगर : कृषि, पर्यटन र शिक्षाको आधार”

समुह २ :
कृषि, पर्यटन, शिक्षा र संस्कृति : स्वास्थ्य एवं रोजगारमा राइनासको संवृद्धि”

समुह ३ :
“राइनास संवृद्धिको अभियान : स्यरिय शिक्षा र कृषिमा ध्यान”

समुह ४:
आधुनिक कृषि र पर्यटकीय  शहर : समावेशी र वातावरणमैत्री राइनास नगर”



समुह ५:
“कृषि, शिक्षा र पर्यटन प्रबर्धन : समृद्ध राइनासको अभियान”

      सबै समूहले आआफ्नो कल्पनाहरु प्रस्तुत गरिसकेपछि पुन विषय विज्ञले सबै परिकल्पनाहरुलाई एकत्रित गरि साझा कल्पना (Common Vision) पहिचान गर्न अभिप्रेरित गर्नु भयो | केहिबेरको छलफल पश्चात सबैको साझा परिकल्पना “कृषि, पर्यटन र शिक्षा” मा आधारित हुने गरि अन्तिम रुप दिन नगरपालिकाका मेयर सिंह बहादुर थापालाई कार्यशाला गोष्ठीबाट उठेका सबैकुराहरु सहित सहभागीहरुले तयार गरेका पोस्टरहरु हस्तान्तरण भयो | नगरपालिका परिकल्पना अनुमोदन भैसकेपछि त्यसलाई विकासको मियो मानेर नगरपालिका भित्र गरिने हरेक क्रियाकलापहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा परिकल्पनासंग जोड्नु पर्ने कुरा विज्ञ डा. उप्रेतीले भन्नु भयो | सहभागीहरुबाट प्रस्तुत गरिएका साझा अवधारणालाई नगरपालिका पदाधिकारीबाट अनुमोदन गरि जनमानसमा लाने, सर्वसाधारणहरु सबैमा मुखरित गर्ने र त्यसै अनुरुप रणनैतिक योजना, आवधिक योजना तथा संरचनाहरु निर्माण गर्दै जाने कुरामा मेयर सिंह बहादुर थापा र उपमेयर धन कुमारी गुरुङले प्रतिबद्धता जनाउनु भयो | कार्यक्रममा सुन्दरबजार नगरपालिका र पालुंगटार नगरपालिकाका मेयरहरुलाई पनि आमन्त्रण गरिएको थियो |

उक्त कार्यक्रम पश्चात परिकल्पनामा आधारित हुँदै सम्भावित रणनैतिक योजनाहरुको तर्जुमा सम्बन्धि छलफल गर्ने र नगरपालिकालाई सुझाव दिने उदेश्यले स्थानीय कृषि विज्ञहरु, पर्यटन विज्ञहरु र शिक्षाविदहरुको सुची (Experts Roster) तयार गर्ने अभियान शुरु भएको छ | आफ्नो क्षेत्र र  विज्ञता सहित सम्पर्क फोन, ईमेल उपलब्ध गराईदिन विषयविज्ञ राइनासवासीहरुमा अनुरोध गरिन्छ |   
परिकल्पना नारा (Vision Statement) सम्बन्धि छलफल चलि नै रहेकोले यहाँहरुलाई उपयुक्त लागेको सोच, सपना र सुझाव दिई आफ्नो विषय तथा पेशागत सम्बन्ध (Professional Connection) गाउँसम्म विस्तार गर्न र सकारात्मक सोचका साथ दिगो राइनास विकासको अभियानमा सहभागी हुन सबै राइनासबासीमा विशेष अनुरोध छ | धन्यवाद |

-    दिनेश चन्द्र पन्थी
[email protected], ९८५१०७०९१२
  
   





0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !