July 25, 2012

भिन्नता - नेपाली पत्रिका र अमेरीकी पत्रिका

जब आफ्नो ठाउँबाट अन्य ठाउँमा पुगिन्छ, नयाँ ठाउँलाई पुरानो ठाउँसँग दाँज्ने त सबैको बानी नै हुन्छ। झन् नेपाल छोडेर विदेशमा पुग्दा त सबैले देश दाँज्ने गर्छन्, हाम्रो देशमा पनि यस्तै अग्ला घर भए, यस्तै चिल्लो बाटो भए यस्तै यस्तै। यस पटक भने मलाई नेपाली पत्रिका अमेरिकी पत्रिका सँग दाँज्न मन लाग्यो। कहिले कांही नेपाली पत्रिकाका कुराले झकाउन त गर्थ्यो। यसपटक भने लेख्नै मन लाग्यो।
आज बिहान नागरिक न्युज हेर्दा प्रथम लिंक नै नराम्रो खबर पढ्न पुगे। खबर यस्तै थियो
खेम कार्की, दक्षिण कोरिया, साउन १० - इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आएका प्युठानका
ओम प्रसाद शेरचनले झुन्डिएर आत्महत्या गरेका छन । दक्षिण कोरियाको छनानमा कार्यरत २३ वर्षीय शेरचनले आफू बसेको तेस्रो तल्लामा मंगलबार झुण्डिएर आत्महत्या गरेको हुन्। उनको मृत्युको नेपाली दुतावास दक्षिण कोरियाले पुष्टी गरेको छ । उनको पुलिस रिपार्टमा झुण्डिएर आत्महत्या गरेको आएकोले नेपालको परराष्ट्रलगायत सम्बन्धित निकायमा जानकारी पठाइसकिएको छ । हालसम्म उनका आफन्तहरु सम्पर्कमा आइनसकेको र आफन्तको दावीको आधारमा बाँकी प्रकृया चालिने दुतावासले जनाएको छ ।
मुख्य कुरा त आत्महत्याको खबरले कसरी प्रथम लिंकमा ठाउँ पायो? झन् एस एल सी रिजल्टको बेलामा त नेपाली पत्रिकाले आत्महत्यालाई  निकै ठाउँ दिएर प्रकाशित गरेका थिए। अमेरिकामा आत्महत्यालाई ठाउँ नदिने मात्र होइन सकेसम्म यसलाई खबर नै नबनाउने गरिन्छ। यसको मुख्य कारण, यस्तो सिको कसैले पनि नगरुन हो भन्ने हो। एस एल सीमा पास भन्दा फेल बढी हुन्छन्। परीक्षामा फेल भएर आत्महत्या गर्नु पर्ने भए नेपालको  परीक्षा दिने जन संख्या आधा हुन्थ्यो होला। परीक्षामा फेल हुनु विभिन्न कारण हुन सक्छन् तर त्यसमा आत्महत्या गरिहाल्न पर्ने वाध्यता पक्कै पनि कसैलाई नहोला। यस्तो आत्महत्या गर्ने परि पार्टी लाइ सबैले दुरुत्साहित गर्नुपर्छ। तर नेपाली पत्रिकाले आत्महत्या गर्ने परीक्षार्थीलाई बिचरा को भाव देखाएर खबर प्रकाशित गरिराखेका हुन्छन् जसले आत्महत्यालाई खबर प्रशारण गर्नु भन्दा बढावा दिइराखेको हुन्छ। विदेशमा यसरी आत्म हत्या गरेका लाइ पनि विशेष खबर भनेर नछापेको भए नै बेश हुन्थ्यो। नेपालमै त नेपालीलाई ज्यान जोगाएर हिँड्न गाह्रो छ, विदेशमा हन्डर खानेको कम त पक्कै छैन बरु २ या ४ गुणा होला। तर त्यसो भन्दै मा डोरी लिएर हिँडिहाल्नु पर्ने कारण पक्कै आवश्यक छैन।
दोस्रो कुरा के भने मान्छेको नाम,ठेगाना किटान गरी परिवारको जानकारी बिना खबर छापिएको छ। अमेरिकामा पिडित को आफन्तले खबर नपाए सम्म मिडियामा नाम प्रकाशन गरिन्न। परिवारले नेपालका सुरक्षा अधिकारीबाट खबर पाउनु भन्दा पत्रिका र बजारको हल्लाबाट आफ्नो परिवारको सदस्य गुमाएको खबर पाउँदा कति चोट पर्ला? हुन त नेपालमा पत्रकारको आफ्नै आचार सम्मिता होला तर देश र जनतालाई असर पर्ने सम्वेदन्सिल कुरामा राष्ट्रिय पत्रिकाहरूले समाचार प्रकाशित गर्दा केही ख्याल गरे राम्रै हुनेथियो।
अन्त्यमा विदेशमा अचानक आफ्नो परिवारको सदस्य गुमाउने शेरचन परिवारलाई समवेदना प्रकट गर्न चाहन्छु र यो खबर उदाहरणको रुपमा मात्र लिएकाले यसलाई अन्यथा नमानि दिनु हुन अनुरोध गर्छु।


3 Comments:

Aakar Anil said...

Valid Point!

Anonymous said...

Nepali Alpatrakar ko k kura. heeeeeheeee.

leena said...

tapai haru dautari sangai haraunu bhayo bhaneko puna jhulkinu bhayo. khusi lagyo. lekh ramro chha. lekhdai garnuhola.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !