March 27, 2011

चट्पटे मन

– राजेश नतांश

काया बच्ची भा'की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई
प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे– 'ओई ! चट्पटे खान जाम न !'
उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने,चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु– 'जाऔँ,हिँड् ।'
आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो–पहेँलो घाम टल्किरहेको छ । गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ–आफ्नो बासस्थान फर्किरहेका
छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ । बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद्, चित्रकार हुदोँ हुँ त म यो सौन्दर्यलाई
क्यानभासमा उतार्ने थिएँ । तर शब्दको माध्यमद्वारा वर्णन गर्नुको विकल्प छैन । बेला–बेलामा पूर्वीय हावाका मन्द गतिले हाम्रा दुई शरीरलाई स्पर्श गर्छन् । काउकुति लगाउँछ । हामी प्राकृत सौन्दर्यमा आल्हादित हुँदै आफ्ना पाउपंक्तिहरु दौडाइरहेका छौँ ।
काया बसन्ती दिदीले बनाएको चट्पटको रसिक छे । उसै त ऊ चट्पटे भनेपछि हुरुक्कै हुने गर्छे । ऊ प्रत्येक साँझ यसरी नै यहाँ मलाई खिचेर ल्याउछे । म पनि आज्ञाकारी बालकझैँ उसको पछि लहसिँदैँ आइपुग्छु ।
एकदिन,'ओई ! के पढेको ?' उसले भनि ।
'देखिनस् !' मैले झर्कदै भनेँ– 'द सङ्ग अफ लाइफ !'
'ह्या, कतिचोटी पढ्छस् यो कविता ?' ऊ कराई– 'झ्याउँ लाग्दैन यसरी दोहोर्याएर पढ्न ?'
'झ्याउँ लागेको भए पढ्थे र ?' मैले प्रतिप्रश्न गरेँ– 'तँलाई साहित्यको रस था'भए पो !'
'भो, पदैन' उसले भनी– 'मलाई पागल बन्नु छैन ।'
'तेरो मतलब म पागल ?' म सन्किएँ– 'बाघलाई मासु खान सिकाउँछेस् ?'
'तँलाई नै था होला नि ?' उसले पढाउन खोजी– 'रियल लेटरेचर क्यान बि क्रियटिड अन्ली बाइ म्याडमेन, हेरमिट्स, हेरेटिक्स, ड्रिमर्स, रिबेलस एण्ड सेक्टिस नट बाइ डिजिलेन्ट ट्रस्वर्थी फक्सनअरिज ।'
'त्यै त !' मैले खिसी गर्दै भनेँ– 'तिमीहरुजस्ता सद्देले सक्तैनौ !'
'भो छाड् दे । यस्तो अन्त्यहीन बहस नगरेकै बेस ।' उसले भनि– 'ओई ! चट्पटे खान जाम न !'
'ह्या, पढिरा'छु ।' मैले अस्वीकार गरेँ– 'तँ जा ।'
'किन भाउ खोजेको ?' ऊ झर्किई– 'तँलाई जहिल्यै जबरजस्ती गर्नुपर्छ ?'
'बुझ न ! म जान्न ।' मैले नरम हुदैँ भनेँ– 'तँ पुगेर आ'न ।'
'साले ! उसले गाली थाली– 'सुँगुरजस्तो ब्यहोरा देखाउँछेस् । यहीँ थुतुनो जोतेर बस ।'
ऊ जोडले ढोका खेलेर बाहिर निस्की । म अक्क न बक्क हेरेकोहेर्यै भएँ । अब फकाउन उसको मोबाइलमा फोन गरेँ । कल लाग्न मुश्किल पर्यो । उसले 'इनकमिङ कल ब्लक' गरिछ । कम्प्यूटर बोल्यो– 'माफ गर्नुहोला तपाईले सम्पर्क गरेको
नम्बरमा आगमन कल निषेध गरिएको छ ।' त्यसपछि उसको घर गएँ । ऊ ढोका थुनेर बसेकी रहिछ । बाहिरबाट स्वर यन्त्र फाटुञ्जेल बोलाउँदा पनि बोलिन । त्यसपछि मेरो हार भयो । म कोठा फर्किएँ । त्यसपश्चात म एकदमै व्यस्त भएँ । उसलाई फोन गर्न र भेट्न जान समय पनि भएन ।
ऊ कहाँ नबोलिकन बस्न सक्छे र ! एकाबिहानै ङ्च्चि सेता दाँत देखाउँदै मेरो कोठामा आइपुगेकी थिई । उसको अनुपस्थितिमा मलाई पनि न्यास्रो लागिरहेको थियो । ऊ नहुँदा पानी विनाको माछाझैँ ब्याकुल हुने रहेछु । शरीरबाट एउटा अङ्ग छुटैझैँ महसुस हुने रहेछ । सायद घनिष्टताले होला । हामी परस्परमा बाझाबाज जस्तो तँ–तँ म–म गथ्यौं तथापि त्यो असीम प्रिय लाग्थ्यो । म उसको समीप्य रहन अभ्यस्त बनिसकेको रहेछु । मेरा शरीरका अवयवहरुमा उसकै नामको रक्तसंचार हुदोँ रहेछ । यसलाई मेरो आशक्ति मान्न सकिन्छ ।
मलाई चट्पटेभन्दा पनि बसन्ती दिदीको गफ असाध्यै चाख लाग्थ्यो । प्रेम र दर्शनका कुराहरु सुन्न म लालायित हुने गर्दथेँ । पातलो शरीर, चाउरिँदै गएका गाला थिए उनका । उनी जवानीमै बूढीजस्तै देखिन्थिन् । उनी जहिल्यै नीलो कुर्तासुरुवालमा चट्पटे बेच्न बस्थिन् । यद्यपी उनको चटपटे गाउँमै प्रचलित थियो । मान्छेहरु टाढा–टाढाबाट उनको चट्पटेको स्वाद चाख्न
आइपुग्थे । उनलाई चट्पटे बनाउन हम्मे–हम्मे पर्ने गथ्र्यो । कति मान्छेहरु घण्टौघण्टा पर्खिएर पनि खान पाउँदैन थिए ।
कुरैकुरामा मैले सोधेको थिएँ– 'तपाई व्यस्त देखिनुहुन्छ । तपाईँको श्रीमान चाहिँ के गर्नुहुन्छ नि ?'
उनको मुहारमा कुनै परिवर्तन आएन । मानौँ, उनले मेरो प्रश्न सुनेकी छैनन् । उनी २/३ मिनेट मौन बसिन् । मलाई लाग्यो– 'बिथ्यामा यस्तो प्रश्न सोधेछु!'
‘खै ! के गर्छन भाइ ?' उनी बिस्तारै खुलिन्– 'अब उनि पराया भैसके ।'
उनको प्रतिउत्तरले म दुविधामा परेँ । उनले के भन्न खोजेकी हुन त्यो ठम्याउनै गाह्रो पर्यो । यसअघि नै मैले उनको अनुहार पढिसकेको थिएँ । उनको जीवन कहिल्यै सुखपूर्वक बितेन । उनी पल–पल आफ्नो यौवन कागती जसरी निचोर्थिन । रहरहरु खुर्सानीजसरी टुक्रा–टुक्रा पार्थिन् । मुरै जसरी उनको जीवन बतासिएको थियो । उनको अनुहारमा असन्तुष्टीका आभाहरु देखेको
थिएँ । उनको शारिरीक बनावटले नै उनीमाथि केही बित्यास् परेको जस्तो प्रतीत हुन्थ्यो । म उनीसँग आफ्नो अन्तरङ्ग साट्न चाहन्थेँ । तर चट्पटे खानेहरुको भीडले यो सम्भाव्य थिएन । उनि पनि आफ्ना क्रन्धनहरु कसैमाथि पोख्न नपाएर हरियो तलाउजस्तो बनेकी थिइन् । म त्यो तलाउलाई स्पर्श गर्न चाहन्थेँ ।
काया र मात्र थियौँ त्यसबेला । उनि मेरो मुखतीर हेर्दै चुपचाप थिइन् । मैले अन्जान प्रकट गरेँ– 'दिदी कस्तो पराया ?'
उनी बनावटी हाँसो हाँस्दै बोलिन्– 'अर्को बिहे गरेपछि पराया हुदैनन् त लाटा !'
'ओऽऽ कुरा यस्तो पो !' म शान्त तलाउलाई चलाउँदै थिएँ– 'किन उहाँले अर्को बिहे गर्नु भो त ?'
'खै !' उनि बहकिदै थिइन्– 'म नि यहीँ प्रश्नको उत्तर खोजी गर्दैछु भाइ ।ममा के कमी थियो र ?'
'अनि तपाईले क्यान्टिन चाहिँ किन बन्द गर्नुभयो नि ?' मैले प्रसङ्ग मोडेँ– 'घाटा भयो कि ?'
'ओई ! तँ पत्रकार होस् र ?' काया मकै भुटेझैँ पड्किन थाली– 'किन अर्काको नीजि कुरामा सोधखोज गर्छस् ?'
'तेँरो मुखमा एकछिन बिर्को लगा त !' म कराएँ– 'तँ चुप बस्न सक्दिनस् ?'
ऊ चुपचाप रही । बसन्ती दिदी प्याज काट्दै थिइन् । उनका आँखाहरु रसाएका थिए । किनकी मैले उनको निको हुन आटेको घाउलाई कोट्याइ दिएको थिएँ ।
बसन्ती दिदीको ठेलामा थरिथरिका बट्टाहरु राखिएका थिए । त्यसमा चना, मटर भटमास, बदाम भुटेर प्याकेटमा सजाइएका थिए । त्यस्तै स्टिलका आरीमा आलु उसिनिएर राखिएका थिए । एउटा आरीमा हरिया केराउहरु राखिएका थिए । काया
त्यो टिपेर खान थाली । म त्यो दृश्य देखेर विचलित हुन्छु । अनि पछारिन पुग्छु आफ्नो बाल्यकालमा–कान्छाले भन्यो– 'ओई चाउरे । चट्पटे खान्छस् ?'
हामी धुलोमा खोप्पी खेल्दै थियौँ । लुगाभरि माटैमाटो लागेको थियो । सायद म त्यतिखेर कक्षा ३ मा पढ्दो हुँ । हामी त्यो दिन स्कुल गएका थिएनौँ । मेरो मुख रसायो र भनेँ– 'पैसा छैन । खुवाउँछस् त ?' उसले सर्त राख्यो– 'तेरो गोजीमा भाको सप्पै गुच्चा दे न ।'
'हुन्छ' मैले सहमति जनाएँ– 'बाठो रै'छ गन्देको भाइ ।'
गाउँमा राजन अंकलको चट्पटेको ठेला बेलुखीपख आउँथ्यो । उनले खै कति पढेका थिए कुन्नि ! अंग्रेजीमा बर्बराइरहेका हुन्थे । हामी त्यो सुनेर खित्का छोडी हाँस्ने गथ्र्यौं । केही बुझेर, केहि नबुझेर । कान्छाले भन्यो– 'अंकल दुई रुप्पेको चट्पटे दिनु त ।'
मेरो आँखा ठेलामा राखिएका केराउतिर एकाएक ठोक्कियो । ठुला मान्छेहरु चट्पटे बनाउन लगाएर ती केराऊहरु खाने गर्दथें । त्यस्तरी खादा राजन अंकल क्यै भन्दैन थिए । मलाई पनि त्यस्तै गर्न रहर लाग्यो । आरीमा क्वाच्च फोहर हात हालेँ । यो देखेर राजन अंकलले घुमाएर एक चड्कन दिए । त्यसपछि मलाई होसै भएन । कतिखेर कुद्दै–कुद्दै घरमा पुगेर खाटमा सुतेछु । म बेहोस भएछु । मान्छेहरु आएर मलाई पानी छम्केको मात्र याद छ । कसै–कसैले राजन अंकललाई गाली गर्दै थिए– 'मरेको भए के हुन्थ्यो ?' त्यसपछि राजन अंकलले सित्तैमा ठूलो सोलीमा मलाई चट्पटे ल्याएर दिए । मैले खुशी हुदैँ कपाकप खान थाले । कान्छा पनि चट्पटे लिएर आइपुग्यो । म अद्र्धमुर्छित भएछु । झसङ्ग हुन्छु । अनायासै एउटा विस्मृतिको पाना
बत्तासिदै आएको थियो त्यसबेला । काया अट्टहास गर्दै थिई । बसन्ती दिदी भन्दै थिइन्– 'यहाँ जीवन नै घाटा भएपछि के क्यान्टिनका कुरा भाइ ।' उहाँ बग्न थाल्नुभयो । कसैले बर्षौदेखिको मनको बाँध खोलिदिएको थियो– 'हामीले कलेज छेऊमा एउटा क्यान्टिन खोलेका थियौँ । क्याटिन आशातित भन्दा मजाले चलेको थियो । हामी दैनिक मःम र चाउमीन बनाउँथ्यौँ । विद्यार्थी र प्राध्यापकहरुको भीड अत्याधिक हुने गर्दथ्यो । श्रीमान काउण्टरमा बसेर हिसाब–किताब सम्हाल्ने गर्दथे । म चाहिँ भान्सामै अभ्यस्त रहन्थेँ । केही महिना हामीले अत्याधिक मुनाफा गर्यौँ । तर अनायासै उनमा परिवर्तन आएको महसुस हुन थाल्यो । उनि क्यान्टिनको हिसाब–किताबमा लार्पावाही गर्न थाले । उनि जहिल्यै विद्यार्थी केटीहरुसँग जिस्किएर बस्न थाले । मलाई देखी सह्य हुदैन थियो । म काममा दलिन्थे तर उनि रङ्गरङ्गिला गर्दै बस्थे । बिस्तारै हाम्रो क्यान्टिन घाटामा जान
थाल्यो । म नहुदाँ केटीहरुलाई उधारो दिँदा रहेछन् । मलाई यो थाहै थिएन,पछि थाहा पाएँ । मेरो रिसले शीर गह्रौ भयो ।
एकसाँझ,
'अचेल घाटा मात्र लागि रा'छ' म स्पष्ट हुन चाहेँ– 'किन यस्तो ?'
'सबै उधारो जान्छ ?' उनि पन्छिन खोजे– 'उठ्ला नि बिस्तारै ।'
'कसरी उठ्ला ? खातामा कसैको नामै छैन ।' म झर्किएँ– 'कुन चरीलाई सस्तोमा खुवायौ ?'
'के रे ?' उनि कड्किए– 'खाली शंका गर्नुपर्छ ? रहर लाग्छ भने तँ पनि एउटा नाठो खेला न !'
'छि ! के भनेको यस्तो ?' म गर्जिएँ– 'भोलिदेखि क्यान्टिनमा बस्नुपर्दैन ।म पनि एउटा नाठो खेलाउँदै क्यान्टिन चलाउँछु ।'
'तँ आफैँ गर ।' उनि बतासिए– 'तेरो घरमा तँ आफैँ बस् । म गएँ ।'उनी सम्साँझै घरबाट रिसाएर निस्किए । मलाई असाध्यै रिस उठेको थियो ।
'आखिर मरिच आफ्नै रागले चाहुरिन्छ' भनेरे मैले वास्ता गरिनँ । तर अहँ !महिनादिन बित्यो । उनि आएनन् । मैले आवेगमा केही शब्द चित्त दुख्ने गरी भनेँ होला तर त्यसको सजाय यस्तो दिनुपर्छ ? एकदिन म तीनछक्क परेँ । उनिप्रतिका मेरा सबै आस्थाका धराहरा ढल्न थाले । उनि बजारमा एउटी केटीसँग अँगालो मार्दै हिँडेको देखेँ । त्यो केटी त्यहीँ थिई जोसँग उनि क्यान्टिनमा लहसिन्थे । मेरा सम्पूर्ण शरीर गले । म चुपचाप आफ्नो कोठा आइपुगेँ । अनायासै आँखा रसाएर आयो । रातैभरि रोएँ । छोरीहरु पनि रुन थाले केही नबुझिकनै । अन्ततः म क्रमशः समालिदै गएँ । क्रमशः सम्हालिनु पर्यो ।'
'लोग्ने मान्छेलाई त मुठ्ठीमा पो लिन सक्नुपर्छ त ?' काया जान्ने भई–'प्रहरीमा बहुविवाहको मुद्दा दर्ता गर्नु पथ्र्यो नि ?'
'नानी, प्रेम जबरजस्ती हुन सक्दैन ।' उनि सम्हालिदै सम्झाउन थालिन्–'मैले उसलाई स्वतन्त्र छोडीदिएँ । किनकी मैले सच्चा प्रेम गरेकी थिएँ । र अहिले पनि गरिरहेकी छु । उसलाई मसँग बस्न मन रैन'छ । म जबरजस्ती पनि गर्न सक्दिन । आफ्नो पेट र यी छोरीहरुलाई जसरी नि पाल्न सक्छु । मैली यहीँ संकल्प लिएँ ।'
'कमसेकम आफ्ना छोरीहरुको बारेमा त सोच्नुपर्छ !' मैले अनायासै परेको झरी शान्त पार्न खोजेँ– 'आफ्नो रगतको त माया लाग्नुपर्ने हो । कस्तो निर्दयी रहेछ– भ्याम्पायर !'
'त्यै त भाइ' उनले भनिन्– 'अहिले छोरीहरु बाउको नामै सुन्न चाहदैनन् ।'
मेरो चटपटे खल्लो भयो । उनको आर्तनाद सुनेर मेरा आँखाहरु पूर्णतः रसाए । काया पनि स्तब्ध थिई । उसको केटाकेटीपना पनि थिएन ।
'दिदी अलि धेरै कागती लगाइदिनु है ।' काया अमिलो देख्ने बित्तिक्कै रयाल चुहाई हाल्थी– 'मलाई पीरो अमिलो असाध्यै मनपर्छ ।'
'हुन्छ बैनी । तिम्ले भने बमोजिम गर्छु ।' उनि जिस्किन थालिन्– 'यी भाइको जीवन चाहिँ कहिल्यै अमिलो नहोस् । सार्है सोझा लाग्छन् मलाई ।'
काया खितित हाँस्नथाली– 'आम्मै ! अब म यसलाई कागतीकै झोलमा डुबाईदिन्छु'
हाऽऽ हाऽऽ हाऽऽ । वातावरणमा हाँसो फैलियो । बसन्ती दिदीलाई पहिलोपटक हाँसेको देखेँ ।
अन्त्यमा,
आजकल त्यहाँको परिवेश प्रेममय भएको छ । बसन्ती दिदीले मन मिल्ने साथी भेट्टाएकी छिन् । उनको छेऊमा अर्को चट्पटे ठेला थपिएको छ । रामलाल बसन्ती दिदीलाई असाध्यै प्रेम गर्छ । दुई चट्पटे मन एक भएका छन् । ग्राहक नआउँदाको बखत हाँसोको मेहफिल जम्ने गर्छ । बसन्ती दिदी रामलालसँग मज्जाले फिएको देख्न सकिन्छ । उनको अनुहारमा खुशीका आभाहरु तैरिएका छन् । खै के कुरा गर्छन् ? यता काया पनि बदलिएकी छे । उसको केटाकेटीपना के जान्थ्यो र! उसले आज 'पल्पसा क्याफे' पढ्न लागेकी छ । अब ऊ पनि साहित्य पढ्ने रे !:)


3 Comments:

Luna said...

मिठासले भरिपूर्ण छ लेखन शैली !
तपाईंको साहित्यक भबिस्य उज्यालो देखिन्छ ,
मेहेनत गर्दै जानुस् , तपाईंको सपना साकार हुने छ ।

राजेश नतांश said...

धन्यवाद लुना जी । म हजुरबाट धेरै कुरा सिक्न चाहन्छु ।

Nepalean said...

राजेश जी कथा त गज्जबको छ। निकै राम्रो लाग्यो। म पनि पल्पसा क्यापे पढेर् २,४ शब्द छांट्नू पर्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !