January 8, 2011

‘कू’ को कुहल्ला र घाटे वैद्यहरू :


अनमिन प्रमुख करिन ल्यान्ग्रेनले आफ्नो जागिर अफ्रिकाको बुरूण्डी सरूवा हुने तय भए पछि , संयुक्त राष्ट्र संघमा आफ्नो प्रगति हैन दुर्गति विवरणको पेश गर्दै भनिन् – हामीले छाडेपछि कि माओवादी बिद्रोह हुन्छ कि राष्ट्रपति शासन वा सेनाको कु हुन्छ । हाँसो लाग्दो कुरो के हो भने यी भविष्यवाणी गर्न कुनै विशेषज्ञताको जरूरी नै पर्दैन । प्रतेक दिन प्रकाशित हुने नेपाली अखवारका पाना र माओवादी पार्टिका दावाहरू पढ्यो भने घर बसी बसी यी समाचारहरू हात लाग्छन् । यस्तो रहस्य को अन्वेषण गरी यु एन को सभामा सुनाउन अरबौँ रुपैयाँको लगानीमा नेपालमा अनमिन बसेको हो भने , यस्तो पत्रू संस्था नबसेकै राम्रो हो । तर पनि , यसको बिगत २-३ वर्षे उपादेयता केलाउने हो भने , केही नेपलीले यसमा डलरे जागिर पाएका थिए , अब त्यो नहुने भयो ठानेर केही नेपालीका पक्षमा दु:ख मनाउ गर्न सकिन्छ , नत्र यो अनमिन नामको काउछोले गरेको काम केही छैन त्यसैले यो जाओस् कि बसोस् यसले केही माने राख्दैन सर्वसाधारण नेपालीको जीवनमा ।

जहाँसम्म ‘कु’ को कुरा छ यो माओवादी कोणबाट फ्याँकिएको प्रायोजित हल्ला हो । कम्युनिष्टहरू, विशेषत कट्टरपन्थी माओवादी जस्ता, अरू दल वा समूहलाई अनेक विकृति र कुकर्मको आरोप लगाउन खप्पीस हुन्छन् । अरूलाई भ्रष्ट, प्रतिगामी र अधिनयाकवादीसम्मको आरोप लगाउने निर्लज्जता देखाउन सक्ने कम्युनिष्टहरू स्वयंमा निर्दलियता र अधिनायकवादका पर्यायवाची हुन आधुनिक संसारमा भन्दा फरक पर्दैन । आँफूसंग असहमत हुने विचारको नामोनिशान मेटाउन चाहने अधीनायकवादी सोचका कम्युनिष्टहरू संसारभर आफ्नो पार्टीको अधिनायकतावादमा मुलक र राज्यको संरचना राख्न चाहने आदिम सोचमा हिँडिरहेका हुन्छन् र पनि अरू विचार बोकेका दल, समूह वा व्यक्तिलाई प्रतिगामीको बिल्ला भिराउन लागि परेका हुन्छन् । अधिनायकवाद भित्र मौलाएको भ्रष्टाचार र निरंकूश अतिवाद मुनि प्रश्रय पाएको विकृतिले सन् ९० को दशकमा संसारभरबाट कम्युनिष्ट शासनव्यवस्था भएका मुलुकहरूको लज्जास्पद अवसान देखेर पनि , गरीब मुलुकका नागरिकहरूका अभाव जनित आकांक्षाहरूको मनोवैज्ञानिक शोषण गरी कम्युनिष्ट समानताको नक्कली सपनाको हरियो घाँस देखाएर , नेपालीहरूलाई बलिको बधशालातिर डोर्‍याएर आफ्नो अभीष्ट सिद्ध गर्ने उद्धेस्यमा नेपालका माओवादी लागिरहेका छन् । भ्रष्टाचार, भौतिक लाभ र सुख सयलका विषयहरू र लूटलाई संस्थागत गर्ने काममा छोटो समयमा नै माओवादीले अरू दललाई पछाडि पारेको देखिएकै छ र अब उसले गर्ने कुनै कामबाट नेपालको जनजीवनमा कुनै गुणात्मक सुधार होला भनेर सायदै कसैले आशा राखेका होलान् । किनभने अरूलाई विकृत्तिको आरोप चर्को रूपमा लगाउँदै, आँफै त्यही कुकर्म चार गूणा गर्नु अतिवादीहरूको विश्वव्यापी चरित्र हो ।

नेपालको सन्दर्भमा माओवादीहरूको अव्यवहारिक र सर्वसत्तावादी सैनिक चरित्रका कारण, देश भित्र र बाहिरबाट उनीहरूले कसैको विश्वास जित्न सकिरहेका छैनन् । विशेष गरी आफ्ना छापामारहरूको ब्यारेकीय संरचनालाई भंग नगरी राखि राख्ने वा सेनामा डल्लै मिलान गर्ने र अरू विचारका राजनैतिक शक्तिहरूलाई बाहुबली दादागिरीबाट मात्र नेस्तनाबूद गरी सत्ता कब्जा गर्न सकिन्छ भन्ने नीति लिएर , सहमतिको राजनीतिमा आउन नखोजिरहेको माओवादीलाई केवल उपद्रो गर्ने निहूँ चाहिएको छ । निर्वाचित संसदमा सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि उसले आफ्नो दम्भका कारण सत्ता छोड्नु परेको जगजाहेर छ किनभने उसलाई उसैका सत्ता सहचारी दलहरूले साथ नदिँदा ऊ सरकारबाट हट्नु परेको थियो । अनेकौँ प्रपञ्च सहित लाग्दा र मित्रराष्ट्र चीनको ५० करोड उपहार सौजन्यमा पनि फेरि माओवादी सर्वोच्चताको सरकार बन्न नसक्दा , माओवादी पार्टी नेतृत्व भाउन्निएर बर्बराएको छ भन्ने कुरा बुझ्न गाह्रो छैन। उता माकुनेको सरकार राजीनामा स्वीकृत भएको महिनौँ पछि सत्तामा निर्लज्ज ढलिमली गरिरहेको छ , यता सुनौलो पलङमा सुतेर आफ्नी युवराज्ञी सिताजी र युवराज प्रकाश सहित बालुवाटारमा रमाउने प्रचण्डको सपना कुनै गीतको ‘उडायो सपना सबै हूरीले’ झैँ छरपष्ट बनेको छ । यस्तोमा माओवादीलाई अरूले यस्तो गर्न खोजेका छन् भन्ने आरोप चर्को रूपमा उचाल्दै , आँफूले उपद्रो गर्ने निहूँ चाहिएको कुरा प्रष्ट बनिसकेको छ । अझ भन्ने हो भने माओवादी पार्टीका एक मात्र बौद्दिक मुखौडा बनेका बाबुराम भट्टराईलाई भारतीय वा संशोधनवादी गोटी ठहर्‌याइसकिएको पालुङटार पर्व पछिको राजनीतिक सन्दर्भमा माओवादीलाई बाह्य र आन्तरिक राजनीतिको अप्ठ्यारो सामना गर्न एउटा तमाशा मञ्चनको खाँचो छ – त्यो खाँचो पेरिशडाँडाको खेस्रा दस्तावेज हुँदै करिन ल्यानग्रेनले वाशिङ्टन पुर्‌याएकी छन् । यसको मजबून हो – राष्ट्रपति रामवरणले सेनाको आडमा कू गर्न लागे भन्दै , कथित जनबिद्रोहको मोहन वैद्य धूनी बाल्नु । कुनै बेला संस्कृत छात्रावासको फ्रि खान्कीमा आफ्नो असहिष्णु कट्टरता तिखार्दै काठमाण्डुको सडकमा फ्री मा पाइने रसियन प्रायोजनका कम्युनिष्ट पोथा पोस्तक पढेर कम्युनिष्ट बनेका यी गैर नेवारी घाटे वैद्य, भने २ लाखको भीड जम्मा पारेर सिंहदरबार कब्जा गर्ने जडीबुटी जम्मा गर्न आफ्नो रुखो अनुहारलाई उजिल्याउँदै छन् । हुनत देशलाई ब्रम्हानालमा सुताएर , अक्षता टकटकाउने घाटे वैद्यहरू के पो जानून आफ्नो पेशाको लिखे बोसो टिप्नु बाहेक !

तर, ढुक्क भए हुन्छ , कुनै कू ले नेपाललाई २ महिना लतार्न सक्ने छैन । यसले गर्ने भनेको देशलाई अरू दलदलमा धकेल्ने मात्र हो । देश बनाउने हो र यसको भविष्यप्रति चिन्तित हुने हो भने सबै मिलेर संविधान बनाएर सबैलाई स्थान दिने राज्यव्यवस्था सहितको जनकल्याणकारी पद्दति बसाल्ने कोशिस गरे हुन्छ । हामीले आशासम्म गर्ने हो तर खल पात्रबाट प्रवृत्तिमा सुधारको आशा गर्नु पो कसरी ?

-एकलव्य


8 Comments:

ठरकि दादा said...

एकदमै चित्त बुझ्दो आलेख ! ।

Luna said...

--"देश बनाउने हो र यसको भविष्यप्रति चिन्तित हुने हो भने सबै मिलेर संविधान बनाएर सबैलाई स्थान दिने राज्यव्यवस्था सहितको जनकल्याणकारी पद्दति बसाल्ने कोशिस गरे हुन्छ ।--"
यी हरफ चै एकदम मन पर्यो अरु बाकि चै उल्ले उल्लाई उल्ले उल्लाई गालि गरेर
दोहोरि गा जस्तो --जे होस् चित्त नबुझे पछी आ- आफ्नै ढंगले गालि गर्ने अधिकार सबैलाई छ । महत्वपूर्ण कुरा के भने गालि संगै समाधानका कुराहरु तिते पाति मा मह हुन्छा
जसले बडो औसधिको रुप लिन्छ -- अन्तिम हरफ मननिय छ ।

पुष्प said...

ए बाबा ! अनमितको भूमिकालाई केही पनि नदेख्ने- नबुझ्नेलाई के उपमा दिनु ! उतिबेलै भारतले अनमिन ल्याउन नदिन गरेको कसरतले नै अनमिनको भूमिका प्रष्ट हुन्छ । अनमिन त जाने पक्का भइसक्यो, वर्षौंदेखि लैनचौरमा अड्डा जमाएर बसेको इनमिनका बारेमा पनि केही लेख्ने साहस गर्ने हो कि एकलव्यजी ?

संविधान बन्नु कुनै ठूलो कुरा होइन; सबै मिल्ने नै हो भने रातारात जारी हुनसक्छ । तर कोसँग कसरी मिल्ने ? भारतीय विस्तार/हैकमवादलाई बढावादिनेहरूसँग मिल्ने ? भ्रष्टाचारलाई बढावा दिनेहरूसँग मिल्ने ? कुहिएका अवशेषहरूलाई राजगद्दीमा राख्ने वकालत गर्नेहरूसँग मिल्ने ? जनताको मतलाई कुल्चेर 'प्रभु'को निगाहमा शासनसत्ता हत्याउनेहरूसँग मिल्ने ?

यस्ता बकम्फुसे लेख लेख्नुको कुनै तुक छैन; माओवादीलाई पनि भ्रष्टाचारसँग नाता गाँसिदिएबाटै यो लेखको स्तर प्रष्ट हुन्छ ।

PD said...

अनमिन भनेको एउटा ठगले अर्को ठगको जिम्मा लगाउनू हो। माओबादी एउटा ठग छ जो एक भन्छ गर घर्छ अर्कै। अनमिन कन्टामेन्टको रेखदेख गरेजस्तो गरेर ठमेलमा झुम हुन्छ। माओबादीले शान्ती नै चाहान्छ भने गोरो छालाको अनमिन किन चाहियो? गोली घट्टठा कस्का लागी? जनसेना कस्का लागी? अब पनि यो सान्दर्रभिक छ र? ल भनौ पूष्प साथी?

पुष्प said...

२०५२ सालपछि जसरी गोलीगट्ठाको खाँचो भयो, अहिले पनि त्यो खाँचो हटिसकेको छैन पीडीजी ।

nepalean said...

नेपालमा कू,गार्है पर्ला! कू गरेर चल्न सक्ने भए ज्ञानेन्द्र किन जंगल छिर्थे,अली अली सैनिक समर्थन त पक्कै थियो होला। खै किन हो माओबादीलाई अनमिनको सार्है माया लागेको। बन्दुक तिनैहरुसंग हो,खुरुक्क बन्दुक र छापामार डिजोल्भ गरे त कूरै खतम। सबै भन्दा ठूलो पार्टी तिनीहरुकै हो,फेरी किन चाहियो बन्दुक र छापामार? सायद आफ्ना छापामारलाई जागिर दिने चिन्ता होला। शान्ती सम्झौता गर्दा
छापामारको बारेमा प्रष्ट कूरा नगरिएकोले कांग्रेस-‍एमाले एउटा कुरा गरेर पेल्छन,माओबादी अर्को कूरा भन्छ। यो बिबादमा अली लचकता अपनाए छापामार ब्यबस्थापन गार्हो हुने थिएन होला। सबै सरकारकै चिन्तामा डुबेका छन,छापामारलाई सोच्ने कस्ले?

अब भनेको एकलव्यजी ले भने जस्तो सबै मिलेर संबिधान बनाउने,त्यसपछी छिटै चुनाव गरेर देश संचालन गर्नुपर्दछ। अहिलेको कामचलाउ सरकारलाई हटाएर सबै मिलेर मिलीजूली सरकार बनाउनु पर्दछ। हुन त एउटा पार्टीले अर्को पार्टीलाई कसरी माईनस गर्ने धुनमा छन। त्यसैले मिलीजूली सरकार बन्न नसकेको। तर कति दिन चलाउने त कामचलाउ सरकार? अब रामचन्द्रको उमेदवारी फिर्ता भएको छ। एमाले कता पो मिल्ने हो? एक धार माओबादीसंग मिल्न खोज्दैछन,अर्को धार कांग्रेसंग। जब एमाले बिलियो बिचार बनाउंछ सायद सरकारको दिशा उतै तिर लाग्छ की?

Zero Hour (शुन्य समय) said...

यो सबै खेल हो, अनेक थरिको । न अनमिनलाई माओबादीको माया छ न त माओबादिलाई नै अमेरिकी पुच्छर संयुक्त राष्ट्र संघको अनमिन नामको चिजको माया छ । अनमिनलाई जागिरको माया छ त्यसैले कसरी हुन्छ लम्बिएर बसौं भन्ने छ एकातिर भने अर्कोतिर माओबादीको साख्खै बन्न खोजेर कहिलेको लागि के के तयारी गर्दै छ ।

बांकी रह्यो घाट वैद्यको कुरा सबै पार्टीका नेताहरु उस्तै छन । नेपालमा कुनै पनि पार्टीको राम्रो गर्छु भन्ने मान्छे माथी आउनै पाउदैन । नेपालमा इगोको राजनीति चल्छ भन्थे कुन भारतीय नेताले हो केहि समय अगाडी । अहिलेको राजनीतिमा पनि २-३ इगो समुहले हाली मुहाली चलाईरहेकोछ । यो राम्रो र उ राम्रो भन्दा पनि कुन स्वार्थी जमात सापेक्ष रुपमा ठीक छ भन्नु पर्ने अवस्था छ ।

पीजी उर्फ जिरो आवर

Nepalean said...

पिजीले भन्नुभएको सही हो। यांहा कसैलाई कसैको माया भन्दा पनि आफ्नै माया छ। अनमिनलाई जागिरको,माओबादीलाई आफ्नो शक्तीको तथा एमाले र कांग्रेसलाई कता आफूं माओबादीले गर्दा हराइने हो की भन्ने। यस्तै यस्तै।

यदी इगोको हालीमूली नहुने भए संबिधान एकै बर्षमा बन्थ्यो होला। ६०० जनाको जमात ३ बर्ष मिटीग बसे हात लाग्यो सुन्ने।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !