October 5, 2009

खेर गएका नमस्कार

- जोतारे धाइबा

छिमेकी मुलुकसँग देशको व्यापार घाटा चुलिएर अरबौंको नोक्सानले राष्ट्रिय अर्थतन्त्र भ्वाङ पर्दै गएको सुनिन्छ बेलाबेला । व्यापारमा घाटाको कुरा उसो त नौलो होइन । नाफादायक चोक्टा खान हिँडेकी बूढी घाटाको झोलमा डुबेर मर्नु सामान्य कुरा हो । यसरी घाटा हुनु व्यापार खेर जानुबराबर हो । खेर गएका धेरैधेरै व्यापार जस्तै अचेल नमस्कार पनि खेर जान थालेको छ । हेर्ने हो भने यही नमस्कार मानव समाजको लागि ठूलो उपहार हो । शिष्टाचार र आदरभाव प्रकट गर्ने माध्यम नमस्कार खेर गएपछि नमस्कारकर्तालाई घाटा लाग्नु स्वाभाविक हो । यस्तै घाटाको कारोबार गर्ने नमस्कार ठाउँ न ठहर त्यसै खेर गएर जिन्दगीमा बेलाबेला ठगिनुपर्छ ।

नमस्कारको नशा लागेपछि नमस्कार नै गरुँगरुँ हुन्छ जहाँ पनि जसलाई पनि । यसैले मानवसमाजमा हार्दिकता र आदरभाव प्रकट गर्ने सरल माध्यम भए पनि नमस्कारको खेल जूवाभन्दा कम नशालु छैन ।
अड्डा अदालत कारखानादेखि नातागोताका दसगरी जालोमा नमस्कार गरीगरी नाफा निकाल्ने सुर हुन्छ । तर गर्ने के गरेका ती तमाम नमस्कार खेर गएर वित्यास पर्छ । नमस्कारको निशानाले सधैँसधैँ चरा मार्दैन । कहिले त करोड लुट्न सक्ने यो नमस्कारको तीरले माखो नमारेर लाजमर्दो हुन्छ ।

व्यापारमा घाटा व्यापार गरेपछि भए जस्तै नमस्कार खेर गएको पनि नमस्कार गरिसकेपछि पत्तो लाग्छ । त्यसैले कसलाई कसरी कुन स्तर र भावभंगीमा नमस्कार गरियो भन्ने कुराले निकै अर्थ राख्छ । नमस्कार गनुपूर्व सावधानी र समझ अपनाउनु नमस्कार-कारोबारको न्यूनतम एजेन्डा हो । यो जानिएन भने रोएबराबरको दुःख पाइन्छ । यसैले नरुनलाई भए पनि नमस्कार बजाउनु आजको युगको माग हो । गाउँले जनजीवनको साधारण जदौदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको ठुलठूला सलाम र नमस्तेमा निहुरमुन्टी बन्न जो कोहीको कलाकारी खुबीले भ्याउँदैन । यो कला चानचुने नभई सर्कसखेलमा झिनो डोरीमा ठमठम हिँड्नुपर्ने जस्तो जोखिम हो ।

नमस्कारको हाम्रो आधारभूत प्रशिक्षण स्कुले जीवनदेखि नै सुरु हुन्छ । कक्षामा आफू कहिल्यै नझुल्किए पनि पढाउने गुरुबा-आमालाई थपक्क जुम्लाहात टक्र्याएर परीक्षामा दह्रो परिणाम हात पार्न हाम्रो नमस्कार-यात्रा लागूऔषध जस्तै निरन्तर चल्छ । धर्मकर्ममा गुरु-बाबाजीसँगको सत्संगमा होस् या जागिरे सेवाको उच्च अंगमा होस् टक्र्याइसकेको नमस्कारको सौगात घरिघरि बेकार बन्छ । यस्तो जोखिमको खेल भए पनि नमस्कारको तीर हान्न नछोडिनु मानवीय शिष्टाचारको अपूर्व संस्कार हो ।

आफू ज्वाइँ भएपछि सासूलाई रीत पुर् याएर नमस्कार गरिएन भने भान्सा छिर्दा पनि घिच्चासेको आरोप लाग्ला भन्ने डर हुन्छ । अन्यथा सही रीत पुर् याएर गरिएको नमस्कारले तपाईँलाई घ्यू चाहिएको छ कि मासुको लेदैलेदो मुछेर भूजा ज्यूनार गर्न मन छ कि, सासूज्यूबाट तुरुन्तै त्यसको बन्दोबस्त गराउँछ । सबै आतिथ्य नमस्कारको बुइ चढेर सरक्क सामुन्नेमा टुप्लुकिन्छन् । माइतमा छोरी वा दिदी-बहिनीको रुपमा आफू गइएको छ भने पनि नमस्कारको भूमिका धेरै हुन्छ इज्जतको गाँठो कस्नमा । नत्र त बिहे गरेर गएपछि कस्ती टिमुर्किएकी भइछ भनेर सोच्लान् भन्ने पीर ! यस्तो पारिवारिक लहरादेखि सांसारिक पहरा बेर्ने नमस्कारलाई खेर जान नदिई असुलउपर गराउने रुपमा सदुपयोग गर्न सकौँ, नमस्कार विद्याले यही जुक्ति देओस् ।

5 Comments:

लेकाली said...

बिछट्टै हाँसो लाग्ने ब्यङ्ग्य पस्किनु भयो हो धाइबाले। एक्लै कोठामा जोड सँग हासेको कुन्नी छिमेकी कोठातिरकाले लौ यो त बौलाएछ भन्यो क्यारे!लौ मलाई त नमस्ते टक्राउन पनि डर पो लाग्न थाल्यो।

Kedar Shrestha'Gagan' said...

Byabaharika byanga. Utkrista Lagyo Dhaiwajee.

पुष्प said...

आफ्नो ससुरालीमा त नमस्कार चल्दैन ।

Zero Hour (शुन्य समय) said...

यो कलामा आंफु पारंगत नभएर आफुले पनि बेला बेलामा दुख पाइएको छ ।

नेपालियन said...

धाइबा जी को राजनैतीक पेच आउने म त कुन नेताले कुन बिदेशिलाइ नमस्कार गरेर खेरा गएछ भनेको त हामी सबैको खेरा जाने नमस्कार रहेछ।

नमस्कार भनेको एक प्रकारको सम्मान हो। सम्मान पाए पछि मान्छे मात्रै होइन कुकुर पनि लुरुक्क भनेको मान्छे। कुकुरलाइ ढुंगाले हिर्काउनुहोस त , भोली देखी यता आइजा भने उता जान्छ। भने पछी मान्छै ले त मान पक्कै खोज्ने नै भए। खेरा जाओस नजाओस नमस्कार चै काम पट्टाउन सबैले टक्राइहाल्औं है?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !