March 14, 2009

किन सँधै प्वाँख उम्रेका कमिला बन्छन् हिजोका क्रान्तिकारीहरू ?

एक जमाना थियो बीचमा चिरेको कालो टोपी र खद्दरको इष्टकोट लगाएका कांग्रेसीहरू त्याग र प्रजातन्त्रका पर्याय मानिन्थे । हामी विद्यार्थी हुँदा अभाव, दुख र यातनाको गोता र खली खाएका यस्ता नेताहरू हाम्रा लागि सम्मान अर्पण गर्नु पर्ने पात्र हुन्थे । हिजोका कम्युनिष्टहरू न्याय र समानतको नारा बोकेका जनताका गीत अनि आवाज सुनाएर मान्छेहरूलाई द्रविभूत पार्थे, उत्तेजित बनाउँथे ।

तर हरेक क्रान्तिको बुनियाद यही न्याय, स्वतन्त्रता र समानताका आवाजका लागि हुन्छ अनि जब एउटा क्रान्ति सम्पन्न बनेर हिजोका क्रान्तिकारीहरू सत्ताको सिंहासनमा पुग्छन् अनि किन तिनीहरू परिश्रमी र त्यागी कमिलाबाट प्वाँख उम्रेका कमिलामा रूपान्तरित हुन पुग्छन् ? अनि किन हरेक पटकका क्रान्तिकारी उत्सर्गहरूको कथा एउटा स्वार्थी , लम्पट र भ्रष्टाचारका किर्नाहरूले इन्फेस्टटेड बनेको शासकीय जमात तयार पारेर विसर्जित बन्ने गर्छ , हाम्रो नेपालमा ? के साथीहरूसंग यसको जवाफ छ ?

हिजोका कांग्रेसीहरू भ्रष्ट बने, कतिपय तिनिहरूको अध्याय सकियो। पुरान कम्युनिष्टहरू धनको लाभमा लोभि र पापी बन्दै बिलाप रून पुगे । तिनको पनि ओह्रालो लाग्यो । आज मुलुकमा जनताको लागि काम गर्ने वातावरण भएन भन्दै जनतालाई रुवाउँदै लडिएको कथित जनयुद्दवादीहरू अथवा रगतको खोलो बगाएर हिंस्रक क्रान्ति गर्नेहरू सत्तासीन छन् , तर तिनको राज्य सञ्चालन शैलि सर्वत्र सन्त्रास कायम गर्ने खालको छ । उनीहरूको हरेक कुरा उदेक लाग्दो छ तर पनि त्यो कुराको आलोचना गरियो भने उनिहरूकै शव्दमा प्रतिगामीको मतियार बन्न पुगिन्छ । मुलुकमा यस्तो अजिबोगरीब गणतान्त्रिक लोकतन्त्र छाएको छ, जहाँ केवल लोकतन्त्रको माओवादी लयमा गाइने भजन गाउन मात्र अनुमति छ ।

घुमीफिरी रूम्जाटार भने झैँ फेरि कुरो माओवादीको नै आउँछ ।

- हिजो गाउँघरमा तास खेल्नेहरूलाई , मुखमा तास कोचाएर कथित समाज सुधारको उदाहरण पेश गर्ने माओवाद किन , स्वदेशीहरूले पनि क्यासिनो जान पाउने अधिकार खोज्ने क्रान्तिकारी मागमा आएर टुंगिन्छ ?

- हिजो जिन्सका पाइण्ट लगाएका वा केटाले झैँ ब्वाइज कट कपाल काटेको अनि स्वदेशको संस्कृतिलाई विकृत पारेको आरोपमा केटीहरू माथि जनवादी कारवाही गर्ने क्रान्तिकारिता , किन हिसिला यमी र पम्फा भूसालको जिन्स र ब्वाइज कट धारणसहितको मन्त्रीपदीय शपथ ग्रहणको परिहासमा टुंगिन्छ ?

- हिजो कांग्रेस र अरू बिभिन्न समयमा सत्तासीन बनेका राजनीतिक पार्टीहरूले सत्ता, प्रशासन र प्रहरीलाई राजनीतिकरण गरेको आरोप लगाउनेहरू, आज नेपाली राज्य संयन्त्रको खुलम खुल्ला चरम राजनीतीकरण गर्दा अनि माओवादीलाई आर्थिक नजराना जुटाउने कबुल गरेर सरूवा बढुवाको लिलाम बढाबढमा उच्चदेखि निम्न पदीय कर्मचारीको भाउ लाग्दा देश नया यूगमा प्रवेश गरेको ठान्नु पर्ने यो कुन वाध्यता हो ?

- सरकारमा बस्ने सत्ता कब्जा गर्ने धमास दिने, सरकार र बिद्रोही हुनुको स्पष्ट आभास दिन नसक्ने, बिद्रोही वा सरकारी सेना कसको खाँतिर वा तरफदारी गर्नु पर्ने हो को समेत हेक्का राख्न नसक्ने काइतेपनको जिम्मेवारीलाई चमत्कारी नया नेपालको संवाहक ठानिदिनु पर्ने कस्तो बिजोग ?

- सरकार भएर जनताको जीउधनको सुरक्षाको ग्यारेण्टी लिनु पर्नेले स्वयं बिभिन्न खाले भिजिलान्ते भ्रातृ संस्थाको जन्म गराई चरम खालको राज्यआतंक सृजना गरिरहन पाउने त्यसको बिरोध गर्नेहरू प्रतिगामी र पुनरूत्थानवादी भइने ?

- भ्रष्टाचार, घूषखोरी, अभाव , महंगी, लोडसेडिङ,पानीको हाहाकार, लूट , हत्या , अपहरण , हिंसा, राज्यबिहीनता, दण्डबिहीनताको वर्तमान स्थति के नेपालको इतिहासमा कहिल्यै यो रूपमा थियो ? के अरूलाई आरोप लगाएर आफ्नो अकर्मण्यता,निर्लज्जता र लूटतन्त्रको नांगोपन ढाक्न खोज्नु नै क्रान्तिकारीहरूको गणतन्त्र हो त ?

- हिजो राज्य बिरुद्दको प्रदर्शन र दंगाहरूमा मारिने मान्छेहरू मार्ने हत्यारा गिरिजा वा देउबा हुने गर्थे र यो आरोप क्रान्तिकारीहरू नै लगाउँथे , तर अहिले दिन प्रतिदिन मारिने र मर्ने नेपालीहरूको हत्याको जिम्मेवार को हो क्रान्तिकारीहरूको माथिंगलमा के जवाफ हुन्छ यो प्रस्नको ?

हो आक्रोश र रगत पोख्नु सस्तो थियो होला तर खै लोकतन्त्रको सहिष्णू संस्कृतको विजारोपण गर्न सत्तासीन क्रान्तिकारीहरूको विचार र अनि व्यवहारको अग्रसरता देखापरेको ? के आफ्ना भ्रष्ट अनि दुष्ट कर्म र व्यवहारको अपजश अब पनि हिजोकाहरूलाई दिएर आफ्नो जिम्मेवारीबाट पञ्छिँदै कथित क्रान्तिकारीहरू अरण्य रोदन रून मिल्छ ?



4 Comments:

inashrestha said...

साथी कुरो त गज्जब हो । पुरानो कुरोबाट पाठ सिक्ने कुनै नेता-पार्टी भए पो । जुन जोगी आए नि कानै चिरेको भने झैं पो भो त नेपालाँ । समय मै माओवादी-खाओवादी सप्पैको बुद्धी पलाओस, शुभकामना !!!

पोस्तक श्रेष्ठ said...

मैले चाँहि माओबादीहरुलाई केही मौहलत दिएकोछु। हेरूँ, एक दुई बर्षमा केही गरिहाल्छन् कि, सुध्रिन्छन कि।

नेपालियन said...

तपाइको प्रथम अनुक्षेदले नै संपूर्ण लेखको ब्याख्या गरेको महशुस भयो। अर्को शब्दमा नेपालीहरुले भोग्नुपरेको राजनैतीक नियत त्यही अनुक्षेदले प्रष्टाउंछ।
अब तपाइले ब्याख्या गरेअनुरुप माओबादीको गतिविधीमा जाउं। अझै पनि माओबादी सत्तासिन पार्टी हो की छापामार, उनिहरुले प्रष्टाउन सकैका छैनन। अरु सरकारमा हुंदा आरोपको गोला बारी गर्नेहरु माओबादी अहिले तिनै आरोपमा आफू फसेका छन। या त यिनीहरु यो समस्यालाइ समाधान नै गर्नसक्दैनन या त कुहिरोको काग जस्तै के गर्ने के नगर्ने रुमलिरहेका छन। सबैको समय आउंछ, माओबादीको पनि आयो। माओबादीको यस्तै चर्तीकला कायम रहे उनिहरु तपाइले भने जस्तै प्वांख पलाएका कमिला साबित हुने छन। अनि आफै उडेर जानेछन या जनताले नै उडाउने छन, त्यती बेला उनिहरुका बन्दुकले पनि उनिहरुला साथ दिनेछैन।

ठरकि दादा said...

कुरा गर्‍यो कुरैको दु:ख !
मेरो बिचारमा त हामिले माओबादीलाई मात्रै हैन भएभरका दल र नेता सबैलाई चाहिने भन्दा बढि समय पहिले नै दिईसकेका छौं ।

अब प्वाँख उम्रने बारेमा चाही मलाई लाग्छ यीनिहरु सबैको पुरानै प्वाँख हुन। मौका नपाएसम्म प्वाँख लुकाउन भने सबै माहिर छन। त्यसैले यीनका प्वाँख पहिला देखीदैंन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !