December 22, 2008

अतितको पानाबाट (चौथो भाग)

(अतीतको पानाको पहिलो भाग यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।) तेस्रो भाग भाग यांहा छ।

पत्र उनैको थियो। ब्यग्रताका साथ पढ्नथालें। पत्रको पहिलो अंशमा उनले मेरो पत्रको प्रतिक्षा गरीरहेकी र किन पत्र नलेखेको भन्ने गुनासो ब्यक्त थियो। पहिलो पत्रमा केही चित्त दुख्ने कुरा भए माफी मागिएको थियो र बांकि भागमा उनले मलाई मन् पराएको कुरा स्वीकार गरेकी थिईन् र जीवन् संगै बिताउने सपना देखेको कुरा उल्लेख गरेकी थिईन् । अनि धेरै कुराहरु-एउटा प्रेममा परेकी किशोरीले लेख्ने चलन् चल्तीका सबै कुराहरु थियो त्यसमा। मैले साथीहरुको प्रेमपत्र लेख्ने र अरुको पनि पढ्नेगरेकोले ती सबैका भाषाहरु करीब् करीब् उस्तैनै लाग्यो। कुनै नवीनता थिएन। तर त्यो कसैले मेरै लागि लेखेकोले असाधारण थियो। हिन्दी सायरीबाट प्रभावित् ती वाक्यांशहरु मेरो मनमा आंधि-तूफान् मचाउन सफल् थियो। पत्र बारंबार पढें र हरेक् पटक् मिठो लाग्यो। जीवनको पहिलो अनुभूति-एउटा मिठो अनुभूति-जुन् फेरि कहिले अनुभव हुन सक्दैन। भएन। त्यो दिनको मेरो पढाइमा बिस्राम् लाग्यो। पढाइमा एकाग्र हुन सकिन र घुम्न निस्किएं। घर नजिक नदी थियो। नदीको किनार किनार धेरै तलसम्म पुगें। हिउंदको महीना, तराईको समथर मैदान। नदीमा, कुनै ठूलो छाल् थिएन-तरंग थिएन। तर मेरा मनका ज्वार्-भाटाहरु उच्च थिए। केही पाउंदाको खुशी थियो। रोमान्च थियो। नदी बही रहेको थियो। पानी जस्तै मेरा सोचाइहरु पनि बगीरहेका थिए-एउटा अनन्त यात्रामा।

त्यस पछि पत्राचारको क्रम् चल्न थाल्यो। हरेक हप्ता-दश दिनमा पत्रको आदानप्रदान् हुन्थ्यो। अकास भन्दा फराकिलो-समुद्रभन्दा गहिरो मायाप्रीतिका कुराहरु लेखिन्थ्यो। अर्को जन्म हुन्छ कि हुन्न थाहा थिएन तर हरेक जन्ममा साथ दिने कसमहरु खाइन्थ्यो। कुनै कुनै पत्रमा त उनले रगतका थोपाहरुलेसमेत केही शब्द लेख्थिन्। सायद मैले पनि त्यसै गरें हुंला। मेरो एस् एल् सी परीक्षा सिद्धियो। परीक्षा समग्रमा राम्रै भयो। परीक्षा पछि म त्यसै हल्लिरहेको थिएं। एक् दिन स्कूल तिर गएको बेलामा मेरो गणित शिक्षकले-त्यसै किन समय खेर फाल्छस्, स्कूल आएर पढाउने गर। क्याम्पसको लागि अलि खर्च जुट्छ भन्नु भयो र स्कूलको निजीस्रोत बाट तलब भुक्तान् हुनेगरी ठाडो अश्थायी नियुक्ति दिलाइ दिनु भयो। वहांले भनेको कुरा अकाट्य हुन्थ्यो। कतैबाट बिरोध् आएन र म शिक्षक भएं। म तासको जोकर जस्तो थिएं-जता पनि फिट हुने। वहांले अरु शिक्षकको बढी भएको पिरिएडहरु झिकेर मलाई दिनु भयो-कुनै कक्षामा गणित पढाएँ, कतै सामाजिक शिक्षा,कतै नैतिक् शिक्षा आदि-आदि।

एउटा असहज परिस्थिति आयो। मलाई उनको कक्षामा पनि पढाउन पर्ने भयो। बिषय चाहि के थियो कुनि, मैले भूलें। अब म उनको शिक्षक बनेको थिएँ। शिक्षकको मर्यादामा बस्नु पर्ने र आफ्नो प्रेम पनि जोगाइराख्न पर्ने। सके सम्म सामान्य हुने कोशीस् गर्थें। उनलाई गर्ने ब्यबहार अरुलाई गर्ने ब्यबहारसंग फरक् वा बिशेष नहोस् भन्ने कुरामा सजग थिएं। मलाई याद छ, स्कूलका केही शिक्षकहरुको केही छात्राहरु प्रति बिशेष लगाव रहेको कुरा चर्चामा आइरहन्थ्यो र म त्यस्तो चर्चाको बिषय बन्न नपरोस् भन्ने चाहन्थें। कक्षामा सोधिएको कुराहरुको उत्तर् दिन नसक्दा छडी खाने पंक्तिमा तिनी पनि पर्दथिन्। तर भेटमा वा पत्रमा माफी मागिहाल्थें र उनले पनि मेरो स्थिति बुझेको र कुनै गुनासो नरहेको कुरा ब्यक्त गर्थिन्। मेरो प्रेम रथ आफ्नै गतिमा चलिरह्यो। कुनै जात्रा, मेलामा भेटने गरिएन न भागेर फिल्म हेर्न गइयो-जुन त्यतिखेर प्रेमीहरुको चलनचल्तीको कुरो थियो। यस्तैमा मेरो एस् एल् सी को रिजल्ट पनि आयो। प्रथम् श्रेणीमा राम्रै अंक ल्याएको थिएं। अब के पढ्ने कुन कलेज् पढ्ने आदि कुराहरुमा बढी ब्यस्त हुनथालें। तर यस् बिचमा उनका केही पत्रहरु अलि अनौठा आउनथाले।

क्रमश्:



3 Comments:

luna said...

लौ म त भुतु क्कै भए !
अर्को क्रमश कहिले पढ्न पाईन्छ फेरी ?

ठरकी दादा said...

घटनाक्रम झन-झन रोचक हुँदै गा' छ । दरिलो प्रस्तुती ।

Prabin Thapa said...

i appriciate your presentation
continue it

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !