October 25, 2008

छापामारलाई राष्ट्रीय सेनामा नगाभ्दा राष्ट्रको हित हुन्छ

डेढ दशकदेखि रक्तरंजित हिंसाको पर्याय बनेको नेपाली राजनीतिले शान्तिको बाटोमा पदचाप बढाइसकेको छ । शान्तिको बाटोबाट विधिवत रूपमा भयानक र अपत्यारलाग्दो युगान्तकारी परिवर्तन देशले देखिसकेको छ । अढाइ सय वर्ष लामो नेपाली शाह राजाहरूको शासनले देशको राजनैतिक पटांगिनीबाट विधिवत समाप्तिको दिन देख्नु पर्‍यो भने नेपाली राजीतिको सत्ता केन्द्रमा, हिंसात्मक क्रान्तिलाई बाटो बनाएर कतिपयले आतंककारीको रूपमा समेत चिनेको माओवादी पार्टी विराजमान हुन आइपुग्यो । राजनिति यस्तै हो सँधै कुनै एउटै शक्तिको मात्र सिक्का जमिरहन सक्दैन; ढिलो चाँडो नया शक्तिको अविर्भाव र पुरानाहरूको बिदाइ अनि फेरि पुनरागमन वा सदाका लागि अन्त्य अवस्यम्भावी कुरा हुन ।

तर यहाँ उठाउन खोजिएको कुराले भने अहिले नेपाली राजीतिको बजारमा चर्चाको केन्द्रमा रहेको कुरासंग सरोकार राख्छ । त्यो हो माओवादी छापामारहरूको नेपाली सेनामा समायोजन गर्ने वा नगर्ने अथवा गर्ने हो भने कसरी गर्ने । खास गरी माओवादी इतरका राजनैतिक पार्टीहरूले यो विषयलाई निकै संवेदनशिल ढंगले लिएको पाइन्छ र यस्तो काम गर्नै हुन्न भन्ने मत राख्छन् भने माओवादीको सत्ता बाहिर रहेको समूहले विशेष ढंगले शत प्रतिसत माओवादी छापामारहरू सेनाका सबै पद र श्रेणीमा माओवादी कै ढाँचा र वर्गीकरण अनुसार समायोज हुनुपर्ने जिरह राख्ने गरेका छन् , यहाँ पनि माओवादीको सत्तामा रहेको समूहले भने अलिक नरम धारणा अँगालेको पाइन्छ । यो पार्टीको रणनीति पनि हुनसक्छ । कतिपय कट्टरपन्थी विचार राख्ने माओवादी नेताहरूको भनाइमा माओवादी छापामारहरू अहिलेको गणतन्त्रवादी परिवर्तनका वाहक हुन् , यिनीहरू जनसेना हुन र यिनीहरूले पपर्म्परागत नेपाली सेनालाई युद्दमा परास्त पारेर विजयी भएका हुन् त्यसैले यी छापामारहरू नेपाली सेना भन्दा बढी कार्यकुशल छन् । माओवादी छापामारका पक्षमा तरफदारी गर्ने यो समूहको अर्को दावा के छ भने माओवादी छापामारहरू आँफैमा विशिष्ट छन् र उनीहरू माथि नेपाली सेनामा प्रवेश गर्न चाहिने आधारभूत न्यूनतम् शारीरिक र अन्य योग्यताका मापदण्डहरू लागू गर्नु पनि हुन्न ।

सेना समायोजनसंग गाँसिएको यो प्रश्न माओवादीसंग दलहरूले गरेको १२ बूँदे दिल्ली सम्झौता र अमूर्त रहेको वृहद शान्ति सम्झौताको महत्वपूर्ण पक्ष हो । हिंस्रक युद्द लडेर आएको पार्टीको शक्तिको मेरूदण्ड रहेको ठानिएको छापामार समूह जुन संस्तागत रूपमा व्यारेकमा सरकारी कोषबाट पालिएर अनुत्पादक बसेको छ , त्यसको जति सक्दो उचित र द्रूत विसर्जनबाट मात्र शान्ति प्रकृयाले निष्कर्ष हासिल गर्छ । अत: यो मामिला संगीन छ ।

माओवादीका विचारमा उसको जनसेना वा छापामार वर्तमान परिवर्तनको एकल कारक हो । यो जिरह गलत छ किनभने परिवर्तनको पृष्ठभूमिका कारकको कुरा गर्दा माओवादी युद्द , विरेन्द्रको वंश विनास, ज्ञानेन्द्रको उरेण्ठेउलो महत्वाकांक्षा, मित्रराष्ट्र भारतको राजतन्त्र बिरुद्दको वितृष्णा र योजना, दल र माओवादीको सहकार्य अनि सर्वत्रबाट प्रताडित जनताको शान्ति र परिवर्तन प्रतिको उत्कट चाहना जुन निश्चित दल विशेषको दायरा भन्दा निकै माथि थियो जस्ता धेरै कुराहरू अहिलेको परिवर्तको गर्भमा रहेका कुराहरू हुन् भन्नेमा आशंका रहनु हुन्न । कुनै एउटा पक्ष वा कारकले मेरो कारण परिवर्तन भएको श्रेय नै लिन खोज्ने हो भने गणतन्त्रवादी परिवर्तनको जिम्मा स्वयं तत्कालीन राजा ज्ञानेन्द्रलाई दिँदा अनुपयुक्त हुन्न । तर पनि, यति भनेर माओवादीको आन्दोलनको अन्तस्तहमा रहेका कैयौँ विडम्बनाहरूका वावजूद , उसको योगदान एउटा कारक थियो भनेर भन्नै पर्छ । जुन सत्य पनि हो ।

हिजोको परिस्थितिमा पुनरुत्थानवादी र राजावादीहरूको फेरि फर्केर खतरनाक बन्न सक्ने महत्वाकांक्षा र नेपाली सेनामा समेत परम्परागत शक्ति दरवारप्रति वफादारी देखाउनेहरूबाट हुन सक्ने खतरालाई चेक दिन माओवादी छापामार केही हदसम्म काम लाग्न सक्थे भन्ने एउटा आँकलन रहिआएको परिस्थिति पनि अहिले विद्यमान छैन । माओवादी छापामारहरू केही माओवादीले भन्ने गरे जस्तो सर्वविजयी शक्ति पनि होइन र यदि त्यस्तो हुन्थ्यो भने पुरानो नेपाली सेनालाई खारेज गरेर उनीहरू नै देशको सेना भइसक्थे र आँफुले भने जस्तो जनवाद देशमा थोपरिसकिएको हुन्थ्यो । अझै संगीन कुरा के हो भने माओवादी छापामार माओवादी प्रशिक्षित हतियारधारी कार्यकर्ता नै हुन र यी सच्चा अर्थमा 'जनसेना' पनि हैनन् । हिजोको हिंस्रक युद्दकालमा , कांग्रेस वा एमालेका वा अन्य पार्टीका गाउँ र स्थानीय कार्यकर्ता र मतदातालई छानी छानी मार्ने वा कार्वाहिका नाममा दर्दनाक रूपले घाइते बनाउने कतिपय मिलिसियाहरूबाट नै माओवादीको सेना बनेको छ । यस्तोमा माओवादी छापामारमा सर्वग्राह्य र सर्वपक्षी जनसेना बन्न सक्ने कुनै चरित्र छ भनेर दावा गर्न कुनै माओवादी नै अघि सर्न सक्दैन । माओवादी छापामारहरू माओवादी दलका कट्टर कायर्कर्ता हुन जसलाई राजनैतिक र हात हतियारको प्रशिक्षणबाट सुसज्जित पारिएको छ । माओवादी पार्टी स्वयं सत्ताको हर्ताकर्ता बनेको अहिलको सन्दर्भमा , नेपाली सेनालाई पार्टीगत राजनीतिको क्रिडाभूमि बन्न नदिन सचेत रहनु सबैभन्दा बढी उसैको जिम्मेवारी हो । यदि आज उसले अहिलेको परिवर्तनमा आफ्नो अग्राधिकार रहेको कुराबाट फाइदा लिन खोज्छ र गैरराजनैतिक सेनालाई आँफु अनुकूल पार्न आफ्ना मिलिसियाको जबर्जस्त राष्ट्रिय सेनामा समायोजन खोज्छ भने , भोलि तराई र अन्य जातीगत सेनाहरूले शान्ति सम्झौताको टेबलमा आउन यही नजिरको कार्यान्वयन खोज्नु अन्यथा ठहर्दैन । यसले माओवादीको राजनैतिक एजेण्डा देशको राजनीतिलाई , हिंसा र डरको भरमा आफ्नो बाटोमा हिँडाउनु हो भन्नेको तर्कलाई मात्र बल दिन्छ । आफ्नो पार्टीगत राजनीतिको विचार र हिंसात्मक आग्रह लाद्नमा प्रशिक्षित कार्यकर्तालाई मुलुकको स्थायी सरकार मानिने सेनामा बलजफ्ति हुल्दा , अहिले आफ्नो राम्रो भएको ठानिए पनि कालान्तरमा यो विजय घुएँत्रो बन्न जाने सम्भावना उत्तिकै हुन्छ । सेनामा पार्टीगत कोटा छुट्याउने चलनमा पुगेर यो समायोजन प्रकृया टुंगिने स्थिति आउनबाट हामी जोगिनु पर्छ ।

देश राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक पक्षमा भयानक परिवर्तनको चौबाटोमा खडा छ । अहिले उठाइने विवेकपूर्ण पाइलाहरूले भोलिको दिशा तय गर्न मद्दत पुर्‍याउने छन् । अत: , स्वयं माओवादीले नै देशको भविष्यका लागि डरलाग्दो रूपमा प्रत्यूत्पादक बन्ने संभावनाको यो विषयलाई आफ्नो दावाका भरमा हाइज्याक हुनबाट बचाउने जिम्मेवारी आँफ्नो काँधमा लिन सक्नुपर्छ । जसले जे दावा गरे पनि देश सबैको हो , देशको सेना सबैको हो । मुलुकको रक्षा, शान्ति र समुन्नतिको चाहनालाई सुदृढ गर्ने अनि सेना र प्रशासनिक सेवाका अवसरमा सबै समूदायको सहभागिता अनि सेनाको व्यवसायिक अनुशासनलाई उच्च बनाउन जति जरूरी छ त्यति नै राष्ट्रिय सेनालाई राजनीतिको रंगमा रंगिनबाट जोगाउनु आवश्यक छ । मुलुकको हरेक तह, तप्का, पक्ष र व्यवसाय राजनीतिको आग्रह, पुर्वाग्रह र दूराग्रहमा रंगमगिएको यो वर्तमानमा एउटा मात्र गैरराजनैतिक अस्तित्वलाई यो सरूवा रोगबाट बचाउँदा कुने राजनैतिक दल विशेषले जित्ने वा हार्ने भन्दा पनि मुलुकको भने जीत हुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । अत: छापामार कार्यकर्तालाई राजनैतिक कार्यकर्तामा परिवर्तित पार्ने, रोजगारका अवसरमा पुनर्स्थापन गर्ने अनि वैदेशिक रोजगारका अवसरमा पठाउने वा स्वेच्छिक तरिकाले वैयक्तिक रूपमा सेना वा पुलिसका सर्वमान्य मापदण्डलाई स्वीकारेर प्रविष्टि दिने गरेमा नै राम्रो हुनेछ ।

- एकलव्य ( कार्तिक १० ,२०६५ / 26 October, 2008 )



4 Comments:

ठरकी दादा said...

माओवादि छापामार मात्रै होईन कुनै पनि राजनैतिक अभिप्राय सिद्ध गर्न परिचालित जत्थालाई सेनामा समायोजन गर्नु हुन्न भन्ने मेरो पनि विचार छ ।

वाँकि तपाईले लेखि सक्नु भएके छ, सेनालाई राजनीतिको रंगमा रंगिनबाट जोगाउनु अत्यन्तै जरुरी छ।

होईन भने माओबादिको देखा-सीखिमा अन्य दलले खडा गरेका 'युवा पल्टन' लाई पनि ढिलो चाँडो भाग दिनु पर्ने हुन्छ र नेपाली सेना राजनैतिक दलका भर्ति केन्द्र बन्न जानेछ ।

nepalean said...

मलाइ यो सेना समायोजन बारेमा धेरै बिचार घुमाए, मौका मिले दौंतरीमा कोरुला भनेको गफै मात्र भयो। सायद मैले लेखेको भए एकलब्य जी का कुरा संग मेल त खान्थ्यो, तर मैले चौंथाइ भाग मात्रै कभर गर्ने रहेछु। आफुसंगका साथी सेनामा मेजर छन भने माओबादीमा पनि माथिल्लै तहमा पुगेका छन। हुन त नेपालमा कसै न कसैका नजिक टाढाका नाता गोता या साथी भाइ सेनमा भइहाल्छन। नेपाली सेना राष्ट्रसेवामा नं १ छ त्यसमा दुइमत छदैछैन। उनिहरुले पाउने तालीम र कार्यकुशलता मा कुनै कमी छैन। माओबादी न्युन सुबिधा तथा कम पूर्वधारबाट उत्पादित काम चलाउ सैनिक हुन तर कति कुरामा नेपाली सेना भन्दा उच्च तालीम पाएका छन, यो कुरो नेपाली सेनाले जफत गरेकै भिडियोमा देखिन्छ जुन नेपाली सेनाले पनि सुइकारी सकेका छन। त्यसैले यो शक्ती यसै खेर जान दिन हुन्न तर जब माओबादीका सेना क्याम्पमा जम्मा भए आधा जसो त्यती बेलानै जम्मा पारिएको थियो, यो कुरा कसैले भुल्न हुदैन। अब अर्को पाटो पल्टाउ। सरकारमै भएको बेलामा जनबादको हुंकार दिने माओबादीका मिलीसियालाइ कसरी राष्ट्रीय सेनमा गाभ्न दिने? तपाइ यिनीलाइ कसरी जनसेना भन्नुहुन्छ? यि जनता का कि माओबादीका? त्यसो भए एमाले कांग्रेस देखी तराइका सबै युबा जमातलाइ सेनामा गाभ्ने त? हाम्रा नेता जती जनताको बारेमा वकालत गर्छन उती देश भाड्न सिपालु छन बस उनिहरुको आफ्नो कुरो अरुले माने पुग्छ। यस्तो हालतमा पुगेको देशमा राष्ट्रैकै सेना बिटुल्ने पार्ने काम भयो भने अहिले चम्केको गणतन्त्र भोली गलीको पासो हुन सक्छ। त्यसबेला पछि फर्केर राणा शासन सम्म कुन के भनेर टिका टिप्पणी गर्न नपरोस। राष्ट्रको नामले शिर उचा गर्नको साटो हाम्र सन्ततीला यो कुन देशमा जन्मन पुगेछू भन्ने स्थीती नआओस। तर प्राय नरम तथा मुलधारले भन्ने गरेको यि माओबादी सेनालाइ सेनाको मापदण्डमा पुग्ने जती सेनामा लाने, या पुलिस तथा सश्त्रमा लग्ने अथवा अन्न सुरक्षा प्रणालीमा लागु गर्ने, त्यो नसक्ने या नचाहनेला मिले सम्म, देशले सके सम्म धेर थोर कम्पेनसेसन दिएर पुनरस्थापन गर्ने। यसो गर्दा माओबादी मिलिसियाको सहि निकास हुन्छ र भोली पुन यिनीलाइ बन्दुक समाउन या समाज बिथोल्न अबस्था आउने छैन।

nepalean said...

मैल एउटा कुरा थप्छु भन्दा त्यतीकै भूलेछु। जब माओबादी युद्दमा लागे, त्यसबेला उनीहरु नेपाली सेनासंग मात्र जाइलागेनन् उनिहरुका घर जलाउने, खेत हडप्ने,परिबारलाइ दु:ख दिने या हत्या गर्ने यो सबैले देखेकै हो। अब यसरी फिलीमा अम्रिस पुरीले जस्तो कसरी हुन्छ सेनाका मान्छेलाइ दु:ख दिने समुह सेनामा गाभे सेनालाइ कस्तो असर पर्छ, के सेनामा बिचलन त बिर्तिष्णा पैदा हुदैन? माओबादीलाइ आफ्ने सेनाले जागिर पाएको मा दंग, अरु पार्टी जनसेना ठगान लागेकोमा दंग, हेर्नेलाइ त रमाइलो, तर भोग्नेलाइ कस्तो होला? माओबादी सेना समायोजन गर्दा यस्ता कुरा पनि बिचार पुराउनु पर्दछ।

Panda said...

माओबादिलाई राष्ट्रिय सेनामा गाभियो भने कालान्तरमा यसको स्वरुप माओबादिलाई सेनामा गाभेको होइन सेनालाई माओबादिमा गाभेको जस्तो रुपमा परिणत हुनेछ । जहा सुकै हेर्नुस युद्ध जितेका कम्युनिष्टहरुले सेनालाइ आफ्नो पक्षमा रुपान्तरण गरेका छन नकि आफ्नो सेनालाइ राष्ट्रिय सेनामा ।

प्रधानसेनापति आफ्नो मिलिसिया वा जनसेनाको प्रमुखलाइ बनाउने तर्फ उन्मुख भएको भनिएको माओबादिले राष्ट्रिय सेनालाई "प्रोफेसनल" सेना बनाउने भन्दा पनि आफ्नो शक्ति मजबुत गराउने साधनको रुपमा विकास गर्न लागेको कुरामा दुइ मत छैन ।

होइन साचिकै राष्ट्र प्रति समर्पित र व्यवसायिक सेना बनाउने हो भने जनसेनाबाट होइन "जनताका" सक्षम छोरा छोरीहरुबाट योग्य र शिक्षित व्यक्तिहरुलाइ भर्ना लिएर देशको सेना बनाउनु पर्छ र पुरातन पन्थी सेनाको संरचनालाइ विस्तारै परिमार्जन गर्नु पर्छ । त्यसको मतलब जनसेनाका लडाकुहरुलाई सेनामा हाल्नै हुदैन भन्ने होइन, सक्षम र योग्यहरु "मास भर्ती" को रुपमा नभएर जनताका छोरा छोरीहरु संगै लाइनमा उभिएर भर्ती हुनु पर्छ।

अनि मात्र देशको सेना देशको सेनाको रुपमा रहने छ , नत्र एउटा बाद र वर्गको रखैल बनेको सेना पुन अर्को बाद र वर्गको रखैल बन्ने छ भने देश र जनता संधै भुमरी र चक्रवयुहमा फसिरहनेछन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !