April 27, 2008

विडम्बना

खडेरीले पट्पटी फूटेको मेरो धानखेतमा

फुल्नै लागेका धानका बालाहरू

आकाश हेरेर आशातुर थिए।

अचानक, दूर क्षितिजबाट

एउटा लहर आएको देखियो !

भावातिरेक सन्तुष्ट मैले

सन्तोषको उच्छवासमा आँखा चिम्लिएँ।

तर अपशोस,

मेरो खुशी, स्वप्निल सोचको

मुदित नयनमा

झुकेका परेलामात्र थिए,

मधुर जलको त्यो बहाव

मैले आँखा खोल्दा

सलहको बथान भेटियो ।

स्वप्नभंगको पीडामा मर्माहत

मेरो यत्रतत्र

न त्यहाँ धानका बोट नै बाँकि थिए

न त्यहाँ कुनै जलको ओस थियो

त्यसैले त मेरो मानसमा अद्यपि

पानीका शितल जस्ता देखिने

नक्कली प्रवाह-छालहरू

सलहको समुद्र बनी

आक्रान्त पार्न आउँछन् र सताउँछन् ।



3 Comments:

nepalean said...

पानीको बादल र सलहको निकै राम्रो तुलना गर्नुभयो।
यसले एउटा भित्तामा लेखेको वाक्य याद आयो -
"सबै टल्कने बस्तुको पछि नलाग किनकी सबै टल्कने बस्तु हिरा होइनन"

ठरकी दादा said...

बाह!, बहु आयामिक अर्थको ताना-बानामा बनेको तपाईको भाव साँच्चै सटिक र समय-सापेक्ष छ।

सोचे जस्तो वर्षा नभएपनि त्यो स्वप्निल जल 'सलह' नै चाहि नबनि हालोस भन्ने कामना सहित ।

Rahulvai said...

वाह्!वाह् ! वाह्! मात्र होइन बाह! बाह! पनि। यती स्तरिय कबिता एक युग पछी पढ्न पाइयो। दिल खुश भयो। जय होस् परभूको।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !