December 24, 2007

गणतन्त्र नेपालका प्रथम राजा ज्ञानेन्द्र

डा प्रकाश चन्द्र लोहनी अक्सर भन्ने गर्छन नेपालमा यति बेला सात दलीय सिण्डिकेट सरकार छ । सिण्डिकेटको फैसला लोकतान्त्रिक, जनतान्त्रिक र जनवादी सबै मान्ने गरिएको पाइन्छ । यहाँ संसद छ जहाँ चुनावै कहिलै नलडेकाहरू पदासीन छन् । त्यहाँ बन्दूक बोकेर पनि जान पाइन्छ र मन लागेको कुरा वान्ता गर्न पाइन्छ , मन लागे आमा चकारेर गाली गरे पनि हुन्छ , खर्राटा मारेर सुते पनि हुन्छ , गाउँघरको तिर्सना मेटाउन बाघचाल खेले पनि हुन्छ, दोहोरी गाएर रमाईलो गरे पनि हुन्छ । सरकार सञ्चालन विधि पनि रकम कै छ । चाहे संसदमा जानुस् मन नलागे नजानुस् भत्ता आउने हो आइहाल्छ । सरकारमा भएका मन्त्रीले बेला बेलामा राजिनामा दिन्छन र घर बिदामा बस्छ्न र अलि पछि फर्किन्छन घरको काम सकिए पछि ( सायद धान काट्ने बिदामा बसेका पनि हुनसक्छन् ) । सिण्डिकेट भित्रका पार्टीहरूले गएको डेढ वर्षमा धेरै नै फैसला गरे तर तिनको पालना गरे पनि हुन्छ नगरे पनि हुन्छ ।

सरकारमा बस्नेले प्राइभेट आर्मी पनि राख्न पाइन्छ , नसक्नेले नराख्न पनि स्वतन्त्र छन् । सराकरमा बसेर सरकारको ढुकुटी रित्ताएर पनि ढ्याउ आउञ्जेल अघाइएन भने , जनताले स्वेच्छिक रूपमा चन्दा कसलाई दिऊँ भनेर व्यग्र प्रतिक्षा गरिरहेको हुनाले तिनकहाँ गएर अनुरोधको भाषामा “ दिने भए दे , नत्र सफाया गर्दिन्छौँ” भनेर भैलो खेल्दा पनि हुन्छ । जनता थरथरी काँप्दै तँछाड मछाड गरी स्वे्च्छिक चन्दाको बाकस लिएर आइपुगिहाल्छन् ।मुलुकमा स्वतन्त्रता अहिले यति बिघ्न प्राप्त छ कि जस्ले जे मन लाग्यो त्यही गर्न पाइन्छ । संगठित रूपमा मिलेर कसैलाई ( विशेष गरी गाँठवालाहरूलाई ) अपहरण गर्न र लुट्न पर्‍यो भने , यसलाई राजनीतिक रंग दिनुस् या निधारमा रातो टालो बाँध्नुस या टाटेपाङ्ग्रे कपडा लाउनुस् निर्धक्क भएर मन लागेको गर्न पाइन्छ, कुनै कानूनले छुँदैन।

अनि हाम्रो मुलुकमा रहेको संसारकै विचित्र सांसदले पनि बेला बेलामा विचित्र विचित्रका फैसला गरिरहन्छ । सिण्डिकेटका ठेट्ना भेट्ना भेला भएर संविधान भन्ने किताब लेखे तर त्यो पढेर जनताले सक्न नपाउँदै त्यही किताबलाई ठाउँठाउँमा केरमेट गरिसके । आँफै जनताको मतले चुनिन सकेका छैनन् तर हरेक शव्दमा त्यो तीर्सना मेट्न ‘जनता’ नभनी बोल्नै जान्दैनन् यी विदुषकहरू। अनि यिनले जे गर्छन, जनताको अधिकारलाई खोस्ने काम मात्र गर्छन् । केही समय अघिसम्म दरबारका कर्मचारी कटौतिको नाटक गरे अनि दरबारको सम्पत्ति राष्ट्रियकरण गर्ने आदि पनि । आखिर नरहे बाँस , नबसे बाँसुरी हुने भए पछि अनि राजा नै नरहने पक्का हो भने यो पो किन गर्न पर्‍याथियो होला र राजा नै नरहे उनका कर्माचारी त्यसै कटौति हुन्थे अनि उनको सम्पत्ति राष्ट्रको भैहाल्थेन र गाँठे ? कस्तो मूर्ख बनाको जनतालाई ?

भर्खरैको फैसला हेर्नुस् त सिण्डिकेट सरकारको संविधानबाट राजा शव्द हटाउने भनेर हटाए । कति विचित्र ? संविधानमा राजा छैनन , तर दरबारमा राजा ज्यूँका त्यूँ छन् । गणतन्त्र नेपाल पनि छ , अनि घोषणासंग आएको २२ बुँदे सम्झौता हेर्‍यो भने भोलि चुनाबको बेला राजाले गडबड गरे २ तिहाइ सांसदले राजा हटाउन सक्ने भनि लेकैको पनि छ । कति बिजोग ! एकातिर गणतन्त्र लेखेको संविधान अर्को तिर राजा पनि मुलुकमा जहाँको त्यहीँ । हामी पनि कति भग्यमानी गणतन्त्र र राजतन्त्रका दुवै लड्डु दुईटा हातमा ! हे नेताहरू तिम्रो बुद्दि र कर्म कति महान !!!

हे ज्ञानेन्द्र , तिमी त झन कति हो कति कीर्तिमानधारी रूपमा महान छौ । हेर त कति कीर्तिमान राख्ने भयौ ? बाबु भन्दा पहिले राजा भयौ ४ वर्षमा , (दाइको) छोरा मरेपछि फेरि राजा भयौ त्यतिले नभएर गणतन्त्र नेपालको पहिलो राजा बन्ने विचित्र इतिहास पनि तिमीले नै रच्यौ !!!


3 Comments:

ठरकी दादा said...
This comment has been removed by the author.
ठरकी दादा said...

प्रकाश चन्द्र लोहनिसंग म धेरै हदमा सहमत छु। कारण यो सरकार केवल यौटा "संविधान सभाको चुनाव" को लागि मात्र गठन भएको "काम चलाउ सरकार" हो तर यस बिचमा यि विना निर्वाचन सांसद बनेकाहरुले चाहिने भन्दा बढी विधेएक पारित गरे । मानौ जनताले सदैका लागी "रैथाने सांसद" बनाएकाछन यिनिहरुलाई। विना निर्वाचन अपूतालिमा सांसद बनेकाहरुले यसरि जथाभावि काम गर्नु पक्के पनि चित्त बुझ्ने कुरो हैन ।

अर्को कुरा भने रमाईलो लाग्यो नेपालीएन ले लेख्‍नु भएको "मासु भएको भेज खाना" अनी तपाईको "गणतन्त्र नेपालको पहिलो राजा"

"हामी पनि कति भग्यमानी गणतन्त्र र राजतन्त्रका दुवै लड्डु दुईटा हातमा" हहाहाहाहाहहा मजा आयो ।

एक चोटी कलेज पढने बेलामा यौटा वादबिबाद कार्यक्रम भएको थियो, त्यसै पनि बिबाद गर्न रमाउने ठरकी त्यसमा सरीक भयो। वादबिबादको बिषय थियो "संस्कृत मृत भाषा हो" ।

त्यस दिन कलेजमा ठरकिले गरेको बबालको बिस्तार त कुनै दिन लेखौला तर ठरकी बिपक्षमा बोलेकोले "यो वादबिबाद को बिषयमा भएको चार शब्द मध्य तिन शब्द संस्कृतको भएकोले म केहि बोल्दीन प्रथम पुरस्कार लिएर जान्छु" मात्रै भने । ठरकिको एकै वाक्यले यो पुरस्कार हात पर्‍यो ।

अहिले नेपालका विदुषकहरूले गरेको निर्णय पनि त्यस्तै छ। हाहहाहहाहहा लाज नलागे पछि जे बोले पनि हुन्छ जे गरे पनि हुन्छ

nepalean said...

गजब छ नेपाल, गजब छन नेपाली नेता। अर्काको बुद्दीमा पोइल जाने भनेको यही हो, आफ्नो बुद्दी छैन, अरुले जे जे भन्छन त्यही त्यही गर्दै जान्छन। भर्खर एक जना साथी संग नेपालमा कुरा भाको थियो, नेपालको एक मात्र अहिलेको आम्दानी remittance रे, लाग्छ केही ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !