November 3, 2007

के गणतन्त्र नै सर्वौषधी हो ? - एकलव्य

एकताका बुझ्ने गरिन्थ्यो संविधानसभाको चुनाव हुने बित्तिकै नेपाली जनजीवनका सम्पूर्ण रोगहरूको निदान हुनेछ । यसको आंशिक सत्य पाटो थियो , हतियार उठाएर कथित क्रान्ति वा आतंकमा लागेकाहरूले उठाएको न्यूनतम राजनैतिक सहमतिका लागि र उनीहरूले भने बमोजिम शान्तिपूर्ण बाटोको लागि यो न्यूनतम प्राप्ति थियो अथवा यहाँ सहमत हुन सकिन्थ्यो , अरूले पनि चाहे भने । फलत: त्यही हुन नसक्ने वा नभैरहेको संविधानसभा निर्वाचन सम्भव पार्नका लागि प्रयास, वार्ता र सहमतिका संस्करणहरूको खोजी भयो । आज यो एजेण्डामा मन , वचन र कर्मले सबै पक्ष आइसके , तर हाम्रो खोजी अरू विषयवस्तुतर्फ आकृष्ट भएको छ र बुझाउन खोजिँदैछ “ यो हुने भनेको संविधानसभाको चुनाबले पनि केही लछारपाटो लाउँदैन” ।

कुरा ठीकै पनि होला, तल फाँटबाट उकालो चढ्दा माथि देखिने पहिलो डाँडाको टुप्पा हाम्रो लक्ष्य हुनसक्छ तर चढेर माथि पुगिसकेपछि महशूस हुन पुग्छ , वास्तविक यात्राले छिचोल्नु पर्ने डाँडाहरूको यो शृङ्खलामा त्यो पहिलो डाँडामाथिको हाम्रो चढाइ केवल शुरूवात मात्र थियो । तर राजनीति डाँडा चढ्दै मनलाई ढाडस दिएर ढाँट्दै हिँडाउने पथिकको यात्रा पनि हैन नि ! व्यक्तिले आँफैलाई आफ्नो विषयगत यात्रामा जसरी पनि अघि बढाओस् तर समष्टिलाई व्यक्तिको सीमिततामा धकेलेर हामी तुलना गर्न पनि त सक्दैनौँ नि ।
अब आएर भनिँदैछ , राजतन्त्रको अन्त्य गर्नुपर्छ र मात्र नेपालीहरूका सबै दु:ख र पीडाको उन्मूलन नै हुनेछ ।
वर्तमान नेपालको राजनीतिमा सबैभन्दा छाएको विषय हो बिगत २५० वर्ष सम्म अकण्टक छाएको नेपाली राजतन्त्रको भविष्य सम्बन्धी मुद्दा । तत्कालीन राजा विरेन्द्रको रहस्यमय ढंगले भएको वंश विनास र तत्पश्चात प्रयाप्त योजना बिना उनका भाइ ज्ञानेन्द्रको निरंकूश राजा बन्न चाहने अन्धो अभिलाषाले निम्ताएको घटनाहरूको सिलसिलाले अहिले नेपाली राजतन्त्रलाई अवसानको विन्दुमा पुर्‍याएको कुरामा विवाद होओइन । नेपाली राजतन्त्रको मियो राजा विरेन्द्र संगै ढलेको थियो र नेपालले यही विन्दुबाट गणतन्त्रतर्फको औपचारिक प्रस्थान शुरू गर्‍यो भन्ने माओवादी नेता बाबुराम भट्टराईको पहिलो भनाइमा सत्यता छैन वा थिएन भन्न सकिन्न । राजनीतिलाई नभोगेका अनि पर्दा पछाडि बसेर पर, गरिमा , प्रतिष्ठा र दरवारिया हुनुको फाइदामा मात्र रजगज गर्दै आएका ज्ञानेन्द्रलाई , आफ्नो दाइ केवल टुलुटुलु हेरेर बस्ने खालको मात्र लाग्नुमा पनि अनौठो थिएन । किनभने सबै कच्चा खेलाडीहरू यस्तै सोच्ने गर्छन , “ मैले चान्स पाए , जान्या थिएँ । सबैलाई ठिक पार्दिन्थेँ” । तर अपशोस यसो भन्दै मौका लिनेहरूले केवल अपशोस र असफलताको दलदलमा जाकिने नियति मात्र प्राप्त गरे वा गरिरहेछन् । अरूले बिगारेको, भत्काएको , लुटेको, खाएको वा बद्‍मासी गरेको देख्न वा आरोपको रापमा ताप लिन सजिलो भएपनि विपरित देशामा घुमिरहेको पाङ्ग्राको गतिलाई सुल्टाएर फेरि यात्रा सही बाटोमा लैजानि त्यति सहज कहिल्यै भएको छैन । ज्ञानेन्द्रले त्यही गल्ति गरे , जुन उनको अन्धो र अनुभवहीन महत्वाकांक्षले उनलाई सिकायो । जसले जे भनोस् , नेपाली राजतन्त्रको पतनको असली कारक ऊ स्वयं हो र उस भित्रका घर गरेर बसिरहेका दृश्य-अदृश्य पतन्नोन्मूख कारक प्रवृत्ति नै हुन् । जब वीरेन्द्रको वंश विनासमा रहस्यमय ढंगले भाइ ज्ञानेन्द्रका परिवारका सदस्यहरू मात्र बाँच्न सफल भए , त्यो घटनाको विन्दुदेखि नेपाली जनमनको आस्थामा राजतन्त्रको औचित्यताले प्रश्नै प्रश्नको समना गरिरह्यो । जब नरनारीहरू सडकमा , ज्ञानेन्द्र मुर्दावाद वा भाइमारा राजा चाहिँदैन भन्ने फलाकोका साथ चिण्डे मुण्डे टाउको लिएर टायर बाल्ने उद्यममा लागे , नेपाली मनबाट राजतन्त्रले बिदा लियो । राजतन्त्र जस्तो एउटा परिवारको सर्वश्रेष्ठतामा वा जन्मको आधारमा मान्छे विशिष्ट हुन्छ भन्ने विश्वासमा टिकेको तन्त्र , जनताको आस्थामा पैदा गरिएको भूचालसंगै ध्वस्त हुन स्वाभाविक थियो । अत: ज्ञानेन्द्र नै दरबार काण्डका कर्ताधर्ता थिए भने नेपाली राजतन्त्रको वर्तमान नियतिमात्र हैन यसभन्दा पनि अघि बढेर उनको पत्तासाफ हुनु उचित छ । यदि उनी त्यसका कर्ताधर्ता नभएर केवल परिबन्दका शिकार बनेका थिए भने पनि उनले यो कुरामा चित्त बुझाउनै पर्छ , नेपालको राजा बन्नु उनको नियतिमा कहिल्यै लेखिएको थिएन वा उनी नेपाली राजतन्त्रका असली हकदार कहिल्यै थिएनन् र उनले यो सत्यलाई जति छिटो स्वीकारे त्यति नै उनको मानसलाई सुख मिल्छ । जनताको विश्वासमा रहेन भने , जसोतसो राजा भएर टिकिरहन खोज्ने मूर्खता हिजो हामी र हाम्रा पूर्वजहरूले साँचै मानेर आएका राजाहरूको मृतआत्माप्रति पनि अनास्था हुन्छ।
राम्रा र नराम्रा सबै कुराको एकदिन अन्त्य हुन्छ र यो सत्यलाई स्वीकार्‍यो भने नेपाली राजनैतिक इतिहासका राजतन्त्रात्मक २५० वर्षले दिएको योगदान वा नोक्सानीको चर्चा खुलेर हुनेछ आगामी दिनहरूमा किनभने त्यो कुरामाथि सेन्सर लगाउन घटनाक्रमको यो विन्दुमा राजाको शासन बाँकि रहने छैन । तर , नेपाली राजतन्त्रले राम्रो गर्‍यो गरेन भन्ने बारेमा जति विवाद भएपनि पृथ्वीनरायण शाह, आधुनिक नेपाल र नेपालको अक्षुण्णताको अतीत र वर्तमानमा शाहराजाहरूको कुनै न कुनै योदान थियो भन्न संकोच मान्नु पर्दैन । हुनसक्थ्यो , त्यो बेला विकल्पमा अरू नै शासक नेपाली राजगद्दीमा छाएका भए झनै राम्रो पनि गर्थे होलान् । तर यसो भएको भए त्यसो हुन्थ्यो होला भन्नुले हाम्रो इतिहास सच्चिन सक्दैन । राजतन्त्रमाथि विश्वास नरहँदा नरहँदै पनि , अवसानको विन्दुमा बाँच्दै गरेको नेपाली राजतन्त्रका लागि सहानुभूति ! तर अबको अहम प्रश्‍न हो , के नेपाली राजतन्त्रको बहिर्गमन पश्चात नेपाली राजनीतिका दिनहरू सुनौला र गुलाबी चमत्कारिकताले भरिएका हुनेछन् ? नेपाली राजनीतिका गत एकसय वर्षका परिवर्तनहरूलाई हेर्दा भने हामी त्यति उत्साहित हुन पर्दैन होला । हामीले क्रान्ति, आन्दोलन र परिवर्तनका धेरै अनुभवहरू गएको सय वर्षमा भोगेपनि , हाम्रो वर्तमानलाई हेर्दा , अपेक्षित उपलब्धिहरूले हामीलाई सदैव छलेर नै हिँडिरहेको देखिएकै हो । मेरो विश्वास छ , हामी यो नियतिको चक्रलाई बदल्न विचार र व्यवहार दुवै कुराले पहिलाका परिवर्तनकारी समयमा पनि तयार थिएनौँ र यसपाला पनि छेनौँ । किनभने यो परिवर्तन पछि हामीले कसरी अगाडि बढ्ने भन्ने कुराको तयारी गर्नु पर्ने कुरालई कहिलै सोच्नु पर्ने नै ठानेनौँ । जब खोक्रो उत्साहमात्र हाम्रो क्रान्तिको आधारबन्छ र त्यसकालागि विचार र व्यवहारको उकेरा लाग्दैन , अनि हरेक रोमाञ्च अर्को कुण्ठामा बदलिनबाट जोगिँदैन । राजतन्त्र त जाने ने भयो जाला , तर यसपछि के र कसरी भन्ने कुराको कहीँ कतै चर्चा छैन । कतै जस्ले सक्ने उतै तान्ने पो हो कि ? सके नियमले, नसके बल र र शस्त्र अस्त्रले भएपनि आफ्नोबाटोतर्फ जबर्जस्ति गुडाउन खोज्ने अभिष्ट बोकेर पो योजना गरिँदैछ कि ? शाहराजा पृथ्वीनारायणले बलपूर्वक एकीकरण गरेको नेपाललाई , उनको अन्याय सच्चाउन उल्टाउन पो खोजिने हो कि ? खरबारीमा उभिएको जर्जर बुढो रूखलाई ढाल्ने त भइयो तर , खै त अरू पाँचवटा रूख समयमै रोपेर भोलिका लागि चौतारीहरु बनाउने हाम्रो प्रयत्न ? कि यो प्रयत्न केवल धोद्रो लागेको बूढो रूखका पात, हाँगा र सीमित मूढाहरू मात्र लैजान चालिएको कृत्य हो ? भोलिको नेपाली राजनीतिका मुद्दाहरू कसरी कुन बाटोबाट निरूपण गर्ने र देशको राजनीतलाई विश्वमान्य लोकतान्त्रिक पद्दतिसम्मत कसरी अगाडि लैजाने भन्ने कुराम नेपाली राजनीतिका
स्टेक होल्डरहरू एक ठाउँमा उभिएर प्रतिबद्द नबनुञ्जेल , नेपाली राजनीतिले अस्थिरता कै नियतिबाट गुज्रिनु पर्ने पो हो कि !
यस्तो प्रवुद्दहरूसंग सोध्न मन लाग्छ , के गणतन्त्र नेपाली राजनीतिको सर्वौषधी हो त ?

5 Comments:

brilliantman71 said...

निश्चितरुपमा गणतंत्र नै सबैकुरा होइन।गणतंत्र भएका सबै देश कहाँ राम्रा छन र? फेरि राजा भएका देश सबै बिग्रेका कहाँ छन् र? मुख्य कुरो ब्यक्तिको हो। अहिले देशलाई प्रगतीको पथमा अघि बढ्न के ले छेकेको छ र? शान्ती, चैन स्थापना गर्न के ले छेकेको छ? भ्रस्टाचार र अनिमियता रोक्न के राजा अहिले बाधक छन र? सही आर्थीक नीति अवलम्बन गर्न, उत्पादकत्त्व बढाउन के ले अडकाएका छन र? नोटबाट राजाको तस्वीर हटाउने, शाही शब्द मेट्ने, राजाको सट्टा प्रम भोटोजात्रा हेर्ने जाने वा कुमारीको दर्शन गर्न जाने अनि संसदमा गणतंत्रको बिषयमा होहल्ला गर्नेजस्ता (संसदीय अभ्यास रे!)गौण कुराहरु गरेर जनतालाई मूर्ख बनाउने काम् भएको छ।

गणतंत्र, लोकतंत्र वा जे सुकै होस् त्यो शान्ती,सुब्यवस्था, आमन् चैनको रुपमा आउन पर्यो।जनताको घर-घरमा आउन पर्यो, चूल्हो-चूल्होमा आउन पर्यो। सुलभ र स्तरीय स्वास्थ्य सेवा, शिक्षामा आउन पर्यो।

चना said...

अचेल नानाथरी कुरोहरु सुन्न वा भन्न मन लाग्नै छोड्यो, साँच्चि भनेको मैले । नेपालमा गणतन्त्र नेपाली राजनीतिका खेलाडी पार्टीहरुले ल्याउने वा नेपाली जनताका चाहना बमोजिम आउने हैन रहेछ । बिदेशीको इशारामा गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र जस्ता नारा तय हुने रैछ । बिदेशीले चाह्यो भने रातारात गणतन्त्र ल्याउन नि सक्ने, राजतन्त्र ल्याउन नि सक्ने रहेछ । जनताको लागि लडेको भनेकाहरु, (नेपालमा गणतन्त्रका दार्शनिक ब्याख्यातादेखि राजनीतिक नेताहरुसम्म सबैजसो) बिदेशी दलाल नै त रहेछन । भारतको सहसचिव स्तरका राजदुतले बोलाउने बित्तिकै लुरुक्क परेर जाँदा रहेछन । भारतले अलिकति मानसम्मान दिएर बोल्न मञ्च दिने बित्तिकै खुशीले आँखामा आँशु टिलपिल गर्दा रहेछन, के त्यहि संकेत काफि छैन ?

यो डेढबर्षको बेथितिले राजाको २ बर्षे कालरात्रीलाइ कहाँ हो कहाँ बिर्साइसक्यो, राजाले सैनिक शासन चलाउदा कमसेकम संकटकाल घोषणा गरेका थिए, संकटकालको नियमभित्र बस्ने तटस्थ जनताले कमसेकम राहत महशुस गरेका थिए, सरकारी कामकाज छिटोछरितो र न्यून भ्रष्टाचार यूक्त थियो । अहिले हाकाहाकि भ्रष्टाचार छ, सिडिमा रेकर्ड भएका घुस प्रकरणमा घुसमाग्ने न्यायाधिसले फैसला सुनाउछ । सरकारी भत्ता हसुर्ने माओबादी खुल्लमखुल्ला बाध्यकारी चन्दा उठाउछ, निर्दोष जनता राजनीतिक आवरण ओढेका अपराधिहरुबाट जुनसुकै बेला मारीन सक्छ, दैनिक अत्यावश्यक सामानहरु पाइन्न, कसैलाइ जिम्मेवारीबोध गर्न जरुरत छैन । त्यस्तो परिपाटि पनि हुँदो रहेछ यो संसारमा जस्तो लाग्छ, अव शैशव लोकतन्त्रमा नै यस्तो अवस्था देखिएपछि फेरि गणतन्त्रले सुधार गर्ला भन्नु त पानी राखेको तावालाइ दनदनि बलेको आगोमाथि राखेर त्यो पानी बरफ बन्नेछ भन्दै गरेको तर्क मन नलाइ नलाइ सुन्नु जस्तै हो । के गर्नु , डेमोक्रेसिमा जसले जे बोले नि सुन्नै पर्ने जो रहेछ ।

नेपालीयन said...

मैले पहिले नै भेनेको हो लोकतन्त्र नया ब्राण्डको चाउ चाउ हो भनेर। भोली लोकतान्त्रीक गणतन्त्र आउला नया रंगी चंगी खोलमा धमाका उपाहार लिएर। सम्भध्त यही धमाका उपाहार देखाएर संबिधान चुनाबको प्रचार गरिदैछ वा गरिएला। त्यसले सफलता पाउने कुरै छैन किन ? चाउ चाउ कम्पनीका मालिक तिनै हुन। अनि १० बर्ष पछि फेरी जन आन्दोलन- ३ हुने छ जनतान्त्रीक गणतन्त्र भनेर। त्यस पछि लोक तान्त्रीक ब्राण्ड एक्सपायर हुने छ र बजार पिट्ने छ जनतान्त्रीक चाउ चाउले। तर तिनै पुराना खिया लागेको कम्पनी मा बन्ने हुदा त्यो चाउ चाउलाइ समाज नसुधारेको आरोपमा अर्को १० बर्ष पछि सामाजीक गणतन्त्रले। यस चाउ चाउ को समिकरण बन्ने छ २०४६‌‌‌+२०६४+२०७४+२०८४+.......+२२६४
यसरी जनताको भाग्य लयमा चलाइनेछ वर परको खेलमा। धन्न हो नेपालको भाग्य।

एकलव्यको डायरी ( Eklavya's diary) said...

हो साँच्चि कति उदेक लाग्दो बनाइएको छ नेपाल र नेपालीको भाग्यलाई ? २१ औँ शताव्दिको यो व्यक्तिगत स्वतन्त्रता, आर्थिक विकास र प्रविधि प्रयोगको यो समुन्नत संसारमा पनि, बाँकि संसारले १७ र १८ औँ शताब्दि मै भोगेका अप्ठ्यारा अनि दूर्दिनको नियति हामी अभागी नेपालीहरूले अद्यापि भोगिरहनु परेको छ वा भोग्न वाध्य पारिँदैछ ।

असफल विचार, हिंसा र हत्याको बलमा सबैलाई तह लगाउँछु भन्ने हरूको जोरजुलुमको राजनीति आज हाम्रो मसिहा हो भन्ने कुरा जबर्जस्ति हाम्रो मानसपटलमा आरोपित गर्न खोजिएको छ ।
हैन, जुन विचार र व्यवहार नै व्यक्तिको व्यक्तिगत स्वतन्त्रता, जीवन बाँच्ने र खुशी रोज्न पाउने उसको सबैभन्दा आधारभूत अधिकारका बिरुद्द उभिएर सबैखाले व्यक्तिगत र सामाजिक जीवन, पद्दति अनि व्यवहारमा धावा बोलिरहेको छ र हामी यो स्थितिबाट गुज्रिन अभिशप्त बनाइएका छौँ त्यही अतिवादि व्यवहारबाट भने , सबै सोच्ने सामर्थ्य भएका साथिहरूले हरेक माध्यमबाट यो जुलुमको बिरुद्द आवाज प्रतिध्वनित पार्नु पर्छ ।
उद्देश्य जति महान छ भन्ने दावा गरिए पनि, खोटो राजनीतिक चिन्तन र हिंसा एवं ध्वंशमाथि अडेको राजनीतिले मुलुकलाई कदापि अघि बढाउन सक्दैन।

नेपाली लोकतन्त्र खराब व्यक्ति र प्रवृत्तिको वन्दी रहेको वर्तमान स्थितिमा हाम्रो भविष्यको मुक्तिको मसिहा बन्न सक्दैन कुनै मानेमा ।

अति प्रभावशाली कमेण्ट दिनुभएकोमा , साथीहरूलाई
धेरै धन्यवाद अनि दिपावली तिहारको मंगलमय शुभकामना !

Maverick said...

checking

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !