September 24, 2009

शुभकामना

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्छ कहाँ आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

September 23, 2009

बस स्टप-

एउटा पुरानै कथा वार्तालाप शैलीको!
बस स्टप-
" हाssssई! खै त यार, बस त आएन त?"
" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."
" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"
" हाहाहाहाहा! साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"
" हाहाहाहाहहा..के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"
" बुढि चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढिको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"
" जसरि काटे नि काटोस... एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?"
" पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि"
" त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?"
" यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी"
“ तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!”
“ गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संग…खितितितिति”
“ हाहाहाहहाहाहा”
“हाहाहाहहाहाहाह खितितितिति”
“ चुप लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ”
“ के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब”
“ ओइ!!! उता हेर् त!”
“कता्”
“उता पसल बाहिर के!”
“ ओहो! एक्लै जस्ति छे”
“ हो हो एक्लै छे”
“ मेरो त मुखमा पानी आयो हाहाहाहहाहा, आजकल जे पनि बिकासे हुन्छ खितितितिति”
“ हाहाहाहहाहा चुप् लाग मु- , तँ त्यो बाहेक के देख्थिस् र”
“ बस नै कुरिरा जस्तो छ”
“यत्तिको पाए त बिहे गर्थेँ यार!”
“ “
“ “
“ ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?”
“ म संग आँखा जुधा जस्तो लाग्यो, सोझि जस्ति छे यार”
“ बाहिरबाट सबै सोझि देखिन्छन्”
“ ऊ, देखिस्? फेरि हेर्या थि मलाई!”
“ ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!”
“ ओइ! …ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!”
“ मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ”
“ फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के”
“ तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!”
“ “
“ “
“ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि”
“ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!
“बस नि कोचाकोच रेछ”
“ “
“ “
“ छिटो हिँड् आज त हदै ढिलो भैसक्यो”
“ पख न मुला, त्यो चढेकै छैन”
“ खोइ त त्यो त चढिन त!”
“ बस भिड भएर होला!”
“छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!”
“ ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग”
“बहुलाइस् कि के हो?”
“ बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, पर्खि न अर्कोमा जाउँला”
“ यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त”
“ हिहिहिहि”
“ के हो लभ नै पर्यो कि के हो?”
“ हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!”
“ अर्को बस चाहिँ के खालि आउला र खै?”

“ ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?”
“ एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-“
“हिहिहिहि”
“ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?”
“ ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला”
“हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!”
“ दाई, भाई कोहि हो कि?”
“ के को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर”
“ “
“के भयो??? हेर् तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!
“हँ? हम्मम्”
“ खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!”
“ चुरोट झिक् झिक्!”
“खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा”
“चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!”
“हाहाहाहाहा”
“ -- जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ”
“ ट्याक्सीsss”
“ट्याक्सीsss”


September 19, 2009

रमाईलो दशैं खुशी कि पिडा?

आयो दशै ढोल बजाइ गयो दशैं रिण बोकाइ। आउन पनि दशैं ढोल नै बजाएर आउंछ। जब दशै नजिकन्छ ठुला साना,धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक आउंछ। आखिर बर्षभरी गरेको दू:ख सबै बिर्सेर रमाउने बेला पनि त यही हो। आफन्त हुन या झगडिया मित्रबर्ग, सबै दशैंको शुभकामनामा बाधिन्छन।

जब बिस्तारै चिसो बढ्छ,धानका बालाहरु पहेंला हुन्छन र एक किसिमको बतासले गाला चुम्छ,बाताबरण मात्रै हैन मन पनि दशैंमय बन्दछ। अनि पिंगमा हुइकिने,आफन्तसंग भेटीने, नया कपडा पहिरिने,मिठो मसिनो खाने आदी कल्पनाले यो मन त्यसै चंगा भइसकेको हुन्छ। एक जना मात्र हो र सबै जना नै खुसी,एक ठाउं मात्र हो र जताततै रमाईलो, कस्ले बनायो होला यस्तो गज्जबको चाड? दशैंको कल्पना गर्दा यो तन त्यसै उफ्रिन्छ अब मनको त कुरै नगरौं। मन त कांहा हो कांहा, समालेर सकिसाध्य छैन।

कसैलाइ खुसीको बम्पर उपाहार पर्छ भने यही दशैमा नै पर्छ। तोते बोली देखी अहिले सम्मको सबै खुसी एकै पटक ल्याउंछ दशैंले। बर्षै पिच्छे आउने दशैंले अहिलेको मात्र होइन पोहोर परार सालको पनि खुसी समेटेर ल्याउंछ। यस्तो खुशीमा बर्षै भरीको सबै दु:ख भुल्न पाउंदा त्यो भन्दा बम्पर उपाहार के पर्नुपर्यो?

घरमै बसेकालाइ घर सिंगार पटारको चटारो,घर भन्दा अली पर बसेकालाइ कुम्लो काम्लो पोको पारेर बस,प्लेनको टिकट समातेर स-परिबार घर फर्किन र आफन्तजन भेट्ने रन्को, यो नापेर नापी साध्य छैन। दशै आउन एक महिना अघी देखी फेशबुक टिका र जमराले छाएको थियो। कतीले त फोटोमै घर जाने प्लेन र खसी बोका उपाहार दिएका थिए। केटा केटी देखी बुढा पाका,घर पसल देखी इन्टेरनट सबै दशैंमय भएका छन।

यसरी बाताबरण उल्लासमय भएको बेलामा बिभिन्न कारणबस शहरकै कोठामा अल्झिएका या अरबको तातो मरुभूमीमा दशैंको न्यानोपन लिन बाध्य मन भने पक्कै बोझिलो भएका होलान। जापान,बेलायत,अष्ट्रेलिया,अमेरिका आदीका नेपाली मनहरु दशैंको आशिर्बाद फोनबाट थाप्दा पक्कै पनि आंखा रसाउने होलान। दू:ख त देशमा मात्र होइन बिदेशमा पनि त्यती नै छ। बर्षै भरिको दू:ख स्वदेशकाले दशैंमा बिर्सदां बिदेशीनेको दू:ख दशैंमा झन बल्झिएर आउंछ। दशैं जस्तो चाडमा बिदेशमा लाटेकोसेरो जस्तै धुमधुम्ती बस्दा आंफू बरिपरिका झिलीमिली बत्ती पनि जुनकिरी जस्तै धमिला लाग्दछन, बिदेशको चमक धमक त बेकारको रबाफ रैछ भनेर बल्ल चेत खुल्दछ।

बाताबरण जस्तै होस,समय दशैंको हो। हामी जे जस्तो अबस्थामा हौंउ,यो महान चहाड धुमधामले मनाउन पर्दछ। सके आफन्त नसके नेपाली दाजुभाइ दिदीबहिनी मिलेर भए पनि बर्षभरीको दू:ख भूलेर यसपालीको दशैं सदाजसो रमाइलो गरी मनाउनुहोला। बिजया दशमी २०६६ को संपूर्ण दौंतरी मित्रबर्गहरुलाइ मंगलमय शुभकामना। स्वदेश,बिदेशमा बस्ने सबै दौंतरी मित्रबर्गहरुले दशैंको शूभकामना यही पोस्टमा साटासाट गर्नुहोला।


September 17, 2009

देशको नाम पनि फेर्ने कि ?

सारमा कुनै कुरामा सकारात्मक परिवर्तन आउन नसके पनि नया नेपालमा नारा, कुरा र तमाशा खेती मौलाएको छ । धेरै पात्र , वस्तु ,घटना र घटकका परिचयहरूले धमाधम परिचयको काँचुली छाडेर नयामा रूपान्तरण हुन तँछाड मछाड गरिरहेका छन् भलै यो परिवर्तनको उद्देश्य हात लाग्यो शून्य नै किन नहोस् । अहिले सम्म नेपाल नामबाट चिनिने हाम्रो मुलुकलाई अब जात जातका गरा र चिरामा भाग लगाउने अनि जातीय नामको न्वारान पहिराउने अभ्यासका क्रममा , आँफूलाई आमूल परिवर्तनको एकल प्राधिकार प्राप्त अभिकर्ता ठान्ने एउटा मुख्य राजनैतिक पार्टीले अद्यावधि कायम रहेको नेपालको राष्ट्रीय झण्डा परिवर्तन गर्नु पर्ने प्रस्ताव जारी गरेको रहेछ । यसका पक्ष विपक्षमा सर्वसाधारणदेखि विज्ञहरू सम्मका रायहरू अब आउने नै छन् आफ्ना आफ्ना पार्टी वफादारिताका पेटाराहरू बोकेर , तर मेरो विचारमा राष्ट्रिय झण्डा मात्र किन मुलुकको नाम , राष्ट्र भाषा र अन्य कुरा पनि फेर्नु पर्ने जिरिह र जिकिरहरू लिएर अगाडि बढ्नु पर्ने उचित मौका यही हो । कसैलाई मन भए ढिलो नगरी अगाडि निस्कँदा मुराद पूरा हुने मौका आएकाले , मौकामा चौका हानी नौका तर्न नचुक्नू होला !

झण्डा परिवर्तनका सुझावकर्ताहरू को आरोप छ हाल विद्यमान नेपालको झण्डा हिन्दू राजतन्त्रको हिमायती छ र परिवर्तित नेपालको जातीय संघीयतालाई प्रतिनिधित्व गर्न जति पनि जातहरू छन् तिनका नामका एकएकवटा तारा राखेर नया झण्डा बनाउनुपर्छ । हुनसक्छ , यो पार्टीले प्रस्ताव गरेको झण्डा झण्डै चीनिया मोडेलको तारावाला हुनेछ, रातो पृष्ठभूमिमा । यो कुराको लख काट्न सकिन्छ किनभने यो राजनैतिक दलले राखेका अधीकांश परिवर्तित नेपालका लागि लागू हुने शब्दावलीहरू उतैबाट सापटी लिएका देखिन्छन् जस्तो कि माओवाद, पिएलए, जनप्रतिनिधिसभा , अध्यक्षमण्डलीय प्रणाली, व्यवस्थापिका नियन्त्रित न्यायलय आदि । हरेक कुराको अनुकरण उतैको हुने भएपछि , झण्डामा तारा हुनुपर्ने यो लगावलाई बुझ्दा केही ताराहरूको संख्या थपेर चीनिया झण्डालाई नै आत्मसात गर्ने सुझाव पो हो कि जस्तो देखिन्छ ।

झण्डाले हिन्दू धर्म र राजतन्त्रको गन्ध बोकेको हो र फेर्न पर्ने हो भने नेपाली भाषाको बचाउ गर्न सकिने कुरा पनि भएन । नेपाली भाषा यसै पनि खस र बाहुनहरूको मातृभाषा भनिने गरेको छ र यसको माऊ भाषा हिन्दूहरूले देवभाषा भन्ने संस्कृत भएको हुनाले नेपालीमा ८०% शव्दहरू संस्कृतबाट नै छन् भन्ने मानिएको छ । यसैपनि जनजाती र तराईयाहरूको नेपाली भाषालाई नेपाल नामको मुलुकले दिएको विशेष स्थान र राष्ट्रभाषाको स्थानप्रति पर्याप्त गुनासो छ ।नया नेपालले सबैलाई न्याय गर्नु पर्ने भएकाले , नेपाली भाषालाई पनि राष्ट्रभाषाको ठाउँबाट हटाएर ' हिन्दी' वा अंग्रेजीलाई 'न्यूट्रल अम्पायर'को दर्जामा स्थापित गराउन पनि धेरैलाई म लागेको हुन सक्छ । नेपाली राष्ट्रभाषा नमानेर हिन्दीलाई च्याप्ने र उपराषट्रपतिले नेपालीमा शपथ खानै हुन्न भन्ने जनजाती महासंघको अडानले यो कुरा देखाएको पनि हो । अत: ओरालो लागेको मृगलाई लखेट्नुपर्छ वा फलाम तातेका बेलामा यसलाई पिट्नु पर्छ भने झैँ , कमजोड नेपाललाई निचोरेर बढि फाइदा लिन यस्तो मौका इतिहासमा दोहोरिने पनि छैन । तसर्थ नया नेपालका ठेकेदारहरूले नेपाली झण्डा फेर्ने प्रस्ताव गरेझैँ केही समयपछि नेपाली भाषालाई राष्ट्रभाषाबाट हटाउन आन्दोलन छेड्ने सम्भावना ज्यूँका त्यूँ रहाक हुनाले राष्ट्रभाषा पनि फेर्ने प्रस्ताव ल्याउन ढिलो नगर्दा हुन्छ । यसको बीऊ परमानन्द प्रकरणमा रोपिइसकिएको छ, यसलाई मलजल गरौँ !

झण्डा र भाषा फेरेपछि 'ने' नामका हिन्दू ऋषीले 'पालन' गरेर नेपाल भएको किंवदन्ती पढेकाहरूलाई यो आसयको नाममा आपत्ति लाग्नु पनि अनौठो हुने कुरा भएन । त्यसैले यो पुरानो नाम 'नेपाल' मा किन रोकिने भनेर क्रान्तिकारी पेटमा आगो दन्किन पनि सक्छ । त्यसैले प्याकेजमा नै सबै कुरा फेरे हुन्छ । राष्ट्रभाषा , राष्ट्रिय झण्डा र मुलुकको नाम नै फेरे पछि त हामी पुराना कुराबाट मुक्त भैहाल्यौँ नि ! आमूल परिवर्तनको यस्तो विधि हुँदा हुँदै किन अरू प्रयत्नमा रुमल्लिइरहने ? देशको नाम पनि 'माओस्तान' वा 'जनताको जनजातीय जनसंघ' वा यस्तै केही राखेर चमत्कार गर्न अब ढिलो गर्नु हुन्न !



September 16, 2009

नदेउ,र नलाउ

शिब प्रकास
दुइ मुक्तक

एक

नदेउ
दोष तिमी मेरो नजरप्यालालाई
सम्हाल त्यो झर्झर यौवनज्वालालाई
रोक्न सक्दैन फूलले आफ्नै वासना -
कसरी छल्छौ तिमी हजार आँखालाई ।

दूई

नलाउँ
फेरी माया फाटेपछि सिउन गाह्रो हुन्छ ।
फूटेको प्यालामा मधुरस पनि पिउन गाह्रो हुन्छ
साँचेर फाटेको माया, बाँचेको छु पिएर -
नपाए'नि माया, पिउन नपाए जिउन गाह्रो हुन्छ ।


September 15, 2009

Admin Privelaged Changed!

Update: Admin Privileges have been restored. But still for extra security I still encourage to change password. Thanks for the cooperation during this time.
--------------------------------------------------------------------
We are suspecting our administrator's password has been reached to second person. Admin privileges have been on hold for a short time. Dautari Admins I would request to change your passwords!
Thank You
Nepalean

पर्खाई....

(पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो)


उसले चुरोटको अर्को लामो सर्को तान्यो।
बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।

३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।
“पैँतिस हजार…दुबई पठाइदिउँ?”
“कति लाग्छ नि लाग्न चाहिँ?”
“एक लाखमा भिसा आइपुग्छ!”
“एक लाख!”
“मेरो आफ्नै भान्दाईको म्यानपावर हो, दुबई गएर आउँछन् बर्षमा ३-४ पटक, चिनेको कम्पनिमा हो जानासाथ काम सुरु हुन्छ, सोच् राम्ररि!”
उ सडकतिर हेर्न थाल्यो।
“साला म्यानपावरहरु! ठगेर धनि हुन्छन र अझै अरुलाई कमाउने सपना देखाउँछन्!”
“के गालि गर्नु, एक लाख त हैन २०-३० हजारमा जान पाइने भए भोलि नै उड्न हुन्थ्यो यो नरकमा आधीपेट खाएर बस्नु भन्दा त!”
उसले थुक्यो र फेरि चुरोटको सर्को तान्यो।
“अझै आइन त?”
उसले आफैँलाई प्रश्न गर्यो र उता हेर्न थाल्यो।
उसलाई यसरि घाम र धुलोमा कुर्न साह्रै बोर लाग्छ।
“बालाजु हो? ल ल आउनुस छिटो!”
बस नजिकै रोकिएको थियो र फुच्चे खलाँसिले उसलाई सोधिहाल्यो।
ऊ केहि नबोलि मुख बिगारेर अलि पर सरेर बस भन्दा पर हेर्न थाल्यो।
“ओ दाई नचढ्ने भए किन बस रोक्ने ठाउँमा उभिन पर्यो?”
बस गुड्दै थियो र खलाँसि ऊ तिर हेरेर बोल्दै थियो। उसलाई हेपिएको आभाष भयो।
उसलाई खलाँसिको टाउको बसको टायरमुनि हुलिदिन मन लाग्यो। बस गुड्दै पर पुग्यो,खलाँसिले उसलाई गिज्याउने भावले हेरिरहेको जस्तो लाग्यो।
उसले चुरोट मुखसम्म ल्यायो र मुख बिगारेर हुत्याएर फालिदियो। फिल्टर सम्म बलिसकेछ।
ऊ फेरि उतै हेर्न थाल्यो।
“ के मर्थि र मुखले मात्र ठिक्क पार्छे सधैँ!”
उसले मुख बिगार्यो।
“दाई एक रुप्पे दिनोस न?”
गाला र निधारमा कट्कटिएको मयल लिएर पँहेला दाँत देखाउँदै एउटा खाते ऊ संग पैसा माग्दै रहेछ।
“के पैसा? चुप लाग् साले खाते!”
उसले खातेलाई हप्कायो र खातेसंग छोइएला कि भनेर अलि पर सरेर अर्कै दिशामा हेर्न थाल्यो।
पर ४ जना केटिहरु कुनै स्कुल ड्रेसमा शायद बस कुर्दै रहेछन्।
उसको नजर त्यतै गयो।
“सालीहरु सब घुस्याहाका छोरिहरु होलान्! बाउले ठगेर ल्याउँछ यिनिहरुको मोज!”
केटिहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए।
उसका आँखाले केटीहरुले लाएको स्कर्टमुनिको घुँडाहरु तुलना गर्न थाले।
“ यी सबै केटासंग सुत्ने बानि परिसकेका हुन्!”
उसले आफ्नो अनुमान मनमनै आफैँलाई सुनायो।
“साली रश्मी अझै मर्दिन!”
स्कर्टबाट देखिएको घुँडाबाट माथिको अंग कल्पनामा बनाउँदै उसले रश्मीलाई सम्झियो।
कुनै स्कुलबस केटीहरुको नजिक रोकियो।
केटीहरुको हल्ला बढ्यो।
बसको ढोकाबाट कुनै भर्खरको केटाले हात झार्यो र पालैपालो सबै केटिको हात समात्दै बसमा तानेर चढायो।
उसले फेरि मुख बिगार्यो।
“ बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!”
उसले सोच्यो।
उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्।
ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन।
“र.. हरु के हेर्छन कुन्नि?”
उसले फेरि आफैँलाई प्रश्न गर्यो।
“गाँठ भए जे पनि पाइन्छ काठमान्डुमा!”
उत्तर पनि ऊ आफैँले दियो।
केटिहरुलाई तानेर बसभित्र उकाल्ने केटा बसको ढोकामा उभिँदै हाँस्दै थियो र बस गुडेर उसको नजिकबाट गयो।
“साले म भन्दा ५-६ वर्ष कान्छो होला, लाईफको मोज सबै थाहा पाइसक्यो!”
उसको निधारमा ईर्ष्याको लहर जन्मियो।
उसले घडि हेर्यो र फेरि मुख बिगार्यो।
“रश्मी आइपुग्नु पर्ने हो अब त!”
उसले फेरि उता हेर्यो।
“अस्तिको त्यो बाइकमा हालेर लाने रन्जन बोकासंग यसको पक्कै पनि लसपस हुन पर्छ!”
“रन्जनेले दुख दिन्छ भएको नभएको गफ लाउँछ भन्छे अनि त्यसैसंग बाइकमा टाँसिएर हिन्छे साली!”
उसको बिग्रेको मुख झन बिग्रियो।
“ साला अर्को वर्ष यतिबेला सम्म त कसो एउटा बाइक नकिनौँला!”
उसले खल्ति छाम्यो र फेरि चुरोट सल्काएर तान्न थाल्यो।
“यु आर अ नाइस गाइ नि निरज, तिमी त्यो रन्जने जस्तो बिग्रेको छैनौ नि त्यसैले त तिम्रो माया लाग्छ मलाई!”
रश्मीले उसलाई भनेको सम्झियो।
“बिग्रेकोसंग किन जोल्ठेर हिन्न पर्या नि तेल्लाई चाहिँ?”
उसले रिसमा प्रश्न गर्यो, शायद आफैँलाई।
“ह्या बाइकमा घरसम्म पुर्याइदिन लगाकि होलि नि कम्ता बाठि छे त्यो!”
उसकै मनले उत्तर दियो।
उसलाई थाहा छैन किन हो, एकैछिनमा उसलाई रश्मीको माया लाग्छ र रश्मी प्यारी, पवीत्र, सोझि लाग्छ र एकैछिनमा उसलाई रिस उठ्छ र रश्मी चालु, चरित्रहीन र धुर्त लाग्छ।
उसले फेरि घडि हेर्यो।
“उसकै काम गरिदिन भेटौँ भन्छे उहि आउँदिन आधा घन्टा भन्दा बढि भैसक्यो!”
उसको रिस फेरि बढ्न थाल्यो।
एक पटक हैन दुई पटक हैन धेरै पटक उसले रश्मीलाई यसैगरि कुरेको छ र रश्मी यसैगरि आइदिएकि छैन। उसको रिस यसैगरि आकाशमा पुगेको छ र रश्मीको सामु परेपछि रश्मीको मिठो बोलीमा नआउनुको कारण सुनेपछि ऊ सधैँ पत्याउन बाध्य भएको छ।
उसलाई थाहा छैन ऊ किन मनमा उब्जेको रिस र प्रश्न रश्मीको अगाडि देखाउन सक्दैन।
ऊ अलिकता बेचैन देखियो।
“यस्ता संग लभ गरेर के बस्नु?!”
उसले फेरि घडि हेर्यो र केहि सोचेर चुरोट फाल्दै बाटो काट्यो।
एउटा कम्यूनिकेशनको बुथ भित्र छिर्यो।
“दाई एउटा लोकल कल!”
पसलेले केहि नबोलि फोन देखाइदियो।
उसले कतैको नम्बर घुमायो।
“हेलो! रश्मी छ?”
“हजूर म निरज!”
“साथि!”
“हो निरज नै हो हजुर!”
“ए! त्यहि त अहिले सम्म आइन भनेर यसो फोन गर्या! हस् त म कुर्छु अझै!”
ऊ पैसा तिरेर बाहिरियो, र फेरि सडकवारी पहिलेकै ठाउँमा आयो।
“ अलि ढिलो हिँडिछे जस्तो छ, मैकहाँ जाने भनेर हिँडेकि रे!”
ऊ अलि सन्तुष्ट देखिन्थ्यो।
“बिचरी टेम्पोमा कोच्चिएर हिँडिरहेकि होलि!”
उसको मनमा माया र सहानुभूती पलायो।
“खान कता लैजाने होला?”
उसले मनमनै भन्यो र खल्ति छाम्यो।
“छ्या त्यो समोसापसलमा त नाइँ पाखेहरु मात्रै हुन्छन!”
उसलाई रश्मीले भनेको याद आयो। उसलाई फेरि हल्का रिस उठ्यो।
“खल्तिमा डो नभएसि पाखे न साखे, त्यति नि बुझ्दिन साली!”
“बेकरीको मम क्या दामि हुन्छ नि निरज!”
फेरि उसलाई रश्मीले भनेको याद आयो।
“त्यसको बाउको कमाई त्यहि हो, तेल्लाई कसरि थाहा हुन्छ काठमान्डुको सबै महंगा रेस्टुरेन्टको मेनु??”
रिसले उसको निधार फेरि खुम्चियो।
“खै अझै मरिन? यति दुख दिन हुन्छ तेल्ले मलाई?”
“ओ निरजss!”
नजिकै एउटा बाइक रोकियो।
ध्रुवे रहेछ।
उसले दाँत देखायो।
“काँ जान लाग्या? हिन् म छोड्दिन्छु!”
“हैन यार तँ जा, पछि भेटौँला मेरो काम छ!”
उसलाई ध्रुवे गए हुन्थ्यो भन्ने लाग्यो।
“त्यसैलाई कुर्या त होलास नि तैँले। के त्यस्तो केटिको पछि लागिरा तँ? अगि भर्खर रन्जनेले तन्दुरी रेस्टुरेन्ट भित्र लिएर गा’ छ त्यसलाई तँ साले यहाँ कुरिराख्!”
ध्रुवेले हेल्मेटभित्रको आँखा चम्काउँदै भन्यो।
उसको मुटु हल्का उफ्रियो, अनुहार अलि बढि कालो भयो।
“हैन यार तेस्ता केटिलाई म किन कुर्थेँ, अरु नै काम छ क्या पछि भनौँला!”
“ल त, तँ यहिँ घाममा पाकेर बस् म गएँ!”
ध्रुवे हिँड्यो।
उसलाई औडाहा भयो।
“साली मलाई यता कुराएर त्यो बोकोसंग रेस्टुरेन्ट जान्छे!”
उसको मुख झनै बिग्रियो।
उसले टेम्पो रोक्यो।
टेम्पोमा दुईजना मोटि आइमाईहरुको बिचमा ऊ लगभग हराएको थियो। टेम्पो घाममा तातेको थियो र ऊ भित्रको औडाहा भन्दा बाहिरको गर्मि कम थिएन।
टेम्पो लैनचौरबाट लाजिम्पाट पुग्यो।
बाटो भरि तन्दुरी रेस्टुरेन्ट हेर्न उसले निकै सकसका साथ टाउको तन्काइरहेको थियो।
उसले टेम्पोको छत एकपटक ठटायो।
ड्राइवरले शायद सुनेन, टेम्पोको स्पिड उस्तै थियो।
रिस, जलन, गर्मि र औडाहामा उसले ४-५ पटक जोडले टेम्पोको छत ठटायो।
टेम्पोले ब्रेक लगायो, सबैले उसलाई वाल्ल परेर हेरे।
ड्राइवर भुन्भुनाउँदै थियो।
“आफ्नो बाउको टेम्पो भन्ठान्छन साले पाखेहरु!”
उसले ड्राइवरले बोलेको सुने पनि सुन्या नसुन्यै गर्यो।
बाहिर ओर्लेर पैसा फुत्त फाल्यो र एकातिर हिँड्यो।
फत्फताउँदै ड्राइवर टेम्पो चलाउन थाल्यो।
उसले रेस्टुरेन्ट देख्यो।
सर्ट प्यान्टबाट लगभग पुरै बाहिर निस्केको थियो। उसले सर्ट प्यान्टभित्र कोच्यो। उसलाई थाहा थियो उसको व्यक्तित्वले रेस्टुरेन्ट छिर्नु भनेको बेराहरुको गहिरो अविश्वासको आँखा आफ्नो टाउको देखि खुट्टासम्म बग्न दिनु हो।
रेस्टुरेन्टको ढोका खुल्यो।
ऊ सकपकायो र ढोकाको छेउमा उभियो।
रश्मि कुर्थाको सल मिलाउँदै फटाफट बाहिर निस्किइन र अलि पर पुगेर भुइँमा हेर्दै उभिइन्।
उसको मुटुको धड्कन बढ्यो।
फेरि ढोका खुल्यो। रन्जन हेल्मेट समातेर फुत्त निस्कियो र रश्मी उभिएको ठाउँमा गयो।
उसलाई दुवैले देखेनन्।
“ स्टुपिड मान्छे के गरेको अगि?”
उसले रश्मीको स्वर सुन्यो र लगत्तै रन्जनको हाँसेको स्वर सुन्यो।
“को थियो र त्यहाँ? बेसि डराउने क्या तिमी?”
रन्जन बाइक स्टार्ट गर्दै थियो। रश्मि पछाडि बसिन्।
बाइक गुडेर टाढा जानु भन्दा अगाडि उसले रश्मीको आवाज सुन्यो-
“ अस्तिकै बाटोबाट लैजाऊ है? धेरै दुख दिने हैन नि भन्द्या छ…….दुई घन्टामा घर पुग्न पर्छ उफ्!”
बाइक टाढा पुग्यो।
ऊसको मुटु उफ्रेको उफ्रेई थियो।
रेस्टुरेन्टको ढोका खोलेर एउटा बेरा उसैलाई हेरिरहेको हरेछ।
“के हेर्या दाई? तपाइँ हामिसित यस्ता केटि हिँड्दैनन्, यो दाई त हरिप छ, फेरि फेरि ल्याउँछ केटिहरु!”
ऊ ऊसले केहिबेर अघि गरेको आफ्नै अनुमान सम्झँदैथियो, बिगार्ने केटा कम हुन्छन्!