May 26, 2009

पोखरामा डमरु भेटीरहन्छन

आज दैनीकीमा कास्कीको लेखनाथमा बाघका चारवटा बच्चा अर्थात् डमरु फेला परेका समचार रहेछन।
लेखनाथ नगरपालिका वडानम्बर १२, खुदीस्थित शिवराज पौडेलको घर नजिक राखिएको परालको टौवामुनि ती डमरु भेटीएका रहेछन । आखासमेत नखुलेको अवस्थामा भेटिएका ती डमरु केही दिन अघि मात्रै जन्मिएको अनुमान गेरेका रहेछन । स्थानिय शिवराजकी श्रीमतीले ती बच्चाहरु देखेपछि प्रहरीलाई खबर गरिएको थियो । सुरक्षा निकाय, वन कार्यालय र वन विज्ञान अध्ययन संस्थानबाट गएको टोलीले अहिले ती डमरुलाई घेरामा राखेका रहेछन ।
भन्छन नि सर्पको बच्चा र बाघको बच्चा सधै एक ठाउंमा बस्दैनन। सानोमा सर्प देख्यो, डराएर साफ। भोली पल्ट त्यो ठाउमा जानै नमान्ने। अनि आमा सम्झाउने गर्नुहुन्थ्यो सर्पको बच्चा र बाघको बच्चा सधै एक ठाउंमा बस्दैनन।
यदा कता यसरी बाघका बच्चा भेटीने गर्छन। कुरा एक दशक पहिला को हो। ठाउं पनि त्यही खुदी पारी अझ भनौंन, सेतीपारी भरतपोखरीको हो। भइथर भुनू र उनका साथी वन घांस काट्न गएछन। पानी खान तुरतुरेमा छिरेछन। तुरतुरे धाराका जस्तो चिसो र मिठो पानि मैले कही भेटेको छैन। बाघ त बच्चालाइ लिएर पानी खान त्यही तुरतुरेमा आएको रहेछ। मान्छेलाइ देखेर बाघ बच्चा छोडेर हिडेछ। भयो अब? पानी खाने की नखाने?तिर्खाको सुरमा एक हातमा आसी ठडाउदै पानी खान गए। बाघका बच्चा वाल्ल परेर हेर्दा रेहछन। साना साना आंखा,कमला रौं देख्दा
उनीहरुलाइ सारै माया लागेछ। कती राम्रा हुन यि,लैजाम न यि बच्चा। भुनूले भने उताको तिमी लिनु यताको म लिन्छु । बाडफाड पनि गरेछन त्यही। चट्ट घांसको डोकाको माथी बाघको डमरु राखेर घर फर्केछन। घरमा लगेपछी आपत! न संगै सुताउनु, न भैसीको गोठमा बाध्नु। ति साना बच्चा डोकाले छोप्ने कुरो पनि भएन। भुनूको बुद्दी फुरेछ बाख्राको खोरमा राख्ने। उनका साथिले भनेछन बाख्राले मार्लान नि बिचरा यि बच्चालाइ। दुबैले सल्लाह गरेछन,दुबैका बाख्रा एउटै खोरमा राखेर एउटा खोर खाली गरेछन। त्यसपछी त्यही खाली खोरमा बाघका बच्चा राखेछन। दुबै बाघका बच्चा भेटाएकोमा दंग पर्दै सुतेछन। भुनू भोली पल्ट चिया पनि नखाइ बिचरा के गर्दैहोलान भनेर बाघका बच्चा हेर्न खोरको ढोका खोलेको त बच्चा त छैनन। कुन चाही अस्त्तीले चोर्यो भनेर भुनभूनाउदै खोर घुम्दा त खोरको कुनामा ४-५ वटा ढुंगा नै गाएब। बाघले ढोकै नखोली पर्खाल फोरेर आफ्ना बच्चा लगेछ। समाचारसंगै यो कथाको सम्झना आयो।
बाघको कथा त अर्को पनि छ। पोखराकै सेन्टर महेन्द्रपुल छेउमै ठाना छ। खास यस्कको नाम त गैरापाटन हो क्यार। ठाना छेउमा ठुलो बांस घारी छ। त्यो घारीमा यदा कता ठानाबाट कैदी भागेर लुक्ने गर्छन। यती घना घारी छ कि चोर कता पस्यो कता, पुलिसलाइ सधै त्यो बांसघारी सास्ती हुनेगर्छ। भएन भनेर एक सांझ त्यही बांस घारीमा बाघ आएर बसेछ। मान्छे त्यो बाटो कसरी हिंड्ने? केही देखिन्न त्यहां। चोर त लुक्न मिल्छ अब बाघ। २-४ दिन मान्छे त्यो बाटो नै हिड्न छोडे।
पोखराका बाघका कथा भनेरै सकिन्नन। कथा गण्डकी बोर्डीगं पढ्ने ताकाको हो। साउनको झरी १२ कक्षाको परिक्षा। बिहानको खाना खाएर यसो पढ्न के आटेको थिए लौ बाघ आयो भनेर हल्ला पो सुनियो। के पढ्नु नी , बाघ नै हेर्न दौडियो। होस्टेल पछाडी क्रिषी फारम थियो। थुप्रै मान्छे बाघ हेरेर झुम्मिएका रहेछन। एक दुइ जना भाइ लौ बाघ समात्ने भनेर तम्सिदै थिए। धरानका गौरब भाइ चाही हातमा बन्चरो लएर फिल्मी पारामा बाघको पिछा गर्दै थिए। एउटा बाघ, ४०-५० जना मान्छे। बिचरो बाघ यता र उता गर्दै थियो। एक छिनमा त बाघ १० फिटको तार फिड्किएर पोखरा इन्जिनियरीगं क्याम्पसतिर दौडियो। सबै जना हेरको हेर्यै।
बाघको कथा भन्दा आफ्नो कथा पनि नबाडी रहन सकिन। चैत बैशाखको समयमा पातहरु निकै झर्छन। पातहरु सोरेर खेतमा राखी कम्पोस्ट बनाउने निकै प्रचलित छ हाम्रो गाउंमा। म ६ कक्षामा पढ्दा, एउटा शुक्रबारमा हाफ छुट्टी पछि म र बैनी ठुला ठुला डोका बोकेर पात सोर्न निस्कियौं। तेर्सो बाटो मुनी निकै पात थुप्रिएका थिए। म दंग पर्दै बाटो बाट यसो तल ओर्लेको त बाटोमुनीको पहारामा बाघ मस्त सुतीरहेको। पाइला त्यही अडिए। त्यतीकैमा बाघ उठेर पो हेर्छ। यस्तरी सातो गयो कराउन मुख पनि खुलेन। बाघ पुन पल्टेर सुत्यो। बैनीलाइ हेरको बैनी त डरले निली पो भैसिछे। बाघलाइ उपकारै गरिस प्रभु भनेर पातै नसोरी हामी सिधै घरमा पुग्यौं। पुन नसुतेको भए त्यो बाघले के गर्थ्यो होला, अझै पनि आगं सिरिगं हुन्छ।


May 25, 2009

बुझ्न सकिन

बिजयकुमार श्रेष्ठ
-हाल परदेशबाट

माया त नदिएको होईन तिमीलाई तर किन हो मैले बुझ्न सकिन
जिवनको उकाली ओरालीमा केही गल्तीहरु गरेहोला सम्झाउन सकिन
आघात माया पाउने आशा राखेको थिए तर चित्कार सवाय पाउन सकिन
एकबारको जिवनमा सधै पछुताउनु पर्ने किन हो मैले केहि बुझन सकिन ॥
कसरि देखाउ तिमीलाई मैले माया दिएको छु भनि छात्ति चिर्न त सकिन
न त तिमीले बुझने प्रयास नै गर् यौ त्यो त मैले पनि बुझन कहिले सकिन
आफु त तड्पियौ तड्पियौ तर मलाई किन बेहोसि बनायौ किन बुझन सकिन
आखिर मायाको अबमुल्यन गर्ने भए मायालु बनि नाटक किन गर् यौ बुझन सकिन ॥ ॥
रुपलाई मात्र हेरेर नहुने रहेछ बानि कस्तो छ भनि पहिला थाहा पाउन सकिन
फेसन र रुपको जालमा पर्दा पछुताउन सिवाय अरु जिवनमा केही पाउन सकिन
अरुलाई तड्पाउन सिवाय केही नजान्नेले माया दिन्छु किन भन्यौ बुझन सकिन
जे जानेको छ त्यहि गर्नु केहि भन्ने पक्षमा छैन जिवनमा मायालुलाई चिन्न सकिन ॥ ॥ ॥


हावाको साथमा


गुरु बराल
हाल अमेरिका
ठाने मैले आँफु्लाई
म प्रेमको साथमा छु !
तर त्यो छल कपट रहेछ
हावाको गफमा उड्न पुगेछ !!
प्रार्थना गर्छु आज म
हे हावा ! मलाई लज्जित नपार ।
मेरो चोखो प्रेमलाई
नौटङ्की भनेर नबुझ ॥
म त प्रेमको पुजारी हुँ
लप्पन-छप्पन जाँन्दिन ।
दिलको आदर्श वेच्न सक्तिन
चोर्ने को मोहमा फस्दिन ॥
ईश्वर मेरा साक्षी छन्
झूठ म संग डराउँछ ।
सत्यमा सधैँ अडिग छु
डर चिन्ता हराउन्छ ॥
कुइरोको काग होइन म
वाज लखेट्ने चिवे चरा हूँ !
प्रेमको हावामा अब उड्दिन
जंजिरले बाँधेको अर्जुन हँ !!


बल्ल काम लाग्यो दौरा शुरवाल


प्रधान मन्त्री भए भएर पनि नभएका माधव कुमार नेपाल आफु प्रधान मन्त्री नबने पनि उनका दौरा सुरवाल प्रधानमन्त्रि हुन लायक भएको समाचार धेरै पटक छाइरह्यो। चुनावै हारेर, पार्टी अधक्ष छोडेर पनि अहिले भने प्रधान मन्त्री हुन पाएका छन। दौरा शुरवालमा चट्ट सजिएको उनकको प्रशन्न मुद्रा चारै तिर देख्न पाइएको छ। देशमा बिकास र आर्थिक उन्नतीका काम त के गर्ला यो सरकारले तर नेपाली जनतासंग मागेको संबिधान बनाउने म्यान्डेट पुरा गरुन माधव कुमार नेपालले। हुन त खिचडी सरकारको आयु आज हो की भोली ? फेरी खिचडी बनाइने ब्यन्जन पनि उत्तीकै धेरै छन। समिकरण यस्तै हुन्छ भन्न पनि सकिन्न। बिपक्षमा माओबादी र वाइसिएल छन बाटो सजिलो पनि छैन।

तर पनि समयसंग मिलाउदो पाइला चाले नहुने केही छैन। आफ्नो दम्भ त्यागेर देशको लागी केही गर्ने भन्ने हो भने बिरोध कसैले गर्ने सक्दैनन। या कसैले बिरोध गरे जनताले पक्कै अर्को पटक भोट दिदैन। डर धम्कीको राजनिती पनि त धेरै दिन नटिक्ला। पटक पटक कांग्रेसी सरकार हुंदा बिपक्षमा बसेर वाक्क भएका नेपाल अहिले कांग्रेसकै सहयोगले सरकारको बागडोर समालेका छन। बिपक्षीकालमा उनीले कती सिके,कती गर्नेछन त्यो त समयले देखाउला। देशलाइ यसरी गन्जागोलमा नराखी संबिधान नबनाइ नहुने भएकोले जसरी भए पनि माधव कुमार नेपालले प्रधानमन्त्री बनेर सफल रहुन।

नव प्रधान मन्त्रीलाइ हा्र्धिक शुभकामना।

मन भित्र कुरा खेल्छ

प्रबिण थापा
गजल: मन भित्र

मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ

खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ

नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ

जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ

भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ


May 24, 2009

दौंतरीको दिशा र पाठकको गन्तव्य

सही कुरा राख्ने ठाउको कमी पटक पटक महशुस भएर नै दौतरीको जन्म हुन गएको हो। केही बोल्न कुनै बादको अनुयायी नै हुनुर्ने परिस्थीती नाओस भनेर नै दौतरीको उर्जा जोगाइ राखेका छौं। यसमा प्रतक्ष अप्रतक्ष कति सामेल हुनुहुन्छ ठ्याक्कै भन्ने स्थीती छैन तर पनि गर्वका साथ भन्नु नै पर्छ ब्यक्तीबाट माथी उठेर खोलीएको दौतरी ब्लगको समुह अझ शसक्त र बिस्तार हुने क्रममा छ।

संसारकै एक पुरानो लिखित भाषाका प्रयोगी हामी संसारकै गरिब मुलुकको सुचीमा पर्छौं। हाम्रो आकांक्षा र अबस्थाको बिशाल दुरी कायम भइदिनाले नेपाल र नेपालीहरु निकै अप्ठ्यारो समयमा गुर्जीरहेका छन। न त तिर्खा मेट्ने गरी पानी उपलब्ध छ न त मन ढुक्क बनाइ हिड्ने अबस्था छ। छ त छ केबल जनताबाट खसालिएका भोटको अधिकार प्राप्त झुन्डको उच्च जिबनको सुनिस्चता। बिभिन्न अलंकार प्रयोग गरी शासन ब्यबस्था फेरिए पनि जनचाहनाका काम सुन्यमै सिमीत भएका छन। अझै पनि जनताहरुको झोलामा नेताहरुकै बिचारका पर्चाहरु भएको ठानिन्छ। त्यसैले जनताको रोजाइमा होइन कि पार्टीहरुको रोजाइमा बिबाद गरिन्छ।

के त सर्वसाधारण आफ्नो कुरा राख्न सक्षम नै छैनन? नागरीक समाजका सदस्य पार्टीको पोल्टोमा छन भने देशको अबस्था चिरफार गर्ने पत्रकार ब्यसायिकताको घर्रामा। देश र जनताको स्वार्थ प्रतीनिधित्व गर्ने र यस्ता मुद्दाको वकालत गर्ने ब्लगहरुकै जिम्मामा छ। के त नेपाली ब्लगहरु यसमा सक्षम छन? निकै छोटो इतिहास बोकेको नेपाली ब्लग इतिहास र बामे सर्दैगरेका ब्लगरहरुलाइ यसरी झोस्नु अन्याय नै हुनजान्छ। तर पनि आफुलाइ त्यस्तो ठाउमा चित्रीत गर्दै ब्लगहरु अगाडी बढ्नुपर्छ। सस्तो लोकप्रियता होइन की सफल अग्रताको स्थान ओगट्नुपर्छ ब्लगहरुले। एउटै लेख किन नहोस, त्यसैले देशकै स्वरुप नै फेरोस। नेपाली हुनुमा अझै गर्व थपियोस। ब्लगहरुको मुलमन्त्र त्यही नै हुनुपर्छ।

काठ एक रातमा अग्राख बन्ला तर ब्लग पंलासै किन नबनुन, आफ्नो चुरो कमजोर हुनदिनुहुदैन। दौतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चासो राख्छ। ब्लगहरूमा हुलमा जब कुनै ब्लग देश र जनताको पहिचान बनाउन सफल हुन्छन दौतरीको मुलमर्म त्यो ब्लगसंगै सफल हुन्छ। तर पनि ब्लगहरु गाली गलौज गर्ने सहज पहुंच या ब्यक्तीगत बिज्ञापन गरिने सस्तो माध्यम बन्न दिनुहुदैन। न त कुनै कुपोषित बिचार प्रवाह गर्ने थलो या बिचार छरिएको अमुक स्थान बनोस।


दौतरीका यावत आकांक्षा र उदेश्यको बिचमा डेढ बर्षको अन्तरालमा कता पुग्यो त दौंतरी? के पाठकले सुरुमा खोजेको गन्तवय तिरै सोझिदै छौं? नेपाली पाठकहरुले ब्लगमा खोजेका कुराहरु के हुन? कती पाउनुभएको छ? ब्लग कती सफल असफल छन? यि प्रश्नको थुप्रोमा दौतरीका पांग्रा कता गुड्दैछन? यो मुल्याकंन गर्ने पाठकहरुले नै हो। त्यस मुल्याकंनमा अन्य ब्लगरको सामिप्यताले पक्कै जिबन्त तुल्याउंछ।
अपडेट: ‌खासमा दौतरीको बारेमा लेख्न मन भैरहंदा दिलीप आचार्यको ब्लगमा ब्लग संबन्धी प्रतिमात्क कथा आएको रहेछ। त्यसले दौंतरी काहां छ भनेर बुझ्नको लागी लेख्न झकझकायो। संयोग पनि त्यस्तै बसन्त गौतमको ब्लगमा पनि नेपाली ब्लग सम्बन्धी नै लेख आएको रहेछ। यो त ब्लगकै मौसम जस्तो लाग्यो। अरु पनि नेपाली ब्लग सम्बन्धी लेख आए थाहा दिनुहोला।
दिलिप आचार्यको ब्लग संबन्धी प्रतिमात्क कथा:तानसेन, हरिदास ब्लगरहरु
बसन्त गौतमको ब्लग सम्बन्धी लेख: नेपाली ब्लगको बर्तमान भबिष्य
साथै दिपन्द्रे जी को ब्लग एक बर्ष भएको मा शुभकामना