December 8, 2008

प्रचण्डले सिंहदरबार सम्हाल्न नसकेकै हो त?

राजतन्त्र मात्र नभएर नेपालमा शताब्दियौं देखि चलिआएको सामान्तीवादी प्रथालाई जरै देखि उखेलेर फाल्ने डिंग हांकेर जंगल पसेका महामहिम जनवादी नेताहरुले १५००० नेपालीको अवसानलाई महान क्रान्तिको लागि शहादात वा सफाया भन्ने शब्दावलीले सिंगार्दा पनि “नयां नेपाल” का सौदागरहरुसंग चुप लागेर जे भो भैगयो अब त केहि राम्रो होस भन्ने आशामा बसेका हामी मूकदर्शकहरुलाई सौदागरहरुले लोप्पा ख्वाउन शुरु गरेका छन ।

भ्रष्टाचार नियन्त्रण, विकृति नियन्त्रण र अर्थ संयन्त्र दर्हो र व्यवस्थित गर्न भर्खर शुरु गरिन लागेका केहि प्रयासहरु देख्दा विस्तारै केहि परिवर्तन होला कि त जस्तो लागेको थियो केहि दिन अगाडि सम्म ।

तर अहिले एउटा मात्र होइन तीन चार जना बरिष्ठ माओबादि मन्त्रीहरुले फलाकिराखेका छन बिदेशीले काम गर्न दिएनन रे । प्रधान मन्त्री आंफैले पनि मुखै फोरे “बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम गर्न दिएनन, अब कहिले सम्म हो त्यो काम गर्न नसके सरकार छाडेर संघर्ष गर्छौं ।“ अझ थपेका छन, सहयोगी दलहरु र आंफुले राम्रो काम गर्न खोजेका छन रे, त्यसको अर्थ सहयोगी दलहरुको कारण समस्या छैन भन्ने बुझिन्छ ।

डेढ लाखको पलंगलाइ राष्ट्र प्रमुखको हिसाबले उचित मानेर, वा कम्प्युटर अपरेटरको अमेरिका यात्रालाई सामान्य मानेर बस्दा पनि र प्रधानमन्त्रीको “शाही” कारगेडलाई सुरक्षाको हिसाबले ठिकै होला भनेर बस्दा पनि सुख नपाउने स्थिति आएछ । दुधे छापामारहरुले बेला बेलामा विध्वंश र उत्पात मच्चाउने अघोषित खुल्ला छुट पाउंदा पनि र “जंगल युनिभर्सिटी” बाट दीक्षीतहरुलाई सिंहदरवार पसाउंदा पनि शान्तिको सास फेर्न नपाउने स्थिति आउन लागेछ । हिजो सम्म आफ्नो नालायकीपनलाई राजतन्त्रको अवशेषको विशेषण दिएर उम्कने बानी परिसकेकाहरुलाई पुन आफ्नो नालायकिपनाको दोषारोपण गर्ने अर्को बहाना भेटिएछ , “विदेशी शक्ति” को !

सबैलाइ थाहा छ नेपाल एउटा मात्र देशको नभएर धेरै देशको क्रिडास्थल बनेको छ धेरै पहिले देखि । आंफुलाइ सक्षम मान्नेहरुले अव्यवस्थालाइ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने पनि बुझेको हुनु पर्छ वा बुझ्नु पर्छ । अरुले गरेको ठिक भएन भनेर बन्दुक बोकेर हिड्नेहरुले सर्व शक्ति आफ्नो हातमा आउंदा केहि गर्न नसक्ने भइयो अब हामी सत्ता छोडेर पुन संघर्ष गर्छौं भन्ने बिलौनालाइ के मान्ने ? संघर्ष के का लागि ? सत्ता कब्जाका लागि हैन? सत्ता पाइसके पछि फेरि सत्ता छोडेर संघर्ष गर्ने, कहिं भएको छ यस्तो “अनुपम” कार्य ? विकास गर्न पुल भत्काउन, टावर पड्काउन, दुर्गमका शिक्षकलाई रुखमा झुण्ड्याउन, चक्का जाम गर्न भन्दा गार्हो हुंदोरैछ भन्ने बुझेर मात्र हो या रगतको प्यास लागिसकेका कामरेडहरु रगत विना बांच्न नसक्ने भइसके ?

विदेशी चलखेलले काम गर्न दिएन रे । आफ्नै देश भित्र बसेको सरकारलाई बिदेशीले काम गर्न नदिदैमा चलाउनै नसक्ने कस्तो हुतिहारा रैछ सरकारको नेतृत्व, कि सरकार देश भित्र नभएर बाहिर छ ! अझ पुरानो मानसिकता र प्रणालीबाट चल्ने कर्मचारीतन्त्रले काम गर्न दिएन रे ! कस्तो वाहियात ! कस्तो “नया नेपाल” हो यो, जहां सरकारले कर्मचारितन्त्र हैन कर्मचारितन्त्रले सरकार चलाउंछ !

हजारौं कर्मठ र योग्य नागरिकहरु छन नेपालका, विदेशमा विदेशीका आधुनिक संयन्त्रहरुसंग भिजेका । स्थायित्वको ग्यारेन्टी हुन्छ भने विदेशमा सेकेन्ड क्लासको दर्जा त्यागेर आउन तयार छन । नेपाल भित्रै पनि छन नया जेनेरेशनका योग्य मान्छेहरु नया जोश र जागर बोकेका जिम्वेबारी सम्हाल्न सक्ने क्षमता भएका । किन गलत्याउन सक्दैनन सर्वे सर्वा भनाउंदा “नया नेपालको” भाषण गरेर नथाक्ने नेताहरुले जर्जर र असक्षम जिर्ण कर्मचारितन्त्र ?

एउटै उत्तर काफी छ “किनकि सरकारको नेतृत्व लिनेहरु वा सरकार नै खिया लागिसकेको जर्जर र असक्षम कर्मचारितन्त्र भन्दा असक्षम छ” ।


December 7, 2008

योजना बिहिन गन्तव्य

बिजयकुमार श्रेष्ठ
(हाल ईराक)


जविनलाई सँघर्षमय रथ भन्नु नै सार्थक रहेछ ।ठुलो आशा र भरोसालाई अंकमाल गरेर जननीले आफनो ईच्छा र चाहनालाई गुम्स्याएर राखेर आफनो सन्तानको भविष्य चित्र कोर्न थालीन् । न त, दिन नै भनिन् न त रात नै भनिन् जब आफनो गर्भमा सन्तानको भ्रुण बस्न गयो । आफनो बैबाहिक सम्बन्ध पछिको पहिलो आवश्यकतालाई भरिपुर्ण सामाजिक मुल्य र मान्यतालाई शिरोधार्य गर्नलाई र आफनो वंशको वर्ण विस्तारको लागि दिलो ज्यान दिएर दश महिनाको लामो सघर्षमय दिनहरु पश्चात आफनो ममतालाई जन्म दिन्छिन् । अनि आफनो कोखको उपलब्धिलाई देखेर नरमाउने र नमुस्कुराउने को नै होला र यी पलहरु हर प्राणीमा कौतुहलको विषय बन्ने गर्दछ । त्यो दश महिनाको जति जिम्बेवारी र होसियारी पुर्वक जोखिमहरुसँग लड्नु पर् यो त्यो भन्दा भयानक योजनहरु थ्पिदै गयो । आफनो ठुलो र फराकिलो मनले हरेक आफना गराई र सोचाईलाई योजना बद्ध तरिकाबाट अघि बढाउदै बढाउदै आशाका तरङ्गिनमा बाधिन पुग्छिन् । यो मेरो त्याग र तपस्याले सहि मार्गको पत्र्यापरोपण गरोस भन्ने उसको मनमा नाम को सम्झना हुन्छ र त्यो सपना साकार पार्नलाई आफनो बल र बुद्धिले भ्याएसम्म कम्मर कसेर लागेका हुन्छन् ति पौरखि र आशावादि हात र मनहरु………॥

जब ति आँखाका नानीहरुले बामे सर्न थाल्दछन् त्यो परिभेष नै नौलो सन्सार हो कि जस्तो लागेर आउँदछ । जिम्वेवारको कसिको भार थपिदै जान्छ ।आशाको किरणहरु चम्कदै चम्कदै लामो यात्राको सुरुवात तिर उकाली लाग्दछ । पन्ध्रौ सोह्रौ बसन्तहरु पार गराईदिन्छ र आफना चुनौतीको सामनालाई कुन कस्तो र कसरी परिभाषा दिन सक्ने क्षमतावान बनाउन सक्षम र सफल हातहरुले आशाको लहरहरु फिजाउने दिनहरुको सुरुवात हुन्छ । ती निमुखा आमा बुबाको दश नङ्गा खियाएर आफनो कर्तव्यको पालो केहि हदसम्म पुरा गरि दिएका हुन्छन् । तर पनि उहाँहरुको नजरमा आफना सन्तान दुधे बालखा नै सम्झनछन् । पाँच वर्षको उमेर देखि त्यो कोरा कागत र मसि साथमा च्यापेर हिड्न सुरु गरेको पच्चिस औं बसन्तसम्म पनि सिरानीमा साक्षि बनाएर साथ दिई नै रहए ।
अब शुरु भयो आफना मातापिताको पसिनाको थोपाहरुलाई भुईमा बिलिन हुनबाट बचाउन । केवल उसँग पच्चिस औं बसन्त पछिको उपहार भने पनि कर्मको फल भने पनि आफना ति दिनहरुलाई चिनाउने प्रमाण थियो लब्धाङ्गक पत्र अथवा प्रमाण पत्र । न त उसको पछाडि कुनै हुकुमबादि शासन चलाउने हात नै थियो न त उसँग कसैलाई किन्न सक्ने मनग्य धन दौलत नै थियो । आफनो कर्मको प्रतिफललाई उपभोग गर्न आफुले ज्ञान हासिल गरेको प्रमाण पत्र लिएर आफनो योग्यताको कदर हुने पदको लागी लडाई गर्न शुरु गरे । त्यो लडाइको गन्तव्य कहिले पुरा हुन सकेन र आफुले आफुलाई र्न धिकार्दै हार खाएको महसुस गर्न पुगे । त्यो हारले आफनो मनोबल गिराउने काम गर् यो मलाई । अनि ईमान्दारी र बफादारिको शब्द देखि यो मन जल्न थाल्यो । जो ति हातहरुले कलम समाउन सक्ने सामथ्र्य नभएकाहरु आज अहिसा महलमा राज गरि बसेका छन् । आफनो त्यो उत्कृष्टताको अबमुल्यन भएको देख्दा त भौतारिन बाहेक अरु के नै गर्न सक्थे र । ईज्जत र कदर भन्ने शब्दको अबमुल्यन भए पछि त्यहाँ के कुराको सृजना हुन्छ होला । त्यो कुरा त जो कोहिलाई पनि अबगत हुनु पर्ने हो । जालि फटाहाको संजालमा परे पछि आफुले आफैलाई बिस्रनु पर्ने बाध्यता किन पर्दो रहेछ भन्ने कुराको जानकारी यस्तै पिडा नाताबाद र कृर्पाबादले सृजना गरेको हुदो रहेछ ।


मेरो कोमल मनहरु तड्पिन थाल्यो के थाहा भयो र सधै परिवर्तनको बाटोमा पाईला हाल्नु पर्छ नयाँ सोच नयाँ बिचारको समय भोगि हुनु पर्छ भनरे किताबका पन्नामा पढेको थिए र ठुला बढाहरुको भाषणमा सुनेको थिए । ति सबै मुखले राम राम बगलिमा छुरा सावित हुदो रहेछ । आफुलाई त धाप मारिदिने हातहरु कसैको थिएन । ति मेरा सपना छताछुल्ल र लथालिङ्ग हुन पुग्यो । बिवश भएर लाचारिपन देखाउदै जानि जानि अर्काको दाश गुलाम बन्न बाध्य हुनु पर् यो मलाई । म भन्ने गर्दथे धन दौलत मानवको अपरिहार् य चिज भनेर तर के गर्नु यो निर्लज्ज संसारमा सर्वप्रथम आफनो पाईला भन्दा धनको पाईला अगाडि हुदो रहेछ । आफनो पच्चिसौ बसन्तको उपलब्धिलाई लत्याएर गुलामी सेवाको लगामलाई अङ्गाल्न बाध्य हुन पुगे । साहुसँग ऋण लिएर आफनो प्यारो जन्मभुमी र माता पिता स परिवारलाई चटक्क छाडेर मुग्लानिया हुन पुगे ।


परदेशमा धेरै धन दौलत कमाइन्छ आफनो जिवन यापनको लक्ष नै परिवर्तन हुन्छ भनेर अरुको मुखबाट सुनेको थिए र पत्र पत्रिकामा पनि पढेको थिए । त्यस्ता सुनौला भविष्य जिउन पाउने अनुभव स्वयं भोग्दैछु । परदेशि दाम काम र बातावरण ठुलो धनराशि खर्च गरेर आफना हरेक ईच्छा आकांक्षालाई नयाँ मुर्हत रुप दिनलाई आतुर भएका मेरा मन बिदेशि रहन सहन सजि सजावतसँग घुलमिल हुन थाल्यो । सुरुका दिनहरु त रमाईलो नै भएर बित्यो जब महिनाको अन्तिम दिन आयो र आफनो परिश्रमको फल लिने समयले यो मनलाई तान्दै ल्यायो र आतुर हुन गयो जिवनका पौरखि हातको फल लिनलाई । आफनो परिश्रमको जति हिस्सेदार र भागिदार थिए त्यो पुरा पाउन सकिन विभिन्न बहानाहरु देखाएर कट्टा गरि करारमा तोके जतिको रकम पाउन सकिन अनि मेरो मानसपटलमा फेरि पनि बजि्रन थाल्यो शोषण दमन र अत्याचारको चित्र । न त मैले उजुर नै गर्न सक्थ्ये केवल जति दियो त्यतिमा नै चित्त बुझाएर लिनु पथ्र्यो । न त मसँग प्रतिकार गर्न कुनै माध्यम नै थियो । परदेशमा धनको बोट हुन्छ भन्ने कुराको पहिलो पाठ सिकियो । लामो समयको खटाई र बिभिन्न जोखिमपूर्ण कामसँगको मुकाबिला जीवनको कुनै टुङ्गो नहुने यो परदेशको आत्माहरु सधै रोई रोई आफनो पिडालाई आफु भित्रै लुकाएर जीवन जि रहेका हुदाँ रहेछन् । पारि गाँउको ठुलेले परदेशबाट कमाएर फलानो ठाउमा घडेरि किन्यो रे पारि गाँउका काकाले ठुलो घर बनायो रे भन्ने देखा सिकीलाई मात्र मध्य नजर राखेर हेर्ने हाम्रो बानिले कहिले पाउला फेर्न सकेन । के कति जोखिम दमन अत्याचार सहेर त्यो काका र ठुले दाईले प्रगति गरेको थियो त्यो कुराको चासो हामीलाई हुदैन केवल उसले कमाएको धनको मुल्यांकन मात्र गर्दछौ ।


काम कै शिलशिलामा परदेशिएका पारि गाँउका कान्छा साहुको काम गर्दा गर्दै छतबाछ खसेर एक्कासी आफनो एक मुठ्ठी सास परदेशमा नै छाड्नु पर् यो । पल्ला घरे सानी कान्छिले आफनो साहुको शारिरीक र मानसिक यातनामा आफुलाई आहुति दिन बाध्य भईन । ति निमुखा देशको चपेटामा पिल्सिएर परदेशमा पनि मानव तस्करहरुको हातबाट दुःख पाउने कोमल मनहरुको मर्म कसले बुझिदिने छ र । देशको हालतले गर्दा परदेशिन बाध्य भएका कोमल मनहरुले बिना कसुर सडक पेटिको बास लिन पर्दा त नेपाल आमाको मन कति रोएका होला । हामी मध्यमा पनि केही पुराना मित्रहरु आफनो स्वार्थ पुरा गर्न तिर मात्र लागि पर्नु हुदो रहेछ । कोहि छिटै धनी बन्ने आशाले आफनै दाजु भाईलाई झुट्टा आश्वासन दिएर दुःखको समुन्द्रमा होमी दिदा रहेछन् । कोहि आफु चर्चित बन्ने तिर लागेर संगठन बिस्तार तिर लाग्दा रहेछन् । त पलानो पार्टि म फलानो पार्टि भनेर एक आपसमा मारा मार र काटा काट गर्ने नेता बादिहरु पनि हुदा रहेछन् ।

मेरो मन फेरि भौतारिन थाल्यो ति नेताबादि प्रकृयालाई देखेर त्यहि राजनितिकबादले गर्दा यो मरुभुमीमा उटले भोग्ने शासन भोग्नु परेको फेरि पनि त्यहिबाद सुन्दा त यो मनमा आगो दन्केर आउछ । हामीले त परदेशमा त आफनो हक र अधिकारको बिषयलाई लिएर पो अघि बड्नु पर्छ जस्तो मलाई लाग्दछ । आज ति निमुखा हाम्रा दाजु भाई र दिदी बहिनीहरुले अकालमा आफनो ज्यान गुमाउनु परेको बिषयलाई लिएर स्वरमा स्वर मिलाएर किन र कसरि भन्ने प्रश्नको खोजी गर्ने बेलामा यो पार्टि र त्यो पार्टि भनेर समय बर्बाद गर्नु उचित लागेन मेरो नजरमा । केवल एक जुट हुनको लागिमा पार्टि नै खोल्नु पर्छ हो र सजिलो माध्यम परदेशमा बस्ने परदेशिहरुलाई समेटेर बनाईएको प्रबाशि सन्जाल एन.आर.एन. के यो संस्थामा एक जुट भएर एक अर्काको पिर मर्का र खुशिलाई बाड्न सकिन्नौ र आखिर हामी सबै नेपाली नै हो जो जहाँ पुगे पनि जो जसरि बसे पनि । सबैले आफुले जानेका र सिकेका सिपलाई सदुपयोग गरेर उपलब्धि हासिल गरेका छौ ।हामी जहाँ गए पनि जहाँ भए पनि अखिर हाम्रो काम भनेको नाम र दाम कमाउने नै हो । कसैले जानेको र सकेको सेवा प्रदान गरेर पनि अरुको मन जित्न सफल भईन्छ नि त । हामीले बिभिन्न छत्र छायालाई अगालेर तेरो र मेरो भन्नु भन्दा पनि प्रबाशी नेपालीले चोखो नाम दिएर एन.आर.एन. को छाता मुनी बसेर प्रबाशी मित्रहरुको मुख पात्र बनेर काम गर्न पाएमा हाम्रा ति निमुखा दाजुभाई र दिदी बहिनीको मनले शान्ति पाउने थियो र हामीलाई आशिक दिने थियो जस्तो मलाई लाग्थ्यो । ति हामीले दश धारा पसिना बगाई कमाएर पठाएको हाम्रो सरकारलाई रेमिटान्स कहाँ कसरि कसले उपभोग गरि रहेको छ त्यो हामीले कहिले बुझेका छौ । हामीले केवल कमाएर परिवार पाल्नु मात्र हाम्रो कर्तव्य पुरा हुदैन । हामीले नेपाल सरकारलाई कर तिरेका छौ त्यो हामीले किन तिरेको भन्दा हामीले आफनो हक हित र बिमा जिवन सुरक्षाको लागि हो हामीले नेपाल सरकारलाई कर तिरेका त्यसैले हामीले आफुले तिरेको कर कहाँ र कसरि कसले उपभोग गर्दै छ भन्ने कुराको जानकारी लिने अधिकार हामीलाई छ । एकले थुकी सुकी सयले थुकी नदि भन्ने उखानलाई मध्य नजर राखेर हामीले काम गर् यो भने भोलीका दिनमा हामीले पछुताउनु पर्ने दिन सृजना हुन पाउदैन । ति हाम्रा समस्यालाई मध्य नजर राखेर हातमा हात मिलाएर भोली बन्न गई रहेका संविधान लेखन कार्यलाई हाम्रो दुख याचना हुने र बैदेसिक रोजगारलाई सर्बसुलभ ढंगबाट कोहि कसैले कसैलाई नठगिने र अप्ठेरो नपर्ने किसिमले कानून बनाउनु पर्छ भनेर हामीले प्रबासबाट आवाज उठाउनको लागि कम्मर कसेर लागौ भन्ने मेरो अनुरोध छ सम्पुर्ण आफनो देश छाडेर प्रदेशि भएर कर्म थलो बनाएर बस्न बाध्य भएका मित्रहरुमा । त्यसैले मेरो बिचारमा जीवन योजना विहिन गन्तव्य भनेर परिभाषा गर्दैछु ।
समाप्त ॥ ॥ ॥



गजल - नेपाली नानी मन पर्यो

सुमन बगाले
आबुँ खैरेनी ढकलटार ५ तनहु
(हाल इराक)

चौतारीमा विश्राम लिदा अगी जानी मन पर्‍यो  
गुन्ह्यु र चोलो लाउने नेपाली नानी मन पर्‍यो


हिस्सी छन मुहार उनको मिलेका ति दन्त लहर
निधारमा टिकी लाउने नेपाली नानी मन पर्‍यो


चुलबुले बानी उनको उसैमाथि बैंश पनि
शिरमा शिरबन्दी लाउने नेपाली नानी मन पर्‍यो


मुस्कुराइरहने अनी शर्माउने पनि उनी उस्तै
ढुङग्री र माडबडी लाउने नेपाली नानी मन पर्‍यो


जस्तो देश उस्तै भेष कसरी पहिराउन जानेकी
रुप र मायाकी खानी नेपाली नानी मन पर्‍यो



गजल - भेट्न मन लाछ मलाई

एकल प्रेम बहादुर गम्बो
सरमथली ५ रसुवा
हाल इराक

अति हुन्छ प्रेमपिडा थाहा छ मलाई
निल्नु न ओकल्नु तिम्रो माया भाछ मलाई

खोज्दा खोज्दै बिगतको मुटु बिझ्ने मायालाई
पागल नै हुन्छु अब यस्तै लाछ मलाई

जब दिएँ तिमिलाइ तनमन सुम्पीएर
कस्ले पो आफनो भन्न पाछ मलाई

बिर्सनै नसक्ने गरी कलेजीको यो दाग
कस्तो दियौ याद भित्र भित्रै खा’छ मलाई

जलिसकेको छु म तिमीलाइ अब के छ र
निष्ठुरी माया एक चोटि भेट्न मन लाछ मलाइ


कबिता - आफै भए दंग

कान्छा लाल तामाङ्ग
मकवानपुर फापरवरी-२ सित्रे दोभान
नेपाल हल- ताजि इराक


अनगिन्ती सुख थियो रम्न सकिएन
धोका हजार पाए पनि भुल्न सकिएन
तिम्रै अघी हजार दुख पाए पनि हुन्थ्यो
मायालुको दुई चार शव्द सुन्न पाए हुन्थ्यो

व्यक्त गर्दै छु म आज मेरो मनको व्यथा
आउने पिडी सम्झिने छन् यसलाई छोटो कथा
मनको व्यथा आज यहाँ यसै कोर्दै छु
दुखिएको घाउ आज सबलाई देखाउदैछु

सपनाको संसारमा मलाई हिडाएको रहेछ
आफ्नो भन्दै अंगालेर धोका दिन रहेछ
कति सम्म निस्ठुरी बनि हिडछौ आज तिमी
चाहेर पनि अब एक कहिल्यै हुन्नौ हामी

धन्यवाद त दिनै पर्छ धोका दिएकोमा
आर्षिवाद त दिनै पर्छ सामुन्ने अएकोमा
सयौ वर्ष मेरो माया बाँचि रहोस भन्दै
छोड्दौ छु म तिमीलाई आज आर्षिवाद दिदै

सोच्या थिएन यस्तो धोका तिमीले दिन्छ भिन
सवै सुम्पि दिएको थे आफ्नै प्राण ठानी
देखाई छाड्यौ संसारलाई आफ्नो रुपरंग
तिम्रो व्यवाहार देख्द आज आफै भए दंग



December 6, 2008

गजल - तिमी फूल बनेर हेर


बसन्त मोहन अधिकारी

तिमी फूल बनेर हेर ।
मेरो पिडा सहेर हेर ।

पूजाको सरदम बनी
मन्दिरमा गलेर हेर ।

फक्रिएर बंगैचा बिच
आफैलाई चुसेर हेर ।

बनेर सृष्टि कर्ता तिमी
सुन्दरता लुछेर हेर ।

हे निष्ठुरी भमराहरु !
आफ्नो रुप फेरेर हेर ।

जीवनको उमङ्ग बिच
आफैलाई चुडेर हेर ।

अरुको गला सजाउन
सियोमा उनिएर हेर ।

फूल जस्तै छ यो नारी
कठ्ठै ! जीवनको खेर हेर।