November 8, 2007

संविधान सभाको निवाचन पछि पनि नेपाल छ

भाग ५

जव म स्कुलको अन्तीम तह ०४५।०४६ सालमा थिए मलाइ थाहा छ एक जना मानिस मारेको समाचारले काठमाण्डौ हल्लिन्थ्यो । हाम्रा अग्रजहरु ज्रि्रो काटथे । टोल टोलमा मानिस भेला भई तेसको वारेमा कुरा गर्थे । म स्कृलै छदा रंगसाला दुरघटनामा एकै चोटी धेरै नेपालीको एकै ठाउमा दुखान्त अन्त्य भएको थियो । अरु पनि यस्ता घटना भए होला तर त्यो प्रकृतिक प्रकोप वा दुरघटनाको प्रतिफल थियो ।

जव म कलेज प्रवेश गरे जनआनदोलनले गति लिदै थियो । मलाइ अझ टेकुको घटनाको सझना छ । म पनि तेसको प्रत्यक्षदर्सर्ीीध्ये एक हु । विहानको दुध लिन निस्केको केही साथी संग टेकु आउदा सम्म तेत्रो भिड थिएन तर आधा धण्टाको दौरानमा मैले तेती मान्छे टेकु कालिमाटी मा देखेको थिए ।
उग्र रुपले केही कालिमाटीका प्रहरीलाई कुटी कुटी मारेको यो आखाले देख्यो । टिनयेजर म तेत्रो भिडको अगाडी कता हराइ हराइ । तर पनि मेरो मनमा हत्या सव्द को नकारात्मक स्थान थियो । कानुन विषय पढदा देखि कहिले काही निर्दोस माथी कानुन हावी हुने कुरालाई देखको थिए ।

मैले कानुनमा स्नातक गर्दा समेत व्यक्ती हत्याले ठुलो रुप लिएको थिएन । कलेज राजनितीमा झगडा हुन्थ्यो । प्रतिसोधको रुपमा कुटपिट गरिन्थ्यो । ज्यानै चाही लिइदैन थियो ।

हिजो केही मानवअधिकारकर्मी सग कुरा भए पछि मेरो सरिर को रौ ठाडो भए । म भस्किए । हामी कता जादै छौ मलाइ लाग्यो ।उनिहरु भन्दै थिए तराइमा केही स्थानमा मानव वघशालाको स्थापना गरिएको छ । त्यहा ल्याइनेलाई कसरी तह लगाइन्छ भनि सुनाउदै थिए । यदापी कानुनको विधार्थी भएको कारण विना प्रमाण कुरामा विश्वास चाही गरी हालिन । तर के अव नेपालमा मानव वधशाला स्थापना भएकै हो त?

माउवादीले शुरु गरेको शसस्त्र व्रि्रोहमा करिव १५ हजारले प्रत्यक्ष ज्यान गुमाए । दिनको एक जनाको हत्याले तात्ने नेपाल दिनको १०० जनाको हत्या हुदा पनि सामान्य हुन थाल्यो । कालखण्डले ल्याएको यो परिवतन लाइ माउवादीको शिक्षा अव धेरै सगठनको लागि रामवाण भएको छ । दशै पछि मात्र १० भन्दा वढीको हत्या भयो । अहिले माउवादी शान्ती संझौता मा प्रतिवद्ध छ । तर के उसमा कायकर्ता प्रतिवद्ध छ पछिल्लो घटनाक्रमले नतिजा विपरित देखाएको छ ।

मान्छे मर्नु भन्दा काल पल्कीनुको नियतीमा नेपाली हरु छन । घरको सदस्य समयमा घर नपस्दा सम्म एउटा समस्या ले सताउछ भने कति खेर घरमानै को आउला भनि वस्नु पर्ने वाध्यता अर्को । अवत नेपालको मुलुकी ऐनवाट मानव हत्याको सजायलाई हटाए पनि केही फरक नपर्ने स्थिती आइ सक्यो । मानिस मारेपनि सरकार कारवाही गर्न सक्दैन । यो भन्दा दण्ड हिनताको अवस्था के होला ?

क्रमश

गजल

सन्दर्भ भाइटिका ~ आश्मा
--गजल
तिम्रो आगनमा जब त्यो मखमली फुल्नेछ
संझ त्यँहा दिर्घायूको कामना ताजै हुनेछ

सूर्यकिरण बिहानीको शिखरमा ठोक्किदा
अघिसार्नु पाइला तिंमी त्यँहि पुग्नु पर्नेछ

सप्तरंगि इन्द्रेणीले धर्तीलाई सजाउदा
छामीहेर्नु टिका निधार सजिएको हुनेछ

पञ्चज्योती मन्दिरमा बलिरहेको देख्दा
खोजीहेर्नु आफैमा खुशी दियोजस्तै मिल्नेछ

निमन्त्रणा तिमीलाइ र न्यानो शुभ-कामना
पर्खिनेछु आऊ, नत्र मेरो सयपत्री रुनेछ

November 3, 2007

के गणतन्त्र नै सर्वौषधी हो ? - एकलव्य

एकताका बुझ्ने गरिन्थ्यो संविधानसभाको चुनाव हुने बित्तिकै नेपाली जनजीवनका सम्पूर्ण रोगहरूको निदान हुनेछ । यसको आंशिक सत्य पाटो थियो , हतियार उठाएर कथित क्रान्ति वा आतंकमा लागेकाहरूले उठाएको न्यूनतम राजनैतिक सहमतिका लागि र उनीहरूले भने बमोजिम शान्तिपूर्ण बाटोको लागि यो न्यूनतम प्राप्ति थियो अथवा यहाँ सहमत हुन सकिन्थ्यो , अरूले पनि चाहे भने । फलत: त्यही हुन नसक्ने वा नभैरहेको संविधानसभा निर्वाचन सम्भव पार्नका लागि प्रयास, वार्ता र सहमतिका संस्करणहरूको खोजी भयो । आज यो एजेण्डामा मन , वचन र कर्मले सबै पक्ष आइसके , तर हाम्रो खोजी अरू विषयवस्तुतर्फ आकृष्ट भएको छ र बुझाउन खोजिँदैछ “ यो हुने भनेको संविधानसभाको चुनाबले पनि केही लछारपाटो लाउँदैन” ।

कुरा ठीकै पनि होला, तल फाँटबाट उकालो चढ्दा माथि देखिने पहिलो डाँडाको टुप्पा हाम्रो लक्ष्य हुनसक्छ तर चढेर माथि पुगिसकेपछि महशूस हुन पुग्छ , वास्तविक यात्राले छिचोल्नु पर्ने डाँडाहरूको यो शृङ्खलामा त्यो पहिलो डाँडामाथिको हाम्रो चढाइ केवल शुरूवात मात्र थियो । तर राजनीति डाँडा चढ्दै मनलाई ढाडस दिएर ढाँट्दै हिँडाउने पथिकको यात्रा पनि हैन नि ! व्यक्तिले आँफैलाई आफ्नो विषयगत यात्रामा जसरी पनि अघि बढाओस् तर समष्टिलाई व्यक्तिको सीमिततामा धकेलेर हामी तुलना गर्न पनि त सक्दैनौँ नि ।
अब आएर भनिँदैछ , राजतन्त्रको अन्त्य गर्नुपर्छ र मात्र नेपालीहरूका सबै दु:ख र पीडाको उन्मूलन नै हुनेछ ।
वर्तमान नेपालको राजनीतिमा सबैभन्दा छाएको विषय हो बिगत २५० वर्ष सम्म अकण्टक छाएको नेपाली राजतन्त्रको भविष्य सम्बन्धी मुद्दा । तत्कालीन राजा विरेन्द्रको रहस्यमय ढंगले भएको वंश विनास र तत्पश्चात प्रयाप्त योजना बिना उनका भाइ ज्ञानेन्द्रको निरंकूश राजा बन्न चाहने अन्धो अभिलाषाले निम्ताएको घटनाहरूको सिलसिलाले अहिले नेपाली राजतन्त्रलाई अवसानको विन्दुमा पुर्‍याएको कुरामा विवाद होओइन । नेपाली राजतन्त्रको मियो राजा विरेन्द्र संगै ढलेको थियो र नेपालले यही विन्दुबाट गणतन्त्रतर्फको औपचारिक प्रस्थान शुरू गर्‍यो भन्ने माओवादी नेता बाबुराम भट्टराईको पहिलो भनाइमा सत्यता छैन वा थिएन भन्न सकिन्न । राजनीतिलाई नभोगेका अनि पर्दा पछाडि बसेर पर, गरिमा , प्रतिष्ठा र दरवारिया हुनुको फाइदामा मात्र रजगज गर्दै आएका ज्ञानेन्द्रलाई , आफ्नो दाइ केवल टुलुटुलु हेरेर बस्ने खालको मात्र लाग्नुमा पनि अनौठो थिएन । किनभने सबै कच्चा खेलाडीहरू यस्तै सोच्ने गर्छन , “ मैले चान्स पाए , जान्या थिएँ । सबैलाई ठिक पार्दिन्थेँ” । तर अपशोस यसो भन्दै मौका लिनेहरूले केवल अपशोस र असफलताको दलदलमा जाकिने नियति मात्र प्राप्त गरे वा गरिरहेछन् । अरूले बिगारेको, भत्काएको , लुटेको, खाएको वा बद्‍मासी गरेको देख्न वा आरोपको रापमा ताप लिन सजिलो भएपनि विपरित देशामा घुमिरहेको पाङ्ग्राको गतिलाई सुल्टाएर फेरि यात्रा सही बाटोमा लैजानि त्यति सहज कहिल्यै भएको छैन । ज्ञानेन्द्रले त्यही गल्ति गरे , जुन उनको अन्धो र अनुभवहीन महत्वाकांक्षले उनलाई सिकायो । जसले जे भनोस् , नेपाली राजतन्त्रको पतनको असली कारक ऊ स्वयं हो र उस भित्रका घर गरेर बसिरहेका दृश्य-अदृश्य पतन्नोन्मूख कारक प्रवृत्ति नै हुन् । जब वीरेन्द्रको वंश विनासमा रहस्यमय ढंगले भाइ ज्ञानेन्द्रका परिवारका सदस्यहरू मात्र बाँच्न सफल भए , त्यो घटनाको विन्दुदेखि नेपाली जनमनको आस्थामा राजतन्त्रको औचित्यताले प्रश्नै प्रश्नको समना गरिरह्यो । जब नरनारीहरू सडकमा , ज्ञानेन्द्र मुर्दावाद वा भाइमारा राजा चाहिँदैन भन्ने फलाकोका साथ चिण्डे मुण्डे टाउको लिएर टायर बाल्ने उद्यममा लागे , नेपाली मनबाट राजतन्त्रले बिदा लियो । राजतन्त्र जस्तो एउटा परिवारको सर्वश्रेष्ठतामा वा जन्मको आधारमा मान्छे विशिष्ट हुन्छ भन्ने विश्वासमा टिकेको तन्त्र , जनताको आस्थामा पैदा गरिएको भूचालसंगै ध्वस्त हुन स्वाभाविक थियो । अत: ज्ञानेन्द्र नै दरबार काण्डका कर्ताधर्ता थिए भने नेपाली राजतन्त्रको वर्तमान नियतिमात्र हैन यसभन्दा पनि अघि बढेर उनको पत्तासाफ हुनु उचित छ । यदि उनी त्यसका कर्ताधर्ता नभएर केवल परिबन्दका शिकार बनेका थिए भने पनि उनले यो कुरामा चित्त बुझाउनै पर्छ , नेपालको राजा बन्नु उनको नियतिमा कहिल्यै लेखिएको थिएन वा उनी नेपाली राजतन्त्रका असली हकदार कहिल्यै थिएनन् र उनले यो सत्यलाई जति छिटो स्वीकारे त्यति नै उनको मानसलाई सुख मिल्छ । जनताको विश्वासमा रहेन भने , जसोतसो राजा भएर टिकिरहन खोज्ने मूर्खता हिजो हामी र हाम्रा पूर्वजहरूले साँचै मानेर आएका राजाहरूको मृतआत्माप्रति पनि अनास्था हुन्छ।
राम्रा र नराम्रा सबै कुराको एकदिन अन्त्य हुन्छ र यो सत्यलाई स्वीकार्‍यो भने नेपाली राजनैतिक इतिहासका राजतन्त्रात्मक २५० वर्षले दिएको योगदान वा नोक्सानीको चर्चा खुलेर हुनेछ आगामी दिनहरूमा किनभने त्यो कुरामाथि सेन्सर लगाउन घटनाक्रमको यो विन्दुमा राजाको शासन बाँकि रहने छैन । तर , नेपाली राजतन्त्रले राम्रो गर्‍यो गरेन भन्ने बारेमा जति विवाद भएपनि पृथ्वीनरायण शाह, आधुनिक नेपाल र नेपालको अक्षुण्णताको अतीत र वर्तमानमा शाहराजाहरूको कुनै न कुनै योदान थियो भन्न संकोच मान्नु पर्दैन । हुनसक्थ्यो , त्यो बेला विकल्पमा अरू नै शासक नेपाली राजगद्दीमा छाएका भए झनै राम्रो पनि गर्थे होलान् । तर यसो भएको भए त्यसो हुन्थ्यो होला भन्नुले हाम्रो इतिहास सच्चिन सक्दैन । राजतन्त्रमाथि विश्वास नरहँदा नरहँदै पनि , अवसानको विन्दुमा बाँच्दै गरेको नेपाली राजतन्त्रका लागि सहानुभूति ! तर अबको अहम प्रश्‍न हो , के नेपाली राजतन्त्रको बहिर्गमन पश्चात नेपाली राजनीतिका दिनहरू सुनौला र गुलाबी चमत्कारिकताले भरिएका हुनेछन् ? नेपाली राजनीतिका गत एकसय वर्षका परिवर्तनहरूलाई हेर्दा भने हामी त्यति उत्साहित हुन पर्दैन होला । हामीले क्रान्ति, आन्दोलन र परिवर्तनका धेरै अनुभवहरू गएको सय वर्षमा भोगेपनि , हाम्रो वर्तमानलाई हेर्दा , अपेक्षित उपलब्धिहरूले हामीलाई सदैव छलेर नै हिँडिरहेको देखिएकै हो । मेरो विश्वास छ , हामी यो नियतिको चक्रलाई बदल्न विचार र व्यवहार दुवै कुराले पहिलाका परिवर्तनकारी समयमा पनि तयार थिएनौँ र यसपाला पनि छेनौँ । किनभने यो परिवर्तन पछि हामीले कसरी अगाडि बढ्ने भन्ने कुराको तयारी गर्नु पर्ने कुरालई कहिलै सोच्नु पर्ने नै ठानेनौँ । जब खोक्रो उत्साहमात्र हाम्रो क्रान्तिको आधारबन्छ र त्यसकालागि विचार र व्यवहारको उकेरा लाग्दैन , अनि हरेक रोमाञ्च अर्को कुण्ठामा बदलिनबाट जोगिँदैन । राजतन्त्र त जाने ने भयो जाला , तर यसपछि के र कसरी भन्ने कुराको कहीँ कतै चर्चा छैन । कतै जस्ले सक्ने उतै तान्ने पो हो कि ? सके नियमले, नसके बल र र शस्त्र अस्त्रले भएपनि आफ्नोबाटोतर्फ जबर्जस्ति गुडाउन खोज्ने अभिष्ट बोकेर पो योजना गरिँदैछ कि ? शाहराजा पृथ्वीनारायणले बलपूर्वक एकीकरण गरेको नेपाललाई , उनको अन्याय सच्चाउन उल्टाउन पो खोजिने हो कि ? खरबारीमा उभिएको जर्जर बुढो रूखलाई ढाल्ने त भइयो तर , खै त अरू पाँचवटा रूख समयमै रोपेर भोलिका लागि चौतारीहरु बनाउने हाम्रो प्रयत्न ? कि यो प्रयत्न केवल धोद्रो लागेको बूढो रूखका पात, हाँगा र सीमित मूढाहरू मात्र लैजान चालिएको कृत्य हो ? भोलिको नेपाली राजनीतिका मुद्दाहरू कसरी कुन बाटोबाट निरूपण गर्ने र देशको राजनीतलाई विश्वमान्य लोकतान्त्रिक पद्दतिसम्मत कसरी अगाडि लैजाने भन्ने कुराम नेपाली राजनीतिका
स्टेक होल्डरहरू एक ठाउँमा उभिएर प्रतिबद्द नबनुञ्जेल , नेपाली राजनीतिले अस्थिरता कै नियतिबाट गुज्रिनु पर्ने पो हो कि !
यस्तो प्रवुद्दहरूसंग सोध्न मन लाग्छ , के गणतन्त्र नेपाली राजनीतिको सर्वौषधी हो त ?

November 2, 2007

खसी-बोका

-------------------------------------------------------------------------------------
साझा चौतारीतिर नि राख्या थें । पढ्न मन भा'काहरुले ट्याम छ भने यसो हेर्नुहोला।
-------------------------------------------------------------------------------------

खसी, उर्फ कुखुरे बैंश नचढ्दै भेसेक्टोमीको मारमा परेको बाख्रीको अभागी चल्लो, यसपालीको दशैंमा अजिंगरी आँहरुमा हाँ हुने दिन कुर्दैछ। म्याँ गर्न नसिक्दै दशैंमा च्याँ पर्ने भाकलमा साँचोमा च्यापिएर प्याँ प्याँ गर्नु पर्दाको पीडा गरेको कसले बुझ्ने? जन्म-जन्म आजन्म कसैको अभागी पुर्पुरो छ भने खसी हुनेहरुको छ। तर खै! कुखुरीहरुको पीडा खुकुरीहरुलाई थाहा होस् न खसीहरुको पीडा मांसप्यासीहरुलाई। त्यसैले, खसीको मासु लुछेर हुर्केको नाताले आज उसकै मर्का बुझ्ने जमर्को गरेको छु; अलिकति भने पनि पुण्य मिल्छ कि! अलिकता भने पनि पाप घट्छ कि!

‘हाम्रो समाजमा खसीको महत्व छ’ भन्नु ‘बिल गेट्स् धनी छ’ भनेर कसैलाई सम्झाउनु जस्तै हो। निर्विवाद सत्य तथ्यहरुलाई के को प्रमाण दिनु पर्यो, के को तर्क पेश गरिरहनु पर्यो? सुखमा होस् या दुखमा, बिमारमा होस् या बिपत्तिमा, पिकनिकमा होस् या पर्वमा, रोशमा होस् या जोशमा अनि मदहोसमा, खसीको आवश्यकता यत्र तत्र सर्वत्र छ। मैतीदेवीको मट्याँग्रे माहिलाले मन्त्री पद मिल्क्याँउदा कार्यकर्तालाई चाहियो खसी। कटुञ्जेको कान्छो काजीलाई एकदर्जन छोरी पछि छोरोको जन्मपछि कालिकालाई भाकल बुझाउँन चाहियो खसी। छ महिनादेखि छारेरोगले पछारिएको छबिसेको छेउघरे एक गिलास खसीको रगत पाए दुई मुठ्ठी तागत मिल्दो हो भन्दै मासुभातको गासको आसमा छ। दियाली होस् या दुर्गा पूजा, गाउँले पर्व होस् या गोठको पूजा, हाम्रा देउताहरुलाई खसीकै रगत चाहिन्छ। ‘पिकनिक गए ककनीमै, रक्सीको खाए चटनीसैं’’ भन्छन्। तर त्यो चटनी पनि टन्न भुटन हालेको मटन भए कति स्वादिलो!

खसीको ‘हाइगुजी’बाट आफैं ‘खाइगुजी’तिर पो लागिएछ। तर यसमा मेरो दोष पो के नै छ र। हामीकहाँ खसीहरु खाएर मोटाउने भनेको सामान्य नै त छ। साँच्चै भन्ने हो भने यो समाजको हरेको श्वासमा खसीको देन छ। यहाँको मटी(माटो) रुपी कागत खसीको रगत रुपी मसीले मसीले भिजेको छ, हरेकको जीवको मुटुमा खसीको जीवन संचित छ। भूपि भन्थे – ‘हामीले फेर्ने प्रत्येक शासमा धड्कन छ शहिदको।’ कहिले कहिले यो मोटो दिमाग पनि सोचिल्याउँछ, खसी पनि शहिद नै हैन र? आखिर समाजको हरेक ‘खुसी’मा खुराक खुवाउँछ, प्रत्येक ‘पर्व’मा प्रसाद पुर्याउँछ आफ्नै जीवनदान दिएर। खुट्टा दान गरेर शीविले, कुण्डल दान गरेर कर्णले, औंला दान गरेर एकलव्यको नाम इतिहासमा इङ्गित छ, तर जीवनै दान गर्ने खसीको नाम भने भित्रियाँसमा सीमित छ।

अब कुरा गरौं बोकाको। बाख्राको पेटबाट जन्मँदैमा सबै पाठाहरु बोका हुन पाउँदैनन्। धेरै त घरबार नहुँदै तरबार विनियोजन झपेटामा र परिवार नियोजनको चपेटामा परिहाल्छन्। तर जो जति बोकै रहने सौभाग्य पाउँछन्, तिनीहरु सानैदेखि छाडा हुन्छन्, पुल्पुलिन्छन्, मात्छन् र गनाउँछन्। उनीहरु आफ्नो दुनियाँमा राज गर्छन – निर्बल खसी र बाख्राहरुलाई पेल्छन्, हान्छन् र सिल्टीमुर ख्वाउँछन्। यिनीहरुलाई फोडेरै भए पनि अन्नघरबाट मिठो मसिनो चाहिन्छ, चोरेरै भए पनि थुन्सेघरबाट हरियो परियो चाहिन्छ, र निर्बलिया बाख्रा र पाठाहरुलाई भगाएरै भएपनि खोरघरमा राज गर्नुपर्छ। यी शक्तिशाली बोकाहरु भुक्तभोगी भोकाहरुको अगाडि विष्णुमती झैं गनाउलान्, तैपनि धरहरा झैं ठाडा हुन सक्छन्, सबका अगाडि खडा हुन सक्छन्। आत्मा उही, आहार उही, आवास उही, आमा उही; तर किन यिनका आचरण दुई? खसी र बोकाको अन्तर आफैंमा अनुसन्धानको विषय हो। खसी र बोका बिचको यो भेदभाव अन्त्य हुनु पर्छ। यो युगौंदेखि पिल्सिएका खसीहरुको भावना अनि चाहना हो; यो लोकतन्त्रीय समाजको अपरिहार्य आवश्यकता हो।

हुन त यहाँ खसीतन्त्रको लागि दुईचार युद्द नभएका होइनन्, दुई चार हजार खसी नहोमिएका होइनन्। तर, दुईचार प्युसा उफ्रेर बोकाहरुको बोकेदारीको एउटा रौं पनि हल्लिंदो रहेनछ। बागमती, विष्णुमतीको त के कुरा गराइ भो र? बुंगमतीमै, डुँग्डुँग्ती गन्हाउने कोदोजस्तो लेदो नै सही, कति पानी बग्न सक्यो, खसीको अगाडि बोकाको आशन डग्न सक्या हैन के रे?

उहिले, अहिलेभन्दा धेरै पहिले, कहिले कहिले पहिले बाख्रामण्डलको बात बताउँछु। त्यस बाख्रामण्डलमा सुरुमा सम्पूर्ण प्राणीहरु मेलमिलाप गरेर बस्थे। के ठुलो के सानो, के बलियो के निर्बल, के बोका के बाख्री; सुन्दर संसार थियो। तर, ब्रह्मा बाजेले सृष्टि गर्दा यिनीहरुमा कुन चाहिं केमिकल कट गरिदिएछन्, कुन चाहिं थप गरिदिएछन् बोकाहरुको ब्यवहार बदलिन थाल्यो। भयो के? उनीहरुले कसरी कसरी राजनीति गर्न थाले।

बलको भरमा बोकाहरुले बाख्रामण्डलको बागडोर हातमा लिए। आफ्नै राज्य भएपछि नीति नियम, राजा पी एम्, डाइरेक्टर जी एम्, सबै बोकाहरु भए। चौपट चुर्ती चलाएर खसीहरुलाई खोर र खँड्कौलोमा सीमित पारे। ज्यानसंख्याको हिसाब गर्दा दशवटा खसी भए दुई वटा बोका। तैपनि बोकैको राज। हरिया र पोसिला घाँस पलाउने चौरहरु बोकाका नीजि गुठी भए, स्वच्छ सफा पानीका मुलहरु बोकाका पेवा बने, न्यानो र सफा ओढार बोकाहरुको व्यक्तिगत महलमा परिणत भए। खसी र बाख्राहरुभने बोकाले बुर्क्याउने उराठ कान्लाहरुमा ठिंग्रिए। जसले गर्दा उनीहरुको पेट सधैं आधा त यसै रहन्थ्यो, त्यसमाथि पनि ब्याथा र ब्याधाबाट बारम्बार बाधामा पर्थे। अन्याय र अत्याचारले सीमा नाघ्यो, बोकाहरुको चकचकी, रगरगी र डगडगीले खसीहरु पिल्सिए। बिडम्बना यो थियो कि- बाख्राहरु धेरै वर्ष बाँच्थे र अनुभवबाट केही विवेक बटुल्थे, तर उनीहरु बलहीन थिए। खसीहरु बलिया थिए तर बुझक्कड हुँदासम्ममा बलीमा परिहाल्थे। यसरी बोकाहरुले वल र विवेक बिचमा फुट ल्याई चतुर्याँइ गरेका थिए। फलस्वरुप, न दुई चार बेत पुगेका बाख्रीहरु बटारिंदा केही बिग्रन्थ्यो, न ख्याउटे खसीहरु खल्बलाउँदैमा केही खुल्किन्थ्यो।

संयोगवश बाख्रामण्डलमा अत्याचारी बोकाहरु मात्रै हैन, केही साधु बोकाहरु पनि थिए जो खसीहरुमा परेको अन्यायलाई आफ्नै सम्झन्थे र दिन-रात खसीबाख्राको जमातसँग बिताउँथे। यी शिक्षित साधु बोकाहरु क्रान्तिका कुरा गर्थे, ‘सच्चा’ बाख्रातान्त्रिक ‘समावेशी’ बाख्रामण्डलको सपना कोर्थे। खसी, बाख्रा, पाठा, बोका सबैको समान प्रतिनिधित्व भएको सामाजिक संरचनाको कुरा गर्थे र आन्दोलनमा उत्रिन उक्साउँथे। खसी-बाख्राको जमातलाई पनि बल्ल केही बुझे जस्तो, केही सुझे जस्तो लाग्न थाल्यो। अन्तत उनीहरु ‘अति सहनु अत्यचार नसहनु’ भन्ने सम्झी आन्दोलनमा उत्रिए। नेतृत्व बुज्रुकवर्गका साधु बोकाहरुले गरे, खसी बाख्राहरु ‘ओढार-ओढारबाट उठे, खोर-खोरबाट उठे’ र जुलुसमा हिंडे। जुलुसका ‘बोका शासन धोका हो!’ ‘खसी अधिकार पाउनैपर्छ!’ जस्ता नाराहरुले बाख्रामण्डल थर्कियो। हार्डलाइनर खसीबाख्राहरु कराए-
‘अत्याचारी बोकालाई फाँसी दे, हामीलाई मुलको पानी दे!’
‘बोकाराजलाई टाउकालाई, खेलौं फुटबल काटेर’
‘युवा टोली के भन्छ? बोकालाई बलि दे भन्छ’
मध्यमार्गीहरु कराए –
‘बोकामण्डल हाइ हाइ, खसी बोका भाइ-भाइ!’
‘बोका सरकार चाहिंदैन, खसीलाई बलि दिन पाइँदैन!’
‘खसीको आयु सुनिश्चित गर, सुनिश्चित गर! सुनिश्चित गर!’

खसीबाख्राको जमात देखेर सत्ताधारी बोकाहरु त्राही-त्राही भए। हानेर दुईचार हजार सकिए। थर्काएर दुई चार शयलाई धपिए। तर त्यो महासागरमा अल्पमत परे ती ठालुबोका। बाख्रामण्डलमा ‘सच्चा अर्थको’ बाख्रातन्त्रको घोषणा भयो। खसीबाख्राले बढाइँ गरे, खुल्ला चौरमा गएर उफ्रे, नाचे, कराए। ऐतिहासिक खसीबाख्रा आन्दोलनको टोलीनेता साधुबाख्राहरु सर्वसम्मतिले बाख्रातान्त्रिक बाख्रामण्डलका नयाँ नेता बने। हजारौं बर्षौं पिल्सिएका खसी र बाख्रीहरु खुलेआम ‘तालु’ सुकेका ठालुबोकालाई खुल्ला च्यालेन्ज दिन पाउँदा मख्ख थिए। र यस्तैमा बाख्रामण्डलमा खसीहरु र बोकाहरुबिच साम्प्रादायिक ‘शीतयुद्द’ सुरु भयो। यता साधुमण्डलको सत्तामा निकै परिवर्तन भयो। पुराना ठालु बोकाहरु पार लागे, खेदिए। साधुबोका खान्दानले आफूहरुको अवस्था नउकासी बाख्रामण्डलको अवस्था नउकासिने महसुस गरे। पुरै खसीबाख्राहरुको समर्थन पाएको साधु बोकाको नेता राजा भयो, उसको छोरो पी एम, नातेदारहरु भए डाइरेक्टर र जी एम। केही समयलाई खसी बाख्राको जीवन उकास्ने योजना स्थगित गर्ने निर्णय भयो।

कालन्तरमा यी साधुबोकाहरु पहिलेको ठालुबोकाहरु जस्ता भए। खसी बाख्राहरुमाथिको दमन तीव्र भयो। उपाय नपाएर रन्थनिएको खसी बाख्राको समाज उत्थानको लागि नयाँ साधुबोकाको जमात निस्कियो। अनि फेरि आन्दोलन भयो। नयाँ सत्तामा भत्ता खान नयाँ साधुबोकाहरु पुगे। सत्ताप्राप्ति र बदलाको लागि बोका खान्दानहरु खसी बाख्राहरुलाई प्रयोग गरी आन्दोलन गरिरहे, गरिरहे।

यस्तैमा विरानो नरमण्डलबाट साना, झिना जीउ भएका दुई खुट्टे प्राणीहरु बाख्रामण्डलमा बसाइँ सरी आए। उनीहरुले खसीले चर्ने गरेको बाँझो बारीमा बार हालेर बाली लगाए। खसीहरुको बसिउठ देखेर बोकाहरु खुच्चिङ् गर्न थाले। दुई खुट्टेहरुले सत्ताधारी बोकाहरुसँग सन्धि गरे र मित्र बने। तिनलाई बोकाहरुलाई दिनको एक भारी मिठो घाँस ‘सित्तैमा’ दिन थाले। बोकाहरु कृतज्ञता फिर्ता गर्न दिनको एउटा खसी दुई खुट्टेहरुलाई ‘सित्तैमा’ दिने चलन चलाए। यस्तै सहिष्णुताको मौका छोपी दुई खुट्टेहरुले बर्षेनी आफ्नो बार दुई हात पर सार्न थाले र नरमण्डलबाट अरु दुई खुट्टेहरु डाक्न थाले।

परिणाम? त्यसको धेरै पछि, कति हो कति शय वर्ष पछिको त्यही बाख्रामण्डलमा आज सिरानघरको स्याउते साहिंलाको छोरो ख्याउतेका खुट्टा खुसीले भूईंमा छैनन्। ऊ खोरबाट खसी डोर्याएर पानी छ्याप्ने शुरमा छ। रातभरि त्यही खोरमा त्यही खसीसँग रात बिताउन परेको बोको नाक खुम्च्याई, दाम्लोको पासमा पार ताप्तै डुक्रिंदै छ।


लाल रंगको कमाल!

हिजो देखि हरेक समाचारहरुमा एउटै भाव देखि रहेछु, एउटै अभाव देखि रहेछु। संसदमा माओबादी प्रस्ताब माथि मतदान हुने भयो - बामहरु एक ठाममा। नेपाली कांग्रेसलाई नैतिक दवाब- नेपाली कांग्रेसलाई धर्म शंकट।आदि इत्यादि समाचार र बिचारहरु छरिएका छन्। हो सतहीबाट मुल्याङ्कन गर्ने हो भने ठीक हो, नेपाली काँग्रेसको अडान कुरुक्षेत्रमा कर्णको रथ झै अप्ठेरो थलोमा अड्किएको छ।तर राजनैतिक धरातलको गहिराईमा सोचौं न त एकै छिन। वास्तबिकताको नजिकमा बसेर हेरौं न एकै छिन।
पहिलो कुरा त जन आन्दोलन भाग २ पनि सम्झौतामा टुंगिएको हो कि होइन? राजा संग ८ दलको अलिखित सहमति भएको हो कि होइन?होइन भने ज्ञानेन्द्र यति मुर्ख छैन कि मलाई मार, फाल टुक्रा टुक्रा पार भनेर बन्चरो हसिंया हठौडा हाँसि हाँसी जङलीहरुलाई सजिलै सित दिन्छ?

कुन परिस्थितिमा राजा भए, राजा भएर के के गरे, के के गर्ने उत्कण्ठा बोकेका थिए दुनियालाई थाहा छ। अलिखित तर संझौता भएकै हो, राजा सित। संबिधान सभाको चुनाव सम्म राजतन्त्र बारे निरिपेक्ष रहने भन्ने बारे सहमति भएकै हो। त्यो कुरा माधव नेपाल लाई पनि थाह छ, काम्रेड प्रचन्डलाई नि थाह छ।

अब हुन हुन लागेको चुनाव बोथोले। अन्त्य भैसकेको राजतन्त्रलाई संजीबनी बुटी पिलाए। आज उनैलाई संसदबाट गणतन्त्र चाहियो रे! जसरी बिना चुनाव ८८ संसद भए, त्यसरी नि बिना चुनाव राष्ट्रपति बन्ने ख्वाब देख्न थाले। जनता माझ क्रूर हत्यारा को पहिचान बनाएका नेता र कार्यकर्ताहरु बीच चुनावमा भोट होइन चोट मात्र पाउने देखे पछि अनेक बखेडा झिकेका हुन्। तर पनि राजनैतिक रुपमा परिपक्व मानिएको, आफुलाई अन्य प्रजातान्त्रिक पार्टी भन्दा अग्रगामी थान्ने एमाले पनि माओबादिको चित्तामा सल्किन तल्लिन देखिएको छ। सबै बाम एकै ठाम को नारा मा। यो भन्दा अघि चुनावको मिती तोकिंदा, संबिधान सभाको पहिलो बैठकले राजतन्त्रको भबिष्य बारे फैसला गर्ने, र मिश्रित चुनाव प्रणालीमा चुनाव गराउने भन्ने बारे सहमती भएको हो कि होइन? काम्रेड प्रचण्ड लगायत तिनी संग सति जानलागेका एमालेका नेताहरुलाई हेक्का छ कि छैन?
नेपाली कांग्रेसले आफुले गरेको कुन चाहिँ सहमतीमा खोंचे थापेको छ?कुन चाहिं नयाँ माग तेर्साएको छ?चुनाव गर्न न दिने बहानामा अनेक नाटक गरेका हुन् भन्ने बारे दोहर्‍याइ रहनु पर्दैन, त्यसकै को एक हिस्सा स्वरुप संसदको बिषेश अधिबेशन र माओबादीको प्रस्ताब थियो। आफुले गरेको सहमतीको खुलेआम उलंघन थियो। हिजो गरेको संझौताको आज उलंघन गर्ने ले , आजको सहमती भोलि न जलाउला भन्ने ग्यारेण्टी के छ? तै पनि गणतन्त्र अल्पमतमा पर्छ भनेर मात्र माओबादीको प्रस्ताबमा समर्थन गर्ने रे? वाह् वाह् कामरेड, क्या तर्क छ। बाम एकता रे। एउटै पार्टी सय टुक्रा भए नि एकता रे। कांग्रेसले माओबादीको यही संसदबाट गणतन्त्रको घोषणा गर्ने भन्ने प्रस्ताबको पो बिरोध गर्ने भनेको त, गणतन्त्रको बिरोध होइन नि। धन्य नेपालका बाबुजीहरु, माओबादीको प्रस्ताबको बिरोध गर्‍यो कि गणतन्त्र बिरोधी हुने रे। मनपरि तन्त्रको बिरोध पनि गर्न नहुने भयो।हुन त पेशागत संघ संगठनहरुको चुनावहरुमा प्रजातन्त्रबादी संग मुकाबला गर्न सधैं नै माओबादी, खाओबादी लगायतका सबै बाम एकै ठाममा भेला भैआएका हुन्, आज संसदमा त्यो देखिएमा कुनै नौलो हुनेवाला छैन। सबै बामको एकै राम छन्, तिनको इशारामा नाम् जप्ने न हुन्।अस्तु!।

November 1, 2007

गजल

~ आश्मा

आँखैमा धुलो पर्दा, प्रिय रहर याद आयो
समाहित हामीदुबै, त्यो प्रहर याद आयो


समर्पित सबै विस्वासमा, शून्य सरि दूरी
संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो


पिउने बहानामा, धेरै पटक बाजी थापी
रित्तिएको संगै रातको, लहर याद आयो


आँशु साटी भावनामा थाती अतृप्त चाहाना
विछोडिदाको हाम्रो उही कहर याद आयो