September 27, 2008

गृहमन्त्रीको अरण्य रोदन र माओबादीको हुंकार

आज एकै दिनमा नेपालका मिडियामा दुईवटा अति भिन्न र पूर्ण विपरित समाचारहरु आए:

पहिलो समाचार थियो: उप-प्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमको संसदमा हतियार निषेध गरीएको 'अरण्य रोदन'। अरण्य रोदन यस मानेमा कि, उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनि हतियारलाई संसदमा मात्रै निषेध गर्न चाहन्थे र माओबादिलाई अनाधिकृत हतियार लिएर देशका अन्य कुनै पनि भागमा विचरण गर्न भने होलसेलमै छुट दिईएको छ । अनाधिकृत हतियार कसैले पनि कहि पनि लिन वा राख्न हुन्न भन्ने आँट गृहमन्त्रीलाई पनि आएन ।

शायद एकदमै शाहस जुटाएर उनले यत्ति पनि उदघोष गरेका थिए, तर उनको यो रोदन मिस्रित दरिलो उदघोषले केहि घण्टा पनि 'हिट' हुने मौका पाएको थिएन, राष्ट्रमा जुन बेला, जहाँ पनि र जे पनि गर्न अग्राधिकार प्राप्त माओवादिका तर्फबाट एक जना वरिष्ठ नेता टोपबहादुर रायमाझीले आफूहरुले त्यो निर्देशन पालना नगर्ने चुनौती दिई हाले।

रमाईलो कुरा त उनले बामदेवको ठाडै खिल्लि उडाएर त्यो उनको व्यक्तिगत विचार भएको बताए । वाह! गुण्डागर्दिको राजको यो भन्दा ठुलो आर्को के उदाहरण खोज्ने?। जहाँ देशका मूल कानून वा संबिधान निर्माण गर्ने दिग्गजहरुको भेलामा ज्यान लिन सकिने हतियारहरु आरामले बिना रोकतोक जान सक्छन र कानूनको ठाडो उलंघन त्यहि बाटै हुन्छन ।

एकातिर आफ्ना सुप्रिमोको कुनै यौटा जमघटमा अमेरिकि राष्ट्रपतिसंग भएको 'जम्काभेट' लाई 'वृहत वार्ता' र 'गहन छलफल' को नाम दिएर जहाँ माओबादिहरु, अमेरिकाले उनिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको र यो 'भेट-घाट' पछि अमेरिकि नजरमा माओबादिहरु आतंककारी नभएको पुष्टि गर्न लागी परेका छन भने त्यहि बेलामा दिउसै हतियारधारिहरु सभासदको भिडमा प्रवेश गरि आफ्नो त्रास कायम राख्दैछन ।

माओबादिले पटक-पटक आफू नसुध्रीने वा आफुलाई समान्य नागरिक भन्दा बिशेष सम्झिने कुराहरु यस्तै हरकतहरुबाट प्रदर्शन गर्दै आएकाछन भने अन्य दलका जिम्मेबार नेताहरु पनि खालि झारा तिर्ने हिसाबले मात्रै त्यसको बिरोध गर्दै आईरहेका छन । यस्तै कानून तोडने हिम्मत र झारा टार्ने बिरोध चलिरहे भोलिका दिनमा हाम्रो देशको हाल के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । तर कानूनको पालना गर्दा नूर गिर्ने माओवादिको यो सोच त्यत्तीनै हलुका र बिकृत छ जत्ती बन्दुक बोकेर हिडंदा शान बढने उनिहरुको आडम्बर । यो कुरा समयमै बुझेमा सबैभन्दा बढि फाईदा माओबादि लाई नै हुन्छ ।



1 Comments:

एकलव्य ( Eklavya) said...

खै के भन्ने !अपशोष, देशमा सरकार त छ, तर सरकारको नेतृत्वकर्ता पार्टी नै आँफू क्रान्ति जितेर आएको दावाका साथ हरेक कुरामा आफ्नो विशेषाधिकार रहेको दम्भ राख्छ र कानूनी राज्यको अवधारणाको खिल्ली उडाउनुमा रमाउने गर्छ । यही नै नया नेपाल हो भने , नेपालका दूर्भाग्यहरू अन्त हुने कुरा त परै जाओस्,बरू अपराध र दूर्भाग्यहरूले नेपालमा संस्थागत भएर भविष्यसम्म जरा गाड्ने भए ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !