October 27, 2025

अमरत्वको खोजी

सुरेन्द्र लिम्बू परदेशी 

विजयको पिरामिडमाथि

मृत्युसँग सँधै पराजयको इतिहास छ
उरुगका सम्राट गिलगमेशले हारे
अल्बर्ट कामुको सीसिफसले हारे
म जीवन मृत्युको दुर्बोध्य शृङ्खलामा छु
त्यसैले त मेरा थकित अनुभूतिहरू
तिम्रै यादको भित्तामा अडेसिएर
सुस्ताइरहेछन् एक चिम्टी आनन्द ।

मृत्युका गम्भीर विषयहरूमा
भोगाइलाई जीवनको पाठशाला बनाएर
म आफैँलाई पढ्ने प्रयत्नमा छु
आफ्ना अमूर्त आभासहरू हृदयान्तरण गरेर
तिम्रो उर्वर मानसपटललाई परागसेचन गर्न
म संवेदनाको यौवन उत्खननमा छु
प्रश्नजस्तै जटिल भएर बाङ्गिएका रहस्यहरू
पूर्ण विह्रामले ठोकेर सोझ्याउन भनि
म विशृङ्खल बक्ररेखामा हिँडिरहेको छु ।

तिमीले यो धर्तीलाई छाडेको दिन
अत्तरको बोतलमा ताराको सुगन्ध भरेर
छर्किनेछु म तिम्रो लासमाथि
थेनस सीसिफसको जेलमुक्त होला
उपना पिस्तमले गिलगमेशलाई दिएको
त्यो अज्ञात अजम्बरी फूल
विश्रामको बाटोमै सर्पले खाला
कुम्भकर्णलाई पुनर्जीवित बनाउन
हनुमानले पर्वत ल्याउन नसक्ला
चाहे मेरै सामु उभियोस् मृत्युको हलकारा
तर म तिम्रो अमरत्वको खोजिमा
अझै पनि अनवरत लागिरहेको हुनेछु ।

म खोज्नेछु आकाशको गहिराइमा
मृत्युको आकार र उमेरको आयतन
खोज्नेछु अत्याधुनिक विज्ञानको ज्ञानभित्र
अन्वेषणको अध्याय र समययात्राको बाटो
बटुलेर ‘तीन त्रिलोक चौध भुवन’को शक्ति
खोजेर ब्रह्माण्डभरि सञ्जीवनीको बुटी
पिलाएर तिमीलाई अमृतको प्याला
रोपेर आफैँले बाँचिरहेको अमूल्य आयु
म उमार्नेछु पुनर्जीवनको आभा तिमीमा ।

यसबेला म तपस्यामा लीन छु
मृत्यु चिर्ने सर्वज्ञ ज्ञानको नजिक छु
मध्यरात वीरमसान खेल्ने आर्यघाटमा
इन्द्रजालको तान्त्रिक बाटैबाटो
म राँकेभूतको जुलुस लिएर आएको छु
अब समयको अखण्ड आयामहरू जडेर
म मृत्युको चार किल्ला बाँध्नेछु
घुङ्रिङ ठोक्नेछु उसका प्रत्येक औँलाहरूमा
नेल र तुरुङले कसेर उसका निर्ममताहरू
म कायल बनाउने छु निर्दयी हत्यारालाई
र खोज्नेछु जीवनको अनन्त बाटो
अनि बनाउने छु तिमीलाई अजम्बरी ।




0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !