दौंतरीमा बिभिन्न ब्लगरसंग भलाकुसारी गर्ने क्रममा निरन्तरता नै छ। यस पटक दौंतरीमा आइरहनुहुने ब्लगर बसन्त गौतम हुनुहुन्छ। दौंतरी पाठक पक्कै पनि उहांसंग परिचित हुनुहुन्छ। अब लागौं बसन्तजीसंगको इमेल संबाद जस्ताको तस्तै:
५) ब्लग लेखनमा सबभन्दा आनन्द आउने कुरा के हो?
- धेरै कुरा भन्न सकिन्छ यसमा। मेरो लागि सबैभन्दा मुख्यचाहिँ कुनैपनि कुरामा आफ्नो विचार आफूले चाहेजसरी ब्यक्त गर्न पाऊँदाको आत्मसन्तुष्टि हो। कुनै पत्रिकाको लागि लेख्दा यो सामान्यतया असम्भव हुन्छ किनभने त्यहाँ प्रकाशकीय/सम्पादकीय बन्देजहरु, सीमाहरु हुन्छन्।
६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?- शुरुदेखि अहिलेसम्मका सबैमध्ये कुन भनेर हेर्न त एक राउण्ड Google Analytics पस्नुपर्ला। Live Traffic Feed मा सर्सर्ती हेर्दा अचेल
ऋषि धमला काण्डको बारेमा लेखिएको टाँसो बढी पढिएको देखिएको छ। पोहरताका
एनआरएन-जापानको गाईजात्रा बढी चम्केको थियो। मान्छेहरुले अलि सनसनीखेज कुरा खोज्छन् जस्तो छ:)
७) ब्यस्त जिबनले ब्लगमा बिचार पोखाउन कतिको अप्ठ्यारो पार्छ?
- सोचेभन्दा बढी अप्ठ्यारो पार्दो रहेछ। हप्तामा एक-दुई टाँसो राखिने एउटा ब्लगकै लागि पनि आफ्ना केहि सौखहरुलाई पूरै बिर्सिनुपर्ने रहेछ।
८) नेपाली ब्लग जगतमा जथाभावी लेखन र प्रतीक्रियाले हाम्रो आनीबानी सुधार्ला कि झन बिगार्ला?- जथाभावी लेखन र प्रतिकृया नेपाली मात्र होईन सबै ब्लग जगतको समस्या हो। एउटा प्रसिद्ध कार्टून छ;
'On the Internet, nobody knows you're a dog' भन्ने। यस्तोमा सबैथरी मान्छेहरुले आफ्नो बानी/चिन्तनलाई मनलागी पोख्नु स्वाभाविक हो। तथ्यगत कुरामा हुने जथाभावी लेखनको प्रतिवाद/प्रतिकार जरुरी छ तर ब्यक्तिगत गालीगलौज जस्ता कुरालाइ तिरष्कार गर्नु बाहेक अरु कुनै उपाय छैन। समयक्रममा यस्ता कुराहरु आफैं हराएर जान्छन्।
९) ब्यक्तीगत कुरा है, गरिब देशको इन्जिनियर धनी देशमा किल्ला जमाउदा फरिया दौरा लगाउनेको भाग्य फोडियो की?
- म नेपालमै किलो-दाम्लो भएर मात्रै यता पसेकोले त्यस्तो हुन पाएन:)
१०)अहिलेको लोडसेडिगं कस्को अकर्मण्यताले गर्दा होला? आउदा साल कस्तो हुनेछ,अनुमान लगाइदिनुहोस न।
- आजसम्म हामीमाथि शाशन गर्नेहरुको अकर्मण्यता र लघु-चिन्तनको ऊपज हो यो। अलिकति हिस्सा माओवादीले विगतमा गरेको विध्वंशलाई पनि जान्छ तर माओवादीको उदय हिजोका शाशकहरुको कुबुद्धि र अदूरदर्शीताकै कारण भएकोले सारमा सबै जिम्मेवारी विगतका सरकारहरुलेनै लिनुपर्छ। आफ्नो 'शुभलाभ' मात्रै खोज्ने, आफ्नो 'शुभलाभ'का लागि योजनाहरुलाई सकेसम्म महंगा बनाईदिने र आफूलाई 'शुभलाभ' नहुने देखे योजनानै तुहाईदिने राजनीतिज्ञ-प्रशाशक-प्राविधि कहरुको सिण्डिकेटले जरा गाडेको छ मथिदेखि तलसम्म। यो स्थितिको अन्त्य नभईकन र एउटा समग्र राष्ट्रिय उर्जा/जलस्रोत नीति नबनुञ्जेल केहि पनि आशा गर्न सकिन्न। कुनै 'चमत्कार' भएन भने अर्को वर्ष पनि यस्तै हो। सरकारले चाहने हो भने यो वर्षभन्दा कम हुनेगरी केहि कदम चाल्न सक्छ तर सरकार र पूरै देश अरु-अरु कुरामा अल्मलिईरहेको बेलामा थोरैमात्रै पनि काम होला जस्तो लाग्दैन।
११) नेपालमा इन्जिनियर नेता जस्तै कुहिएका होलान त?
कुनै पेशामा सज्जनै-सज्जन, कुनै पेशामा दुर्जनै-दुर्जनै हुन्छन् भन्ने सोचाई गलत हो। समाजको आम-चरित्र जस्तो छ, त्यसैको छाया देखिने हो हरेक पेशामा। चरित्रगत हिसाबले हाम्रो समाज एउटा भ्रष्ट समाज हो। हाम्रो समाजमा भ्रष्टाचार निन्दनीय हैन बहादुरी मानिन्छ। त्यसकारण 'कुहिएका' इञ्जिनीयर जति भनेपनि छन्, नेताहरुभन्दा बढीनै होलान् बरु! हामीमा नेताहरुमात्रै खराब हुन्छन् भन्ने चिन्तन बसेको छ तर राजनीतिमा पनि असल मान्छेहरु छन्। यो कुरा बेग्लै हो कि ती अझै प्रभावशाली हुन सकेका छैनन्।
१२) नेपाली ब्लग दुनियामा तपाइको मिठो र तितो अनुभव बताइदिनुहोस न?
- दुई वर्षजतिको यो ब्लगयात्रा पूरै मिठो अनुभव हो मेरो लागि। त्यस्तो तितो अनुभव अहिलेसम्म खासै छैन।
१३) पत्रकारले सहि लेख्ला कि ब्लगरले?
- ठ्याक्कै यसै भन्न गाह्रो छ। पत्रकार भएपनि ब्लगर भएपनि मान्छेको इमान्दारिता र नैतिकतामा भरपर्छ यो।
१४) फुर्सतको समय कसरी बित्छ?
- परिवारसंग।
१५) तपाइको मन पर्ने ब्लग कुन हो?
- धेरै छन्, एउटामात्रैको नाम लिँदा आफैंलाई र धेरै ब्लगर साथीहरुलाई अन्याय गरेको ठहर्नेछ।
१६) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?
- 'दौंतरी' मा त्यस्तो ठूलो खोट केहि पनि देख्दिँन म। एउटा सानो अनूरोध भने छ, 'दौंतरी' का केहि लेखकहरुले भाषिक शुद्धताको ख्याल गर्नुपर्ने आवश्यकता अझै देखिन्छ।
१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?
- पाचौं प्रश्नको पूरक भनेपनि हुन्छ। ब्लग लेखनमा सबभन्दा नरमाईलो लाग्नेचाहिँ धेरै दिनसम्म केहि लेख्न नपाउँदा/नसक्दाको अवस्था हो। ब्लगले आफूमा पाठकहरुप्रतिको धेरै गहिरो र आत्मीय दायित्वबोध उब्जाउँदो रहेछ र धेरै दिनसम्म केहि लेख्न नसक्दा आफनो दयित्वबाट विमुख भएको भावनाले घर बनाउँदो रहेछ।
-वसन्त