आचार्य प्रभा
भ्रममा नपरौ कोही   
ठुलो देशमा गएर    
सानो देशलाई मानसपटलबाट    
निकाल्छु भनी    
त्यसो ---होइन ,    
भौगोलिक स्वरूप सानो भएर के भो ?    
आखिर ---'हीरा'सानो भएपनी    
प्रज्वलित हुन्छ ,    
आफ्नी आमा ''डल्ली '',''पुड्की ''    
भएपनी जन्म दिने आमा नै हुन्छिन    
आकार भनेको त स्वरूप हो ,    
आफ्नोपन र सर्वगुण होइन /    
विश्वस्त नहौ कहिल्यै पनि     
द्रब्यको मुल्य उचा छ भनी      
ठुलो देशमा दु:खले      
सानो मन लिएर जब हामी      
'डलर','पाउन्ड ',जे नै कमाउछौ      
तर ---हामी भित्रको      
स्वाभिमान,माया ,स्नेह,सारा      
हामीले गुमाइरहेका हुन्छौ /      
हो ---हामी रमाउन सक्छौ      
अग्ला ,अग्ला गगनचुम्बी महलहरुका      
उचाइ देखेर      
तर ---हामीले बिर्सिसकेकाहुन्छौ      
सगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु /      
हामी गम्किन सक्छौ महलभित्रको      
बिलाशितापूर्ण जीवन भोगाइदेखी      
तर ---हामी बिस्थापित बन्छौ      
आफ्नी आमाको सानो काखको      
न्यानोपनको आभासदेखी /      
हुन सक्छ ---कहिलेकही      
आफ्नो आंगन पनि बिरानो हुन्छ      
आफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिन      
तर --- आफ्नो आँगनलाई पैतालाको      
भार मात्र बोकायौ भने /      
अनी ---आमाको छातीलाई परेड खेल्ने      
मैदान मात्र ठान्यौ भने,      
त्यस्तै ---आफ्नी आमालाई सन्तान जन्माउने      
मेसिन सरह मात्र सोच्यौ भने ,      
सानो काखलाई न्यानोपन दिने      
केवल ---स्वार्थी भावना मात्र राख्यौ भने /      
त्यसैले ---समग्रमा भन्नु पर्छ ,      
आकार,उचाइ ,मुल्य ,आफ्नोपन      
जे भने पनि      
हाम्रो ''भित्रीमन'' नै स्वाभिमानी हुनु पर्छ      
आफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांस      
फूलाऊनु पर्दछ ,      
आफ्नी आमालाई नै ''हीरा''मा अनुवाद      
गर्न सक्नु पर्दछ /      
हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैन      
एौटै सन्तानको ''प्रतिक'' बनेर      
आमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछ      
अनि मात्र सानो देश पनि प्रज्वलित      
''हीरा ''बन्न सक्दछ /      
आफ्नी आमाको स्वरूप जे जस्तो भए पनि      
निसकलंक, निर्मल साईनो बन्न सक्दछ ,      
अन्तमा ---देश ,आमा नै हामी सबैको      
आफ्नोपन र स्वाभिमान      
बन्न सक्दछ /      
 




 
         
         
         
0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !