July 6, 2009

गजल

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु


ब्लगर सुजनसंग ब्लग बार्ता


ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।

१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।

२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।

३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।

प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्‍ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्‍ने कोसिस गर्छु।

४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।

५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्‍वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।

६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्‍चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।

७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्‍न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!

८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।

९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।

१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।

११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।

समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।

१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्‍ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्‍न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !

१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्‍ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।



हराउदै गएको अस्तित्व

आचार्य प्रभा
(अमेरिका )
जब म पसलमा सजिएको हुन्छु
बिभिन्न रङमा सुसज्जित भएर
मेरा शरीरभरी नानाथरिका बुट्टाहरु कुंदिएका हुन्छन
बत्तुहरु जडिएका हुन्छन म बिभिन्न आकरमा बिभाजित हुन्छु
सुरिलो,होँचो,गोलाकार वा अरु कुनै आकार ...........,
आउँछन ग्राहकहरु अनी पर्छन मक्ख !
मलाई सुम्सुम्याउँछन्,
मेरो तारिफ गर्छन्,
मेरो बनावटमा दँग पर्छन,
अनी.... कल्पना गर्छन्
कोठाको कुनै टेबलमा मलाई सजाएर
त्यो कोठाको सौन्दर्याता बढेको ,
त्यो क्षण,त्यो पल,म सबैको
आकर्षणको बस्तु बन्छु
जस्ले मलाई पैसामा मोलेर लैजान्छन ।
अन्त्यमा.... जब म
चाहनाको अन्तिम लक्ष वा स्थानमा पुग्छु
मेरा घाँटीभरी कोच्याएर
जब बिभिन्न फूलहरु सजिन्छन
रातो,पँहेलो,नीलो वा अरु कुनै ........
सयपत्री,गोदावरी,गुलाफ वा अरु केही ......
तब..... मेरो आकर्षण फूलहरुको सौन्दर्यमा
परिभाषित हुन्छ ,
मेरो अस्तित्व फूलहरुको अगाडी
अस्तित्वहिन हुन्छ ,
अनी म फूलहरुको उपस्थितिमा
पलायन हुन्छु ,
म..... केवल फूलहरुको भरिया मात्र हुन्छु ,
अनी हुन्छु उस्को श्रिङारको रक्षक
तब...... म निस्सार,निस्साहाय,निरीह बन्छु
मेरो अस्तित्व अनी महत्व राख बन्दै जान्छ
अनी...... म सबैको सामिप्यताबाट
ओझेल बन्दै जान्छु ,
आफ्नो हराउँदै गएको अस्तित्वसँग
आँफै बिरानो बन्छु,
बस बिरानो बन्छु ।


July 5, 2009

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 2009

डायस्पोरा नेपाली साहित्यको विकास र विस्तारमा दूइ दशकदेखि लागि परेको अन्तर्राष्टिय नेपाली साहित्य समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आउदो अगष्टमा हुंदै छ।

१५ अगष्टमा न्युर्कमा हुने उक्त सम्मेलनमा कबिता,गजल आद साहित्यक प्रश्तुतीका साथै डायस्पोरामा नेपाली भाषा तथा साहित्यका वारेमा छलफल र विचारविमर्श गरिनेछ। साथै नेपाल तथा अन्य देशमा रहेका मूर्धन्य नेपाली साहित्यकार तथा विचारहरुका विचार तथा कार्यपत्रहरु पनि प्रश्तुत गरिनेछ।

पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको यो भाषा-साहित्य सम्मेलन युवाकवि मोतिराम भट्टको जन्मजयन्तीका अवसर पारेर गर्न लागिएको हो।

यसबारेमा विस्तृत जानकारीका लागि http://conference.inls.org/ मा राखिएको छ। सम्मेलनमा वाचन गरिने रचनाहरु ७ अगष्ट २००९ भित्र यो इमेल ठेगानामा nibhanika@hotmail.com आइसक्नु पर्ने नियम राखिएको छ ।

तिम्रो मेरो साईनो

Dinesh karki
colorado
AMERICA

तिम्रो मेरो साईनो अब, यो जुनीमा यत्तिकै भो।
के भर भयो अर्को जुनी,भेट हाम्रो यत्तिकै भो ।।

एक प्रहर समिप भएउ,सँझेछु जुनीभरी
एकान्त को बसाइ अब, कुइनेटो मा यत्तिकै भो ।।

सम्झना को तरेलि मा, सपना त्यो अल्झिने भो।
जुनेलीको पर्खाइ अब,चोउतारी मा, यत्तिकै भो।।

सुनेको छु तिम्रो सीउदो, भरिने दिन आउँदैछ रे।
घुम्टो भित्र तिम्रो मुहार, हेर्ने रहर यत्तिकै भो ।।



July 4, 2009

दौंतरीमा ब्लगर भेला

दुइढुंगा भित्रको चारकुने तरुलका छाउरा छाउरी ढुंगा बिचमा मात्रै नच्याप्पी संसारै भरी छरपस्ट भएर बसेका छन। शिक्षा र संसारको बिकाससंगै उनीहरु पनि आफ्नो बारेमा,देशको बारेमा र संसारकै बारेमा बोल्न, आफ्ना भावना प्रश्तुत गर्न ब्लगर भएर उदाएका छन। ब्लगरहरु आफ्ना रोजाइ,भोगाइ र आफ्नै समयको कठघरामा समेटीएका बिचारहरु बिध्धुतिय अन्तरजालोमा निस्वार्थ बांड्दै हुनुहुन्छ। यसरी हरेक कुनामा रहनु भएका ब्लगरहरुलाइ दौंतरीमा ब्लग भित्र ब्लग स्तम्भमा बोलाएर परिचय गराउने जमर्को गर्दै आएका छौं। यो त केबल एउटा सानो पाइला मात्र हो्। सानो पाइलाले उचित सरहाना पाए पक्कै पनि त्यसले ठुलो यात्राको सुनिश्चिता प्रदान गर्दछ।

समय मिल्दा बिशेष गरी सप्ताहअन्तमा दौतरी जिमेल च्याट,दौतरी फेसबुक र दौतरी साउट बक्समा समय बिताउने गर्दछु। आज ब्लगर दिलीप आचार्यसंग भेट भयो। कुरै कुरामा उहांले सोध्नु भयो दौतरीमा के नया आउदै छ? उखान टुक्का पछि त्यस्तो केही नया छैन भने। आफुलाइ अलि असजिलो महशुस भयो। केही नया पन दिन पाए त हुन्थ्यो। अनि साउट बक्सको कुरा गर्यों। साउट बक्स धेरै ब्लगरले मन पराएको कुरा पनि उठ्यो। मैले तुरुन्तै भने यही साउट बक्समा महिनाको एक पटक सबै ब्लगर मिलेर गफ गरे कसो होला? उहांले यो कुरा निकै मन पराउनुभयो। मलाइ पनि यसो गर्दा दौंतरी साउट बक्समा संसारका हरेक कुनामा बस्ने ब्लगरहरुले आपसमा कुरा राख्ने गज्जबको ठाउं होला जस्तो लाग्यो। यस प्रकारको ब्लगर भेलाले पक्कै पनि केही नया कुरा सिक्ने सिकाउने अबसर प्रदान गर्नेछ। मिती र समय त एकिन गरेको छैन तर अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती ११ बाट १ ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) राख्दा उचित होला जस्तो लागेको छ।

साउट बक्स तल राखिए जस्तै तर दौतरीको मुख्य पृष्ठमा ब्लगर भेलाको समयमा अली ठुलो हुनेछ जुन पटक पटक आफै रिफ्रेस हुनेछ। अब यो बिचार कस्तो लाग्यो ब्लगर मित्रहरु जानकारी गराउनुहोस है?




राष्ट्रको कान्ति

हस्त गौतम मृदुल

एताउता घुम्न पनि लाग्छ मलाइ डर
आँतमा राख्ने मान्छे भै सकेछन पर

झुठा सपना देखाएर द्धन्दमा फसाए
तहस नहस पारी देश दुनियाँ हसाए

म त झनै बल्झिए सकुनीको जालमा
कसरी जिउनु म यस्तो कुटिल चालमा

कुराकानी गर्न पनी लाग्छ मलाइ डर
शुभचिन्तक भन्ने पनि भैसकेछन पर

कहिलै मुक्ती पाउला आफनो राष्ट भित्र
भताभुंग पारी सके आफनै देशको चित्र

न त मैले सुख पाएँ न त पाए सान्ती
ओझेलमा पार्दै गए यो राष्टको कान्ती

भेटघाट गर्न पनि लाग्छ मलाइ डर
मानवीय सम्वेदना पनी भैसके छ पर


July 3, 2009

कस्तो हुनुपर्छ त राज्यको शासकीय स्वरूप ? (बहसका लागि)

- एकलव्य

नेपालमा नया संविधान बन्दै छ र नया संविधानले देशको शासन व्यवस्था कस्तो हुने हो भनेर तय गर्नेछ र यसकै तपशिलमा राज्य पुनर्संरचना वा संघियता , समावेशीकरण, आदि अनेकौँ परिशिष्टको क्रम तोकिनेछ । एकीकृत माओवादी पार्टीले संशोधित रूपमा राज्यको शासकीय व्यवस्थाको कुरालाई चर्चामा ल्याएको छ । आफ्नो नाम अनुसार नै एउटा कट्टर कम्युनिष्ट शासन प्रणाली अपनाएको राज्यले अपनाउँदै आएको शासन व्यवस्थासंग मिल्दा जुल्दा विशेषतायुक्त राज्य व्यवस्थाको प्रस्तावना गरेर माओवादीले आफ्नो उद्देश्य दर्शाएको छ । हिजो सत्तामा हुँदा उसको प्रस्ताव अलग खालको थियो र आज सत्ता छोड्नु परेर आक्रोशित बन्दा यो अलग देखापरेको छ । फेरि सत्तामा आएर खुशी हुँदै गर्दा उसको विचार फेरिएन भने माओवादीले मोही माग्दा , ढुङ्ग्रो लुकाएको छैन । उसले कम्युनिष्ट पार्टीको विचार अनुसार जनवादी केन्द्रियतामा राज्ययन्त्रका सम्पूर्ण पक्षलाई नियन्त्रणमा लिने खालको, देख्दा लोकतान्त्रिक देखिने तर सारमा कम्युनिष्ट पार्टी नियन्त्रित राज्यतन्त्रको प्रस्तावना गरेको प्रष्ट छ । परम्परागत कम्युनिष्ट शासन रहेका मुलुकहरू रूस , चीन , क्यूवा र कोरियाका धेरै विशेषता बोकेको साथै केही अलग कुराहरू पनि अँगालेको यो संवैधानिक प्रस्तावनासंगै शासकीय व्यवस्था सम्बन्धी बहस अग्रतामा आएको छ ।

‘माओ’ वाद भन्ने विचार एउटा कट्टर कम्युनिष्ट शासकीय संयन्त्रयुक्त राज्यतन्त्रमा विश्वास गर्ने वाद हो । चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ले तत्कालीन चीनमा कम्युनिष्ट क्रान्तिका लागि अबलम्बन गरेका रणनीतिक तथा राजनैतिक विचार र व्यवहारहरूको प्रयोग मार्फत त्यस्तै राज्यव्यवस्था कायम गर्ने सोच राख्ने विचार र दलका रुपमा यसलाई बुझ्नु पर्छ । माओत्सेतुङबाट शुरू भएको कम्युनिष्ट विचार निर्देशित राज्यतन्त्रमा माओको मृत्यूपछि, देङ सियाओ पिङले सुधार गरे पनि यो मूलत: नया आर्थिक मोडेलको स्थापनार्थ थियो । देङलाई थाहा थियो , १ अरब भन्दा विशाल जनसंख्या बोकेको विशाल चीनलाई नियन्त्रणमा राखेर एकोहोरो विकासको बाटोमा हिँडाउन कम्युनिष्ट एकाधिकार र १ करोडको ( २५ देखि ५० लाखको पिएलए नामक सेना, पुलिस , र अन्य गार्डहरू ) संख्यामा रहेका लालसेना ( रेड गार्ड वा पिएलए , नेपालमा माओवादीले पनि यही नाम दिएको छ आफ्नो लाडाकूलाई ) नामको सैन्य नियन्त्रणमा सुरक्षित शान्तिमा मात्र सम्भव छ। फलत: ,विकासका लागि शान्ति र शान्तिकालागि राजनैतिक तानाशाहीको मार्ग मात्र सही ठहर्‌याइयो। स्मरण गर्नु पर्ने कुरा के हो भने , देङ सियाओ पिङको मार्गचित्रमा अघि बढेको वर्तमान चीनले अबलम्बन गरेको राज्यव्यवस्था सम्बन्धी राजनीतिक अभ्यास त्यही कम्युनिष्ट विचारको मातहत पूर्ण नियन्त्रित र निर्देशित छ भने, उसले आर्थिक प्रगति गर्नका लागि पूँजीवादी शैलिलाई अपनाएको छ । अर्को शब्दमा , अहिलेको चीनको राजनीति कम्युनिज्म र अर्थनीति पूँजिवादको सम्मीश्रित रूप हो । यस्तो मोडेलको राजनीतिमा, मुलुकको राजनीतिको एकाधिकार कम्युनिष्ट पार्टीको एकल छत्रछायामा मौलाउँछ । सेना, प्रहरी, अदालत, प्रशासन ,कानून , सरकार र समग्र मुलुक नै कम्युनिष्ट पार्टीको निर्देशनमा काम गर्नु पर्ने यस्तो राजनैतिक प्रणालीलाई पश्चिमा उदारवादी शासनप्रणालीका मुलुकहरूले अक्सर एकाधिकारवादी तानाशाही राज्यतन्त्र भएकाहरू को सूचिमा राख्ने गरेको पाइन्छ ।

यहाँनेर एउटा उदाहरण उल्लेख ग्रनु उपयुक्त लाग्यो । गत महिना चीनिया सेना प्रमुख फू क्वानयुले दिएको एउटा वक्तव्यलाई आधार मान्न सकिन्छ । तियानेनमेन चोकमा २० वर्ष अघि भएको बिद्रोह दमनको वार्षिकी मनाउन हुनसक्ने गडबडीलाई इङ्गित गर्दै सेना चिफले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेर भने “ हाम्रो विशाल सेना , चिनिया कम्युनिष्ट पार्टीकालागि जुनसुकै मूल्य चुकाउन तयार छ” । पश्चिमी उदारवादी राजनैतिक दर्शन र अभ्यास अनुसार, पार्टी वा दलहरू मुलुकका पर्यायवाची हुनै सक्दैनन् । मुलुकको सेनाले कुनै पार्टीका लागि जुसुकै मूल्य चुकाउने वाचा गर्नु त्यहाँ उदेक लाग्दो मानिन्छ। पार्टी त हराएर जान सक्छन्, सरकार पतन हुन सक्छन् र नया विचारले नया निर्माण हुन पनि सक्छन् , तर मुलुकको अस्तित्व पार्टी र सरकारभन्दा भिन्दै विशिष्ट हुने ठानिन्छ । सेना, अदालत, पुलिस, र प्रशासनको वफादारी मुलुक जनताप्रति हुनुपर्छ कुनै दल विशेषप्रति हैन भन्ने विचार यो उदारवादी राज्यतन्त्रका हिमायतीहरूको सामान्य बुझाइ हुने गर्छ ।

नेपाली माओवादीले भने आफ्नो राजनीतिक मोडेल यही चिनीया वा कम्युनिष्ट शैलिको हुनेछ भन्ने कुराको खुलासा हालै आफ्नो दलको विस्तारित केन्द्रीय समितिले जारी गरेका निर्णयहरू मार्फत उजागर गरेकाछन् । यो भन्दा पहिला पनि उनीहरूको प्रस्तावित संविधानको खाकाले त्यताप्रतिको आसक्ति देखाएको भएपनि अलिक अवसरवादी बनेर यता कि उता हुने भन्ने कुरामा द्विविधा नदेखाएको हैन । तर , माओवादीले खोजेको जस्तो राज्यको व्यवस्थापकीय स्वरूपका बारेमा जारी गरिएको यो नया अवधारणा, कम्युनिष्ट राज्यतन्त्रको जनवादी केन्द्रीयताको सिद्दान्त अनुरूप भएको पाइएको छ , जुन विशेष गरी पश्चिमी देशहरुमा अपनाइएको विश्वमान्य लोकतन्त्रका सिद्दान्तसंग धेरै मात्रामा बिमति राख्छ । प्रचारमा आए अनुसार राज्यको शासकीय स्वरूपका बारेमा माओवादीले गरेको प्रस्तावमा निम्नलिखित मुख्य विशेषता हुनेछन् ।

१) देशमा एक जनप्रतिनिधिसभा ( चीनको पिपल्स कंग्रेसको अनुवाद) रहनेछ र यसले एउटा सर्वधिकार प्राप्त राष्ट्रपति मण्डलको ( इरानको गार्जियन काउञ्सिल कि कम्युनिष्ट पार्टीको पोलिट व्यूरो वा त्यस्तै मुलुकको प्रेसिडियम ? ) छनोट गर्नेछ । साथै कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति पनि व्यवस्थापिकाले छनोट गर्नेछ । ( कम्युनिष्ट मुलुकमा बाहेक अन्य मुलुकको कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ । साथै अमेरिका र फ्रान्स जस्ता विकसित पश्चिमा मुलुक बाहेक कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय प्रणाली भएका मुलुकहरू अपवादबाहेक तानाशाही बाटोमा लागेका उदाहरण प्रसस्त भेटिन्छन् । यही व्यवस्था बोकेका क्यूवा र उत्तर कोरियाले त आजीवन राष्ट्रपतिले नपुगेर , भाइ , छोरा र नातीमा राषट्रपतीय प्रणालीलाई हस्तारण गराउँदै नवकम्युनिष्ट राजतन्त्र कायम गरेको पनि देखिएकै छ क्यारे ! )

२) अदालत र सेना सबै व्यवस्थापिका कै मातहतमा हुनेछन् ( शक्ति पृथकीकरको सिद्दान्तलाई पूर्णत हटाइनेछ र कम्युनिष्ट मुलुकको व्यवहार अपनाइनेछ ) ।

३) सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीको बहुदलीयतालाई मात्र स्वीकार गरिनेछ ( मतलब, कम्युनिष्ट पार्टी मातहतको अदालतले आवश्यक ठानेका दललाई सामन्तवाद वा साम्राज्यवादका पक्षपोषक ठानी प्रतिवन्धित गर्नेछ , जस्तो कि कम्युनिष्ट मुलुकको बहुदलियता हुने गर्छ)।

४) जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सरकारमा प्रतिनिधित्व हुनेछ र व्यवस्थापिका विपक्षीबिहीन हुनेछ ।
( यस्तो व्यवस्था अन्त पनि छ जस्तो कि दक्षिण अफ्रिका जहाँ १०% भन्दा बढी मत ल्याउने दलबाट उपराष्ट्रपति र मत प्रतिशत अनुसार अरू दलहरूलाई मन्त्री बनाइने चलन छ । मेलमिलापको राजनितिका लागि यो राम्रो हुन पनि सक्छ तर आँफूले इच्छाएकाले मात्र दल खोजेर राजनीति गर्न पाउने र तिनै दलहरू मात्र दूधको सांक्षी बिरालो जस्तो सरकारमा सर्वसम्मत सहभागितामा रमाउने हो भने यो पनि वर्ग संगठनको निर्दलीय पञ्चायति व्यवस्था जस्तै नेपाली माटो सुहाउँदो व्यवस्थातर्फको यात्रा त हुने हैन ? कि चीनमा जस्तो उही कम्युनिष्ट पार्टीका बिभिन्न भ्रातृसंगठनहरू लाई राजनीतिक दलको रूपमा मान्यता दिएर तिनको प्रतिनिधित्वलाई बहुदलीयताको नाम दिन खोजिएको पो हो कि ! )

तर पनि धेरै नेपालीहरूलाई माओवादीको क्रान्तिकारी रोमाञ्चमा अविश्वास छैन जस्तो देखिन्छ । जस्तो सुकै राजनैतिक पद्दति भए नि केहि फरक नपर्ने सोच राखिएको हो भने यस्तो सोचबाट निस्पन्न हुने भविष्य डरलाग्दो नहोला भन्न सकिन्न ।

राज्यको शासकीय स्वरूप कस्तो हुने वा हुनुपर्ने हो त्यस सम्बन्धी बहस र मन्थन हुनुपर्ने भन्दा एकदमै थोरै भैरहेको जस्तो लागेको छ । यो त्यति हल्का फुल्का विषय पनि हैन र यही कुरामा मुलुकका कम्तिमा पनि आगामी केही दशकहरू र केही पुस्ताको भविष्य र भाग्य कैद बन्नेछ । हाम्रै निकट भविष्य नियन्त्रणमा लिन सक्ने यस्तो गम्भीर विषयमा राजनैतिक दलहरू नै नदारद रहेको यो घडीमा जनताले व्यक्तिगत रूपमा चिन्ता लिएर पनि केही फरक पर्ने हैन । तर विज्ञहरूले यो विषयमा बहस चलाउने जमर्को सम्म नगरेको देख्दा , यस्तो गम्भीर मुद्दाको छिनोफानो पनि लहड कै भरमा हुने हो कि भन्ने छाँट देखिन्छ । हुनत, अहिलेको संविधानसभाको संरचना हेर्दा र त्यहाँ पुगेका मानव आकृतिहरू मध्ये कतिले यस्तो महत्वको कुरा बुझ्ने सामर्थ्य राख्लान् त्यो नै सोचनीय कुरा छ । माओवादीले त आफ्नो राज्य मोडेल प्रस्तुत गरेर , आँफ्नो परिचय र उद्देश्य दर्शाउन हिचकिचाहट देखाएन। अरूको यस मामिलामा गृहकार्य के भैरहेको छ थाहा पाइएको पनि छैन । हामी नेपालीले वि. सं. १९९७ सालको शहीद काण्डदेखि हरेक दश वर्षमा लड्ने गरेका आन्दोलन र क्रान्तिको शृङखलामा यो पछिल्लो कडीको क्रान्ति , आन्दोलन , संविधानसभाको निर्वाचन अनि राजतन्त्रको उन्मूलन पश्चातको परिदृश्यमा खोज्दै गरेको शासकीय स्वरूप कस्तो हो त ? हामी प्रष्ट छौँ ? सही जवाफ कसले खोज्ने ? कस्तो हो त मुलुकलाई चाहिएको शासन व्यवस्था जसले तय गरेको बाटोमा हिँडेर हाम्रा असंख्य आकांक्षाहरू सम्बोधन होलान् ? देश त हामी सबैको हो नि ! त्यसैले आउनूस् हामीलाई कस्तो शासन व्यवस्था चाहिएको हो त्यसमा बहस गरौँ, नत्र बेला घर्किएला !


July 2, 2009

इच्चाहरुसंगै कैदी भएँ

आचार्य प्रभा

इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ
पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।

बोल्न त बोल्छु त र बोलीको औचित्य छैन
मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।

पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं
बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।

आवरण सुन्दर छ,बोली पनि मधुर नै छ
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।

(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )


खल्ति कि प्रवृत्ति ? कि लँगौटी ?


Nepal bans airline staff pockets



Staff at Nepal's main international airport are to be issued with trousers without pockets, in an attempt to wipe out rampant bribe-taking. Officials said there were growing reports of bribe-taking at the airport The country's anti-corruption body said there had been growing complaints about staff at Kathmandu's Tribhuvan airport. A spokesman said trousers without pockets would help the authorities "curb the irregularities".

स्रोत: http://news.bbc.co.uk/2/hi/south_asia/8126110.stm


ओरालो लागेका मृगलाई बाच्छाले पनि लखेट्छ भन्छन् । मुलुक हत्या, अपहरण, फिरौति असुली, दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले घाँटीसम्म डुबिसक्यो । राजनीतिको जोड घटाउमा माहिर हाम्रा देशका भक्षक खेलाडीलाई अरू केही कुराको चासो हुने कुरै भएन ।

देशमा कानून छ , कानूनका मठाधीशहरू कसरी पैसा र प्रभावका बलमा कानूनलाई फूटबल झैँ प्रहार गर्न सकिन्छ , कलाबाजी सिकाउँछन् । देशमा पुलिस छ , कसरी अपराधलाई लुकाउने र अपराधीलाई उम्काउने सूत्रहरूको लिलाम बढाबढ गर्छन् । देशमा जनताको करले पालिएको ठूलो संख्यामा कथित राष्ट्रसेवी कर्मचारी छन् , जसले अड्डा र अफिसमा बल्छि थापेर हात र मुखको जोहो गर्न उपाय खोजी गरिरहेका निरिह जनताको बाटो ढुकेर ढडिया भर्छन् । देशमा राजनीतिक दल छन् , जसले जनतालाई ‘बाँच्ने होस् भने भोट दे’ भनेरै लोकतन्त्रको श्राद्द गर्छन् । देशमा प्रसासन र सरकार छ , जसले त्यहाँ पुग्न पाएको नै जनतालाई झिरले रोपेर तिनको शरीरबाट रगतका थोपा निचोरेर असूल्नु हो भन्ने रावण बुझाइ राख्छ। यस्तो मुलुकको अख्तियार दुरूपयोग नामको नियोगबाट कता न राम्रो गर्नलाई भएको हो कि झैँ गरी एउटा उट्पट्याङ् आदेश आयो “ एयरपोर्टमा हुने भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ति भएका लुगा लगाउन नदिने” ।

कस्तो निम्न बुद्दि ब्रष्टाचार रोक्न बसेको सेतो हात्ति अख्तियारको ? यो कस्तो बुद्दि हो ? कस्तो उपाय फुरेको हो मान्छेका मगजमा, तो पनि यति बिघ्न उच्च तहमा बस्नेहरूको ? भ्रष्टाचार खल्तिले गर्ने हो ? त्यसो हो भने त सर्वाङ्ग नंग्याएर राख्दा राम्रो होला नि !

अख्तियार नामको यो पाखण्डी आयोगका जमातहरूले यस्तो हास्यास्पद निर्णय गर्नु पूर्व , यस्तो समाचार अन्तर्राष्ट्रिय मिडियामा पुग्दा देशको बद्नाम कुन ढंगले होला भनेर सोच्न पनि नसक्नु आँफैमा उदेक लाग्दो छ । कानून , व्यवस्थाको ह्रास र दण्डहीनताको तो कुरै छोडौँ , मुलुकमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भ्रष्टाचारको समाचारलाई खल्तिबिनाको पहिरन मार्फत रोक्न खोजेर अख्क्तियारले, कर्मचारीलाई खल्तिबिहीन बनायो बनाएन थाहा भएन ,तर नेपाललाई पहिरनबिहीन निर्लज्ज भने पार्‍यो नै । हैन यो देशमा सन्तुलित दिमागधारी मान्छे नै बाँकि रहेन्न कि कसो हो ? किन हामिले गर्ने हरेक काम र कुरा हरूका लागि परिहासका कथा बन्न पुग्छन् ?

भ्रष्टाचार र घूषखोरी हाम्रो जीवनको अभिन्न प्राण बनिसक्यो । यसलाई हटाउने हो भने हाम्रो प्रवृत्ति सुध्रिनु पर्ने हो । हैनभने विमानस्थलमा लगौँटी मात्र लगाएका कर्मचारी पठाएरै पनि , स्थति सुध्रिन्छ भन्ने कामना कसैले गरेको छैन। खल्ति नभएका कपडा लगाएर भ्रष्टाचार रोकिन्छ भने मुलुकभर पाकेट र झोलामा प्रतिवन्ध लगाउने कानून बनाउँदा पनि हुन्थ्यो ! तर कस्तो बुद्दि दिमागमा बोकेको जिमराजले यसो गर्दा भ्रष्टाचार हुन्न भन्ने सोचेर यस्तो निर्णय गराएको होला ? यसो गर्दा विमानस्थलमा हुने भ्रष्टाचारको कुरामा एक थोपो सुधार त पक्कै आएन होला तर , यो समाचार अष्ट्रेलियादेखि बेलायत र संसारभरिका मिडियमा , एउटा मजाकिया खबरको रुपमा छरिँदा हाम्रो एक मात्र अन्तर्रष्ट्रिय विमनास्थलको बिजोग कहानी छताछुल्ल भने अख्तियारले बनाएरै छोड्यो । घूसखोरीको कारक खल्तिमा भेट्टाएर, अख्तियारवालाले आफ्नो पंगूपनको परिचय बाहेक केही देखाएनन् बरू वास्तविक समस्यामा कुनै असर नै नहुने यस्तो स्थितिमा, ‘हगाइ भन्दा पदाइ’ ठूलो हुने झै गरी , भ्रष्टाचार कम गराउन यस्तो २ पैसे बुद्दिको उपाय सुझाएर , अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जतीको यो तमाशा गराउने अख्तियारवाला हरूलाई उनीहरूको लाज छोप्न लगौँटी उपहार दिने हो कि !


July 1, 2009

देश बेच्ने पार्टि रित रैछ

सुमन बगाले
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।

लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।

भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।

आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।

सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टि रित रैछ ॥
सुमन बगाले आबुँ खैरेनी तनहुँ


June 30, 2009

साझा, माइसन्सार र दौतरी

Dautari 1000 th. Post

(लौ कोही आउनुभएन, हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )

आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्‍यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।

साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ, शिरीष, शिवप्रकाश, गोतामे लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । लेख प्रकाशित नभएर रिसाएर ब्यथा पोखेको होइन, मित्रजन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर त्यों संसारले राजनीतिको बिल्लाको भरमा उसका पक्ष-पोसकहरुको "पूजा" मात्रै सुन्न थाल्यो र हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । अझ भक्तिभाबमा लेखिएका सामाग्रीहरु प्रतिका हाम्रा कमेंटहरु पनी डिलीट भए । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउन आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।

कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।

राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्‍यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र मैले ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।

माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चंद्रमामा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण र झसका हो भन्दा अनुपयुक्त नहोला । उनले हेपे पनी उनी हाम्रा साख्खे भाई हुन । हामीमा त्यति ममता छ, जून ममता दौतरी मार्फ़त हामी सबैले दर्शाउदै आएका छौ ।

आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेखहरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको बिसर्जनका खातिर । सामाजिक आवाज बुलंद गर्न हजारौ ब्लगरहरू "आफ्नै संसार" लिएर /भएर मुखरित भएका छन ।

पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार । सबैका हातबाट लेखिएका ति भावनाहरू, बेदनाहरु अनि परदेशिका आवाजहरू एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि अबश्य फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।



June 29, 2009

देऊ !

गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देऊ,
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देऊ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
नहुनेहो मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
मात्र टुट्यो, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासीदेऊ
फाटेको हो मनमा धाजा भने, निस्ठुरी बन, मेरो दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ......!!!

हामीमा क्रुरता पुगेन रे

हाम्रो प्यारो नेपाल,सुन्दर शान्त बिशाल त अब पूस्तकमा पनि पढ्न पाइन्न की? अब जस्लाइ शनक चल्यो त्यही गर्ने चलन छ, साच्चै भन्नु पर्दा भोली के हुन्छ नेपालमा पशुपतीनाथलाइ पनि थाहा छैन,मैले किटेर नै भने। नेपाली समाचार साइट चाहारेर समाचार सुन्दा एकादेशमा भएको घटना जस्तो लाग्छ। दिन दुगुना रात चौगुनाको दरले घटनाक्रमले फट्को मार्छन। एउटा हुल भेला हुन्छन,तिनीहरुको माग तिनीहरुलाइ नै थाहा हुन्न। अनी तिनीहरुको लिडर कसैलाइ पत्तो हुन्न। कोही बिदेशीको हात भन्छन कोही प्रतीगमनको हात भन्छन,हुन त को हो तर हात चाही बलियो नै रहेछ। त्यो बलियो हातले बदमासहरुलाइ २,४ थप्पड लगाएर केही सबक सिकाय कस्तो हुन्थ्यो होला?

हुल र जमात कै कुरा गर्दा हाल सालै समाचार छापामा छाएको कुरा गर्न मन लाग्यो। नेपालमा म्रित्युदण्ड चाहियो रे। शुरुमा मृत्युदण्डको कुरा साझामा देखें। लाग्यो कुन चाही बियरले मातेर साझामा हौवा फिजाउदै छ। त्यस पछि केही ब्लगहरुमा देखे। लाग्यो हावा त लागेकै रहैछ र पो पात हल्दिंदै छ। तर सोचें कुन नया नेपालका ठेकदार रहेछन मृत्युदण्डको वकालत गर्ने। साच्चै भन्नु पर्दा आजकाल आफुलाइ नया नेपालको गोठालो जस्तो लाग्छ। नया नेपाल मेरो लागी कालो अक्षर भैसी बराबर छ। कांग्रेस एमालेले २०४७ मा संबिधान बनाए। अहिले संबिधान सभाको चुनाव गराएर तिनै पून नया संबिधान बनाउन कस्सिएका छन। धरोधर्म यो किस्ताबन्दी रुपमा संबिधान किन बनाइन्छ मैले बुझेको भए मार्दिउं। तर यो किस्ता बन्दी संबिधान कुनै बेलाका बम्पर योजना जस्तै भएको छ। बम्पर उपाहारको टिकेट बेचेर चिठ्ठा नै नखोली फरार भए जस्तै नेताहरु संबिधान नै नबनाइ हराउलान जस्तो छ। अब यो म्रत्युदण्डको वकालत गर्ने हुलले चाही के गर्ने हो कुन्नी ?


गएको आइतबार एक जना मित्रको बिहेमा जन्ती जाने मौका मिल्यो। बेहुला बेहुली जगिएमा ब्यस्त भए पछि एउटा कुनामा सानो जमात बनाएर हामीलाइ गफमा ब्यस्त तुलायौं। गफ के १० मिनेट अगाडी बढेको थियो, मेरै छेउका मित्र कुर्लिए नेपालमा मृत्युदण्ड चाहिन्छ। भगवानको क्रिपा पनि ठुलै रहेछ। नेपालमा म्रित्युदण्डको मागलाइ हौवा मान्ने म मेरै अगाडी मृत्युदण्ड माग गर्ने नया नेपालका एक मिस्त्रीको दर्शन मिल्यो। तिनी मिस्त्रीलाइ शिर देखी पाउसम्म हेरें। खेरौ छला भएका लिखुरे अनि पेट पूक्क बहिर निक्लेको नेपाली नभए पनि नेपाली नै देखिने ५ फुट ५ इन्चका मर्द खडा थिए। लाग्छ मृत्युदण्ड माग्ने जुलुशबाट टपक्क टिपेर कसैले जन्त पठाए जस्तो।

मेरै सामिप्यमा भएका मित्रको बेकुफ दर्शन सुन्दा मैले सिधै भने,नो नो नो नो नो। तपाइ मान्छे भएर अमान्छे कुरा गर्दै हुनुहुन्छ। कसैको जिबन लिने तपाइसंग केही अधिकार छैन। उनीले मेरो बोली काटे,ख्याती जस्तो एउटा निर्दोष बिध्धार्थीलाइ क्रुरतापूर्बक मार्नेलाइ मृत्युदण्ड चाहिन्छ। प्रजातन्त्रको नं एक देश अमेरिका मै हेरौं न। उनले सिधै आफ्नो बिचारको बलियो दलिन तेर्साय। मेरो छेउको अर्का मित्रे भने ओबामाले २३ वटा गलत मृत्युदण्ड सच्चाएको तपाइला थाहा छ? ति नया नेपालका मिस्त्री चुप लागे। मैले तिनीलाइ सिधै भने उपेन्द्र महतोको बाउ राम आशिस महतोले १५ बर्षकी नानीलाइ हातपात गर्दा प्रहरी प्रशासनले बचाएर लुकाउंदा केही नबोल्ने अनि ख्याती श्रेष्ठलाइ मार्दा मृत्युदण्ड चाहिने? भएको कानुन लागु गर्नुछैन तपाइ कसरी नया कानुन पालनाको ग्यारेन्टी गर्नुहुन्छ? कहीं एउटा मान्छेको लागी नया कानुन बनाउने पनि काइदा हो? तपाइको घरमा खाना छैन चामलको बन्दोबस्त गर्नुहोस मासुखाने सपना त्यागीदिनुहोस,मैले यसरी नै भने।

यिनी नया नेपालका पक्का मिस्त्री रहेछन,उनीले मृत्युदण्डको बलियो आब्श्यक्ता त भनेनन तर अब नेपालमा मृत्युदण्ड चाहिन्छ चाहिन्छ भनेर दो्र्हाए। नया नेपालको एक गोठालो म अबाक भएं। के गर्न,उनको पनि एकै भोट हो मेरो पनि एकै भोट हो। उनीले नया बिचार दिए मैले दिइन। नया नेपालमा सुनुवाइ उनकै बढ्ता हुन्छ किनकी उनकै बोलीमा नयापन छ।

आमजनताले के भन्छन कुन्नी। तर आमजनताको चाहानाको त मतलब कांहा छ र? पार्टीका टाउकेले जे चाह्यो त्यो नै आमजनताको चाहना हुन्छ। हेरौं यो मृत्युदण्डको माग कता पुग्छ?यदी नेपालमा मृत्युदण्डको शुरुवात गरे त्यो केबल आफ्नो बिरोधीको सफाया गर्ने माध्यम बन्नेछ।



तिम्रो आगमन

मनभित्र छताछुल्ल छालहरु
झन् तिम्रो आगमन ले
उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् ।

सुनसान यो साँझमा
कुन गर्भवाट निस्कन्छौ,
तिमी सन्नाटालाई चिर्दै ।

घाम डुब्न लाग्यो हेरन ,सायद
त्यसैको लाली चोरेर आयौ कि
गाढा ओठ टोक्दै ।

झ्याउँकिरीको साम्राज्य छाइसक्यो
नदीको सुस्केरा लिँदै भन्छौ
केही मिठो वात गर न ।

झकमक्क झकमकाए ताराहरु
त्यै चम्किलो तिम्रो भागमा
टिप्ने जिद्दी छाडिद्यौ न ।

कालोरात छिप्पीसकेछ हेरन
अंन्धकारमा हरायौ तिमी
मिठो सपना सँगै ।


दौंतरी यात्रा र एक हजारौं पोष्ट

अपडेट: दौंतरीमा १००० औं पोष्ट छापियो ।

यस पटक केहि कुरा दौंतरीकै बारेमा लेख्‍न मन लाग्यो ।

२००७ को अक्टोबर महिनाको कुरा हो, साझामा विविध विषयमा छलफल हुँदा-हुँदै, अचानक केहि दौंतरीहरुलाई, यो अरुले लेखेको कुरामा नकारात्मक कमेण्ट गरेर र यसो भएन वा त्यसो भएन भनेर दोष दिनु भन्दा आफैंले पनि सकारात्मक शुरुवात लिएर केहि गरौं भन्ने जोस आयो । हुन पनि हो, गलत कार्यको विरोध गर्नेमै सेलाउने उर्जालाई आफैं सहि कार्यमा खर्चनु भन्दा रचनात्मक कुरा अरु कुनै थिएन र छैन पनि ।

अनी त्यो सकारत्मक शुरुवातकोलागि जोस्याउने र जोस्सीनेमा आफू पनि परेकोले करिव करिव शुरु देखी नै दौंतरीमा जानी-नजानी आफ्नो कलम चलाउँदै आएको छु ।

रमाईलो कुरा के भने, ब्लग शुरु गरेपछि भने साझामा भेटीने साथीहरु को कता हुनुहुन्छ र के कस्तो क्षेत्रमा सामेल हुनुहुन्छ भन्ने एक-आपसमा पनि कसैलाई थाह नभएकोले शुरुका केहि समय सर-सल्लाह र विचार आदान-प्रदान गर्न अलिकता अलमल पनि भयो । त्यत्तिकैमा नेपालियनजीले अक्टोबर ७ मा Welcome शीर्षकको पहिलो टाँसो टाँसेर दौंतरीको शुरुवात गरिदिनु भयो र म लगाएत साझामा वहसमा सामेल हुने सबै साथिहरुलाई दौंतरीमा लेख्‍न निम्तो पनि पठाउनु भयो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने दौंतरी जन्मेको दोश्रो दिन अर्थात अक्टोबर ८ मा मेरो पहिलो पोष्ट स्वतन्त्रता र स्वछन्दता दौंतरीमा टाँसीएको थियो ।

गएको सप्ताहअन्तमा चाहिने भन्दा बढि फुर्सद भएकोले करिब २ बर्ष पहिला छापिएका शुरुवातका केहि पोष्टहरु पढें, पुराना यादहरु ताजा भए र निक्कै रमाईलो पनि लाग्यो। अचानक मेरो ध्यान पोष्टको संख्यामा गयो, त्यतिबेला दौंतरीमा छापीई सकेका पोष्टको संख्या ९५० भन्दा बढि भैसकेका थिए । हुन त संख्या मात्रै प्रगतीको सूचक हैन, तर यो विचार आदान- प्रदानको श्रृखंला, यो पोष्ट छापीदाँसम्मको हिसाब गर्ने हो भने ९६९ हुनेछ, जुन आशलाग्दो कुरा भने पक्कै पनि हो नै ।

संसारभरी छरिएर रहेका र देशलाई माया गर्ने नेपालीहरुको साझा अभिव्यक्तिको स्थल बनाउने सोचका साथ शुरु गरिएको यो ब्लगले गर्नु पर्ने धेरै बाँकि छ र यसका अगाडि चुनौतीहरु पनि छन। तर कुनै वाद विशेष वा गुटको लागि नलेख्‍ने र समष्टीमा नेपालीहरुको साझा अभिव्यक्तिको थलो बन्ने हिसाबमा प्रतेक दिन ५०० जना भन्दा बढि आगन्तुको आगमन हुनुलाई पनि मैले भने शुरुवाती शुभ सूचककै रुपमा लिएको छु ।

पोष्ट लेखीने र छापिने औसत दरलाई हेर्ने हो भने आजको करिव तीन हप्ताको अबधिमा दौंतरीले १००० पोष्ट नाघ्ने छ । सो को गन्ती गर्न आजैबाट मैले साईडबारमा एउटा सानो ‘दौंतरी कोसे ढुङगा’ भन्ने सूचकांङ्क राखेको छु, हेर्दै गर्नुहोला । अन्य दौतरी साथीहरु र कमेण्ट मात्रै लेख्‍ने वा पढ्ने मात्रै साथीहरुलाई पनि आफ्नो बिचार र रचना दौंतरीमा प्रेषीत गर्न म स्वागतका साथ आह्वान गर्छु । शुरुकै पोष्टमा नेपालियनजीले लेख्‍नु भए जस्तै दौंतरी लेख्‍ने र पढ्नेको समुह भएकोले कोहि पनि यसमा संलग्न हुन र बिचार राख्‍न सक्छन ।

दौंतरी १००० पोष्टको संघारमा पुगेको यस घडीमा, यसका सबै सहयात्री साथिहरु र विशेषगरी नेपालियनजीलाई वहाँको अथक परिश्रम र लगनकोलागि म हामी सबैको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

सम्पूर्ण लेखकवर्ग, सल्लाह सुझाव र कमेण्ट मार्फत मार्ग दर्शन गर्नुहुने पाठकहरुलाई पून एक पटक धन्यवाद भन्दै १००० औं पोष्ट ‘आफ्नो पोष्ट’ बनाउने मौका छोप्न समेत समयमै सूचीत गर्दैछु :)। हेर्दै गर्नुहोस, कसको पोष्ट ‘एक हजारौं पोष्ट’ हुन्छ !!!।



अल्बर्ट आइनस्टाइन, नयाँ नेपालका जयस्थिति मल्ल र अनन्त मुर्ख्याईको सिद्धान्त

"Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe."- Albert Einstein

मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ।

जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्‍ने हो, सोच्न सकिन्न।

एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ ।

अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्।

तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म ।

यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन ।

ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ ।

यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्‍याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन।

पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ ।

अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?



June 28, 2009

मैले पोखेको आसुँ

आचार्य प्रभा
(अमेरिका )
मैले पोखेको आसुँ समेटी अन्जुली तिमीले भर्‍यौ
दोधारको यो जीवन सम्हाल्न अनेकौ प्रयास गर्‍यौ ........,

किन हत्ते हाल्यौ यो रुखो जीवनमा
बसन्त फुलाउछु भन्दै ,
म पनि खुशीले पागल नै भएछु
तिम्रो साथ पाउने दिन गन्दै ........,

मैले भोगेको पीडा सँगाली,मुटुमा मलाई सजायौ
मरेको यो मन बचाउनलाई,मलाई आफ्नो बनायौ .........,

किन झुट बन्यौ,आफ्नै मनसँग
मलाई साँचो बचन दिइ,
म पनि हर्षले बिभोर नै भएछु
तिम्रो हातको अम्रित पिइ................,

मैले पोखेको .............






अरुले झै --

प्रबिण थापा

अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन

तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन

सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन

रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन

सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन


भो चाहिएन मलाई....मेरो खुशी खोस्ने कालो श्रावण!!

badal झरी पछिको बिहानी जस्तै
सफा मेरो मन
सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन
सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!

पुग्यो चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा निरन्तर
मेरो उज्यालो संसारको गला रेट्ने
तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ
हरेक पलमा माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहिन भएकाछन।

कति चोटी असह्य र वेदनाले
पोलेका स्वरहरु कराउन खोजे
किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला अनि
मेरो सृजनाको मिठो आवाज खोस्ने प्रयास गर्यो!

ए कालो बादल!
प्रीतिको नाम मा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्याटंग तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!

तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको छ
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरिरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जिवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
भो! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा सुभेक्षाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई...
मेरो खुशी खोस्ने कालो श्रावन!!

आश्मा