December 24, 2009

सगरमाथा, माउण्ट एभरेस्ट कि नौबन्धन

निर्मलमणि अधिकारी -आयोदधौम्य
विश्वको सर्वोच्च शिखर 'सगरमाथा' हाम्रो हुनु हामीले गर्व गर्न मज्जाले मिल्ने कुरा हो । तर संसारभरि यसको नाममाथि अनधिकार एकजना बेलायती जर्ज एभरेस्टको ठप्पा लागेर 'माउण्ट एभरेस्ट' भनेर फैलनु उत्तिकै लाजमर्दो कुरो हो भन्ने मेरो ठहर छ । अनेक कुरा विदेशीबाट नक्कल गर्ने, तर गतिलो पक्ष चाहिँ लिँदै-नलिने मुर्ख्याइँ गर्नमै मजा मान्ने होभने त अर्कै कुरो; नत्र छिमेकी देशमा अर्काले थोपरिदिएको 'मद्रास' नामलाई मिल्काएर आफ्नै पुरानो परम्परागत 'चेर्न्नई' नाम राख्ने, त्यसरीनै 'बम्बइ' नाम मिल्काएर पुरानै 'मुर्म्बई' नाम प्रयोग गर्ने र 'क्यालकटा' जस्तो विकृत नाम हुर्‍याइदिएर 'कोलकाता' कै पुनः प्रयोग शुरु गर्ने जस्ता राम्रा अभियानबाट हामीले पनि सिक्न नहुने भन्ने के छ र ! अनि त्यसको शुरुवात हाम्रो शान सगरमाथा बाटनै गरे अझ राम्रो !

आफ्नो राष्ट्रिय परिचयलाई ठम्याउन र कायम राख्न नसक्ने मुलुकको स्वाधीनताको विशेष अर्थ रहँदैन । भारत बेलायती साम्राज्यवादीको पञ्जामा परेको बेलामा त्यहाँका र्सर्भेयर-जनरल एन्ड्रयु वाघले सनकको भरमा विश्वको सर्वोच्च शिखरलाई 'माउन्ट एभरेस्ट' नाम राखिदिएका थिए । त्यतिन्जेलसम्म 'पन्ध्रौं चुली' नामले र्सर्भेकर्ताहरुले चिनाउने गरेका विश्वको सर्वोच्च शिखरलाई एन्ड्रयु वाघले आफ्ना भू.पू. हाकिम जर्ज एभरेस्टको नामबाट बेलायतको 'माउन्ट एभरेस्ट' नाम राखिदिनु उनको स्वामीभक्ति थियोभने तत्कालीन भारतको इस्ट इण्डिया कम्पनी सरकारले त्यसलाई मान्यता प्रदान गर्नु साम्राज्यवादीहरुको धुर्तापूर्ण कार्य थियो । यस क्षेत्रबाट अंग्रेजहरु लखेटिएको यतिका वर्ष पछि सम्म पनि हाम्रो सर्वोच्च शिखरको नाम त्यही 'माउन्ट एभरेस्ट' नै भिरिरहनु चाहिँ पूर्णतया गुलाम मानसिकताको द्योतक हो र लाजमर्दो कुरो हो । जतिसक्यो यो ठप्पा मेट्नु र आफ्नै परम्परागत नाम विश्वभर प्रचलित गराउने प्रयास गर्नु पर्दछ हामीले ।

यसबारे मदनमणि दीक्षितले पहिले नै चर्चा गर्नु भएको पनि हो : विख्यात इतिहासविद् बाबुराम आचार्यले एभरेस्ट चुली भनिएकोलाई सगरमाथा भन्ने नाम दिनुभयो । त्यो चुचुरोको स्वामित्वबारे नेपाल र चीन बीच छैठौं दशकमा छलफल चल्दा र्सवदर्शनाचार्य चूडानाथ भट्टरायलाई उक्त शिखरसित सम्बन्धित पौराणिक कुरा वा तथ्य केही छन् कि भन्ने पत्ता लगाउन आग्रह गरिएको रहेछ । सो आग्रह अनुसार उहाँले काम गर्नुभएर हिमवत्खण्डमा उल्लिखित 'व्योमकूट' र 'सगरमाथा' एउटै हुन् भन्ने मन्तव्य दिनुभएको ...... । ..... तर महाभारतको वनपर्व पल्र्टाई हेर्दा अध्याय १८७ को ५० औं श्लोक मैले यस्तो पाएँ( नौर्मत्स्यस्य वचः श्रुत्वा श्रृङ्गे हिमवतस्तदा ।। तच्च नौबन्धनं नाम श्रृङ्गं हिमवतः परम् ।। अर्थात्, माछोको वचन सुनेर हिमालयको चुचुरोमा नाउलाई बाँधियो जसले गर्दा हिमालयको त्यो सर्वोच्च शिखरको नौबन्धन भन्ने नाम रहेको छ । मत्स्यावतारको कथा बताउँदा महाभारतमा आएको यो श्लोकको कथा पक्षलाई छोडेर हेर्दा सर्वोच्च हिमशिखरको नामबारे पौराणिक कालमा जिज्ञासा थियो र तिनले आफ्ना प्राचीन गाथासित त्यो जिज्ञासालाई जोडेर त्यो सर्वोच्च हिमशिखरलाई 'नौबन्धन' भन्ने नाउँ दिएका थिए भन्ने तथ्य र्छलङ्ग हुन्छ । .... बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिनुहुँदा उक्त महाभारतीय श्लोकप्रति किन ध्यान दिनुभएन ! -हेर्नु- त्यो युग, पृष्ठ नं. ११(१२) विश्वको सर्वोच्च शिखरको नाम पौराणिक कालमा 'नौबन्धन' रहेको र त्यसलाई 'व्योमकूट' पनि भनिने गरेको देखिन्छ ।

जस्का नामबाट हाम्रो सगरमाथालाई विश्वभर चिनाइँदै छ ती व्यक्ति र्-जर्ज एभरेस्ट) को बारेमा नालीबेली केलाउँदा के देखियोभने उनी सन् १७९० तिर बेलायतको ब्रेक्नोकसायरमा जन्मी विद्यालयस्तरको पढाइ सकी बुलविच भन्ने ठाउँको सैन्य शिक्षालयमा भर्ना भएका थिए । सेनाका लप्टन भएर भारत आएका जर्ज एभरेस्ट सन् १८१२ मा अहिलेको भारतको मध्यप्रदेश -त्यतिखेरको 'कालिन्जर') कब्जा गर्ने सैनिक टोलीमा सामेल थिए । पछि उन्लाई, भारतीय उपमहाद्वीपलाई क्वाप्पै खाने अंग्रेज रणनीतिको एक भागका रुपमा शुरु गरिएको भौगोलिक र्सर्भेमा खटाइएछ । त्यहीबेला एन्ड्रयु वाघ उन्का सहायकका रुपमा काम गर्थे । जर्ज एभरेस्टले उमेरको हदबन्दीले अवकाश पाएपछि उन्का सहायक एन्ड्रयु वाघ बन्न पुगे 'र्सर्भेयर-जनरल' र उनैले आफ्ना भू.पू. हाकिमको नाममा हाम्रो सर्वोच्च शिखरको नामाकरण गरिदिए । धूर्त साम्राज्यवादी 'इस्ट इण्डिया कम्पनी' सरकारले हत्तपत्त सो नामाकरणलाई मान्यता प्रदान गरिहाल्यो । त्यतिखेर नेपालमा शासनरत राणा शासकले यो कुरा थाहा पनि पाए कि पाएनन् कुन्नि ! थाहा पाएकै भएपनि अंग्रेजका गुलामीमा फसिसकेका राणाजीहरुले के खाएर गर्दा हुन् विरोध !

सगरमाथालाई 'माउन्ट एभरेस्ट'कै रुपमा रहिरहन दिनु साम्राज्यवादको नाङ्गो बलात्कारलाई स्वीकार गरिरहनु हो । यस धब्बालाई मेट्न ढिलाउनु हुँदैन । अब विश्वको सर्वोच्च शिखरको नामाकरण गर्ने क्रममा हामीसँग थुप्रै विकल्पहरु छन् । महाभारतकाल र त्यस अघिको नाम( 'नौबन्धन'; हिमवत्खण्डमा दिइएको नाम( 'व्योमकूट'; इतिहास-शिरोमणि बाबुराम आचार्यले राख्नुभएको नाम( 'सगरमाथा'; बेलायती साम्राज्यवादीहरुले थोपरिदिएको नाम( 'माउन्ट एभरेस्ट' र स्थानीय जनताले चलाउने गरेका अन्य नामहरु । यीमध्ये अरु जुन-कुनैपनि नाम प्रचलित हुँदा हाम्रो राष्ट्रिय परिचयको निमित्त उपयुक्त हुने देखिन्छ; तर माउन्ट एभरेस्ट नामलाई जतिसक्दो चाँडो त्याग्नु राम्रो ! अस्तु ।



12 Comments:

Basanta said...

मननीय विचार!

Dilip Acharya said...

अत्यन्तै सान्दर्भिकर सोचनिय बिषय । हामीहरु नचाहीने कामकोलागि यत्ति समय खेर फ्याल्छौं को त्यसमध्य केहि समय मात्रै सकारात्मक कामको लागि लगायो भने पनि केहि परिवर्तन अवश्य नै हुन्थे ।

केही समय पहिला देशक झण्डा फेर्ने कुरा उठेको थियो, जसले देशको मौलिकता नाश गर्ने बाहेक अर्को कुनै फूल नफूलाउने पक्का थियो । तर यो भने देशको गुमेको मौलिकतालाई पून: स्थापित गर्ने बिषय रहेछ ।

यो लेखमा मेरो पूर्ण समर्थन, स्थानिय नाम, पौराणिक वा आधुनिक नै किन नहोस नाम नेपाली नै हुनुपर्छ ।

Ashesh said...

एकदमै राम्रो अनि सोचनिय विचार!! यसवारे सबै जानकार रहन अत्यावश्यक छ ।

Anonymous said...

कुरो तर्कपूर्ण छ, तर अब नौबन्धनको नामले सगरमाथा वा एभरेष्टको न्वारान गर्न थालियो भने त बाहिरबाट हैन भित्रबाटै उत्पात हुने पक्का छ । मलाई डर छ , शास्त्रियता, वैदिक र पौराणिक सन्दर्भलाई आधार मान्दा , बाहुनवादी वा हिन्दु अहंकारवादी जालझेलको आरोप आउने पो हो कि ! सगरमाथाको नामकरणमा तिब्बती र सोलुखुम्बु वरपरका जनजाति विशेषत: शेर्पाहरूको अग्राधिकार रहने होला नि , अहिलेको नेपाली राजनीति र समाजनीतिको तौर तरिकाले बुझ्दा। उनीहरूले सगरमाथालाई झो/चोमोलोङ्मा भन्ने गरेकै छन् , विदेशीले एभरेष्ट भनेर बुझ्छन् अनि नेपाली बोल्नेहरूले सगरमाथा पनि भनेकै छौँ भने यो मत्स्य अवतारको पालाको कुरोलाई कसले कति हजम गर्लान अनुमान गर्न अलिक गाह्रो पर्यो मलाई त ! भर्खरै गोपाल किराँतीको अगुवाइमा खुम्बु प्रदेशको उद्गघाटनमा किराँतीले पुराना र हिन्दुवादी मान्यताका सबै कुरा खारेज गर्ने भन्दै , ई्श्वीय सन् लाई मात्र मान्ने र जनजातिञ नाम तर्फ फर्कने कुरा कोकोहोलो हालेको सुनेको पढेको मलाई , शास्त्रियताको आधारमा फर्किन सकिने विषय अलिक पेचिलो लाग्यो ।

-सम्यक

सूर्य/सिकारु said...

बिषय गम्भीर र तार्किक त छदैछ देशभक्तिको माला जप्ने हरुलाई तर सम्यक जी ले भने झैँ सबैलाई आ-आफ्नो राज्य र संस्कारको अधिकार खोज्न दौडीरहेका हामीबीच बर्तमान समयमा यो बिषयले कतिसम्म प्राथमिकता पाउला ?

Dhruba said...

लेख जानकारीमूलक हुँदाहुँदै पनि यसको आशयसँग सहमत हुन सकिनँ। 'माउण्ट एभरेस्ट' विदेशीका मुखमा झुन्डिएको नाम हो, हामीले त नेपाली नाम 'सगरमाथा' नै भन्ने गरेका छौँ नि। 'माउण्ट एभरेस्ट' नाम जे-जसरी रहन गएको भए पनि अहिले आएर हामीले मात्र चाहेर फेरिने सम्भावना छैन र मलाई त आवश्यक पनि लाग्दैन। जहाँसम्म नेपाली नामको कुरा छ, पुराणहरुमा 'नौबन्धन' वा 'व्योमकूट' जे भनिएको भए पनि वर्षौँदेखी प्रयोगमा आइरहेको 'सगरमाथा' नै मिठो र सहज छैन र? फेरि हामी नेपालीहरु सार नहेरी नामको पछि दौडिरहेको बेला नाम परिवर्तनको यो बहसले राम्रो सन्देश पनि जाँदैन जस्तो लाग्छ है!

Ramesh Mohan Adhikari said...
This comment has been removed by the author.
Ramesh Mohan Adhikari said...

लेख सान्दर्भिक र जानकारी मुलक रहेछ ।


फुर्सत भएको बेला http://merasirjanharu.blogspot.com/ यो पनि हेर्नुहोला।

पुष्प said...

नामकै पछि लाग्नु उपलब्धिमूलक होइन; प्रचलित नाम राख्नु नै उचित हुन्छ । एभरेष्ट राखेर कसैले स्वामिभक्त देखाएपनि के भो र ? बरु यसबाट हामीले शिक्षा लिन सक्नुपर्छ र यस्ता कुराहरूलाई 'पाठ'को रूपमा सँगालेर राख्नुपर्छ ।

HAWA said...

निर्मल जी को ब्लग पनि मैले हेरेको छु.. उहा पौराणिक ग्रन्थहरुको अनुसन्धान गरेर आफ्ना कुरा राख्नुहुन्छ... सम्यक जी सधै जस्तै अलिकता व्यंगात्मक जस्तो देखिनुभएको छ तर अहिले पालि सार मा म उहासंग धेरै सहमत छु.. उहाको व्यंग मा बाहेक...

अहिले को अवस्थामा स्थानीय जनतालाइ नै सन्रक्षण् र बिकास मा सहभागी गरौनुपने भएकोले त्यस क्षेत्र मा बसोबास गर्ने हिमाली बासिन्दा शेर्पाहरुकै राय लिनु पो बेस होला कि ?

नेपालियन said...

नौबन्धन या ब्योम्कुट भन्ने त थाहा थिएन तर तिब्तीहरुले चोमालुगं भन्छन भन्ने बारे थाहा थियो। यस्तो अबसर गर्नुभएकोमा निर्मलजीलाइ धेरै धेरै धन्यबाद।

नामै फेर्ने त अब? साच्चैं नेपाली अहिले निकै अस्थिर छ यांहा केही गर्न सक्ने अबस्था छैन। हरेक चिजमा राजनैतिक रंग हालेर कुन कुरा कांहा पुग्छ, कुन कुराको सपोर्ट हुन्छ यसै भन्न सकिन्न। फेरी सगरमाथा हाम्रो मात्रै पनि होइन। भन्दा त नेपालमै छ भनिन्छ तर चिनको हालीमुली देख्दा सायद चिनले सगरमाथालाइ नेपाल जत्तीकै दाबा गर्छ होला। झन नेपालको चिन या भारतसंग सम्बन्धित केही निर्णय गर्नुपर्यो भने नेपाल सरकारको खुट्टो काम्ने मात्रै होइन थचक्कै बस्ला।

तर हाम्रो पौराणीक कुराको जगेर्ना गर्नुपर्छ। सगरमाथाको पौराणीक नाम प्रकाशमा ल्याउनुभएकोमा निर्मलजीलाइ धन्यबाद। आशा गरौं सगरमाथाका नाममा नौबन्धन र ब्योम्कुट पनि जोडिउन।

kamaladi said...

म पढेको विश्वबिद्यालयमा हामीले नेपाली विद्धार्थी संगठन को नाम सगरमाथा राखेका थियौं । हामीसंग संगठनको ब्यानर लगयत टिसर्ट पनि थिए । कसैले सगरमाथा के हो भनेर सोधे "माउंट एभरेस्ट" को नेपाली नाम हो भन्थ्यौं । "सगरमाथा" नामको प्रचारकै लागि संगठनलाई त्यसरी चिनाए पनि माउंट एभरेस्टलाई हटाइ हाल्ने हाम्रो सोच थिएन, बरु मिले सम्म दुबैलाइ संगै प्रचलित पर्ने बिचार थियो ।

नाममै केही हानी देखेको छैन मैले हटाइ हाल्नु पर्ने, यदी माउंट एभरेस्ट को सट्टा "चोरहरुको हिमाल" वा अरु केही नै अपमानजनक नाम भएको भए पक्कै हटाउनु पर्थ्यो :D

सगरमाथाको पौराणीक नाम को जानकारी दिनु भएकोमा लेखकलाई धन्यवाद !

Prajwol

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !