March 23, 2009

बसन्त गौतमको कही नजाने बाटो सबै ठाउमा जान्छ


दौंतरीमा बिभिन्न ब्लगरसंग भलाकुसारी गर्ने क्रममा निरन्तरता नै छ। यस पटक दौंतरीमा आइरहनुहुने ब्लगर बसन्त गौतम हुनुहुन्छ। दौंतरी पाठक पक्कै पनि उहांसंग परिचित हुनुहुन्छ। अब लागौं बसन्तजीसंगको इमेल संबाद जस्ताको तस्तै:

कुराकानीको यो मौकाको लागि सर्वप्रथम 'दौंतरी'लाई हार्दिक धन्यबाद!


१) http://www.basantagautam.com/ ब्लगलाइ कसरी परिभाषीत गर्नुहुन्छ? अलीक कुना कानी फेरबदल गर्नुभएछ, मुल रुप त परिबर्तन भएको छैन?

-यो ब्लग मैले विशेष गरी नेपाली राजनीति र नेपालमा घटेका घटनाहरुमाथि आफ्नो विचार राख्न र जापान बसाईका अनुभवलाई बाँड्न भनेर शुरु गरेको हुँ। अहिलेसम्म आईपुग्दा लेखिएका विषयवस्तुहरु सबै त्यहि सीमाभित्रै भने छैनन्, तैपनि मूल स्वरुप भने यहि हो अझै। कहिलेकाहीँ छेउ-कुना कतै केहि लिपपोत गरेपनि खासै परीवर्तन भएको छैन।

२) The road to nowhere goes everywhere भन्नुभएको रहेछ the road to nowhere goes to dead end होइन र?

- हा हा हा! धेरैले यस्तै भन्छन्, कतिले त The road to nowhere goes everywhere भन्दा The road to everywhere goes nowhere बरु ठीक होला पनि भन्छन्। ब्लगको शिर्षकले अलिक रहस्य र आध्यात्मिकता देखाओस् भनेर यो राखेको हुँ। यो फुर्दा केहि जेन कथाहरु थिए दिमागमा, तिनैको प्रभाव हुनसक्छ यो जन्मिनुमा। यसैमा चित्त बुझेको भने छैन, अझै खोज्दै छु। यो शिर्षककै बारेमा ब्लगमा एउटा टाँसो (posting) लेख्ने सूरमा छु।

३) तपाइको ब्लग बढी रचनामुलक छ भन्ने कि बिचारमुलाक ?

- दुबै भन्नुपर्ला, नयाँ कुरा लेख्न नभ्याएको/नसेकेको बेला आफ्नो 'इतिहासको ब्याज' (पूराना रचनाहरु) ले धेरै पटक काम चलाएको छु। उसो त रचना र विचारको सीमा छुट्याउनु पनि त्यति सजिलो छैन। कुनै कुरामा विचार राख्नु भनेको पनि रचनानै हो, अर्कोतिर कथा-कविता जस्ता 'विशुद्ध' रचनाले पनि रचनाकारका विचार बोकेकै हुन्छन्।

४) ब्लगमा कसरी रस बस्यो ?

-ब्लगतिर म मोडिनुमा सबैभन्दा ठूलो हात साझा को छ, मेरो ब्लगलाई साझाको spin-off भन्दिएपनि हुन्छ। म एकताका साझामा खुब हल्लिन्थें। त्यहाँ लेख्दा-लेख्दै अब अलिक नीजि ठाऊँ पनि बनाउनुप-यो भनेर यता लागेको हुँ।


५) ब्लग लेखनमा सबभन्दा आनन्द आउने कुरा के हो?

- धेरै कुरा भन्न सकिन्छ यसमा। मेरो लागि सबैभन्दा मुख्यचाहिँ कुनैपनि कुरामा आफ्नो विचार आफूले चाहेजसरी ब्यक्त गर्न पाऊँदाको आत्मसन्तुष्टि हो। कुनै पत्रिकाको लागि लेख्दा यो सामान्यतया असम्भव हुन्छ किनभने त्यहाँ प्रकाशकीय/सम्पादकीय बन्देजहरु, सीमाहरु हुन्छन्।


६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

- शुरुदेखि अहिलेसम्मका सबैमध्ये कुन भनेर हेर्न त एक राउण्ड Google Analytics पस्नुपर्ला। Live Traffic Feed मा सर्सर्ती हेर्दा अचेल ऋषि धमला काण्डको बारेमा लेखिएको टाँसो बढी पढिएको देखिएको छ। पोहरताका एनआरएन-जापानको गाईजात्रा बढी चम्केको थियो। मान्छेहरुले अलि सनसनीखेज कुरा खोज्छन् जस्तो छ:)


७) ब्यस्त जिबनले ब्लगमा बिचार पोखाउन कतिको अप्ठ्यारो पार्छ?

- सोचेभन्दा बढी अप्ठ्यारो पार्दो रहेछ। हप्तामा एक-दुई टाँसो राखिने एउटा ब्लगकै लागि पनि आफ्ना केहि सौखहरुलाई पूरै बिर्सिनुपर्ने रहेछ।


८) नेपाली ब्लग जगतमा जथाभावी लेखन र प्रतीक्रियाले हाम्रो आनीबानी सुधार्ला कि झन बिगार्ला?

- जथाभावी लेखन र प्रतिकृया नेपाली मात्र होईन सबै ब्लग जगतको समस्या हो। एउटा प्रसिद्ध कार्टून छ; 'On the Internet, nobody knows you're a dog' भन्ने। यस्तोमा सबैथरी मान्छेहरुले आफ्नो बानी/चिन्तनलाई मनलागी पोख्नु स्वाभाविक हो। तथ्यगत कुरामा हुने जथाभावी लेखनको प्रतिवाद/प्रतिकार जरुरी छ तर ब्यक्तिगत गालीगलौज जस्ता कुरालाइ तिरष्कार गर्नु बाहेक अरु कुनै उपाय छैन। समयक्रममा यस्ता कुराहरु आफैं हराएर जान्छन्।


९) ब्यक्तीगत कुरा है, गरिब देशको इन्जिनियर धनी देशमा किल्ला जमाउदा फरिया दौरा लगाउनेको भाग्य फोडियो की?

- म नेपालमै किलो-दाम्लो भएर मात्रै यता पसेकोले त्यस्तो हुन पाएन:)


१०)अहिलेको लोडसेडिगं कस्को अकर्मण्यताले गर्दा होला? आउदा साल कस्तो हुनेछ,अनुमान लगाइदिनुहोस न।

- आजसम्म हामीमाथि शाशन गर्नेहरुको अकर्मण्यता र लघु-चिन्तनको ऊपज हो यो। अलिकति हिस्सा माओवादीले विगतमा गरेको विध्वंशलाई पनि जान्छ तर माओवादीको उदय हिजोका शाशकहरुको कुबुद्धि र अदूरदर्शीताकै कारण भएकोले सारमा सबै जिम्मेवारी विगतका सरकारहरुलेनै लिनुपर्छ। आफ्नो 'शुभलाभ' मात्रै खोज्ने, आफ्नो 'शुभलाभ'का लागि योजनाहरुलाई सकेसम्म महंगा बनाईदिने र आफूलाई 'शुभलाभ' नहुने देखे योजनानै तुहाईदिने राजनीतिज्ञ-प्रशाशक-प्राविधि कहरुको सिण्डिकेटले जरा गाडेको छ मथिदेखि तलसम्म। यो स्थितिको अन्त्य नभईकन र एउटा समग्र राष्ट्रिय उर्जा/जलस्रोत नीति नबनुञ्जेल केहि पनि आशा गर्न सकिन्न। कुनै 'चमत्कार' भएन भने अर्को वर्ष पनि यस्तै हो। सरकारले चाहने हो भने यो वर्षभन्दा कम हुनेगरी केहि कदम चाल्न सक्छ तर सरकार र पूरै देश अरु-अरु कुरामा अल्मलिईरहेको बेलामा थोरैमात्रै पनि काम होला जस्तो लाग्दैन।


११) नेपालमा इन्जिनियर नेता जस्तै कुहिएका होलान त?

कुनै पेशामा सज्जनै-सज्जन, कुनै पेशामा दुर्जनै-दुर्जनै हुन्छन् भन्ने सोचाई गलत हो। समाजको आम-चरित्र जस्तो छ, त्यसैको छाया देखिने हो हरेक पेशामा। चरित्रगत हिसाबले हाम्रो समाज एउटा भ्रष्ट समाज हो। हाम्रो समाजमा भ्रष्टाचार निन्दनीय हैन बहादुरी मानिन्छ। त्यसकारण 'कुहिएका' इञ्जिनीयर जति भनेपनि छन्, नेताहरुभन्दा बढीनै होलान् बरु! हामीमा नेताहरुमात्रै खराब हुन्छन् भन्ने चिन्तन बसेको छ तर राजनीतिमा पनि असल मान्छेहरु छन्। यो कुरा बेग्लै हो कि ती अझै प्रभावशाली हुन सकेका छैनन्।


१२) नेपाली ब्लग दुनियामा तपाइको मिठो र तितो अनुभव बताइदिनुहोस न?


- दुई वर्षजतिको यो ब्लगयात्रा पूरै मिठो अनुभव हो मेरो लागि। त्यस्तो तितो अनुभव अहिलेसम्म खासै छैन।


१३) पत्रकारले सहि लेख्ला कि ब्लगरले?


- ठ्याक्कै यसै भन्न गाह्रो छ। पत्रकार भएपनि ब्लगर भएपनि मान्छेको इमान्दारिता र नैतिकतामा भरपर्छ यो।


१४) फुर्सतको समय कसरी बित्छ?


- परिवारसंग।


१५) तपाइको मन पर्ने ब्लग कुन हो?

- धेरै छन्, एउटामात्रैको नाम लिँदा आफैंलाई र धेरै ब्लगर साथीहरुलाई अन्याय गरेको ठहर्नेछ।


१६) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?


- 'दौंतरी' मा त्यस्तो ठूलो खोट केहि पनि देख्दिँन म। एउटा सानो अनूरोध भने छ, 'दौंतरी' का केहि लेखकहरुले भाषिक शुद्धताको ख्याल गर्नुपर्ने आवश्यकता अझै देखिन्छ।


१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?


- पाचौं प्रश्नको पूरक भनेपनि हुन्छ। ब्लग लेखनमा सबभन्दा नरमाईलो लाग्नेचाहिँ धेरै दिनसम्म केहि लेख्न नपाउँदा/नसक्दाको अवस्था हो। ब्लगले आफूमा पाठकहरुप्रतिको धेरै गहिरो र आत्मीय दायित्वबोध उब्जाउँदो रहेछ र धेरै दिनसम्म केहि लेख्न नसक्दा आफनो दयित्वबाट विमुख भएको भावनाले घर बनाउँदो रहेछ।
-वसन्त


18 Comments:

Milan said...

आहा कति रमाइलो आज दाईलाई दौतरीमा नि भेटियो..

प्रबिण थापा said...

बशन्त जि सँगको यो संबादले उहालाइ अझ नजिकबाट चिन्ने मौका मिल्यो यसको लागि दौतरीको प्रयास सर्हानिय छ।

ठरकि दादा said...

तपाईको ब्लग स्तरीय र पठनीय लाग्छ। प्राय सबैजसो लेखहरु पढने गरेको छु।

हाम्रो भाषिक शुद्धताको बारेमा चाहि हामि सबैले मेहनत गर्नै पर्छ जस्तो लाग्छ मलाई पनि ।

सुझावको लागि धन्यवाद ।

Prajwol said...

बसन्त जि को ब्ल्गको म नियमित पाठक हुँ । उहांको लेखनशैली intellectual टाइपको छ, त्यसैले नै म उहांको ब्लग प्रति आकर्षित छु ।

मेरो साहित्यमा खासै दखल छैन, तर बसन्त जि मार्फत त्यसको टुच्च-टुच्च dose पनि पाइरहेको छु । उहांको ब्ल्ग यसरी नै फल्दै फुल्दै जाओस र कहिले "क्रमभङ्ग" नहोस भन्ने मेरो कामना छ ।

BTW,
Admin ज्यु, अरु ब्लगरहरु को जस्तै बसन्त जि को पनि तस्बिर यो post संगै राख्दा कसो होला ?

Panda said...

दौंतरीमा केहि लेखहरुमा भाषिक शुद्धताको कुरो मैले पनि नोटिस गरिराखेको थिएं। शायद लेखकहरुको समय कम भएर दोहोर्याएर हेर्न नभ्याएर हो वा वेब बेस्ड युनिकोडको प्रयोगले हो कि । तर दौतरीका साथिहरुले श्रमदान गरेर भए पनि बेला बेलामा लेखहरु सम्पादन गरिरहनुभएको छ ।

अनि बसन्तजी को ब्लगमा कहिले काहीं आंखा जान्छ, धेरै साझामा देखिन्थ्यो पहिले, साझा देखि नै पढ्न लायक हुन्थे वहांका लेखहरु, त्यहिबाट नै वहांको नाम याद भएको हो ।

Dilip Acharya said...

वसन्तजीको लेखन शैलीको म अलिक पुरानै पारखी र प्रशंसक हुँ (ईन्टरनेट र ब्लग शुरु हुनुभन्दा धेरै अघी देखिको चिनजान रहेकोले)। मेरो आफ्नो अनुभवको कुरा राख्‍ने हो भने सहज सौन्दर्यबोध र विना सम्झ्यौता र विना संकोच घटनाक्रमको यथार्र्थतालाई उजागार गर्ने उहाको तरिका मलाई एकदम मनपर्छ ।

साँच्चै प्रज्वलजीले भन्नुभए जस्तै वहाँको यो कुराकानीमा वहाँको तस्विर नराखीएको कुरा मलाई पनि खट्कीयो (पहिला-पहिला त सधैं हुन्थे हैन र!)।

me said...

बसन्तदाईको विचार र अभिब्यक्तिबाट निकै प्राभावित छु र निके सम्मान गर्छु म पहिले देखि नै। भलै ब्यक्तिगत रुपमा भेट नभएको होस तर उहाँको लेख रचना पढ्दा पढ्दा र त्यसै ब्लगमा प्रतिकृया लेख्दा लेख्दै निकै परिचीत र निकटतम जस्तो पनि लाग्छ। झन आज यसरी उहाँको ब्यक्तिगत जीवन र विचारहरु पढ्नपाउदा निकै खुशी लाग्यो --धन्यवाद दौतरीलाई

Prabesh Poudel "उजेली" said...

वसन्त दाइको लेखन शैलीको ठूलो पारखी म पनि हुँ । मेरो ब्लगको शुरूवात देखि नै वसन्त दाइका सुझाव र सल्लाहबाट म प्रेरित पनि छु । आज वसन्त दाइको अन्तर्वार्ता पढ्न पाउँदा निकै खुसी लागेको छ । कोही आफ्नो मान्छेको अन्तर्वार्ता आएजस्तै भान भाएको छ !!

archana said...

sorry i didn't get this line.
म नेपालमै किलो-दाम्लो भएर मात्रै यता पसेकोले त्यस्तो हुन पाएन:)
-- what does kilo damlo means?

>Jotare Dhaiba< said...

थोरै समयपहिले सरसङ्गतिमा आए पनि एकै नामुद पण्डितसँग एकै मेहेरोको भेट फलदायि हुन्छ भने झैँ भयो मेरा लागि । उहाँका हक्की र प्रस्ट अभिव्यक्तिको इर्ष्यालु छु, भावनात्मकता भन्दा तर्कको तीरमा उहाँ चल्नुहुन्छ । दौतरीले उहाँको अनतर्वाता पस्किँदा उहावका ब्लगमा आजसम्म नउनिएका कतिपय कुराकन्था प्रकाशमा आए, खुसी लाग्यो । वसन्तजीको उतरोत्तर प्रगतिको कामनासहित---

Gaalab said...

वसन्तजीको अन्तर्वार्ता पढ्न पाउँदा रमाइलो लाग्यो। खासै यी माथि खुलाउनु भएका कुराहरू ब्लगमा पनि बारम्बार लेखिरहनु भएकोले वहाँको व्यक्तित्वको नयाँ पाटो जान्ने भन्दा पनि अहिलेसम्मको वहाँको ब्लगिङ तथा लेखन यात्रालाई एक चोटि पछाडि फर्केर हेर्ने मौका मिल्यो, सायद यो मौकामा वहाँले पनि आफ्नै पूनर्मूलयाङ्कन गर्ने अवसर पाउनुभयो होला। हुन त माथि उल्लेखित थुप्रै कुरामा वहाँसँग सहमति छ, तर विशेष रुपमा भाषिक शुद्धतालाई चाहिं नेपाली लेख्ने जो कोहीले पनि अलि गम्भीरताका साथ लिनु आवश्यक छ । अहिलेको इन्टरनेट सञ्जालमा देखिएको 'जथावावी' प्रवृतिले नेपाली भाषालाई कमजोर बनाउने पक्का छ। हुन त मेरो आफ्नै 'वेब पत्रिका'का कतिपय लेखहरु भाषिक दृष्टिले कमजोर छन्, तैपनि भ्याएसम्म हेरेकै छु। तर, कुनै एक जनाले गरेर हुने काम हैन। लेखक स्वयंले आफ्नो भाषा, व्याकरण र शुद्धतालाई अलिक ध्यान दिने हो भने त्यसले लेखक, पाठक र नेपाली भाषालाई फाइदा हुन्छ भन्ने मेरो मान्यता छ। अस्तु‌:।
---कुमार

DEEPENDRA said...

Happy to read this interview! I have always admired Basantaji for his creative & intellectual writing skills. and I have been following his blog for more than a year now. Wishing his blog all the best!

binesh said...

अर्चनाजी, गाउँघरमा गाइबाख्रा बाँध्नको लागि जमिनमा ठोकेर राखिएको काठलाइ किलो अनि किलोमा गाइबाख्राको घाँटी बाँध्ने डोरीलाइ चाहिँ दाम्लो भनिन्थ्यो । तर मैले पनि बसन्तजीको यो वाक्य चाहिँ बुझिँन ।

Gaalab said...

Binesh jee Archana jee,

Nepal ma jaageer chha bhannu bha' kya!

Luna said...

बसन्त जि को भाबनालाई पढ्ने मौका दिनु भएकोमा दौतरी परिवार लाई धेरै धेरै धन्यवाद ।
यस् किसिमको सरहानिय कार्य गर्ने दौतरी ब्लग लाई साधुबाद छ ।

Luna said...

म त खुशीले द ङ्गै परेकी छु आज ! कत्ती कुरामा शब्द को अर्थ थाहा नभएर कत्ती गार्हो लाग्थियो । आज दौतरी ब्लग मार्फत बसन्त जि को ब्लग मा खाना खादा खाँदै हेर्दाइ थिए , त्यहा त शब्द को अर्थ थाहा पाउन को लागि छुट्टै ब्यबस्था राखिदिनु भएको रहेछ , युनिकोड मा लेख्दै त्यहा क्लिक गरेर सोध्दा था हुने रहेछ !
लौ अब दिनको १ पटक चाँही बसन्त जि को ब्लग दर्शन गर्ने भए !
दौतरी ब्लग लाई फेरी पनि धन्यवाद !
बसन्त जि लाई पनि ।

Basanta Gautam said...

यो कुराकानीमा आफ्नो अमूल्य प्रतिकृया दिनुभएका सबैमा हार्दिक धन्यबाद दिन चाहन्छु। यहाँहरुले मेरो ब्लगलाई दिनुभएको मायाका लागि सदैव कृतज्ञ छु। यहाँहरुको माया र शुभेच्छाले मलाई मेरो लेखनलाई निरन्तरता दिन अझ प्रेरित गरेका छन्।

प्रतिकृया दिने सबैजसो साथीहरुसंग ब्लगहरुका माध्यमबाट कुराकानी भईरहेको हुँदा सबै अत्यन्त परिचित लाग्नुहुन्छ, प्रत्यक्ष भेट अझै नभएपनि। हाम्रो कुराकानी यसरीनै सधैं सहृयदताका साथ अगाडि जानेछ भन्ने आशा छ।

अर्चनाजीको प्रश्नको जवाफ अब। किलो र दाम्लो के हो भन्ने कुरो त बिनेशजीले भनिसक्नुभयो। नेपालीयन ब्रोले अलिक घुमाएर "तैंले विदेशीसंग बिहे त गरिनस्?" सोधेको जस्तो लागेर मैले पनि "म नेपालमै बिहे गरेर विदेश पसेकोले त्यसो हुन पाएन" भनेको हुँ:) गाऊँ-घरतिर बिहे गर्नुलाई किलो-दाम्लो गर्नु पनि भन्छन्, बिहे नगरुञ्जेल विशेष गरी केटाहरु बरालिएर बढी हिड्ने र बिहे गरेपछि ठेगान लाग्ने हुँदा। ठट्टाका लगि मात्रै हो यो प्रश्न पनि र उत्तर पनि। विदेशीसंग बिहे गर्नुलाई नराम्रो भन्न खोजेको होईन।

बेदनाथ पुलामी ( उमेश ) said...

बसन्त जी को लेखको फ्यान भए पनी निकै पछि परेछु उहाको यो अनुभूति पढ़न र यस्मा प्रतिक्रया जनाउन - साची नै उहा गहकिलो कुरा गर्न निकै खपिस रहनु भएको छ - साह्रै राम्रो लाग्छ उहाका खुराकहरु |

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !