March 23, 2008

विष्मयहरू बीच निर्वाचन पर्व: साता चर्चा - एकलव्य

यो साता धेरै कुरा भए, सँधै जस्तो ।

अस्तिको दिन, भारतीय जनता पार्टीका शीर्षस्थ नेता लालकृष्ण अड्वाणीले एउटा एक हजार पेज लामो पुस्तक भारतीय अणु वैज्ञानिक एवं भुतपूर्व राष्ट्रपति एपिजे अब्दूल कलामका हातबाट विमोचन गराउनु भयो । नेपाली राजनितिमा यसको के चासो भन्ने लाग्ला । तर यो पुस्तक भित्र अड्वाणिले औँल्याएका छन् “ नेपाली माओवादी लोकतन्त्रका लागि खतरापूर्ण छन्,यिनले भारतीय नक्सलवादी शक्तिसंग मिलेर भारतमा पनि राजनैतिक हिंसा र अस्थितरता पैदा गर्न सक्छन् र नेपाली राजनीतलाई कम्युनिष्ट अधिनायकवाद तर्फ बलजफ्ति लैजान सक्छन् । अत: नेपालमा दिगो शान्ति र मुलुकको स्थायित्वका लागि , सबै पक्षलाई समेट्ने संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ” । नेपाली मामिलामा भारतिय चासो कुनै मानेमा नौलो कुरा नभए पनि , भारतले बोल्ने बित्तिकै नेपालमा प्रतिकृया स्वाभाविक नै हुन्छन् र यसपाली पनि नहुने कुरै भएन । भारतीय जनता पार्टीका धुरन्धर नेता अडवाणीको यो पुस्तकको उद्दरण उनको नीजि विचार हो वा यो उनको दलको आधिकारिक धारणा हो यो भन्ने कुराको स्पष्टीकरण नआएको भए पनि हिन्दू राष्ट्रवादको पर्याय मानिने एउटा प्रभावशाली भारतीय राजनैतिक दलको झुकाव नेपालमा विकसित राजनैतिक घटनाक्रमका सन्दर्भमा कतापट्टि वा कुन पक्षमा छ भन्ने कुराको अनुमान गर्न भने यो धारणाको अभिव्यक्तिले सजिलो पारेको मान्न सकिन्छ । लोकतन्त्रमा सबै पक्षलाई स्पेस दिनु पर्छ र त्यहाँ राजा पनि अटाउन पर्छ भन्ने धारणा अतिवादी सोचको उपज नै हो भनेर ठोकूवा गर्नु पर्ने केही कारण नभए पनि , अहिले विकसित हुँदै गरेको नेपाली राजनैतिक घटनाक्रममा , राजालाई स्पेश दिने कुराको वकालत गरेर नै संविधानसभाको निर्वाचनमा उत्रिन सकिने माहौल छ भनेर भने कल्पना गर्न सकिने स्थिति भने देखिन्न । तर पनि, संविधानसभाको ऐतिहासिक निर्वाचनमा राजा राख्नु पर्छ भन्ने सोच नै बोकेका मान्छे भए पनि , तिनले आफ्नो धारणा लिएर जनतामा पुग्न भने पाउन पर्छ, किनभने निर्वाचनमा जनतालाई ‘यो कुरा गर्न वर्जित छ है’ भनेर भन्न त पाइन्न । कुरा के हो भने जसलाई जे राजनेतिक मान्यता उपर विश्वास छ , त्यसका पक्ष वा विपक्षमा जनताको मत के छ त भनी खुट्याउन त निर्वाचन गरिन्छ नि !

एमाले माओवादी जुहारी:


१३,१४ वर्ष अघि रत्नपार्कको भित्तोबाट शुरू भएको एमाले र तत्कालीन संजमोको बाबुराम गुटको घमासान, कामरेड प्रचण्डलाई भित्ते राष्ट्रपति भएको एमाले नेताको टिप्पणी पछि पनि जारी छ । अहिले यो भित्ते प्रकरणको दोस्रो संस्करणमा आइपुग्दा , माओवादी विशेषत: एमालेले निर्वाचनमा आँफूसंग मिलिजुली चुनाब लड्न देखाएको अनिच्छाका कारण रुष्ट छ । माओवादी यसरी एमालेसंग निर्वाचन सिटहरूमा तालमेल र भागबण्डा गरी निर्वाचन लड्नुर्छ भन्ने प्रस्ताव लिएर गएको रहेछ , तर त्यसो गर्दा माओवादीले एमालेलाई आँफू भन्दा सानो हिस्सा ४०% सिट मात्र दिन खोजेको रहेछ र सो कुरा एमालेलाई सह्य नभएको कुरा कामरेड माधव नेपालले सार्वजनिक बताइसकेका छन् । यिनै कुराहरू बीच माओवादी versus एमाले जुहारी जारी छ । जुहारी मात्र नभएर , एक दशक भन्दा लामो भौतिक युद्द लडेका माओवादी पूर्व लडाकाहरू रन्थनिएर विशेषत: एमाले बिरुद्द र छिटपूट रूपमा अरू बिरुद्द पनि आक्रमणमा उत्रिएका छन् । तर जनता भने अवाक परेर हेरिरहेका छन्, मिलिजुली सरकारमा बसेर परिवर्तनका लागि काम गरिरहेका भनिएका राजनैतिक दलहरूका बीच यो द्वन्द किन ?
माओवादी भन्छ “ साँचो कम्युनिष्ट हामी मात्र हो , एमाले त पूँजिवादी भाषमा जाकिइसक्यो । ऊ कांग्रेसको सानो भाइ हो, कम्युनिष्ट त हुँदै होइन । अनि हिजोदेखि जनयुद्द मार्फत हामीले जनतालाई चेतनशिल बनाएका हुनाले सारा गाउँघर र अधिकांस नेपाली परिवर्तनको चाहनाले हाम्रो पक्षमा छन् , त्यसैले चुनाब त हामीले चाहिए अनुरुप नजित्ने कुरै छैन” । अनि एमाले भन्छ “ कांग्रेसले पुल्पुलाएर माओवादीलाई एमालेको शेखी झार्न अन्तरिम संसदमा उसकै संख्यामा सिट दिएको हो , साँचो कम्युनिष्ट हामी हौँ भन्ने कुरा त हामीले चुनाबै पिच्छे देखाइरहेका छौँ । माओवादीहरू भनेको त उग्रवापन्थी भड्काव मात्र हो । यिनका पक्षमा जनता छैनन् बरू जनता यिनको जोरजुलुमको डरले आक्रान्त छन्। हामीले तालमेल पनि गरिन्न, किनभने तालमेल खोज्ने हरूवाहरूले मात्र हो” । यही कडीमा हिजो कामरेड बाबुराम भट्टराईले एमालेलाई हियाउँदै कैलालिको अत्तरियामा यस्तो टिप्पणी गरेछन् :

“Dr. Bhattarai also accused the UML of being ‘a bunch of canny people bought off by NGOs/INGOs and working in the garb of communists.’Addressing the election rally in Attariya of Kailali, Dr. Bhattarai indicated that the Maoists won’t take the election results lying down if they were defeated.” साभार nepalnews.com


अहिलेका परिघटनालाई केलाउँदा, चुनाबी तालमेल नहनुको ज्वरोले माओवादीलाई बेसरी समाएको देखिन्छ । एमाले तालमेलबाट तर्किनुको पछाडि अमेरिकाको हात रहेको कुरादेखि अनेक थरिका आरोपहरू र माथि अंग्रेजी भाषामा उद्दरण गरिएको भनाइहरूले माओवादी कति खार खाएर बसेका छन् भन्ने कुरा देखाउन काफि छ ।
अब प्रश्न उठ्छ , यदि माओवादीले एमालेलाई लगाउने गरेक यी विविध थरिका आरोपहरूमा थोरै पनि सत्यता छ भने त माओवादी जस्तो क्रान्तिकारी राजनैतिक दलको भलोको लागि पनि, एमाले जस्तो अशुद्द र पूँजिवादी विकृतिले गाँजेको ठहरिएको पार्टीसंग सहकार्य र तालमेल नहनु राम्रो कुरा हैन र ? पछिल्लो आम निर्वाचन भएको लगभग एक दशक हुन लागेको स्थितिमा अनि माओवादी पनि शान्तिपूर्ण राजनीतिमा पुन प्रविष्ट भएको अहिलेको घडीमा, सबै दल विशेषका आकार र प्रकारका नक्साहरू पनि जनता र मुलुकले थाहा पाउन पर्‍ने खाँचो अनुभव भएको छ । दलगत प्रतिस्पर्धाले नै कसका पक्षमा एवं कुन राजनीतिक विचार औ दलका पक्षमा कति जनता रहेछन् भन्ने कुरा थाहा पाउन र तदनुरुप देशको राजनैतिक भविष्यको योजना बनाउन सघाउ पुग्छ। तसर्थ पनि सबै वैयक्तिक दल विशेषले, निर्वाचन आ-आफ्ना ढंगले नै लड्नु उचित हुन्छ । यो बहुदलीय लोकतन्त्रको पहिलो खुड्किला पनि हो जहाँ निश्चित विचार र सिद्दान्त अँगाल्ने मानिसहरूले राजनैतिक दल गठन गर्छन र जनता समक्ष अनुमोदनका लागि पुग्छन् । ती विचार र सोचका कारणले अलग भएर नै अलग दलहरू बनेका हुन्छन् अन्यथा ती एकाकार वा एकीकृत हुन्छन् ।एमाले र माओवादीहरूका एक अर्का प्रतिका आक्षेप र दावाहरूले पनि, ती दलहरूले छुट्टाछुट्टै निर्वाचनमा जानै पर्ने कुरा बताउँछन् । पहिला दलहरूले निर्वाचन पूर्ण रूपमा भयरहित माहौलमा सम्पन्न गरेर, कुनै अमुक विचारका पक्षमा कति मतदाता वा जनता रहेछन् भन्ने कुरा थाहा पाएपछि सबैलाई आ-आफ्नो हैसियतको ज्ञान प्राप्त हुनेछ ।
अर्को कुरा, कतिपय बामपन्थमा विस्वास राख्ने शुभेच्छुकहरूले भन्ने गरेको “ नेपालका कम्युनिष्ट नमिलेर, कांग्रेस वा अरूले निर्वाचन जित्छ नेपालमा” भन्ने कुरा पनि बामपन्थी दलहरू प्रतिको सदिच्छाले भन्दा कांग्रेस वा अरू पार्टीले सत्तामा पुग्ने अवसर नपाओस् भन्ने नकारात्मक चिन्तनबाट अनुप्रेरित छ भन्नै पर्छ । यो किनभने, विचार र व्यवहारका कारण नै माओवादी वा एमाले धेरै जसो परिस्थितिमा कांग्रेस वा अरू राजनैतिक पार्टीसंग धेरै नजिक छन् , केवल ‘कम्युनिष्ट’ भन्ने शव्द र केही वामपन्थी शव्दभण्डारको साझा प्रयोग बाहेक ।
तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।
नेपालमा तालमेल, मेलमिलाप र मिलिजुलीपनको खाँचो छ भने सबै पक्षबीच संस्कारका रूपमा जरूरी छ । निर्वाचन त प्रतिस्पर्धा गर्नैका लागि हो , गर्न सक्नु पर्छ खुट्टा नकमाइकन निर्धक्क आफ्नो विचार बोकेर स्पष्टतासाथ । यस कुरामा धेरै रोदन, प्रलाप र माथापच्ची नगरी निर्वाचन लडौँ किनभने राजनीति गर्छु भन्ने व्यक्ति र दलहरूका लागि त यो सबैभन्दा महान अवसर हो !


2 Comments:

ठरकि दादा said...

तपाईले लेख्‍नु भएको छ "तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।"

मलाई डर लागेको पनि यहि हो, किनकि यिनिहरुको आपसी छिनाझ्प्टी भनेको हिजो आजको कुरा होईन यो त हामिकहाँ यौटा संस्कार बनि सकेको छ

nepalean said...

कुरो रमाइलो छ डर लाग्दो पनि छ। भीत्ता देखी बन्दुक सम्म पुगेका माओबादी अहिले कन्टामेन्टमा सिमित छन या त चैते भाषणमा। सबै दल नं १ घोषणा गर्दै हिडेको यो पल निश्चीत रुपमा केही ठुला दल चैते हुरिले बढारेर लानेछ। कोही अडलक काट्छन मधेशी मोर्चा र माओबादी पत्तासाफ हुनेछ कोही भन्छन कांग्रेस तेस्रो दलमा पुग्ने छ ..यस्तै यस्तै छ बजारको हल्ला। तर हरुवा गोरुको छेरुवा दाउ भने जस्तो अहिले माओबादीको रुन्चे भाषण देख्दा १० सिट पनि के हो के हो? तालमेल हुनु भनेको चुनाबमा झेला गरेर जनतालाइ झुक्काउनु हो। यस मानेमा तालमेल नहुनु जनतालाइ राम्रै कुरो हो। तर फेरी ० सिटमा सिमिते भए माओबादीले फेरी उपद्रो मच्चाउनी हुनकी त्यो डर अर्को ठाउमा छ।
केही पहिले नेपाल जादा संचार मन्त्रीले भनेका थिए संबिधान सभाको बारेमा सरकारी संचार माध्यममा राजा बिरुद्द मात्र खबर भन्न पाइन्छ। तर यसरी अतीबादी मनस्थीतिमा गरिएको संबिधान सभा पुर्ण रुपमा सम्पन्न भए नि त्यसको गतिलो प्रतीफलको अपेक्षा नगरे हुन्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !