ब्लगर दिलिप आचार्य आफ्नो ब्लगलाइ साझा चौतारी मान्नुहुन्छ। उहां करिब २ बर्षबाट ब्लगिगं गर्दै आउनु भएको छ। प्रस्तुत गर्दैछु उहां संगको ब्लग गफ गाफ यस पटकको ब्लग भित्र ब्लगको स्तम्भमा।
१) http://dacharya.blogspot.com कसरी साझा चौतारी बनाउदै हुनुहुन्छ?
ब्लग लेख्न थालेको करिव २ बर्ष हुन लाग्यो र यो मेरो बिचार र अभिव्यक्ति बिसाउने चौतारी हो। कुनै पनि बिचारमा राखेपछि त्यसमा समहमती वा असहमती त भै हाल्छन । त्यसपछि सो बिचारमा अरु सहयात्री ब्लगर र पाठक साथिहरु संग मिलेर विचार आदान-प्रदान गरीन्छ । बिचार आदान-प्रदान भए पछि मेरो ब्लग व्यक्तिगत बिचार संप्रेषण गर्ने थलो मात्रै रहंदैन र साझा चौतारी बन्छ ।
२) तपाइको ब्लग बास्तुको साधनमा के के मिल्यो बताइदिनुहुन्छ? हुन त, फाट्ट फुट्ट लेख्ने बानी पहिलै देखि नै थियो तर ब्लग संचालन पश्चात बिचार मंथन गर्ने र आफ्नो बिचार प्रति आएका नकारातम्क धारणलाई पनि ‘सकारात्मक’ अर्थमा लिन सकिने सोचको बिकास भएको छ । कुनै पनि घटना वा स्थितिलाई एक-दुई कोणबाट मात्रै नहेरी लंगुर-बुर्जाको गोट्टी जस्तै, छ नै वटा कोण वा सतहबाट हेर्न ब्लग भन्दा अर्को उत्तम माध्यम नै छैन जस्तो लाग्छ मलाई । ३) तपाइको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ? कुनै एक बिषयलाई मात्रै केन्द्रीत गरेर लेख्दा, लेख्न पनि सजिलो हुँदैन र पढ्नेलाई पनि एक तमासको लाग्न सक्छ । यस अर्थमा मेरो ब्लगलाई सकेसम्म विविधता दिने कोशिष गर्छु म । संख्याकै हिसाबले हेर्दा सायद लघुकथा बढी होलान तर कम्प्युटर र ब्लगिङ टिप्स देखी आफूले जानेको अन्य कुरा सेयर गर्ने र देशको समसामयीक घटनाका बारेमा पनि लेख्ने गर्छु । त्यसैले ब्लगको सब टाईटल वा Description मा मैले ‘Anything..., Everything...’ पनि लेखेको छु । ४) ब्लगमा काम गर्दा जिबनमा के फरक भेट्टाउनु भयो ? नढाँटीकन र ईमान्दार भएर भन्नु पर्दा ब्लगीङ शुरु गरेपछि धेरै कुराहरु सिक्ने र जान्ने मौका पाएको छु । आफ्नो बिचारमा विमति आएपछि त्यसलाई स्विकार्ने र मुख्य कुरा भनेको अरुको बिचारको सम्मान गर्ने सोचको बिकास भएको छ। कोहि पनि मानिस आफैंमा पूर्ण हुँदैन तर हरेक मानिसमा आ-आफ्नै बिशेषता हुन्छन । यस हिसाबमा धेरै सहयात्री साथीहरुबाट विविध क्षेत्रसंग सम्बन्धित निकै कुरा सिक्न पाएको छु । ५) तपाइका छिमेकी ब्लगका रमाइला नरमाइला कुरा के के छन ? मैले माथि भने जस्तै मेरो छिमेकी ब्लगमा सबैको आ-आफ्नै सोच, बिचार र आफ्नोपन छन। सबैमा मेरो सहमती नहुन सक्छ तर मेरो बिचारसंग सहमत नहुँदैमा त्यसलाई नरामाईलो रुपमा म लिन्न। समष्टीमा सबै नै रमाईला छन (नरमाईला केहि छैनन्) । ६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो? यो कुरामा मैले पनि कहिल्यै ध्यान दिएको थीईन, तपाईको प्रश्न आएपछि एकचोटी Google Analytics हेरें । कमेण्ट बढि आएको हिसाबमा हेर्दा त अरुनै पोष्ट आउँछन तर बढि ‘क्लिक’ गरीएको तीनवटा पोष्ट चाहिँ केहि उटपट्याङ मुक्तकहरु, ब्लगोमेनीया-कारण, लक्षण र निदान र Harmless Hacks. रहेछन । ७) तपाइको ब्लगमा लघुकथा निकै रहेछन, एउटा २ मिनेटको लघुकथा सुनाउनुहोस न त हामीलाइ? लघुकथा मलाई मनपर्ने बिधा हो, सायद अरु भन्दा संख्यात्मक हिसाबले लघुकथा नै बढि होलान मेरो ब्लगमा। यहाँ कथा राख्दा कुराकानी लामो हुन्छ, त्यसैले आधा मिनेटको लघुकथा चाहि यो राखौं है त: “यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।” ८) ब्लग लेखन र प्रतिक्रिया लेखनमा कत्तिको सहमती असमती ब्यहोर्नु गर्नुभएको छ? सहमती र असहमती त आउँछन नै, तर सायद एकदमै बिबादित बिषयमा त्यत्ती धेरै नलेखेकोले होला खासै ‘कडा’ असहमतीहरु भने धेरै आउँदैनन् भन्दा पनि हुन्छ । ९) तपाइको ब्लगमा अरुको ब्लगमा भन्दा नितान्त फरक पाइने कुरा के होला ? खासै त्यस्तो अहम भिन्नता त छैन होला, तर सकेसम्म विविधता दिने प्रयास भने जारी छ। (तपाहरुले केहि देख्नु भएको छ की :)) १०) 浅谈汉语里的梵语词语 पढ्न त यस्तो गार्हो लेख्न कती गार्हो भयो? बुझ्न त झनै गार्हो भयो कसो गर्ने होला? हा हा हा, म चिनियाँ भाषा-संस्कृतिको बिद्यार्थी रहेको र एउटा सानो अध्ययनको क्रममा संसारको सबैभन्दा गाह्रो भनेर मानीएको भाषाभित्र पनि धेरैको संख्यामा संस्कृत शब्द भेटेपछि कसैको आग्रहमा मैले त्यो लेख तयार गरेको थीएँ । पछि त्यसको नेपालीकरण पनि मेरै ब्लगमा चिनियाँ भाषा भित्रका संस्कृत शव्द को नाममा राखेको छु । के गर्ने आजकल त जनवादी शिक्षाको नारा छ, र बुझ्दै नबुझी संस्कृत भाषालाई मृत भाषा भन्छन् । ११) ब्लगिगं ट्याम्पेलेटमा निकै दक्षता हासिल गर्नुभएछ दौतरीको झ्याल ढोकाको लिपपोतमा के गर्दा राम्रो होला? यो क्षेत्रमा म पनि सिक्ने क्रममा नै छु । हुन त, सबैको आ-आफ्नै पहिचान हुन्छ तैपनि म भने उपलब्ध स्रोत, साधनको (समस्या उत्पन्न नहुने हदसम्ममा) अधिकतम उपयोग लिने कुरामा विश्वास गर्छु । दौंतरीको कुरा गर्दा, पेज खोल्ने बित्तिक्कै अधिकतम जानकारी मिल्ने हिसाबले जान ३ कोलममा जाँदा यसका ‘कम्पाउण्डमा रहेका खाली जग्गा’ त्यत्तीकै खेर जाँदैनन् जस्तो लाग्छ । साथै पाठकहरुसंगको अन्तरक्रिया अझ सशक्त गर्न सिधा संबादका केहि अनुप्रयोगहरु पनि राख्दा राम्रै होला । १२) अहिलेको नेपाल भोलि कता पुग्ला? सोधि हाल्नु भयो, मनकै कुरा गर्ने हो भने, अहिलेको नेपाल भोली कता पुग्ला भन्दा पनि यीनै नेताहरुको नेतृत्व र यहि भाँडभैलोको स्थिति रह्यो भने भोली नेपाल पनि हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्न थालेको छ । १३) अहिलेका प्रचण्ड तपाइका कुन कथाका पात्रसंग मिल्दा जुल्दा छन? व्यक्तिलाई बिषय बनाएर लेख्दीन, तर प्रचण्ड मात्रै हैन नेपालका हुत्तिहारा, भातमारा र नालयक नेताहरुको झलक मेरो धेरै कथामा भेटिन सक्छन। १४) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ? दौंतरी धेरै अघि देखी पछ्याउँदै आएको छु । सायद नेपाली भाषामा यसरी धेरैजना मिलेर लेखीने ‘टिम ब्लग’मा यो नै एउटा गतीलो र स्वतन्त्र ब्लगको रुपमा उदियमान र उदाहरण भएको जस्तो लाग्छ । सुझाव भन्दा पनि निरन्तरता र उत्तरोत्तर प्रगतीकोलागी शुभकामना दिन चाहन्छु। १५) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि? नेपाली ब्लगहरु अझै पनि स्वतन्त्रताको उपभोग मात्रै गर्ने तर जिम्मेबारी चाहि नलिने हिसाबमा चलेका देखीन्छन् । यसलाई बाहिरबाट आएर कसैले सुधार्ने हैन, त्यसैले यसलाई हामीले नै व्यबस्थित गर्नुपर्छ। यस मानेमा दौंतरीका लेखहरु सन्तुलीत लाग्छन आशा गरौं सबैले यसको अनुशरण गर्नेछन । ब्लगहरु सशक्त भएमा यसले मूलधारका पत्र-पत्रिकालाई पनि प्रतिस्पर्धि र जिम्मेबार बनाउन मद्दत गर्छ, त्यसैले बढि भन्दा बढि ब्लगहरु सञ्चालनमा आउनु पर्छ र ब्लगरहरु बिच पनि बैचारीक आदान-प्रदान र भिन्न मतका बीचमा पनि सामुहिक एकता हुनु पर्छ जस्तो लाग्छ। मलाई आफ्नो कुरा राख्ने र मौका दिनु भएकोमा धन्यवाद्।


